PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

प्रशिक्षकको राजीनामा प्रकरणमा 'हस्तक्षेप' र 'मानहानी'को बहस, के एन्फाको राजनीतिक मैदानसम्मै पर्ला असर?



मुकुन्द घिमिरे

प्रशिक्षकको राजीनामा प्रकरणमा 'हस्तक्षेप' र 'मानहानी'को बहस, के एन्फाको राजनीतिक मैदानसम्मै पर्ला असर?

काठमाडौं : आइतवार नेपाली फुटबल क्षेत्र प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको राजीनामाले तरंगित बन्यो। फेसबुकमार्फत राजीनामा दिने बताएका अलमुताइरीले स्पस्ट रुपमा एन्फाका वरिष्ठ उपाध्यक्षको हस्तक्षेपलाई कारण देखाए। उता वरिष्ठ उपाध्यक्ष नेम्बाङले अलमुताइरीको आरोपलाई ठाडै अस्वीकार गर्दै मुख्य प्रशिक्षकको राजीनामाले आफू आश्चार्य चकित भएको बताए।

'म दोषी पाइए एक मिनेट पनि एन्फामा बस्ने छैन। मैले गएको ३ हप्ता उहाँलाई काहाँनेर दु:ख दिएँ। म आफै चकित छु। म अनप्रोफेश्नालिज्मका पछाडि लाग्दिनँ। उहाँले अनप्रोफेसनालिजम देखाउनु भयो।'

नेम्बाङले उल्टै प्रश्न तेर्साए, 'फलानाका कारणले यस्तो भयो। मुख्य प्रशिक्षकजस्तो व्यक्तिले त्यही संस्थाको उपाध्यक्षलाई आरोप लगाउनु कहाँसम्मको प्रोफेस्नालिजम हो? के नियतले मलाई उहाँले आरोप लगाउदै हुनुहुन्छ? मैले तमाम फुटबल प्रेमीबाट गाली खानुपरिरहेको छ,' उनले भने।

अर्कोतर्फ एन्फाका प्रवक्ता किरण राईले आधिकारिक राजीनामा नआएको बताए।

'फेसबुकमा स्टाटस पोस्ट गरिसकेपछि वहाँ यहाँ आइपुग्नु भएको थियो। वहाँले म अलि तनावमा छु भनेर असन्तुष्टी जनाउनु भएको छ। अफिसियल्ली राजीनामा दिनु भएको छैन,' प्रवक्ता राईले भने, 'म तनावमा छु भनेपछि आराम गर्न पठाइएको हो।'

वरिष्ठ उपाध्यक्षसँगको सम्बन्धनबारे अध्ययनमा रहेको र अध्ययनपछि समाधान गर्ने उनले बताए। 

त्यस्तै एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा अलमुताइरीलाई कन्भिन्स् गराउन लागि परेका छन्। तनावमा देखिएका प्रशिक्षक अलमुताइरीले फेसबुकबाट राजीनामाको घोषणा गरेयता थप केही कदम उठाएका छैनन्।

यस्तोमा वरिस्ठ उपाध्यक्ष नेम्बाङले आफूमाथिको आरोप पुष्टि गरे फुटबल छाड्ने नै घोषणा गरेका छन् भने अलमुताइरी स्पस्ट छैनन्।

अब कुरा इगोको लडाइमा पुगेको देखिन्छ। अब देखिएको भनेको या त प्रशिक्षकमाथि नेम्बाङले दवाब बनाउँदै आएको पुष्टि हुनु पर्‍यो, या प्रशिक्षकमाथि गलत सन्देश प्रवाह भएको हुनुपर्‍यो। दु बैकुरा पुष्टि हुन बाँकी छ। यसका लागि नेम्बाङले छानविनको माग गरेका छन्। र, एन्फाले पनि अध्ययन चलिरहेको जनाएको छ। आइतवार एन्फा कम्प्लेक्समा प्रशिक्षकसँगको च्याट नै सार्वजिक गर्दै नेम्बाङले आफूले कुनै दबाव नदिएको र अहिलेसम्म प्रत्यक्ष कुराकानी नै नभएको दाबी गरेका छन्। यस्तोमा नेम्बाङले आफूमाथि राजनीति भएको दाबीसमेत गरेका छन्। जुन एन्फामा असम्भव चाहिँ हैन।

'एन्फाको आगामी निर्वाचनका निम्ती मेरो लागि यो षड्यन्त्र हो भन्ने मैले बुझेको छु। मैले अध्यक्ष ज्युलाई छानविन समितिको माग गरेको छु। तुरुन्त केन्द्रीय कार्यसमितिको माग गरेको छु। तुरुन्त छानविन समिति गठन गरेर निष्कर्ष निकाल्नु पर्छ,' उनी भन्छन्, 'म दोषी पाइए एक मिनेट पनि एन्फा बस्ने छैन। म राजीनामा दिन तयार छु। तर मुख्य प्रशिक्षकले गएको तीन हप्तामा कहाँ दु:ख दिएँ त्यो प्रमाणित गर्नुपर्‍यो।'

नेपाली फुटबलमा अट्याकिङ बनाउने र साफ च्याम्पियन बनाउने लक्ष्यका साथ अलमुताइरी चैतको अन्तिम साता औपचारिक रुपमा नेपाली फुटबलको प्रशिक्षक घोषणा भएका थिए। स्पस्ट वक्ताका रुपमा उनले नेपाली फुटबल समर्थकहरुको मन जित्न पनि उनले समय लगाएनन्। नेपाली टोलीमा पनि उनले परिवर्तन ल्याए, नयाँ खेलाडीलाई अवसर दिए। उनको नेतृत्वमा इराकविरुदध् मैत्रीपूर्ण खेल र विश्वकप क्वालिफायर्सका तीन खेल खेल्यो। जसमा नेपालले एक जित निकाल्यो।

नेपाल आएसँगै उनी सामाजिक सञ्जालमा धेरै सक्रिय छन्। खासगरी फेसबुकमा। फेसबुकमा हरेक गतिविधिको अपडेट दिइरहने उनी कमेन्टको रिप्लाइमा समेत पुग्न भ्याइरहेका हुन्छन्। भलै, कसैले आलोचना नै गरेको किन नहोस्। यसलाई उनले अलि बढी नै सिरियसल्ली लिएको देखिन्छ।

पछिल्ला दिनहरुमा अभ्यासमा रहेका खेलाडीहरुलाई दुई टीम बनाएर खेलाएका उनले आइतवार एक्कासी राजीनामाको घोषणा गरे। र, एन्फामा गएर आफू तनावमा भएको र राजीनामा गर्ने बताए। आफ्नो स्टाटसमा अलमुताइरीले स्पस्ट रुपमा एन्फाका वरीष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङलाई दोष दिएका छन्।

पछिल्लो टसल

वरिष्ठ उपाध्यक्ष नेम्बाङका अनुसार पछिल्लो पटक एउटा इन्टर्भ्यूमा प्रशिक्षक अलमुताइरीले 'नेपालको फुटबल परिवर्तन हुन खेलाडीको मात्रै मानसिकता परिवर्तन भएर हुँदैन, फुटबलसँग सम्बन्धित व्यक्तिहरुको पनि मानसिकता परिवर्तन हुनपर्छ' भनेर दिएको अभिव्यक्तिलाई लिएर असन्तुष्ट रहेछन्। उनले एन्फा आएर यसको जानकारी सहायक प्रशिक्षक किरण श्रेष्ठ र महासचिव इन्द्रमान तुलाधरलाई बताएका रहेछन्।

'त्यसपछि महासचिवलाई भेटेँ। वहाँलाई पनि यहि कुरा राखेँ। प्रशिक्षकबाट एन्फा पदाधिकारीका बारेमा यस्तो कुरा मिडियामा आएको छ। तपाइले तुरुन्त स्पस्टीकरण लिनुपर्‍यो भनेर भने,' नेम्बाङ भन्छन्, 'मैले बोलारछु भन्नु भयो। मैले कुरा गरेँ। अबदेखि यस्तो कुरा नगर्नू भनेर भनेको छु। वहाँले हुन्छ भन्नु भएको छ भनेर भन्नु भयो। म त्यही कुरामा छु। मैले त्यही विश्वास गरेको छु।'

नेम्बाङको दाबी छ: व्यक्तिगत रुपमा मैले दखल अन्दाज गरेको छैन र एन्फाले पनि गरेको छैन। र यो ममाथि लागेको निराधार आरोपमात्र हो र यसको छानविन हुन आवश्यक छ।

र, एन्फाको राजनीति

पछिल्लो समयमा एन्फाको राजनीति तात्दै गएको सत्य हो। केहीसमय अघिमात्र पनि एन्फाका टेक्निकल कमिटीका अध्यक्ष तथा एन्फा उपाध्यक्ष कृष्ण थापाले कमिटीबाट राजीनामा दिए। र, कारण देखाए: व्यवस्थापनबाट अवरोध र परामर्शबिनैको एकलौटी निर्णय।

त्यस्तै होस्टल व्यवस्थापन समितिबाट पनि संयोजक दिनेश ब्यन्जनकार लगायतले आफ्नो क्षेत्रमा हावी भएको भन्दै राजीनामा दिएका थिए।

एन्फाको चुनाव नजिकिँदै गर्दा सहयोग/असयोग या काखा/पाखा लगाउने राजनीति सुरु भएको देखिन्छ। जसको प्रभाव/पेलानमा प्रशिक्षक अलमुताइरी परेको देखिन्छ।

यता नेम्बाङ यो पहिलो पटकमात्र विवादमा परेको भन्ने चाहीँ होइन। यसअघि पनि एएफसी यू १६ मा योग्य खेलाडीलाई हटाएर नेम्बाङका छोरालाई टिममा स्थान दिएको भन्दै ब्यापक आलोचना भएको थियो। त्यसबाहेक एन्फा राजनीतिलाई दुई धारमा राखेर हेर्ने हो भने नेम्बाङले एउटा धारको नेतृत्व गर्छन्, जो एन्फामा 'प्रतिपक्ष'को जस्तो भूमिका देखिन्छ।

एन्फा संस्थापन र नेम्बाङ पक्षको टसल

गणेश थापा एन्फाको नेतृत्वमा रहँदा 'चेन्ज एन्फा' को नारा लिएर अहिलेका अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ एकठाउँमा उभिएका थिए। कांग्रेस पृष्ठभूमिका यी दुबै चुनाव पनि एकै ठाउँ उभिएरै जिते। नयाँ कार्यसमिति आएपछि भने यी दुईबीच आन्तरिक रुपमा विमती सुरु भयो। अध्यक्षले एकलौटी गरेको र ऐन लत्याएको लगायतका मुद्दाहरु नेम्बाङले उठाउन थाले।

असन्तुष्टिको पछिल्लो शृङखलाको औपचारिक सुरु हुन्छ एन्फाको वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङको फरक मतबाट। उनले एन्फा अध्यक्षले एकलौटी ढंगले काम गरेको लगायतका विभिन्न विषयहरुलाई उठान गर्दै आफ्नो असन्तुष्टिलाई 'नोट अफ डिसेन्ट' दर्ता गराउँदै औपचारिकता दिएका थिए। यसअघि बाटै नेम्बाङ र कर्माछिरिङको दुरी बढेको भन्ने चर्चा परिचर्चा चले पनि अघिल्लो वर्ष माघ २६ को एन्फाको बैठकमा असन्तुष्टि जनाएसँगै यो विषय सतहमा आयो।

त्यस्तै 'एन्फा डे' प्रकरणमा ललितपुर फुटबल संघका अध्यक्ष कारवाहीमा पर्दा यो अवैधानिक भएको भन्ने स्पस्ट लाइनमा देखिए नेम्बाङ। त्यस्तै अध्यक्ष शेर्पाले अघिल्लो साल रंगभेदी टिप्पणी गरेको भन्दै फिफा एएफसी लगायतको अन्तर्राष्ट्रिय संघहरुमा उजुरी दिनेमध्येमा नेम्बाङ पनि थिए।

त्यस्तै नेम्बाङ पक्षलाई लिएर अध्यक्ष शेर्पा पनि कम आक्रामक देखिएका भने होइनन्। नेम्बाङ र नेम्बाङ पक्षका पदाधिकारीको जिम्मेवारी खोसेर आफ्नो पक्षमा राख्नेमा शेर्पा सक्रिय देखिए।

अर्कोतर्फ यो राजनीतिको प्रभाव मैदानमा देखिने स्पस्ट छ। नेपाल घरेलु मैदानमा १३ औं संस्करणको साफ गराउन पहल गरिरहेको छ। त्यस्तै एसियन कप क्वालिफायर्स पनि धेरै टाढा छैन। यस्तोमा अलमलमा देखिनेछन् खेलाडीहरु। बन्द प्रशिक्षणकै क्रममा प्रशिक्षक विवादमा तानिँदा पक्कै पनि राम्रो सन्देश उनीहरुले पाउने छैनन्।

खैर, चुनाव नजिकिँदै गर्दा दुई पक्षबीच थप टसल बढ्दा नेपाली फुटबल समर्थकबीच राम्रो प्रभाव जमाएका अब्दुल्लाह अलमुताइरी परेको देखिन्छ। राजनीतिक विषय जे भए पनि अब यस प्रकरणले स्पस्ट उत्तर त खोज्छ नै - यो हस्पक्षेप थियो या मान हानी?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell