काठमाडौं : सामाखुशीको सरकारी धारा नजिकै एउटा घरमा हरेक बिहान बालबालिकाको हल्लाखल्ला सुनिन्छ। फरकफरक समूहमा विभाजित बालबालिका खेलिरहेको ठाउँबाट 'टक-टक' आवाज आइरहन्छ। साना नानीमात्र होइनन्, युवा खेलाडीहरु पनि पिङपङ खेल्न तम्तयार देखिन्छन्। पिङपङ अर्थात टेबल टेनिस।
घरको ग्राउण्ड फ्लोअरमा चलिरहेको प्रशिक्षणको माहोल अरुतिरको भन्दा फरक लाग्छ। सानासाना बालबालिकाको एउटा समूह, त्यस पछि अलि ठूलाहरुको अर्को समूह। सबै व्यस्त देखिन्छन्।
पिङपङ खेल्नुअघि क्लबमा उनीहरु व्यायाम गर्छन्। संगीतको धुनसँगै फरक किसिमको अभ्यास चल्छ जसलाई एरोबिक भनिन्छ। त्यसपछि मात्रै सुरु हुन्छ, खेलको अभ्यास। पालैपालो समूह बनाएर अभ्यास गर्छन् यहाँ पुग्नेहरु। बास्केटमा भएका बलहरु सबै भुइँमा झारिसक्छन्। अनि फेरि टिपेर त्यसमै राख्छन्। अनि अर्को समूहको पालो आउँछ। र, अभ्यास चलिरहँदा उनीहरूसँगै व्यस्त रहन्छिन् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी अनिता महर्जन।
र, बिहानैदेखि खलबल सुनिने अभ्यास स्थल उनकै घर। उनले बिहान र बेलुका आफ्नै घरको ग्राउण्ड फ्लोरमा बालबालिकाहरुलाई खेल सिकाउँदै आएकी छिन्। १४ औं सागमा स्वर्ण पदक हात पार्ने सपना देखेकी २९ वर्षीया उनी क्लबलाई अझ बढाएर ठूलो एकेडेमीको योजना बुनिरहेकी छिन्।
अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) अन्तर्गतको पिङपङ डेप्लोमेसी अन्तर्गत सम्मानित हुने उनी पहिलो र एकमात्र नेपाली खेलाडी पनि हुन्।
त्यसबाहेक असारको अन्तिम शनिवार आईटीटीएफबाट उनले रिकग्नाइज भएको प्रमाणपत्र पाइन् जुन मुलुककै लागि पहिलो हो।
सम्बन्धित समाचार: 'पिङ-पङ डिप्लोमेसीको ५० वर्ष': टेबल टेनिसले जोडेको चीन-अमेरिका सम्बन्ध
+++
महर्जनले एकेडेमी सञ्चालनको 'डेयरिङ' गर्नुको पछाडि पनि कथा छ।
सन् २०१५। कोरियामा भइरहेको थियो सेकेन्ड ओलम्पिक युनिभर्सल गेम। त्यसमा खेल्न दक्षिण कोरिया पुगेकी थिइन् उनी। प्रतिस्पर्धामा सहभागी त भइन् नै सँगै नयाँ खेलाडी जन्माउने अभियानको हुटहुटी पनि त्यहीँबाट जाग्यो उनमा।
प्रतियोगितास्थलमा कोरियन खेलाडीसँग भेट भएको थियो उनको। ती खेलाडीले महर्जनलाई आफ्नो घरमा संचालन गरिरहेको एकेडेमीबारे जानकारी दिए। एकेडेमीमा टेबल टेनिस सिकाइरहेको भिडियो हेरिन्। महर्जनलाई लाग्यो - नेपालमा पनि यसरी नयाँ खेलाडी उत्पादन गर्न क्लब खोल्न पाए!
नेपाल फर्किएपछि सानो नै सहि एकाडेमी खोल्ने सपना बुनिन्। आफ्नो खेललाई निरन्तरता दिँदै घरमै संचालन गरिन् 'एन्निज पिङ्ग पङ्ग क्बल'।
टेबलटेनिस खेलाडीका रुपमा जमिरहेकी उनले एकाडेमी नै खोल्दा पक्कै पनि 'हतार त गरेनौं?' भनेर प्रश्न तेर्सिन्छ नै।
हरेकपटक उनको उत्तर हन्छ, 'हतार गरेजस्तो मलाई कहिल्यै लागेन। काम गर्नुछ भने सुरु गरिहाल्नु पर्छ।'
एकाडेमी त सुरु गरिन् तर सिक्ने को? सिकाउने कसलाई?
सुरुमा आफ्नै टोल छिमेकाका बालबालिकाहरुलाई भेला गर्न थालिन्। दिदी सुनिता महर्जन ले पनि सहयोग गरिन्। दिदीका साथीहरुले पनि साथ दिए। सुरुमा भेला भए ४-५ जना।
त्यतिमै उनले चित्त बुझाइनन्। उनलाई एकाडेमीमा विस्तृत गर्ने रहर जागिसकेको थियो।
सुरुमा नि:शुल्क प्रशिक्षण दिए पनि पछि भने एकाडेमीलाई आर्थिक रुपमा टिकाउन घण्टा र महिनाको हिसाबले शुल्क लिन थालिन्। उनको क्लबमा सिक्न आउनेहरु पनि बढ्दै गए। क्लबमा उनले हालसम्म १५ लाखभन्दा माथिको लगानी गरिसकेकी छिन्।
+++
नेपालमा खेलाडी बन्न सहज छैन। नेपालका अधिकांश खेल संघहरुसँग खेलाडी उत्पादन गर्ने एकेडेमी नै छैन। बाहिरतिर खेलाडी उत्पादनमा खेल संघको 'विशेष' योगदान रहन्छ। तर, हाम्रोमा भने खेल संघहरु राजनीतिको अखडा बन्दै आएका छन्। यस्तो अवस्थामा धेरै संघ तीनवटा विभागका खेलाडीहरुमा निर्भर छ। किनभने संघसँग खेलाडी उत्पादन गराउने समय छैन, अझ कतिसँग त प्रतियोगिता गराउने क्षमता छैन। क्षमता भएकाले पनि उत्पादन भएका खेलाडी टिकाउन सकिरहेका छैनन्, अपवादका केही संघलाई छाडेर।
यस्तै दुरावस्थाको कारण जन्म भएको हो उनको सोच। आफू जस्तै अरुमा खेलाडी खोज्ने हुटहुटी। त्यसैले त लागिपरेकी छिन् खेलाडी उत्पादन गर्ने 'डेयरिङ' मा। सामाखुशीको सरकारी धारास्थित आफ्नै घरमा 'एन्निज पिङ्ग पङ्ग क्बल'बाट। कोभिड १९ लाई बिर्सिएर सामान्य अवस्था हुने हो भने उनीकहाँ १५ जना बालबालिकाहरु टेबलटेनिस सिकिरहेका भेटिन्छन्।
'दिदीका साथीहरु थिए। उहाँहरुले सहयोग गर्नुभयो। ४/५ जनाबाट सुरु गरियो। सामाजिक सञ्जालका पेजहरुबाट पनि केही सम्पर्कमा आए,' उनले सुनाइन्, 'बच्चाहरुसँग घुलमिल हुन पनि सिकियो। सुरुको दुई महिना नि:शुल्क गरेकी थिएँ। अहिले केही शुल्क लिइरहेको छु।'
बिहान ७ बजे बाट एकेडेमीमा अभ्यास सुरु हुन्छ भने बेलुकी ५ देखि सात बजेको बिचमा पनि। उनी दिउँसो भने आफू नै पिङपङ सिक्छिन् लैनचौरमा रहेको टेबलटेनिस प्रशिक्षण केन्द्रमा। जहाँ उनका प्रशिक्षक हुन् राजेन्द्रबहादुर दुलाल। शनिवार र सार्वजनिक बिदाको दिन भने दिनभरै नै एकेडेमी सञ्चालनमा रहन्छ।
+++
कक्षा ४ मा पढ्थिन् अनिता। विद्यालय आउजाउ गर्दा, घरमै बसिरहँदा दिदीहरुले मेडल जितेर ल्याएको देख्थिन्। त्यहीँबाट उनको लगाब टेबलटेनिसमा जागेको थियो। उनका बुवा कान्छाकाजी महर्जन पनि खेलाडी। फुटबलमा जमेका बुवा हुनाले पनि उनलाई खेलकुद क्षेत्रमा लाग्न परिवारबाट अवरोध भएन। बरु सपोर्ट मिल्यो। बाल्यकालमा प्रशिक्षण गर्दागर्दै राष्ट्रिय खेलकुदमा काठमाडौंबाट सहाभागिता जनाउने अवसर मिल्यो। १० वर्षमुनि, १२ वर्ष मुनि, खुला हुँदै खेल करियरमा लागेकी उनी अहिले नेपालको टेबलटेनिसको वरीयतामा शीर्ष १० भित्र छिन्।
बाल्यकालदेखि सुरु गरेको यात्रा अहिले सशस्त्र प्रहरीसँग पनि जोडिएको छ।
सशस्त्र प्रहरीको एपीएफमा सात वर्षयता आबद्ध उनी आफ्नो हिसाबले काम गर्दैगर्दै प्रतिफल पाएको बताउँछिन्। आईटीटीएफ बाट सर्टिफाइड हुनुको कारण चाहिँ आफ्नो कामको मूल्याङ्कन मान्छिन् उनी।
यसबिच उनले दुई ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पनि सहभागिता जनाइन्। कोरियामा र भारतमा दुई ठूला प्रतियोगिता खेलेकी उनले नेपालमै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा भने सहभागिता जनाउन पाइनन्। यतिखेर उनी पाकिस्तानमा हुने १४ औं सागका लागि तयारी गरिरहेकी छिन्।
+++
महर्जन नेपालका लागि लण्डनस्थित एरोबिक टेबल टेनिसको ब्राण्ड एम्बेसडर समेत हुन्। महर्जनलाई ३ वर्षका लागि नेपालका लागि एरोबिकले एम्बेसडरमा नियुक्त गरिएको हो। उनी एकै साथ पार्टनर, प्रोमोटर र प्रशिक्षकको भूमिकामा छिन् अहिले।
एरोबिक टेबलटेनिस २०११ मा लण्डनमा स्टिभ रोले स्थापना गरेका हुन्। यो नयाँ खेलाडीहरुलाई एरोविकको माध्ययमबाट तन्दुरुस्त बनाउने कार्यक्रम हो।
यसमा खेलाडीहरुलाई संगीतको तालमा वर्कआउट, फुटवर्क गराइन्छ जसका कारण खेलाडीहरुले आनन्द महसुस गर्दै क्यालोरी बर्न गर्ने, मुटु र फोक्सोलाई तन्दुरुस्त राख्ने र टेबलटेनिस खेलको ज्ञान र प्रशिक्षण प्राप्त गर्छन्। टेबलटेनिसमा रिदम र टाइमिङ्ग महत्वपूर्ण हुन्छ। यसलाई संगीतसँग तालमेल मिलाउन सके टेबलटेनिस सिक्न अझै मद्धत पुग्छ। एरोविक टेबलटेनिस उच्च ईनर्जी फिटनेस वर्कआउट र टेबलटेनिसको सामूहिक गठबन्धन हो।
'यसमा फरक भनेको खेलअघिको वार्मअपमा म्युजिकसँगको अभ्यास हुन्छ। जसले थकाइको फिल गराउँदैन,' एरोबिकबारे महर्जनले भनिन्।
यसबाहेक पनि उनीसामु अन्य अन्तर्राष्ट्रिय संघसंस्थाबाट विभिन्न प्रस्तावहरु आइरहेका छन्। आफूले सोचे अनुकूल हुनसके ठूलो एकेडेमी नै चलाउने सपना छ उनको।
'पछि सकिएछ भने अन्तर्राष्ट्रिय प्लेटफर्ममा जानेछु,' उनले भनिन्।