लगनखेलबाट सातदोबाटो जाने बाटोमा दायाँतर्फ अशोक स्तूप छ, करिब दुई हजार वर्ष पुरानो। त्यससँगै थियो सप्तपाताल पोखरी। सप्तपाताल बाहेक अरु तीनवटा कमल पोखरी पनि। तर, अहिले न त्यहाँ पोखरी देखिन्छ न त पानी नै। सडकछेउ देखिन्छ त एक टुक्रा खाली जमिन।
वर्षौं पहिला लगनखेलमा पनि विशाल 'टुँडिखेल' थियो। टुँडिखेलकै वरिपरि थिए यी पोखरी र स्तूप। त्यहाँ रहेको सप्तपाताल पोखरीमा पानी भर्न टीका भैरवदेखि राजकुलो बनाइएको थियो। यो पोखरीले कुनै समय पाटन शहरको जल प्रणाली ‘रिचार्ज’ गर्ने काम गर्थ्यो। पोखरीमा संकलन हुने पानी इनार र ढुंगेधाराहरुमा जान्थ्यो। यही पोखरीले पाटनमा पानी पुर्याउँथ्यो।
यी पोखरीको सम्बन्ध करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) र मीननाथ सँग रहेको छ। पोखरीसँगै रहेको बटुक भैरव मन्दिरमा एक जोडी भंगेरा छोडेर रातो मछिन्द्रनाथ र मीननाथको जात्रा सकिएको सूचना स्वर्गका राजा इन्द्रलाई पठाउने गरिन्छ। मन्दिर भन्दा केही पर रहेको सप्तपाताल पोखरीमा भने पानेजु (पुजारी)हरुले जात्रा सकिएको सूचना पातालका राजा कर्कोटक नागराजलाई पुर्याउन एक जोडी माछा छाड्ने परम्परा रहेको छ। तर, वर्षौं भयो पानेजुहरुले विधिपुर्वक सप्तपातालमा माछा छाड्न पाएका छैनन्।
सम्बन्धित समाचार : रातो मछिन्द्रनाथको दु:ख : जात्रा सकिएको सन्देश पाताल पुर्याउन पोखरीमा खाल्डो खनेर छाडियो माछा
कारण- शहरीकरणसँगै टीका भैरवबाट आउने राजकुलो मासियो। सप्तपाताल पोखरीको पानी पनि सुक्दै गयो। अनि पोखरीको जमिन अतिक्रमण हुने क्रम बढ्यो। विशाल पोखरी साँघुरिँदै गयो। ललितपुरको विशाल टुँडिखेलमा राजदल गण बस्यो। ब्यारेक बन्यो। बाँकी रह्यो त केवल तस्विरहरु। नेपाल आएका हेनरी एमब्रोज ओल्डफिल्ड लगायतका स्केच र त्यसबखत खिचेका तस्विर विगतको साक्षी बनेका छन्।
फाइल फोटो : अशोक स्तपु र सप्तपाताल पोखरी
त्यही बाँकी रहेको सानो टुक्रा जमिनको लडाइँले कुनै बेला १४ रोपनीको विशाल क्षेत्रफलमा फैलिएको सप्तपाताल पोखरी ब्युँतिने बाटो खुलेको छ।
+++
कुरा २०६० साल तिरको हो। पोखरीको अतिक्रमण भइ वरिपरि धेरै भवन बनिसकेका थिए। पानीको स्रोत मासिँदा बाँकी रहेको पोखरीमा झारपातले राज गरिसकेको थियो। त्यही बेला पोखरीको जमिनमा बनेको नमूना मछिन्द्र माध्यमिक विद्यालयले बाँकी रहेको जमिनमा व्यवसायिक भवन बनाउने भन्दै संरचना निर्माण गर्न थाल्यो। तर, स्थानीयले विरोध गरे। भवन निर्माण हुन सकेन। अहिले पाटनमा रहेका यस्तै पोखरीहरु मासिँदा पानीको स्रोतमात्र सकिएन, वर्षायाममा पाटन डुबानमा पर्ने गरेको स्थानीय बताउँछन्।
२०३४ सालमा सरकारले सप्तपातालको जग्गाको पूर्वी – दक्षिणी भाग कित्ताकाट गरी नमूना मछिन्द्र माध्यमिक विद्यालयलाई दिने निर्णय गरेसँगै पोखरी साँघुरिदै गएको स्थानीय बताउँछन्। कानूनी रुपमा नै पोखरीको जग्गा विद्यालयको नाममा हस्तान्तरण हुँदा त्यस बखत पनि स्थानीयले विरोध गरेका थिए। तर, त्यस बेला जनताको सुन्ने कोही थिएन।
करिब ३० वर्षपछि विद्यालयले पोखरीको बाँकी रहेको जग्गामा फेरि भवन बनाउन थालेपछि भने कुरा अदालतसम्म पुग्यो। स्थानीय पूर्ण स्थापितको नेतृत्वमा स्थानीयले सर्वोच्च अदालतमा मुद्दा हाले।
२०६१ साल माघ ६ गते सर्वोच्चले पोखरीको जमिनमा भवन नबाउनु भन्दै आदेश दियो। तत्कालीन प्रधानन्यायाधीश हरिप्रसाद शर्मा र न्यायाधीश परमानन्द झाको इजलासले उक्त जग्गा श्री ५ को सरकारको नाउँमा दर्ता भएको देखिएको र त्यो एक ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक महत्वको स्थल रहेकाले त्यस्तो क्षेत्र मासिने र अशोक स्तूप समेतको वरिपरिबाट देखिने दृश्य समेतलाई असर पर्ने गरि बनाउन लागेको भवन नबाउन विद्यालयलाई 'प्रतिषेध' को आदेश सुनायो। साथै उक्त क्षेत्रमा भवन निर्माण लगायत कुनै प्रकारको योजना कार्यान्वयन गराउनुपूर्व वातावरणीय प्रभाव मूल्यांकन गराउन परमादेश समेत दिएको थियो।
अदालतले आदेश त दियो। तर, पोखरीको जमिन अतिक्रमणको श्रृङ्खला रोकिएन। पोखरी वरिपरि सरकारी कार्यालयको भवन नै बने। विद्यालयले पनि भवन बनाउने योजना रोक्ने प्रयास गरेन। विद्यालयले अदालतको आदेशविरुद्ध पुनरावेदन अदालत पाटनमा २०६६ सालमा निषेधाज्ञाको निवेदन दिएको थियो। उच्च अदालतले विद्यालयको तर्फबाट दायर निवेदन खारेज गरेको थियो। त्यसपछि फेरि उक्त मुद्दा सर्वोच्च अदालतमा पुग्यो।
विपक्षी बनाइएको विद्यालयले त्यहाँ पोखरी नै नरहेको दाबी सहितको जवाफ अदालतमा पेश गर्दै राजकुलोबाट उक्त पोखरीमा पानी ल्याउने र पाटनको ढुंगेधारा रसाउने कुरा झुठो भएको दाबी गर्यो। विद्यालयले सप्तपाताल पोखरीको जमिन आफ्नै नाममा रहेको दाबी गरेको थियो। त्यसैले बाँकी भागमा भवन बनाउन पाउने उसको दलिल थियो। स्थानीयसँग पोखरीको ऐतिहासिक दस्तावेज, सांस्कृतिक चलन र तस्विर मात्रै थियो।
सप्तपाताल पोखरी र अशोक स्तूप। तस्विर : सप्तपाताल पोखरी फेसबुक पेज
कानुनी लडाइँ न हो। वर्षौसम्म पूर्ण स्थापित र अन्य स्थानीय अदालत पुगे र बहसमा सहभागी भए। पोखरी ब्युँताउने सपना ज्यूँदै राखेर।
यसबिचमा पनि पोखरीको जग्गा थप मासियो। पोखरीमा भएको थोरै पानी पनि सुक्यो तर मछिन्द्रनाथको जात्रा सम्पन्न भएको सूचना पाताल पुर्याउन छोडिएन। पानेजुहरुले झारपातले भरिएर बाँकी रहेको पोखरीको सानो भागमा कृत्रिम रुपमा खाल्डो बनाएर, पानी ट्याङ्कीबाट पानी राखेर भए पनि त्यहीँ जोडी माछा छाड्दै आए। पानेजुहरुलाई कृत्रिम खाल्डोमा छोडिएका माछाहरुले पातालमा गएर जात्रा सकिएको सन्देश देलान भन्नेमा शंका छ।
२०७६ सालमा मुद्दाको टुङ्गो लाग्यो। सर्वोच्चले २०६१ सालमा दिएको आदेशलाई नै सदर गर्दै पोखरीमा विद्यालयको हक नहुने निर्णय गर्यो। त्यहाँ बनेका विद्यालयका संरचना हटाउन समेत आदेश दियो। असार २३ गते सर्वोच्चका न्यायाधीशद्वय दिपककुमार कार्की र तेजबहादुर केसीको इजलासले विद्यालयले उपभोग गर्दै आएको ११२ नम्बर कित्ताको जग्गा विद्यालयको नाममा गैरकानुनी रुपमा दर्ता भएको देखिएको उल्लेख गर्दै उक्त जमिन सप्तपाताल पोखरीको नाममा कायम हुने आदेश दिएको थियो।
'माछा छाड्न अब खाल्डो खन्न नपरोस्'
अदालतको आदेशसँगै पोखरी ब्युताउँन लडेका स्थानीय हर्षित भए। सँगै पोखरी कसरी बनाउने भनेर चिन्तित पनि। अदालतको निर्णयसँगै स्थानीय पोखरी ब्युताउँन जुर्मुराएरका थिए। ललितपुर महानगरपालिकासँग सहकार्य गर्दै पोखरीको डिजाइनहरु बनाउने काम भयो। तर, कोरोना संक्रमणका कारण तोकिएकै समयमा पोखरी पुनर्निर्माणको काम सुरु हुन सकेन। अहिले भने पोखरीको डिजाइन पूरा भइसकेको छ। छिट्टै पोखरी पुनर्निर्माणको सुरु हुने सप्तपाताल पोखरी ब्युताउँन सुरुदेखि नै सक्रिय रहेका प्रकाश अमात्यले जानकारी दिए।
उनका अनुसार सप्तपाताल पोखरीलाई परम्परागत शैलीमा नै निर्माण गरिनेछ। यसलाई पहिला झै 'रिचार्ज पोखरी' का रुपमा विकास गर्ने योजना रहेको उनले बताए। टीकाभैरवबाट पानी ल्याएर पाटनका ढुंगेधारामा प्राण भर्नेगरी पोखरी पुनर्निर्माण हुने उनले बताए।
'यसलाई हामी परम्परागत शैलीमा नै बनाउँछौं। कंक्रिटको प्रयोग गर्दैनौं। यो पोखरीलाई रिचार्ज पोन्डका रुपमा विकास गर्छौं। पोखरी बनेसँगै पाटनका ढुंगेधारा रसाउनेछन्,' उनले भने।
अब निर्माण हुने सप्तपाताल पोखरीको डिजाइन
ललितपुर महानगरले नगरसभाबाट यही आर्थिक वर्षमा सप्तपाताल पोखरी पुनर्निर्माण गर्नका लागि बजेट छुट्याइसकेको छ। महानगर प्रमुख चिरीबाबु महर्जनले सप्तपातालको डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) निर्माणको काम अन्तिम चरणमा पुगेको बताए।
'हामीले पुनर्निर्माणका लागि नगरसभाबाट ५ करोड छुट्याइसकेका छौं। पहिला हामी पोखरीको चारैतिर पुल्चोकमा जस्तै फेन्स (बार) लगाउने काम गर्छौं। यसबाट बाहिरबाट सजिलै भित्रको दृश्य हेर्न सकिन्छ। त्यसपछि अरु काम सुरु गर्छौं,' महर्जनले भने।
उनले पोखरी पुनर्निर्माणका लागि विद्यलयले अतिक्रमण गरेको जग्गा फिर्ता ल्याउने समेत बताए। हाल विद्यालयले आफ्नो नियन्त्रणमा राखेको कित्ता नम्बर २१२ लाई सप्तपाताल पोखरीकै नाममा दर्ता गर्न सर्वोच्चले आदेश दिएकाले सो जग्गासहित पोखरीको गुरुयोजना बनेको महर्जनले बताए। उनले चाँडै विद्यालयको संरचना त्यहाँबाट हटाइनेछ।
'विद्यालयको सबै संरचना भत्किने होइन। सर्वोच्चको आदेशमा जति जग्गा सप्तपातालको हो भनिएको छ ती संरचना भत्किनेछ,' उनले भने।
पोखरी पुनर्निर्माणपछि त्यहाँ भइरहेका सांस्कृतिक पर्वहरु यथावत रुपमा संचालन हुनेछन्। साथै आगन्तुक आएर त्यहाँ आराम गर्दै दृश्यावलोकन गर्न सक्नेछन्। त्यसका लागि पोखरी वरिपरि मौलिक शैलीमा फल्चाहरु निर्माण हुनेछन्।
काठमाडौं उपत्यकामा रहेका कयौं पोखरीहरुको अस्तित्व नै समाप्त भइसकेको अवस्थामा सर्वोच्चको आदेश ती पोखरीहरु ब्युताउँन 'नजिर' भएको बताउँछन् स्थानीय।
सप्तपाताल पोखरीको लागि १५ वर्ष सर्वोच्च अदालत धाएका पूर्ण स्थापित र पानेजुहरु आउने केही वर्षमा नै सप्तपाताल पोखरी निर्माण हुनेमा विश्वस्त भएका छन्। महानगरले पहिला चासो नदिए पनि हाल पोखरी पुनर्निमाणमा अघि बढेकोप्रति उनीहरु खुशी छन्। अनि रातो मछिन्द्रनाथ र मीननाथको जात्रा सकिएको सूचना पातालमा पुर्याउन माछा छाड्न पाउने आशमा पनि छन्।
२०७६ साल असार २१ गते झारपातले भरिएको पोखरीमा खाल्डो खनेर माछा छोड्दै पानेजु।
'सप्तपाताल पोखरी ब्युँतिने पक्का भएको छ। अब सबै मिलेर यहाँ चाँडै पोखरी बनाउनुपर्छ। एक जोडी माछा छोडेर रातो मछिन्द्रनाथ र मीननाथको जात्रा सकिएको सूचना पुर्याउन अब खाल्डो खनिरहनु नपरोस्,’ पानेजुले भने।
'पलेस्वाँ' पोखरी पनि ब्युँतिदै
सप्तपाताल पोखरीसँगै अशोक स्तूप वरिपरि रहेका अन्य तीनवटा पोखरी पनि महानगरले पुनर्निर्माणको तयारी थालेको छ। हालैमात्रै लगनखेलस्थित सप्तपाताल पोखरीको डिजाइन सार्वजनिक गरिएको छ। जसमा सप्तपाताल पोखरीसँगै अर्को तीनवटा पोखरी पनि देख्न सकिन्छ। ती पोखरी भने अशोक स्तूपसँगै रहेको राजदल गणभित्र रहेको पलेस्वाँ पुखु (कमलपोखरी) हो। हालसम्म सेनाको अधिनमा रहेको उक्त पोखरी अब सप्तपातालसँगै निर्माण गर्ने योजना महानगरको छ। भक्तपुरको सल्लाघारीमा पनि सेनाको अधिनमा रहेको रानीपोखरी लामो समयपछि सर्वसाधारणका लागि खुला गर्न पुनर्निर्माणको काम हाल भइरहेको छ।
टुँडिखेलमा राजदल गण राखिएपछि त्यहाँको पोखरीहरुमाथि स्थानीयको पहुँच बन्द भएको थियो। त्यसपछि तीनवटा कमल पोखरीको पानी सुकेर सुख्खा मैदानमा परिणत भयो। समयक्रमसँगै राजकुलो मासिएपछि र संरक्षणको अभावमा सप्तपातालसँगै कमल पोखरीपनि घाँसे मैदान बनेको स्थानीय बताउँछन्।
सप्तपाताल पोखरी र अशोक स्तपु पछाडि रहेको कमलपोखरीको दृश्य। फाइल तस्विर : पी एस जोशी/ गुथि डट नेट
गत जेठमा भने सेनाको क्षेत्रभित्र रहेका ती पोखरी पुनर्निमाण गर्ने सहमति पत्रमा महानगर र राजदल गणले हस्ताक्षर गरिसकेको छ। अब यी सबै पोखरी पानीले भरिएपछि पाटनका ढुंगेधारा र 'रिचार्ज' हुने विश्वास रहेको बताउँछन्, महानगर प्रमुख चिरीबाबु महर्जन।
'स्थानीय र विज्ञका अनुसार यी पोखरीहरुकै कारण पाटनका ढुंगेधारा र इनार रसाउँथे। अब फेरि यी पोखरी बन्ने भएपछि पाटनमा सुकेका धारामा पानी बग्न विश्वास सबेको छ,' उनले भने।
पोखरी त बन्छ। तर, पानी कसरी हाल्ने? यस विषयमा छलफल भइरहेको उनले बताए। टीकाभैरवबाटै राजकुलो ल्याएर पानी राख्नेबारेमा पनि छलफल भइरहेको उनले बताए। हाल सबै पोखरीको 'इन्टिग्रेटेड डीपीआर' निर्माण गर्ने काम भइरहेको महर्जन बताउँछन्।
कमलपोखरी र सप्तपाताल पोखरीको डिजाइन
'राजदल गण गर्न सहमति हुँदा सप्तपाताल पोखरीको डीपीआर बन्दै थियो। पछि तीनवटा अरु पोखरी पनि थपिएपछि अलि समय लाग्ने भएको हो,' उनले भने।
महानगर प्रमुख महर्जनसँग पनि बाल्यकालको स्मृति छ पोखरीको। 'हामी त्यहाँ खेल्न जान्थ्यौं। त्यहाँ राम्राराम्रा कमलका फूल फुल्ने गर्थे। पछि घाँसे मैदान भयो। अब सेनाले फेरि पोखरी संरक्षाका लागि बाटो खोलेको छ। अब त्यहाँ फेरि कमलको फूल फुल्छ,' उनले भने।
महर्जनका अनुसार तीनवटा कमल पोखरी करिब ३० रोपनी क्षेत्रफलमा फैलिएको छ। सप्तपाताल पोखरीभन्दा यो दुई गुणाभन्दा बढी हो। महानगरले सप्तपातालसँगै कमल पोखरीमा पनि 'फेन्स' को काम सुरु गर्ने जनाएको छ।
करिब सन् १९२० मा अशोक स्तूपबाट देखिएको पोखरी र लगनखेलको दृश्य। तस्विर : गुथि डट नेट
'हामी पहिला पोखरीको जग्गामा घेरा लगाउँछौं। अनि पर्खाल लगाउँछौं। यसबाट राजदल गणको सुरक्षामा पनि कुनै खतरा हुँदन। अनि बिस्तारै बाँकी प्रक्रिया सुरु गर्छौं,' महर्जनले भने।