PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

'भीष्म पितामह'लाई साथ नदिएका जसपाका ‘अर्जुन’ अर्थात् रेशम चौधरी, कवितामै भने : क्षमा होइन, न्याय देऊ, श्रीमान्



विधुर ढकाल

'भीष्म पितामह'लाई साथ नदिएका जसपाका ‘अर्जुन’ अर्थात् रेशम चौधरी, कवितामै भने : क्षमा होइन, न्याय देऊ, श्रीमान्

काठमाडौं : जनता समाजवादी पार्टी विधिवत रुपमा फुटको संघारमा छ। निर्वाचन आयोगले औपचारिक निर्णय दिँदै उपेन्द्र यादव र डाक्टर बाबुराम भट्टराईको नेतृत्वलाई स्वीकार गर्‍यो। आधिकारिकताको विवादका कारण आयोगमा दिनभर नै फरकखाले रौनक देखिन्थ्यो। 

सोमवार जसपाको आधिकारिकता सम्बन्धी निर्णय दिन दलको कार्यकारिणी समितिका सदस्यहरुको सनाखत आयोगमा सम्पन्न भयो। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलासले आधिकारिकता विवाद समाधानका लागि सोमवार 'हेड काउन्ट'का लागि जसपाको एकता हुँदाका ५१ जना कार्यकारिणी सदस्यलाई निर्वाचन आयोगमा डाकेको थियो।

हस्ताक्षरपछि फोटो सेसनमा उपेन्द्र यादव पक्षधर नेता।


आयोगमा पुगेर जसपाका सबै ५१ कार्यकारिणी सदस्यले सनाखतमा हस्ताक्षर गरे। निर्वाचन आयोगको १०१ र १०४ नं. कोठमा पक्ष र विपक्षका सदस्यहरुले हस्ताक्षर गरेका थिए। अन्तिममा तटस्थका लागि १०२ मा लगेर रेशम चौधरीलाई हस्ताक्षर गराइयो।

जसपाका केन्द्रीय समितिका एक अध्यक्ष उपेन्द्र यादवले जसपाको आधिकारिकताका लागि दिएको निवेदनमा यादवको पक्षमा ३४ जना कार्यकारिणी सदस्यहरुले हस्ताक्षर गर्दा अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा १६ जनाले मात्र हस्ताक्षर गरे।

सुरुवमा उपेन्द्र यादव पक्षमा हस्ताक्षर गर्ने दाबी गरिएका रेशम चौधरी अन्तिम समयमा आएर तटस्थ बसे। कार्यकारिणी सदस्यको बहुमतको संख्याकै आधारमा निर्वाचन आयोगले यादव पक्षमा फैसला दियो।

भीष्म पितामहलाई साथ नदिएका जसपाका ‘अर्जून’ अर्थात रेशम चौधरी

करिब १ बजेसम्म जसपाको आधिकारिकताका लागि ५१ जना कार्यकारिणी सदस्य मध्ये ५० जनाले पक्ष विपक्षमा हस्ताक्षर गरिसकेका थिए। पर्खाइ थियो रेशम चौधरीको। चौधरी कैलाली १ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भए पनि कैलाली टीकापुरको घटनामा अदालतले दोषी ठहर गरेका व्यक्ति। डिल्लीबजार कारागारमा सजाय काटिरहेका उनीतिर धेरैको ध्यान खिचिएको थियो। किनकि जनता समाजवादी पार्टीका विभिन्न मागमध्ये एउटा प्रमुख माग उनको रिहाइको रहँदै आएको छ।

निर्वाचन आयोगमा रेशम।


भूमिगत अवस्थामा नै तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) बाट निर्वाचित भएका थिए चौधरी। १५ महिना अगाडि जसपा र संघीय समाजवादी पार्टीबिच एकीकरण पछि बनेको जसपाका केन्द्रीय कार्यकारीणी सदस्य बनेका थिए उनी।

निर्वाचन आयोगमा सोमवार भएको सनाखतमा रेशम चौधरी प्रहरीको गाडीमा आए।

डिल्लीबजार कारागारमा पार्टीको आधिकारिकता सम्बन्धी विवाद सुल्ट्याउन निर्वाचन आयोगले सनाखत गराउन खोजे पनि उनले मानेनन्। चौधरीले कारगारमा नभई आयोगमै पुगेर सनाखत गर्ने अडान राखे।

त्यसपछि उनलाई कारगारबाट आयोगसम्म ल्याउन जसपाको उपेन्द्र यादव पक्षका नेताहरु कारागार पुगेका थिए। १ बजेसम्म ५० जनाको हस्ताक्षर गरिसके पनि आयोगमा दुई घण्टासम्म चौधरीकै पर्खाइ भयो, भलै एक मतले कुनै तात्विक फरक पार्ने अवस्था थिएन। कानुनी प्रक्रिया पूरा गरेर चौधरी आयोगसम्म आइपुग्दा तीन बजिसकेको थियो।

उपेन्द्र यादव नेतृत्व निर्धक्क थियो - रेशमले उनीहरुकै पक्षमा आएर हस्ताक्षर गर्नेछन्। उनले सनाखत गरेपछि प्रतिक्रिया दिएका थिए- ‘रेशमजी पनि यतै हस्ताक्षर गर्नुहुन्छ।’

सरकारी प्रकृया सबै पूरा गरेर रेशम अन्तिममा हस्ताक्षर गर्नका लागि निर्वाचन आयोग पुगे। अरुबेलाजस्तै ठाँटिएर अन्तिममा निर्वाचन आयोग पुगेका उनले कसलाई साथ दिन्छन्, सबैको चासोको विषय थियो। उनी पुगेलगत्तै पत्रकारहरु घेरा हाल्दै सोध्न पुगे। जवाफमा रेशमले भने, 'दुवै पक्षका नेताहरुलाई भेटेपछि निर्णय गर्छु।'

आयोगमा रेशमकी पत्नी रञ्जिता।


उनी निर्वाचन आयोग पुग्नुभन्दा पहिला उनकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरी आयोग पुगिसकेकी थिइन्। बिहान यादव पक्षले हस्ताक्षर गर्ने दाबी गर्दा उनी त्यतै हस्ताक्षर गर्ने अपेक्षा गरिएको थियो। तर, श्रीमती चौधरी आयोगमा राजेन्द्र महतो, महन्थ ठाकुर लगायतका नेताहरुसँग छलफल गर्दै ठाकुर पक्षका सदस्यले हस्ताक्षर गर्ने कोठा अगाडि चौधरीलाई स्वागत गर्न पर्खिरहेकी थिइन्।

आयोगमा चौधरी पुगेसँगै श्रीमतीले ठाकुर पक्षका सदस्यले सनाखत गर्ने ठाउँतिर बोलाउँदै थिइन्। उनीसँगै ठाकुर पक्षका नेताहरुले उनलाई बोलाउँदै थिए। चौधरी त्यतै सोझिइसकेका थिए। त्यत्तिकैमा अगाडि रहेका पत्रकारहरूको घेरामा परे उनी।

पत्रकारले घेरिएका रेशम।


उनले आफू जसपाको योद्धा भएकाले जसपाको विवाद निरुपणका लागि जेलबाट आयोगसम्म आउनुपरेको बताए। आफूले दुवै पक्षका नेताहरुसँग छलफल गरेर निर्णय लिने बताएका थिए उनले।

त्यत्तिकैमा यादव पक्षकी नेतृ हिसिला यमीले उनलाई प्रश्न गरिन् - 'तपाईँको नेता को हो?'

उनले प्रतिक्रिया दिन नपाउँदै निर्वाचन आयोगका कर्मचारी आएर चौधरीलाई ब्रिफिङ गरे।

‘निवेदक उपेन्द्र यादव पक्षमा हस्ताक्षर गर्न १०१ नम्बर कोठा, महन्त ठाकुर पक्षमा सनाखत गर्ने भए १०४ नम्बर कोठा।’

आयोगभित्र महन्थ ठाकुरसँग रेशम।


यत्तिकैमा उनी उपेन्द्र यादव पक्षका सदस्यले सनाखत गर्ने कोठातिर लागे। त्यता लाग्दा उपेन्द्र पक्षका नेताहरुले उनलाई स्वागतसहित नारा लगाए। तर, उनीहरुका लागि यो उत्साह क्षणिक बन्यो जब १०१ नम्बर कोठाबाट चौधरी हस्ताक्षर नगरी १०४ नं कोठातिर लागे।

त्यहाँ केही समय उनी महन्थ ठाकुर पक्षका नेताहरुसँग छलफल गरे। छलफल सकेपछि उनी कोठाबाहिर निस्किएर आफ्नी श्रीमतीसँग केहीबेर भलाकुसारी गरे। र, पुन : १०१ नम्बर कोठातर्फ लागे। त्यहाँ उनले चाहेका थिए- उपेन्द्र यादव र डाक्टर बाबुराम भट्टाराईसँग भेट। तर, उनीहरु सनाखत हस्ताक्षर गरेसँगै आयोगबाट बाहिरिसकेका थिए। दुई पटक १०१ कोठामा पुगेर पनि उनले यादव पक्षमा हस्ताक्षर गरेनन्। र, आयोगका कर्मचारीले उनलाई १०२ नम्बर कोठामा पुर्‍याए, हस्ताक्षर गराए। त्यसपछि चौधरी बाहिरिए।

प्रहरीको गाडीमा रेशम।


बाहिरिँदै गर्दा उनले महाभारतको कथा सुनाउँदै महन्थ ठाकुरलाई भीष्म पितामहको संज्ञा दिए र आफूलाई भने - अर्जुन।

‘महाभारतको युद्धमा भीष्म पितामहलाई थाहा थियो - युधिष्ठिर र अर्जुनले जित्छन् भन्ने। अर्जुनले भीष्म पितामहलाई भने -  मैले तपाईँलाई बाण हान्न मन छैन। युद्धको नियमका कारण म तपाईँलाई बाण हान्न बाध्य भएँ,’ निर्वाचन आयोग परिसरमा महाभारतको कथासँगै सुनाए रेशमले, ‘मेरा पार्टीमा अध्यक्षमध्ये मलाई अत्यन्तै श्रद्धा लाग्छ महन्थ ठाकुरको। उहाँलाई भीष्म पितामहको दर्जा दिन चाहन्छु। आज जेलबाट निर्वाचन आयोगमा आएर पक्ष र विपक्षको सनाखत गर्न मेरो नैतिकताले दिएन।’

उनले आफ्नो लागि पक्ष पनि जसपा र विपक्ष पनि जसपा भएको सुनाए।

‘म जसपाको एउटा कार्यकर्ता हुँ। आज राजनीतिक मुद्दाका कारण जेल बस्नुपरेको छ। मेरो मुद्दामा मेरो पार्टी लडिरहेको छ,’ यति भनेपछि उनले एउटा कविता पनि सुनाए-

कठघरामा उभिएर जति सत्य बके पनि

न्याय पाउँ भन्नेहरु सयौँ पटक झुके पनि

निरीह ठान्दा रै'छन् शिर निहुर्‍याएपछि

दोषी ठहर्‍याउँदा रै'छन् चुप लागेर बसेपछि

श्रीमान् न्याय देउ

क्षमा चाहिँदैन

दोषीलाई दण्ड देउ

तर, निर्दोषलाई थुन्न पाइँदैन

उनले आफ्ना तीनवटा माग रहेको भन्दै सुनाए - ‘एक न्याय, दुई न्याय र तीन न्याय।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell