काठमाडौं : गएको तीन वर्ष यता प्रहरीका प्रमुखहरु फेरिए। गृहमन्त्रीहरु अदलबदल भए। प्रधानमन्त्री नै फेरिए। यी सबै परिवर्तन देखिरहँदा निर्मलाका लागि न्याय माग्नेहरुको आवाज धिमा बनेको छ।
तीन वर्ष अघि आजकै दिन हो सुदूर पश्चिमको महेन्द्रनगरमा निर्मलाको बलात्कारपछि हत्या भएको। यसबिच प्रहरी अपराधीको नजिक पुग्यो तर त्यहाँबाट एक कदम अगाडि बढ्ने साहस जुटाउन असफल रह्यो। मुलत: मिलेन निर्मलालाई न्याय, निर्वाध रह्यो अपराधी। तर, गर्दै नगरेको अपराधको जाँतोमा धेरै पिसिए।
निर्मलाले न्याय त पाइनन् पाइनन्, निरपराधहरुको जीवनमा यी तीन वर्षमा ठूलै आँधीबेहरी चलिरह्यो। निर्मला रहिनन् तर उनको हत्यासँग जोडेर 'अपराधी' बनाइएकाहरुको जीवन पनि सहज भएन। निर्मला प्रकरणमा अफवाहको सिकार भएकाहरुको हालत के छ त?
रोशनीले थालिन् पढ्न, बबिताको बिहे
'अनि नानीहरूको खबर के छ?'
केही अघिसम्म सामान्य रूपमा कुरा गरिरहेका दीपेन्द्र बम यस्तो प्रश्न झर्नासाथ झसङ्ग भए। हतारिँदै उत्तर फर्काए, 'ठीकै छ। त्यस्तो केही सुन्नु भएको हो र?'
उल्टै संशय। सामान्य प्रश्नमा सशङ्कित हुँदै प्रश्न गरे दीपेन्द्रले। तीन वर्ष बितिसकेपछि पनि छोरीहरूका बारेमा कुनै समाचार आयो कि भन्ने त्रासले आतंकित बनाउँछ उनलाई। त्यसैले सोधिहाल्छन् - केही आयो र?
दीपेन्द्र र उनकी श्रीमती दार्चुलामा बसोबास गर्छन्, दुई छोरी भने कंचनपुरमा।
निर्मलाको हत्या भएको एक वर्षसम्म रोशनी बमलाई स्कुल जानै तगारो लगाइयो। यी किशोरीमाथि सिंगो समाज र विद्यालय प्रशासन दुवैको भयपूर्ण दृष्टिकोण रह्यो। उनी आफैँ पनि विक्षिप्त भइन्, पढ्ने त टाढैको कुरो। एक वर्षपछि त्यो तगारो हट्दै गयो। उनी पनि चरम सकसपूर्ण अवस्थाबाट बाहिर निस्किन थालिन्। मुलत: उनी पहिले झैँ झोला भरि किताबकापी बोकेर स्कुल धाउन थालिन्।
घरबाट निस्किएपछि भेटिने मानिसका दृष्टि, सोचाइ र सोधिने प्रश्न फेरियो। विद्यालय फर्किने साहसको आधार त्यही थियो।
उल्टा खामको सरस्वती माध्यमिक विद्यालयबाट उनी महेन्द्रनगर बजारमा रहेको महेन्द्र माविमा भर्ना भइन्। पहिलेको विद्यालयमा पनि उनी पढ्ने कक्षा नभएको होइन। तर, त्यहाँ पढ्ने वातावरण मरिसकेको थियो उनका लागि। बाध्य भइन् विद्यालय फेर्न।
एक वर्षको अन्तरालपछि उनी विद्यालय पुगिन्। साथीभाइ, डेस्कबेन्च, शिक्षक सबै नौला। उनले ती सबै बिर्सिनुपर्ने अवस्था थियो जुन हामी तपाईँलाई यहाँ सम्झाउँदैछौं।
२०७५ साउन १० गते। सँगै पढ्नका लागि बिहान साढे १० बजेतिर निर्मला पन्त रोशनीको घरमा आइपुगेकी थिइन्। रोशनी र उनकी दिदी बबिता घरमै थिए।
दिउँसो करिब साढे २ बजेतिर रोशनीको घरबाट अम्बा लिएर निर्मला बाहिरिइन्। त्यसपछि निर्मला कहाँ गइन्? अज्ञात रह्यो। भोलिपल्छ रोशनीको घर नजिकै रहेको उखुबारीमा निर्मलाको शव भेटियो।
त्यसपछि रोशनी र बबिता बम प्रहरीको अनुसन्धानको घेरामा मात्र होइन र सिंगो समाजमा अपराधी झै ठहरिए। उनीहरूको घरमा नै निर्मलाको हत्या भएको आरोप लाग्यो। बम दिदिबहिनीको घर, प्रर्दशनकारीले ढुङगा प्रहार गर्दा सिसा फुटेको
हल्लाको तागत यति धेरै थियो त्यसैका आडमा प्रहरीले यी दिदी बहिनीलाई हिरासतसम्म पुर्यायो। अनुसन्धानका लागि जिल्लाका प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टलाई हटाएर एसपी कुबेर बहादुर कठायतले जिम्मेवारी समातेपछि बबितालाई १८ दिन र रोशनीलाई ६ दिनसम्म हिरासतमा समेत राखेर अनुसन्धान गरियो। हिरासतमात्र होइन, त्यसअघि र पछि पनि प्रहरीहरू रोशनी र बबिताको घरमा बारम्बार पुग्थे र दोहोर्याउँथे उही कुरा।
बम दिदी बहिनीका लागि बज्रपात जारी रह्यो। यतिसम्म कि मानिसहरु घरमै तोडफोड गर्न पुगे। भौतिक तोडफोडभन्दा डरलाग्दो गरी मानसिक आक्रमण सुरु भयो - सोसल मिडियामा। त्यसैको असर थियो - पढिरहेको स्कुलले ट्रन्सफर सर्टिफिकेटधरी दिन मानेन। रोशनीको एक वर्षको पढाइमा पूर्णविराम।
बबिताको पनि त्यही हालत। महेन्द्रनगरको फार वेस्टर्न युनिभर्सिटीमा बीबीएस दोस्रो वर्षमा पढ्दै थिइन् जतिखेर यस्तो घटना भयो। उनको परीक्षा छुट्यो, कलेज पनि।
'पढ्न मन मरेको थिएन। तर यस्तो घटना भयो जुन कल्पना समेत गरेको थिइन। त्यसैले त्यो समय पढाई त कुरै भएन। जीवनमा स्कुलको भन्दा धेरै पढाई परिस्थितिले पढाएको छ,' रोशनीले सुनाइन्।
आखिरमा प्रहरी अनुसन्धानले पनि निर्दोष देखायो उनीहरुलाई। त्यति हुँदा पनि समाजले सजिलै किन पत्याउँथ्यो?झन्डै वर्ष दिन लाग्यो उनीहरुमाथि बुनिएका काल्पनिक कथाहरु झुटो सावित हुन्।
एक वर्षपछि ९ मै भर्ना भइन् उनी, निर्मला प्रकरणको चोट आलै थियो। तै पनि संघर्ष गरेरै पढिन्। कक्षा ९ पास हुँदा रोशनी कक्षामा दोस्रो भइन्।
'पहिलेजस्तो गाह्रो छैन अहिले। पढाइ पनि राम्रो नै भएको छ। कक्षा ९ मा सेकेन्ड भएँ,' गएको साता कुराकानी हुँदा रोशनीको बोलीमा केही उत्साह सुनियो।
घटना भएको एक वर्षपछि उनकी दिदी बबिताको विवाह भयो। बबिताको जीवनको लय आफ्नै हिसाबले अगाडि बढेको छ। उनी त्यो घटना सम्झनै चाहन्नन्। पाँच महिनाको काखे छोरोले ती दिनहरु भुलाउन सघाइरहेको छ। 'धेरै दु:ख पाएको छु। अब मेरो घरपरिवार भइसक्यो। त्यस घटनाको बारेमा कुरा गर्न मन लाग्दैन,' बबिताले भनिन्।
रोशनीले एसईईको परीक्षा दिइसकिन्। प्रतीक्षा छ परिणामको। मेहनत अनुसार राम्रै हुनेमा आशावादी छिन्। नर्सिङ पढ्ने लक्ष्य लिएकी छिन्, त्यसैको इन्ट्रान्स तयारी चलिरहेको छ।
'नाम निस्किए नर्सिङ पढ्ने हो। नत्र प्लष्टुमा साइन्स पढ्छु। गएको तीन वर्ष त मेरो लागि सपना झैँ भयो,' रोशनीले भनिन्।
यतिखेर बम परिवारमाथिको सङ्कट सङ्लिएको छ। तर अहिले पनि रोशनीको घरमा केही महिना बिराएर सोधपुछका लागि प्रहरी पुगिरहेकै हुन्छन्। एक महिनाअघि मात्र पनि प्रहरीले एक व्यक्तिको फोटो लिएर सोधपुछ गरेका थिए। प्रहरी घरमा पुग्दा रोशनी आत्तिन्न। संकटको सामना गर्न अभ्यस्त भइसकिन् उनी।
तीन वर्षमा फेरिएका किरण
दुई वर्षछि भेट्दा केही फेरिएका देखिए उनी। दुई वर्षअघि कसैले नचिनोस् भन्दै मास्क लगाएर दरबारमार्ग आइपुगेका थिए उनी। यसपाला चाहिँ कोरोना संक्रमणले मुख छोप्न बाध्य बनायो। अब पनि मुख देखाउन डर लाग्छ?
'किन नमिल्नु? अब त अनुहार देखाएर हिँड्न सक्छु।'
उनले मास्क खोले।
उनी अर्थात् किरण विष्ट। कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टका छोरा। त्यतिमै सीमित रहेन उनको परिचय। निर्मला पन्त हत्याले चर्चित बनाएको एउटा नाम।
निर्मला पन्तको हत्यारा र बलात्कारी खोज्दा किरण विष्ट पनि प्रहरीको अनुसन्धानमा ठोकिन पुगे। सोसल मिडिया ट्रायलमा परेपछि कुख्यात बनाइए उनी। प्रहरीसँग उनलाई समात्ने कुनै आधार थिएन तर केही मिडिया, फेसबुक, ट्विटर र युट्युब सञ्चालकले आफ्नै इजलासबाट बलात्कारी र हत्यारा करार गरिसकेका थिए उनलाई।
उनीविरुद्ध गलत समाचार यस्तो रफ्तारमा फैलियो कि प्रहरी सङ्गठन नै किरण विष्टलाई सामान्य सोधपुछ मात्र गरेर छाड्न नसक्ने अवस्थामा पुग्यो। घटनासँग जोडिएको कुनै क्लु नहुँदानहुँदै डीएनए परीक्षण समेत भयो उनको। झुटा समाचारकै भरमा डीएनए परीक्षण गर्ने अवस्थामा पुग्नु भर्खरै किशोरावस्था पूरा गरेका उनका लागि कति सकसपूर्ण भयो होला? उनलाई केही समय घर परिवारमा मात्र होइन, साथीभाइसँग आँखा जुधाउने हिम्मत थिएन।
'त्यो क्षण भन्नै सक्दिनँ। घरमा मेरो अनुहार हेर्दा समेत परिवारका सबैको आँखामा आँसु आउँथ्यो। अनि म उहाँहरूको नजिक नै पर्दिन थिएँ,' किरण भावुक सुनिए, 'यो घटनापछि यस्तो भएको छु नि मेरो भावना नै सबै हराएको छ।'
आज उनको जन्मदिन। तीन वर्षअघि महेन्द्रनगरको ओपेरा होटेलमा उनको जन्मदिनको पार्टी थियो र त्यहाँ निर्मला पनि सहभागी भएको हल्ला व्यापक। यथार्थमा किरण होटलमा नै थिए तर फोटो सुट गर्न। पार्टी त टाढाको कुरा।
फोन कल, फोटो सुटमा संलग्न भएका अरु व्यक्ति र होटलका कर्मचारीसँग प्रहरीले सम्पर्क गर्दा कतैबाट पनि किरण दोषी ठहरिने अवस्था थिएन। तर नखाएको बिष यसरी लाग्यो कि उनको बोली पत्याउने कोही थिएन। फोटोग्राफीमा भविष्य खोजिरहेका किरणको यस घटनापछि घरबाट निस्किने साहस जुटाउन सक्दैन थिए। हात पर्नै लागेको प्रोजेक्ट समेत खोसियो।
अहिले भने फेरि कामतिर फर्किँदै छन् उनी। काठमाडौंको नक्सालमा फोटो स्टुडियोमा काम गर्न थालेका छन् अहिले।
'जीवन त यो पो हो जस्तो लाग्छ अचेल। रगतको आँसु बगाएर समय बिताएको छु। अब त जस्तै कठिनाइ आए पनि जुध्न सक्छु जस्तो लागेको छ। जीवन के हो भन्ने यो तीन वर्षमा राम्रोसँग बुझेँ,' किरणले सुनाए।
तीन वर्षसम्म पनि निर्मलाको हत्यारा पत्ता नलगाएकोमा भने दु:खी सुनिए उनी। एउटा दु:खीको पीडा अर्को दु:खीले जति अरूले बुझ्नै सक्दैन भन्ने लाग्छ उनलाई। उनलाई आफ्नोमात्र होइन बम दिदी बहिनीदेखि निर्मलाकी आमाको पीडा समेत महसुस हुने सुनाउँछन्।
होटेलमा बर्थ डे मनाएको समाचारले बेलाबेलामा घोचिरहेको हुन्छ उनलाई। जुन दिन निर्मला हराइन्, त्यही दिन उनको वर्थ डे पर्छ। त्यसैले चाहेर पनि उनले भुल्न सक्दैनन् निर्मला प्रकरण र त्यसपछि पाएको हण्डर।
किरणको डीएनए परीक्षण गरियो। बाबु एसपी दिल्लीराज विष्टको पनि। नेपालको इतिहासमा एउटै हत्या/बलात्कारको घटनामा एकै पटक बाबु र छोराको डीएनए परीक्षण गर्ने दुर्लभ संयोग जन्मियो।
अनाहकमा डामिएका अनुसन्धानमा खटिएका प्रहरी
गत मंगलवार (साउन ५) साढे ५ बजेतिर फोन गर्दा पृष्ठभूमिमा गाडीको जस्तो आवाज सुनियो। सायद् उनी ड्युटीमा नै थिइन्।
'कता हुनुहुन्छ?'
'म ड्युटीमा नै छु सर। खासै कुरा गर्न मिल्दैन। एक छिनपछि गर्छु नि है।'
उनले फोन राखिन्।
दार्चुलाको गोकुलेश्वर बजारमा ड्युटी रहेछ उनको। बजारमा भएकाले गाडीको आवाज पनि सुनिएको रहेछ।
उनी अर्थात् प्रहरी जवान चाँदनी साउद। उनी अहिले इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा बर्दीमै भेटिन्छिन्।
झन्डै दुई वर्षपछि फेरि घरको किलामा झुन्डिएको निलो रङ्गको बर्दी लगाएर ड्युटीमा फर्किँदा उनको मन हलुंगो भएको थियो।
तर, दुई वर्षभन्दा बढीको समयमा उनले जे भोगिन् त्यो कसैले पनि भोग्न नपरोस् भन्ठान्छिन्।
२०७२ वैशाख २७ गते नियुक्ति पाएपछि पहिलो पोस्टिङ नै महेन्द्रनगरमा भयो चाँदनीको। बर्दी लगाउन पाएपछि उनलाई लाग्यो बुवाको सपना पूरा भयो। उनका बुवा छोरीलाई पुलिस भएको हेर्न चाहन्थे। तर, छोरीले बर्दी लगाएको हेर्न नपाउँदै उनको मृत्यु भयो माओवादीको द्वन्द्वमा।
२०५८ साल फागुन ४ गते शनिवार। राति तत्कालीन माओवादीले अछामको सदरमुकाम मंगलसेनमा भिषण आक्रमण गरेको थियो। सशस्त्र द्वन्द्व अवधिकै सबैभन्दा ठूलो मानिने यो आक्रमणमा ५३ सैनिक, ५९ प्रहरी, निजामतीका २ र सर्वसाधारण ८ गरी १ सय २२ जना मारिए । त्यही क्रममा प्रहरी जवान लक्ष्मणसिंह साउद पनि मारिए। बावु बिते पनि उनको इच्छालाई चाँदनीले जिवितै राखिन्।
तीन वर्ष अघि साउन ११ गते बिहान खाना खाएर अफिस पुगेपछि बालिकाको शव भेटियो भन्ने खबर कन्ट्रोलबाट आयो।
हरसिंह धामी, ज्ञानबहादुर सेटी र एकीन्द्र खड्का र उनी घटनास्थल पुगे। सेटी डिएसपी हुन् भने धामी सोको (सिन अफ क्राइम) अफिसर र इन्स्पेक्टर खड्का अनुसन्धान अधिकृत। बिहान साढे ९ बजेतिर घटनास्थलपुग्दा मानिसको भिड लागिसकेको। र, उखुबारीभित्र थियो शव - निर्मलाको।
शव घोप्टो अवस्थामा थियो। माथिको लुगा ठीकै थियो। तल नाङ्गै। उनले त्यो दृश्य देख्न सकिनन्। खुट्टामा अल्झिएको सुरुवाल पानीमा चोपलिन् र त्यसैले निर्मलाको अंग खोपिन्। जब निर्मला प्रकरण पेचिलो बन्दै गयो, चाँदनीको 'लाज ढाक्ने' कदम उनका लागि महँगो पर्यो। घटनामा प्रमाण नष्ट गर्न सुरुवाल पानीमा चोपलेको आरोप लाग्यो।
आरोपमात्र लागेन, विभागीय कारवाही नै भोग्न पर्यो। जागिर गुमेकोसँगै निर्मलाको अपराधीलाई जोगाएको आरोपको भारी खेप्न पर्यो। उनी निलम्बनमा परिन्। जिल्ला अदालत कञ्चनपुरमा प्रमाण नष्ट गरेको आरोपमा मुद्दा पर्यो। २ लाख ५० हजार धरौटी मुस्किलले जुटाएर उनी छुटिन्।
'त्यो अवधि सम्झन पनि चाहन्न। अदालतले न्याय दिएको छ,' जवान साउदले भनिन्। एक वर्षअघि साउन १५ गते जिल्ला अदालत कञ्चनपुरले मुद्दा खेपिरहेका ८ जना प्रहरीलाई सफाइ दिएको थियो। त्यसपछि उनको निलम्बन फुकुवा भयो, काममा फर्किइन्। उनलाई अहिले पनि कुनै बलात्कार र हत्याको घटना आए झसङ्ग बनाउँछ उनलाई। तर, सम्हालिनुको विकल्प छैन उनलाई।
'अहिले त राम्रो छ सर। राम्रोसँग काम गर्ने हो अब,' चाँदनी आत्मविश्वासी सुनिइन्।
उनीसँगै निर्मला प्रकरणमा मुछिएका चार प्रहरीमध्ये एसपी दिल्लीराज विष्ट, डीएसपी अंगुर जीसी र प्रहरी निरीक्षक जगदीश भट्ट काममा फर्किएका छन्। भट्ट सुर्खेतमा कार्यरत छन्। एसपी विष्ट र डीएसपी जीसी भने प्रहरी प्रधान कार्यालयमा हाजिर लगाएर बसिरहेका छन्। उनीहरूलाई कुनै जिम्मेवारी दिइएको छैन।
त्यही प्रकरणमा मुछिएका प्रहरी निरीक्षक एकेन्द्र खड्का जागिरबाट अवकाश भइसकेका छन्। निलम्बनकै अवधिमा अवकाश पाएपछि उनी महेन्द्रनगरमा नै बस्दै आएका छन्। दुई वर्षको अवधि एकदमै कष्टकर भए पनि अदालतबाट न्याय मिलेकोमा सन्तुष्ट सुनिए उनी।
'तीन वर्ष भयो। खोइ हामीले गरेको अनुसन्धान गलत भएको भए सही यो हो भन्न सक्नु पर्यो नि। खै अहिलेसम्म कोही अभियुक्त उभ्याउन सकिएको छैन त,' पूर्व प्रहरी निरीक्षक खड्काले भने। उनीसँगै अनुसन्धानमा खटिएका ज्ञानबहादुर सेतीले पनि अवकाश पाइसकेका छन्।
निर्मला प्रकरणमा कारबाहीमा परेका हरिसिंह धामी पनि २०७६ मा अवकाश भए। त्यसपछि उनी पनि महेन्द्रनगरमा नै बस्दै आएका छन्। धामी निर्मला घटनामा आफूले पाएको पीडा सम्झिन चाहन्नन्। प्रहरीबाट नै मिलेको पीडाले उनलाई डिप्रेसनमै पुर्यायो।
'निर्मला केस सम्झनुभन्दा नसम्झनु नै बेस। सम्झना बेकारमा कहाली लागेर आउँछ। तल्लो तहको कर्मचारी भनेर यति दुःख दिए कि के भन्नु?,' धामीले भने।
+++
यहाँसम्म त तपाईँले निर्मला प्रकरणमा चरम पीडा भोग्ने निर्दोषहरुका कथा पढ्नुभयो। यी सबै पात्र आफूले न्याय पाएकोमा जति खुशी छन् उति नै बेखुस छन् - निर्मलाको हत्यारा नसमातिँदा र निर्मलाले न्याय नपाउँदा। हल्लैहल्लामा चलेको देश र शासकको प्रवृत्तिले उनीहरुलाई थोरै पनि उत्साह दिँदैन। निर्मला प्रकरण टुङ्गोमा पुग्न नसक्नुको एउटा मुख्य कारण यहाँको शासन पद्धति पनि हो जसले यस्ता प्रकरणलाई 'मौका'का रुपमा राजनीति गर्ने मेलो बनाइरह्यो। त्यो मेलोमा जोडिए प्रधानमन्त्री, गृहमन्त्री, प्रहरी प्रमुख र केही पत्रकार।
निर्मलाको हत्या भएको एक महिना पछि प्रधानमन्त्री रहेका केपी शर्मा ओलीले भदौ २० गते ‘जनतासँग प्रधानमन्त्री’ भन्ने टेलिभिजन कार्यक्रममा प्रहरी अनुसन्धानलाई नै प्रभावित पार्नेगरी अभिव्यक्ति दिए। अनुसन्धान जारी रहँदै उनले बम दिदी बहिनीमाथि सहानुभूतिपूर्व अभिव्यक्ति दिए जसले निर्मला प्रकरणमा आन्दोलितहरुलाई थप मलजल गर्यो। त्यसपछि तातेको निर्मला प्रकरणको आगो ओली सरकारले कहिल्यै निभाउन सकेन।
झन्डै साढे तीन वर्ष सरकारको नेतृत्व गरेका प्रधानमन्त्री ओली केही दिनअघि मात्र सरकारबाट हटेका छन्। उनी सत्ताबाट बाहिरिए पनि एउटा निर्मला प्रकरणको असफलताको उनको निधारमा टीका बनेर सधैंका लागि रहिरह्यो। विपक्षीलाई पनि ओली सरकार घेर्ने आधार बन्यो निर्मला प्रकरण।
त्यसैले घरीघरी ओलीले निर्मलाको हत्यारा पक्राउ गर्न प्रहरीलाई दबाब दिन्थे। प्रहरीले पनि सक्रिय भए झै देखिन्थ्यो। तर, न टेक्ने ठाउँ न समाउने हाँगो भनेजस्तै अन्योलमै रुमलियो प्रहरी। निर्मलाको न्यायका लागि सडकमा उत्रिएकालाई दमन गर्ने रणनीति ओली सरकारले लिइरह्यो। यतिसम्म कि प्रहरी लगाएर निर्मलाका लागि न्याय माग्दै टाँसिएका पोस्टरहरु उप्काउँदै हिँड्यो ओली नेतृत्वको सरकार। ओली बालुवाटारबाट सत्ताच्युत भएर बाहिरिए। सँगै अब निर्मला प्रकरण पनि ओलीको बहसभन्दा बाहिर पुग्यो।
निर्मला प्रकरणमा ओलीभन्दा बढी बदनाम भए गृहमन्त्री रामबहादुर थापा बादल। यस प्रकरणमा असफलताको भागेदारीको सबैभन्दा ठूलो हिस्सा बादलकै काँधमा रह्यो। चाहे संसद्मा होस् वा अन्य ठाउँमा गृहमन्त्री थापाले जेजस्ता अभिव्यक्ति दिए त्यसले अनुसन्धानलाई झनै जटिल बनाइरह्यो।
अनुसन्धान नै पूरा नभइ दोषी समातिएको अभिव्यक्ति संसदमा दिएका थिए थापाले। अनुसन्धान प्रकृया नबुझी निर्मलाका बुबाको औँठा छापा नक्कली भन्ने उनको अभिव्यक्तिले पनि सनसनी फैलाउनेमात्र काम गर्यो।
'आफन्तले दिएको जानकारीका आधारमा दुई जनालाई पक्रिसकेका छौँ- २२ वर्षका जीवन घर्ती मगर र १७ वर्षका दीपक नेगी,' संसदमा यसै भने गृहमन्त्री थापाले।
यी ती दुई व्यक्ति थिए जसलाई प्रहरीले सामान्य सोधपुछमा मात्र गरेको थियो। गृहमन्त्रीले अभियुक्त भनेर चिनाएका एक जना यौन रोगी र अर्का 'खुकुरी हानेर निर्मलालाई मारेको हुँ' भन्ने मानसिक सन्तुलन ठीक नभएका व्यक्ति पुष्टि भएपछि प्रहरीले उनीहरुलाई छाडेको थियो।
गृहमन्त्री थापाका लागि निर्मला प्रकरण एउटा देशको घटना मात्र भएन। आफ्नै घरभित्र समेत यसले नराम्रोसँग हान्यो। थापाका छोरा समेत घटनामा तानिए। एक सञ्चार माध्यमले निर्मलाको हत्यामा गृहमन्त्रीका छोरा समेत संलग्न हुनसक्ने भन्दै समाचार नै छाप्यो, जसलाई पुष्टि गर्ने कुनै आधार थिएन।
गृहमन्त्री थापाले दुई पटक उही पदमा शपथ लिए। तर, एउटा हत्या प्रकरण सुल्ट्याउन नसकेरै सत्ताबाट बर्खास्तीमा परे सर्वोच्च अदालतको आदेशका कारण।
गृहमन्त्रीपछि विभागीय जिम्मेवारीका हिसाबले सफलताको खत सर्वेन्द्र खनालमाथि पनि लाग्यो। त्यो खत अब उनले कसैगरी पनि पुर्न सक्ने छैनन्। एक असफल प्रहरी प्रमुख र पछिल्लो समय त सांसद अपहरणजस्तो प्रकरणमा सामेल हुनुले उनको हैसियतलाई धुलोमा पुर्याएको छ। उनकै कार्यकालमा निर्मला प्रकरण भएकाले जिम्मेवारी उनको काँधमा थियो तर त्यसालाई हाँक्न उनी असफल रहे।
त्यसपछि नेपाल प्रहरीको महानिरीक्षकमा पाँच महिना जिम्मेवारी सम्हालेका ठाकुर ज्ञवालीले पनि कुनै उल्लेखनीय भूमिका खेल्न सकेनन्। उनी निर्मला प्रकरण हुँदा एसएसपी थिए। केन्द्रीय अनुसन्धान ब्युरोबाट डीएसपी अंगुर जिसीको नेतृत्वमा भएको अनुसन्धानपछि कंचनपुर पुग्ने पहिला एसएसपी ज्ञवाली नै हुन्। तर, उनको अनुसन्धानले खासै नयाँ कुरा ल्याउन सकेन।
२०७५ भदौ १६ गते डीएसपी कमल थापासहित उनी कञ्चनपुर पुगेका थिए। निर्मला प्रकरणमा अभियुक्त भनिएका दिलिप सिंह भेटेर घटनाक्रमको जानकारीसमेत लिएका थिए। तर, टुङ्गोमा पुर्याउन उनले सकेनन्। यतिखेर प्रहरी प्रमुखमा शैलेश थापा क्षेत्री छन्। के यो केसलाई सधैंका लागि पूर्णविराम लगाउने अवस्थामा पुर्याउलान्?
#WhoKilledNirmala शृङ्खला
विगत : निर्मला प्रकरणले सम्झाएको त्यो हाइप्रोफाइल रेप र मर्डर केस : नमीता-सुनीता-नीरा र चुडामणि
शृङ्खला १ : निर्मलालाई देशभर चिनाउने 'आइकनिक' फोटोमा लुकेको कथा
शृङ्खला २ : कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य
शृङ्खला ३ : क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या?
शृङ्खला ४ : निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्यो अनुसन्धानको घेरामा
शृङ्खला ५ : 'रे' मा रुमल्लिएको निर्मला प्रकरण
शृङ्खला ६ : निर्मला हराएपछि तारो बनेको त्यो दुई तल्ले घर
शृङ्खला ७ : बबिताको त्यो बोली जसले उनीहरुलाई 'अपराधी' बनायो
शृङ्खला ८ : पहिलो दिनदेखि नै भएको प्रहरीको लापरवाहीले उब्जायो विश्वासको संकट
शृङ्खला ९ : निर्मला प्रकरणमा 'भिआइपी' कनेक्सन
शृङ्खला १० : निर्मलाको शव भेटिएकै ठाउँतिर एक्टिभेट मोबाइलको म्यासेज: 'त्यो केटी छाड्देऊ, त्यो भन्दा राम्री मिलाइदिन्छु।'
शृङ्खला ११ : एक युवतीको ३० सेकेन्डको 'बाइट' जसले निर्मला प्रकरणमा दियो महत्त्वपूर्ण क्लु
शृङ्खला १२: निर्मलाको हत्या भएकै दिन गाउँबाट गायब एक दुर्व्यसनी फेरि किन काठमाडौँमा समातिए?
शृङ्खला १३: निर्मलाको हत्यामा अम्बाको रुख र रङको चर्चा
शृङ्खला १४: Exclusive : डिएनए रिपोर्टले देखाउँछ निर्मलाको बलात्कार एक जनाबाट मात्रै, 'प्रहरीको ल्याब अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैन'
शृङ्खला १५ : चोरीका आरोपीलाई बलात्कारको 'दोष' : पोस्टर च्यात्दाको बदनामी मेटाउने प्रपञ्च?
शृङ्खला १६ : निर्मला प्रकरणमा युट्युबरको आफ्नै इजलास, आफ्नै प्रमाण, न्यायाधीश पनि आफै
शृङ्खला १७ : विश्वकै टप डिएनए एक्सपर्ट के भन्छन् निर्मला प्रकरणमा? यस्तो छ उनको सुझाव
शृङ्खला १८ : को थिए ती तीन युवती जो एसपीका छोरासँगै होटल ओपेरामा देखिए?
शृङ्खला १९ : प्रहरीले गोप्य राखेको निर्मलाको त्यो 'अटोजोमल एसटिआर रिपोर्ट' जसमा बलात्कारीको डिएनए देखिएन
शृङ्खला २० : जब निर्मलाको हत्यामा 'क्लु' खोजिरहेको प्रहरीसामु आफै 'क्लु' आइपुग्यो
शृङ्खला २१ : बरु एक्लै रुन सजिलो : निर्मलाकी आमा
शृङ्खला २२ : 'स्पाइरल अफ साइलेन्स' चिरिएको महेन्द्रनगर : आखिर कसले गर्यो निर्मलाको हत्या?
शृङ्खला २३ : अछामबाट 'पक्राउ परेका' दुई आर्मीको निर्मला प्रकरणमा के छ कनेक्सन?
शृङ्खला २४ : निर्मलाको सुरुवाल पखाल्ने चाँदनी : हाइप्रोफाइल अपराधीको हल्लामा चेपिएकी प्युसो प्रहरी
शृङ्खला २५ : निर्मला प्रकरणमा वीरबहादुरको बन्दै गरेको घरसँग जोडिएको कनेक्सन
शृङ्खला २६ : निर्मला प्रकरणलाई 'ट्विस्ट एन्ड टर्न' गराउने ती शक्तिशाली व्यक्ति
शृङ्खला २७ : मान्छे मर्ने गरी आन्दोलन चर्काउन उक्साउने ती रहस्यमय व्यक्ति को थिए?
शृङ्खला २८ : 'आन्दोलन नगरे ३५ लाख, मर्ने मार्ने गरी गरे सुविधा' : निर्मलाको नाममा घिनलाग्दो राजनीति
शृङ्खला २९ : निर्मला र रमिलाको पीडा : कानुनको कठघरामा उभ्याउन होइन, चोख्याउन सघाइरहेको छ डिएनए रिपोर्ट
शृङ्खला ३० : निर्मला प्रकरण : यसरी गरियो रिपोर्टिङ, यस्तो रह्यो हाम्रो निष्कर्ष
थप समाचार
- निर्मला प्रकरण : पुरानै मिति राखी मानवअधिकार संगठनले गुपचुप सच्यायो प्रतिवेदन, बम दिदीबहिनीबारे तथ्य नै फरक
- निर्मला प्रकरण: राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस त्रुटिपूर्ण कि प्रहरीको ल्याबको रिपोर्ट?
- आयोगको प्रतिवेदनलाई प्रहरीको काउन्टर अट्याक : यसकारण आमासित डिएनए मिल्दैमा शंका हट्दैन
- निर्मला प्रकरणका एक पीडित : 'मरेको भनौँ सास छ, जिउँदो भनौँ केही गर्न सक्दैन'