PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रहरी अधिकृतबिच अनुसन्धानमा होडबाजीको असर : न निर्मलालाई न्याय, न अपराधी खोरमा



सविन ढकाल

प्रहरी अधिकृतबिच अनुसन्धानमा होडबाजीको असर : न निर्मलालाई न्याय, न अपराधी खोरमा

काठमाडौं : गएको चैत अन्तिम साता सुदूरपश्चिम प्रहरी प्रमुख डीआइजी उत्तम सुवेदी धनगढीबाट काठमाडौं ‌ओर्लिए। उनी काठमाडौं आउनुको मुख्य कारण अन्य भए पनि सहायक कारण भने निर्मला घटना प्रकरण थियो।

गएको माघ २१ गते बिहान ८ बजे विद्यालय गएकी बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १२ कक्षामा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको दोस्रो दिन गाउँ नजिकैको लवलेक सामुदायिक वनमा शव फेला पर्‍यो।

देशभर यो घटनाको चर्चा हुन थाल्यो। डीआइजी सुवेदी आफैँ घटनाको अनुसन्धान गर्न बैतडी पुगे। जिल्लाका प्रहरी प्रमुख समेत कमै सामेल हुने यस्ता घटनामा डीआइजी आफैँ बसेर अनुसन्धान गर्नुले सुवेदीको चर्चा हुन थालिसकेको थियो।

झन्डै दुई सातापछि प्रहरीले भागरथीको हत्यामा संलग्न एक अभियुक्तलाई पक्राउ गर्‍यो। घटनासँगै डीआइजी सुवेदी पनि सफल साबित भए। त्यसपछि उनलाई झनै ऊर्जा मिल्यो - तीन वर्षदेखि नसुल्टिएको निर्मला पन्त प्रकरण। त्यसमा चासो देखाउन थाले सुवेदीले। निर्मला प्रकरणमा उनले अनुसन्धान सुरु गरिसकेका थिए। त्यहीको रिजल्ट सुनाउन उनी काठमाडौं झरेका थिए।

डीआइजी सुवेदीले आइजीपी शैलेश थापा क्षेत्रीलाई भेटे। देशकै चासोको विषय थियो,निर्मला प्रकरण। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाका लागि पनि निर्मला प्रकरण पेचिलो थियो। उनीहरू पनि आफ्नै कार्यकालमा निर्मलाको अभियुक्तलाई सार्वजनिक गर्न सके ठूलै उपलब्धि ठान्ने थिए। किनकि प्रमुख प्रतिपक्षदेखि अन्य दलहरूले निर्मलाको हत्यारा पत्ता लगाउन नसक्ने सरकार भन्दै आक्रमण जारी राखेका थिए।

डीआइजी सुवेदीले आइजी थापालाई निर्मला घटनाबारे ब्रिफिङ गरे। अभियुक्तको जानकारी समेत दिए। तर, प्रहरी महानिरीक्षक थापाले सुवेदीले भनेको अभियुक्तमा खासै धरातल देखेनन्। अनुसन्धानको कुरा बाहिर नदिन र अझै सबुत प्रमाणसहित अनुसन्धान गर्न निर्देशन दिए।

डीआइजी सुवेदीले निर्मला प्रकरण अनुसन्धानले गति लिइरहेको 'प्रचार' गरिरहँदा गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा भने डीआइजी सरुवाको चर्चा चलिरहेको थियो। सातवटै प्रदेशका डीआइजी सरुवा गर्ने समय भएको थियो। डीआइजीहरू कुन ठाउँमा सरुवा हुने भन्ने होडबाजीमा लागिसकेका थिए। धेरै डीआइजीले केन्द्रीय अनुसन्धान ब्युरो ताकिरहेका थिए। डीआइजी सुवेदी पनि ती मध्येका एक आकाङ्क्षी। भागरथी प्रकरण सुल्टाएको र निर्मला प्रकरण पनि ब्युरोले हेरिरहेकाले उनको आशा थियो ब्युरो।

निर्मला प्रकरणको नजिक पुग्न लागेको भन्दै डीआइजी सुवेदीले तत्काल सरुवा नगर्नसमेत प्रहरी महानिरीक्षकसँग अनुरोध गरेका थिए। देशमा बढ्दो कोरोना संकट र सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेभित्र देखिएको विवादले डीआइजी सरुवा पर धकेलियो।

यता निर्मला प्रकरणको अनुसन्धान पनि धकेलियो। डीआइजी सुवेदी सुदूरपश्चिम प्रहरी प्रमुखबाट सरुवा भए। निर्मला प्रकरण पनि जहाँको त्यही नै रह्यो। डीआइजी सुवेदीको अनुसन्धान घेरामा परेका मानिस एकाएक अनुसन्धानबाट बाहिरिए। कुनै त्यस्तो सबुत प्रमाण फेला पर्न सकेन जसले निर्मलाको हत्या यसैले गरेको हो भन्ने। सामान्य अनुसन्धानको घेरामा देखिएका मानिस थिए।

+++

तत्काल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेका थिए। २०७७ पुस ५ गते सरकारले संसद् विघटन गर्दै निर्वाचनमा जाने निर्णय गर्‍यो। राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरिन्। यता आफ्नै पार्टीका केही नेता भने प्रधानमन्त्रीको निर्णय विरुद्ध सडकमा ‌ओर्लिए।

प्रधानमन्त्री ओली भने मध्यावधी निर्वाचन गराउने अभिव्यक्ति दिँदै दौडिरहेका थिए। आफ्नो कार्यकालमा सफलता चुली नै चुमिसकेको प्रचारमा थिए ओली। तर विपक्षी दलहरूले एउटै प्रश्न गर्थे जसको जवाफ स्वयम् प्रधानमन्त्रीसँग पनि थिएन।

'निर्मला पन्तको हत्यारा खोइ?'

सरकारको लागि प्रश्न एकदमै पेचिलो थियो। त्यसको असर यता प्रहरीमा पुग्थ्यो। त्यसपछि प्रहरी फेरि निर्मला केसमा तात्यो तर उपलब्धि शून्य। यसपटक पनि त्यही दोहरियो। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले फागुनको दोस्रो साता दुई एआइजी राखेर निर्मला प्रकरणमा खटिएका सबै प्रहरीलाई भेला गराए।

यो पनिः निर्मला प्रकरणले चरम पीडा खेपेका यी पात्र जसले न्याय पाए पनि सोध्दैछन् : उनलाई चाहिँ कहिले?

अपराध अनुसन्धान विभागको नेतृत्व गरिरहेका एआइजी विश्वराज पोखरेल र एआइजी नीरज शाहीलाई यसको जिम्मा दिइएको थियो। यो बैठकको एउटैमा उद्देश्य निर्मला पन्तको घटनामा प्रहरीभित्र आएका विभिन्न विरोधाभास प्रश्नको जवाफ खोज्नु नै थियो।

निर्मला पन्त प्रकरणमा अनुसन्धानमा खटिएका अहिलेसम्मका प्रहरीको एउटै आवाज भेटिएको छैन। यतिसम्म कि केही अनुसन्धान अधिकृत घटनास्थल कहाँ हो? भन्ने समेत अन्योलमा छन्। त्यसपछिका कुरा त परै छोडौं।

अर्को समस्या, अनुसन्धान अधिकृतमा 'इगो लडाई' समेत रह्यो। तत्काल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दिल्लीराज विष्ट, सीआइबीबाट अनुसन्धानमा गएका डीएसपी अंगुर जिसी लगायतको टिमले अभियुक्त दिलीप सिंह विष्ट नै भएको दाबी गरेका थिए। अर्कोतिर बजार हल्लाकै भरमा निर्मला प्रकरणमा चरम राजनीति भयो। र, दिलिपसिंह विष्टलाई यातना दिएको अभियोगमा यी सबै प्रहरीविरुद्ध मुद्दा दायर भएको थियो। तर, जिल्ला अदालतले उनीहरुमाथि लागेको मुद्दा गलत ठहर्यारयो। यसले अनुसन्धानमा खटिएका प्रहरीको तर्कलाई बल मिलेको छ। र अहिले पनि उनीहरुको निसानामा दिलिपसिंह विष्ट नै रहेका छन्।

मुद्दा खेपेका प्रहरी अधिकृत बाहेक निर्मला प्रकरणमा अनुसन्धान गर्न गएका केही प्रहरी अधिकृतले भने विष्ट दोषी नभएको बताउँदै आएका थिए। तर, के कारणले विष्ट होइनन् भन्ने प्रमाण उनीहरूले पेश गर्न चाहिँ सकेका थिएनन्। कारण एउटै थियो यदि दिलीप भए डीएनए किन मिलेन त?

यही विषयले प्रहरी अधिकृतहरुबिच नै इगोको लडाइ चलिरहेको छ। प्रहरी प्रधान कार्यालये यसैलाई महसुस गरेर छलफलका डाक्यो। एक दिन सबै प्रहरी भेला भए। तत्कालीन एसपी दिल्लीराज विष्ट, एसपी कुबेर कठायत, एसपी सुदीप गिरी, डिएसपी अंगुर जिसी, डिएसपी रुगम कुँवर लगायत निर्मला घटनाको अनुसन्धानबारे ब्रिफिङ गरे।

दिल्लीराज विष्ट, अंगुर जीसी लगायतले भने अभियुक्त दिलीप सिंह विष्ट नै भएको तर्क गरेका थिए। उनीहरूले आफ्नो तर्फबाट कारणहरु समेत पेश गरे। तर कसैले पनि ठोस कारण यही हो भनेर किटान गर्न सकेका थिएनन्। छलफल एक दिनमा सकिने पनि थिएन। दर्जन भन्दा बढी प्रहरी सहभागी भएकाले समय अभाव थियो। अर्को दिनलाई छलफल तोकियो।

तर, यता सत्ता राजनीति परिवर्तन भयो। सर्वोच्च अदालतले संसद् पुनर्स्थापन गर्ने निर्णय सुनायो। त्यसपछि निर्मला प्रकरण गौण बन्यो। प्रहरी महानिरीक्षकले पनि अग्रसरता देखाएनन्। दोस्रो पटकको छलफल नै भएन।

अनि प्रहरी भित्रको इगो 'इगो'मा नै रहिरह्यो, कुनै निष्कर्ष नै निस्किएन। अहिले अनुसन्धानमा खटिएका प्रहरीले आफू पायक प्रहरीलाई भेटेर 'कानेखुसी' शैलीमा आफ्नो अनुसन्धानको बारेमा सुनाइरहेका छन्। निर्मला प्रकरणलाई लिएर प्रहरीभित्र नै विरोधाभाष रहेको छ। अनि प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्री पनि मौन रहेका छन्। क्षेत्री आफ्नो कार्यकाल विवादित बनाउन चाहँदैनन्। निर्मला प्रकरणमा थप प्रमाण सहित अभियुक्त भेटिएको छैन। किटानी जाहेरी परेका दिलीप सिंह विष्टलाई पक्राउ गरेर अनुसन्धान गरे फेरि पहिलै झैँ आन्दोलन चर्कने त्रास छ। त्यसैले चुपचाप बसेर नै बाँकी नौ महिने कार्यकाल सकाउने रणनीतिमा पुगिसकेका छन् महानिरीक्षक थापा। त्यस्तै, अहिले राजनीतिक दबाबबाट निर्मलाको हत्यारा खोज्न दावव दिने कोही छैन।

+++

तीन वर्षमा निर्मला प्रकरणमा अनुसन्धान खासै प्रगति हुन सकेको छैन। हुन त प्रहरीले अनुसन्धान कि त शत प्रतिशत कि त शून्य भन्ने गर्छ। त्यसैले होला अहिलेसम्म निर्मला प्रकरणमा कति प्रगति भयो भन्ने यकिन छैन।

नयाँ शिराबाट अनुसन्धान गरेर प्रहरीले नयाँ 'क्लु' समेत फेला पारेको छैन। तीन वर्षको अवधिमा निर्मला प्रकरणमा कारबाहीमा परेका ८ जना प्रहरीले सफाइ पाएका छन्। अदालतले उनीहरुलाई घटना लुकाउन प्रमाण नष्ट र यातना विरुद्धको मुद्दामा सफाइ दिएको हो।

त्यस्तै, डीएनए प्रकरणमा अड्किएको अनुसन्धानबाट पनि निर्मला प्रकरण अलगिएको थियो। सरकारले बनाएको छानविन समितिले डीएनएबाट अपराधी पत्ता लगाउन नसकेको भन्दै प्रतिवेदन बुझाएपछि त्यसको च्याप्टर क्लोज भएको भए पनि प्रहरीभित्रै त्यसलाई लिएर फरक धारणा विकास भएको छ।

गृह मन्त्रालयले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्व निर्देशक फरेन्सिक एक्सपर्ट जीवन रिजालको नेतृत्वमा गठन गरेको समितिले डीएनएबाट अपराधी पत्ता लगाउन नसकेको निष्कर्ष निकालेको भए पनि पछिल्लो समय अनुसन्धानमा गएका अधिकृतहरुले फेरि डीएनएबाटै अपराधी पत्ता लगाउन प्रयास गरेका छन्। केही अघिमात्रै एक युवकको डीएनए संकलन गरेर परीक्षण गरिएको प्रहरी स्रोतले जनाएको छ। 

अहिले निर्मला प्रकरण अनुसन्धान यतिमा नै रुमलिएको छ। प्रहरीको भाषामा अहिले पनि थप प्रमाण खोजी जारी छ। घटना भएकै तीन वर्ष भइसक्यो। घटनास्थल वरपर र टेक्सिकलबाट प्रमाण फेला पर्ने सम्भावना अब निकै कम भइसकेको छ।

फोन र अन्य पक्षबाट आउने टेक्निकल एनलाइसिस प्रहरीले गरिसकेको छ। त्यसबाट पत्ता लाग्ने धेरै कुरा आइसकेको छ। यता निर्मलाकी आमा दुर्गादेवी पन्तले दिलीप सिंह विष्टविरुद्ध किटानी जाहेरी दिएको महिनौं भइसकको छ। तर, प्रहरीले विष्टमाथि अनुसन्धान गरिरहेको छैन। केन्द्रीय अनुसन्धान ब्युरोबाट गएका डीएसपी अंगुर जीसी सहितको टिमले निर्मलाको हत्यारा विष्ट नै भएको भनेर सार्वजनिक गरेको थियो। तर, डीएनए नमिलेपछि विष्ट छुटेका थिए। अन्य प्रमाणले भने विष्टलाई नै इंकित गरिरहेको छ।

त्यसो त विष्टलाई सार्वजनिक गर्ने प्रहरी अहिले पनि उनी नै हत्यारा भएको दाबी गरिरहेका छन्। त्यसपछि अनुसन्धानमा पुगेका प्रहरी पनि विष्ट होइनन् भन्ने प्रमाण र आधार पेस गर्न सकिरहेका छैनन्। विष्टलाई नियन्त्रण लिएर अनुसन्धान गर्ने साहस प्रहरीले देखाउन सकेको छैन। फेरि पहिले झैँ कञ्चनपुरमा आन्दोलन उठ्छ कि भन्ने डरमा पुगेको छ प्रहरी सङ्गठन। निर्मलाको अनुसन्धान गर्न भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) बाट दुई जना डीएसपी खटाइएको छ। तर, उपलब्धि शून्य।

निर्मला पन्तको घटना हुँदा ७५ दिनसम्म कञ्चनपुरमा रहेर अनुसन्धान गरेका एसपी उमाशङ्कर चतुर्वेदीलाई अहिले कञ्चनपुर जिल्लाको प्रहरी प्रमुख बनाएर पठाएको छ। उनलाई पठाउनुको उद्देश्य निर्मलाको अनुसन्धानमा सजिलो होला भन्नु नै हो। उनी कञ्चनपुर गएको ६ महिना पूरा भएको छ। तर, अनुसन्धानमा खासै उपलब्धि भएको छैन। अहिले पनि नेपाल प्रहरीसँग आधिकारिक जवाफ माग्ने हो भने उही उत्तर पाइन्छ- 'अनुसन्धान नजिक पुगेको छ। चाँडै पत्ता लाग्छ।'

त्यसो त प्रधानमन्त्री शेरबहादुर देउवाले हिजोमात्रै प्रहरी प्रमुख र गृहमन्त्रीलाई बालुवाटार डाकेर निर्मला प्रकरणमाथि सोधखोज गरे। उनी प्रतिपक्षमा हुँदा निर्मलाको घरमा पुगेर आश्वासन दिएका थिए। थाहा छैन, देउवाले निर्मलाको हत्या भएको दिन साच्चै न्यायका लागि पहल गरेका हुन् या 'विरालो बाध्ने' काम मात्र। यति चाहिँ सत्य हो - निर्मला प्रकरण विपक्षीका लागि विरोधको विषय, सरकारका लागि गालीबाट बच्ने मेलो र प्रहरी अधिकृतहरुका लागि जागिरे जिम्मेवारी।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell