PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

मेयरले टोकेर ओलम्पियनको गोल्ड मेडल क्षति गरिदिए,आईओसीले साटिदिने



पहिलोपोस्ट

मेयरले टोकेर ओलम्पियनको गोल्ड मेडल क्षति गरिदिए,आईओसीले साटिदिने

खास गरी ओलम्पिकमा खेलाडीले मेडल टोकेको दृश्य सामान्य हो। तर, जापानका एक जना मेयरले अनुमतिबिनै मेडल टोकिदिएर मेडल क्षति पुर्‍याएपछि विवादमा तानिएका छन्।

नागोयाका मेयर टाकाशी कावामुराले अघिल्लो हप्ता सफ्टबलकी खेलाडी मिउ गोटोको गोल्ड मेडल टोकेपछि आलोचना बेहोरेका छन्। लाइभ ब्रोडकास्टिङका क्रममा उनको व्यवहारका कारण अपमानजनक र कोभिड १९ को महामारीबिच जोखिम हुने भन्दै आलोचना बेहोरिरहेका हुन्।

नगोया सिटीका एक जना अधिकारीले सिएनएनलाई बताए अनुसार उनको व्यवहारलाई लिएर ८ हजार भन्दा बढी कम्प्लेनहरु आएका छन् जसमा उनलाई राजीनामा दिनसम्म पनि भनिएको छ।

टोकियो ओलम्पिक २०२० को आयोजकले एक विज्ञप्ति निकाल्दै उनको मेडल प्रतिस्थापन गरिदिने बताएका छन्।

'अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँगको सहयोगमा गोटोको मेडन नयाँ मेडलसँग साटिनेछ।' आयोजक कमिटीको विज्ञप्तिमा भनिएको छ।

कावामुराले पनि 'खेलाडीको सम्पत्ति बिगारेको' मा माफी मागेका छन्। र, उनले आफ्नै पैसा खर्च गरेर मेडल बनाइदिन अफर पनि गरेका छन्। उनले गोटो र सफ्टबल एसोसिएसनमा लिखित माफी पत्र पनि पठाएको बताएका छन्।

गोटोरहेको जापानी सफ्टबल टिमले फाइनलमा अमेरिकालाई २-० ले हराउँदै स्वर्ण पदक जितेको थियो।

कावामुराको ब्यबहारलाई लिएर अन्य जापानी ओलम्पियनहरुले पनि आलोचना गरेका छन्।

'मैले मेरो मेडललाई निकै सुरक्षित गरी राखेको छु,' जापानका लागि जुडोमा स्वर्ण पदक जितेका नाओहिसा टाकाटो ट्वीटरमा लेखेका छन्, 'गोटो, तिमी रिसाएनौ, तिम्रो ठुलो मुटु रहेछ। म भएको भए पक्कै रुने थिएँ।'

त्यस्तै रजत पदक जितकी जापानी फेन्सर युकी ओटा ट्वीटरमा लेख्छिन्: उनीसँग खेलाडीप्रतिको सम्मान त छैन नै कोभिड संक्रमण नियन्त्रणबारे पनि चासो छैन। ओलम्पिकमा हामीले नै पनि संक्रमण नफैलियोस् भनेर पोडियममा आफै मेडल लगाएका थियौँ।

त्यस्तै गोटोले खेल्ने क्लब रेड टेरिएयर्स सफ्टबल टिमको स्वामित्व रहेको जापानी कार कम्पनी टोयटाले पनि कावामुराको कार्यलाई 'अनुपयुक्त' भएको आरोप लगाएको छ।

सम्बन्धित समाचार: किन दाँतले टोक्छन् खेलाडीले मेडल?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell