PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

पौडेलको बोलीले धकेलिँदै कांग्रेस महाधिवेशन, विधान मिच्ने देउवाको दाउ पूरा हुँदै



नेत्र तामाङ

पौडेलको बोलीले धकेलिँदै कांग्रेस महाधिवेशन, विधान मिच्ने देउवाको दाउ पूरा हुँदै
फाइल फोटो

काठमाडौं: राजनीतिक विश्लेषकहरुको भनाई मान्ने हो भने यतिबेला नेपाली कांग्रेस 'भेन्टिलेटर'मा बाँचिरहेको छ। विधान अनुसार कांग्रेसले भदौ २३ भित्र १४औँ महाधिवेशन गर्नैपर्छ। यदि यो समयमा महाधिवेशन हुन नसके पार्टी नै 'कोल्याप्स' हुने र रुख चिह्न अर्कैले लैजाने चिन्ता छ वरिष्ठ नेता रामचन्द्र पौडेललाई।

समयमै महाधिवेशन हुनुपर्छ भनेर जोडबल लगाउने नेतामध्ये कोही छन् भने कांग्रेसमा पौडेल एक्ला देखिन्छन्। कुनै समय पार्टीमा अर्ली महाधिवेशनको माग उठ्दा टाइम्ली महाधिवेशनमा जोड दिन्थे पौडेल। तर, कांग्रेसले टाइम्ली महाधिवेशन गर्नै सकेन। र, अहिले पनि समयमै महाधिवेशन हुनुपर्ने नेताहरुको लाइनमा एक्ला देखिए पौडेल।

२०७२ फागुन २४ गते ४ वर्षका लागि सभापतिमा चुनिएका शेरबहादुर देउवा नेतृत्वले पटक-पटक कार्यतालिका सार्वजनिक गरे पनि महाधिवेशन हुन सकेको छैन। कांग्रेसको विधान अनुसार २०७६ फागुन २४ मा देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल सकिएको थियो। यद्यपि विधानको धारा ४३ प्रयोग गरी २०७७ फागुन २४ सम्म एक वर्ष म्याद बढाइयो। उक्त समय अवधि पनि सकिएपछि कांग्रेसले संविधानको सहारा लिँदै ६ महिनाको म्याद थप गरेको हो। यो पनि भदौ २३, २०७८ मा सकिँदैछ।

कांग्रेसले भदौ १६ बाट १९ गतेसम्ममा केन्द्रीय महाधिवेशन सक्नेगरि अन्तिम कार्यतालिका सार्वजनिक गरेको थियो। तर क्रियाशील सदस्यता विवाद देखाउँदै साउन १२ गते तय गरिएको गाउँ - नगरको वडा अधिवेशन, साउन १६ गते तय गरिएको गाउँ नगरपालिका अधिवेशन, साउन २० गते तय गरिएको प्रदेश सभा क्षेत्रीय अधिवेशन र साउन २३ गते तय गरिएको प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन - एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन स्थगित भइसकेको छ। साउन २६ गतेका लागि एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशनको मिति पनि टरिसकेको छ। भदौ १ र २ गेत प्रदेश अधिवेशन हुने भनिएको छ। ती अधिवेशन नहुने निश्चित छ।

यसरी असफल नेतृत्वको दाग पार्टी सभापति देउवामाथि लागिसकेको छ। पार्टी नेताहरुले देउवामाथि समयमै महाधिवेशन गर्न नसकेको आरोप पटक-पटक लगाइरहेकै छन्। यसै विषयको टाउको दुखाईले होला, गत जेठ २६ गते देउवाले भनेका थिए - 'यस्तो विषम परिस्थितिमा पनि हामीले यही भाद्र महिनाभित्रमा पार्टीको चौधौँ महाधिवेशन सम्पन्न गर्नुपरेको छ। म देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु - २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ। म यसमा पूर्ण प्रतिवद्ध छु।'

देउवाको यो भनाईपछि पार्टी पंक्ति केही मत्थर भयो। तर, देउवा यतिमै नरोकिने विश्लेषकहरु बताउँछन्। सरकारको नेतृत्वसमेत सम्हालिरहेका उनी विस्तारै विधान मिच्दै महाधिवेशन परपर धकेल्ने दाउमा देखिन्छन्।

पौडेलको बोलीले देउवाको दाउमा सघाउ

वरिष्ठ नेता पौडेललगायत संस्थापनइतरका नेताहरुको जोड भदौमै महाधिवेशन गर्नु हो। तर परिस्थिति भनेजस्तो सजिलो छैन। कोभिड-१९ को महामारीका कारण सबैतिर लथालिंग छ। तेस्रो लहरको चिन्ता फैलिएको छ। यहीबेला पार्टीका युवा नेताहरु गगन थापा र विश्वप्रकाश शर्मा त्रिविले सञ्चालन जारी राखेको परीक्षा रद्द गर्नुपर्ने मागमा उत्रिएका छन्। कक्षा १२ को परीक्षा त रद्द भइसक्यो।

यस्तो बेला पौडेलले विशेष महाधिवेशन गरेरै एक वर्षका लागि भए पनि तदर्थ महाधिवेशन गर्न सकिने प्रस्तावसमेत वरिष्ठ नेता पौडेलले अघि सारेका छन्। पौडेलले १३ औं महाधिवेशनकै महाधिवेशन प्रतिनिधिबाट तदर्थ महाधिवेशन गर्न सकिने प्रस्ताव गरेका हुन्। संघीय विधान आइसकेको अवस्थामा पौडेलको यो प्रस्ताव अवैधानिक हुने देउवा पक्षको दाबी रहँदै आएको छ। यसरी पौडेलसँग देउवा पक्षका नेताहरुमात्र हैनन् आफ्नै नजिकका नेताहरु असन्तुष्ट हुँदै छन् तदर्थ महाधिवेशनबारे बोलेदेखि। त्यसयता आफ्नो गुट भेला र सभापतिहरुको भेलामा समेत पौडेलले यो विषयमा मुख खोलेनन्। ठमेलमा सोमबार र मंगलबार भएको भेलामा सहभागी जिल्ला सभापतिहरुले तोकिएको मिति भदौ १७, १८ र १९ गते तोकिएको महाधिवेशन जसरी पनि सम्पन्न गर्नुपर्ने माग राखे। सोमबार आफ्नो समूहको केन्द्रीय समिति बैठकमा पनि पौडेलले यही आशय व्यक्त गरे। क्रियाशील विवाद जारी राखेको ठाउँमा पुरानै क्रियाशीलबाट अधिवेशन गर्न सकिने पौडेल पक्ष एकमत देखियो।

तर, कोरोना महामारीमा कसरी महाधिवेन गर्ने भन्ने विषयमा कांग्रेसमा चर्काचर्की जारी नै छ। यही मेसोमा वरिष्ठ नेता पौडेलले पदका लागि महाधिवेशन माग्यो भन्ने मान्छे पनि पार्टीमा रहेको आरोप लगाउँदै प्रश्न गरेका थिए।

'यो मिति गुजार्‍यो भने पार्टीको दर्ता खारेज हुनसक्छ। रुख चिह्न अर्कैले लान सक्छ। बेइज्जत हुन्छ। यसको विकल्प छैन। जरिवाना तिरेर अपमान सहनेतिर नलागौँ। कोरोनाको बेला पदका लागि महाधिवेशन चाहियो भनेर आरोप लगाउने पनि देखिन्छन्। यस्तो मान्छे पार्टीमा कसले जन्मायो?' पौडेलको प्रश्न थियो।

समय बित्दै जाँदा समयमै महाधिवेशन हुनुपर्नेमा पौडेलमात्रै देखिएका छन्। पौडेललाई साथ दिँदै आएका महामन्त्री डा शशांक कोइराला पनि महाधिवेशन मंसिरमा सार्ने देउवाको प्रस्तावमा सहमत छन्। अर्का नेता कृष्णप्रसाद सिटौलाको पनि मौन समर्थन रहेको देखिन्छ।

देउवाको आग्रह : रामचन्द्रलाई मनाइदिनुपर्‍यो

मंगलबार साँझ देउवाले नेताहरु शेखर कोइराला, मीनेन्द्र रिजाल र गगन थापालाई बालुवाटार बोलाए। महाधिवेशन सार्नका लागि पौडेलबाहेक अरु नरम देखेका देउवाले तीनै जनालाई भने - भदौमै महाधिवेशन हुनुपर्‍यो भनेर भनिरहेका छन्। सम्भव छैन भनेर रामचन्द्रलाई मनाइदिनुपर्‍यो।

बैठकमा पौडेल पक्षका नेताहरुले केन्द्रीय समिति अगाडि नै सहमतिमा कार्यतालिका बनाउनुपर्ने प्रस्ताव राखे। देउवाले पनि समर्थन जनाउँदै आफू त्यसैका लागि छलफलमा जुटेको बताए। लगत्तै देउवाले बुधबार बिहान आफू पक्षका नेताहरुसँग बुढानिलकण्ठमा छलफल गरे। आफू पक्षका नेताहरुले पनि देउवालाई सहमतिमै जान सुझाव दिए। नेता रमेश लेखकका अनुसार सहमतिबेगर महाधिवेशन सार्ने पक्षमा सभापति देउवा छैनन्। यही विषयमा देउवाले साँझ शीर्ष नेताहरुसँग पनि छलफल गरेका छन्। भोलिको केन्द्रीय समिति अगाडि सहमतिमा कार्यतालिका ल्याउने प्रयास देउवाको छ। देउवा पक्षको नेताले सहमतिमै कार्यतालिका संशोधन हुने दाबी गरे पनि देउवाको दाउ महाधिवेशनको मिति जति सकिन्छ उति पर सार्ने नै हो।

हिजोको भेटपछि सभापतिका आकंक्षीसमेत रहेका शेखर कोइरालाले देउवाको प्रस्तावलाई मौन समर्थन जनाउँदै सामाजिक सञ्जालमा भनेका छन् - तल्लो तहबाट विधान र प्रक्रियागत ढंगले आएका, छानविन समितिले मापदण्ड बनाई निर्णय गरिएका बाहेक केन्द्रबाट विधि विपरित थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म र पार्टी समायोजनका नाममा प्रकृया नपुर्‍याई वितरण गरिएका सदस्यता नरोकिएसम्म महाधिवेशनमा जान सकिन्नँ। शेखरझैं देउवाको प्रस्तावमा अन्य नेताहरु पनि कोरोनाको त्रासलाई मध्यनजर गर्दै मौन समर्थन जनाउनेतिर लागेका छन्।

देउवा निकट एक नेताको अनुसार देउवाको चाहना मंसिरमा महाधिवेशन भन्दै लर्काउँदै तीनै तहको निर्वाचन सकेर मात्र महाधिवेशन गर्ने हो। समय र परिस्थितिले पनि देउवालाई साथ दिइरहेकै छ। कोभिड-१९ को त्रास कायमै छ। कांग्रेस क्रियाशीलको विवाद मिलेको छैन। यही बेला सरकारको बागडोर सम्हाल्नुपरेको छ। चुनावी सरकारको नेतृत्व सम्हालेका कारण अब देउवाको ध्यान यतातिर पनि हुन्छ नै। यसरी भदौमै महाधिवेशन हुनुपर्छ भनेर रटान लगाउने अहिले वरिष्ठ नेता पौडेल एक्लो भएको मौका पारेर पेलेरै भए पनि देउवाले महाधिवेशन धकेल्ने विश्लेषकहरुको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell