PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

युरोपै पुगेर अपराधी पक्राउ गरेर ल्याउँदा नेपाल प्रहरीलाई कति लाग्यो खर्च?



सविन ढकाल

युरोपै पुगेर अपराधी पक्राउ गरेर ल्याउँदा नेपाल प्रहरीलाई कति लाग्यो खर्च?

अगस्ट १० तारिक, अर्थात् साउन २६ गते। निशान्त श्रीवास्ताव र रज्जिस उप्रेती काठमाडौंबाट भैरहवा उडे। त्यहाँबाट ९० किलोमिटरभन्दा लामो बाट तय भयो सडकबाटै। सुनौली हुँदै गोरखपुर पुगेपछि भने दिल्लीका लागि समाते भारतको आन्तरिक विमान। अनि दिल्लीबाट जर्मनीको फ्र्याङ्फट। त्यसलाई ट्रान्जिट बनाउँदै पुगे सुन्दर पर्यटकीय मुलुक पोर्चुगल। छोटो थियो उनीहरुको 'आइटनरी'।

नझुक्किनुस्, यो 'आउटबन्ड टुरिज्म'को कुनै प्याकेजमा यात्रा गरिरहेका पर्यटकको कथा होइन। कथा हो त – एक मोस्ट वान्टेड अभियुक्तलाई नेपाल ल्याउने मिसनको। जसका लागि दुई प्रहरी अधिकृतले तय गरे एसियादेखि युरोपसम्मको यात्रा। 

निशान्त अर्थात् नेपाल प्रहरीका डीएसपी। रञ्जिस चाहिँ सई। पर्यटकीय मुलुकको यात्रा भए पनि उनीहरुको मिसन अपराधसँग जोडिएको थियो। सबै कुरा मिल्थ्यो भने सेड्युल अनुसार काम सजिलै हुन्थ्यो। तर, सोचेजस्तो किन हुन्थ्यो?

पोर्चुगल पुगेरै नेपाल प्रहरीले ल्यायो मोस्ट वान्टेड सूचीका एक अभियुक्त

दिल्लीबाट जर्मनी र त्यहाँबाट अर्को विमानमा पोर्चुगल पुगिसक्दा भ्रमण सूची रि सेड्युल गर्नुपर्ने अवस्था आयो। त्यसै त दिल्लीलाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान असहज। त्यसमाथि १० तारिकमै पोर्चुगल पुग्ने योजना। भारतमा रहेको नेपाली दूतावासले दिल्लीबाट उड्नका लागि सहजिकरण गर्‍यो। युरोपसँग नेपालको सोझो हवाई यात्रा टुटेको वर्षौं भइसकेकाले 'ल्हासा जाने कुतीको बाटो' भनेजस्तै हुँदै आएको छ। त्यो उखान यी दुई प्रहरीका लागि पनि लागू भयो। 

पोर्चुगलको भिसा लाग्दा उनीहरू नेपालमा नै थिए। नेपाल सरकारको मिसन भएकाले भिसा मिलाउन र यात्राको सूची परिवर्तन गर्न धेरै कठिन भएन। नेपालमा पोर्चुगल दूतावास छैन। त्यसैले सबै काम भारतबाट नै। परराष्ट्र मन्त्रालयले दिल्लीको दूतावाससँग समन्वय गरेर सबै प्रक्रिया मिलाएको थियो। यात्रामा दुई प्रहरीहरू भए पनि त्यसका लागि गृहदेखि परराष्ट्र मन्त्रालयसम्म जोडिएका थिए।

+++

२०७७ जेठ १६ गते प्रहरीले एउटा महत्त्वपूर्ण सूचना हात पार्‍यो - केदार ढुङ्गानाले पोर्चुगलमा रेसिडेन्ट परमिटका लागि आवेदन दिएका छन्। पोर्चुगलमा रहेका नेपालीबिच 'गैर आवासीय नेपाली'को राजनीतिमा उदाउँदै थिए ढुङ्गाना। काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नम्बर १ का ४३ ढुङ्गाना प्रहरीको खोजी सूचीमा सूचीकृत भइसकेका थिए – अभियुक्तमात्र होइन, अपराधीकै रुपमा।

२०७५ मङ्सिर २१ गते देवः विकास बैंकले उनीविरुद्ध जाहेरी दरखास्त दिएको थियो – ठगीमा – नक्कली कागज बनाएर बैंकको ऋण छलेर गाडी नामसारी गरेको विषयमा।

त्यतिमात्र होइन, ढुङ्गानाको अपराधको जालो बिस्तार भइसकेको थियो। उनीविरुद्ध काठमाडौं, ललितपुर र उच्च अदालत पाटनमा दुई दर्जन मुद्दा दर्ता भइसकेका थिए। २०७७ पुस २० गतेसम्म ललितपुर जिल्ला अदालतबाट १० वटा मुद्दा फैसला भइसकेको थियो। ढुङ्गाना समेतका अन्य मानिसलाई प्रत्येक मुद्दामा १ वर्ष कैद र सत्तरी हजार जरिवानाको फैसला सुनाइएको थियो। तर, फैसला आउनुअघि नै उनी फरार भइसकेका थिए। अर्थात् मुलुक छाडिसकेका थिए।

अदालतको फैसलाले उनलाई अपराधी ठहर्‍याइसकेको थियो। त्यसैले उनलाई पक्रने विषय प्रहरीका लागि चुनौती बनिरहेको थियो। प्रहरी उनको खोजीमै थियो।

पोर्चुगलमा व्यापार गरेर बसेको जानकारी पाएलगत्तै प्रहरी मुभ भयो। इन्टरपोल प्रहरीको सहयोगमा ढुङ्गानालाई पक्राउ गरेर नेपाल ल्याउन पक्रिया अगाडि बढाइयो। उनीविरुद्ध प्रहरीले रेड कर्नर नोटिस नै जारी गरेको थियो वैशाख ३१ गते। त्यसअघि उनीविरुद्ध २०७५ पुस १७ मा डिफ्युजन नोटिस जारी भएको थियो। सुपुर्दगी सन्धि नहुँदा नेपालमा अपराध गरेर विदेश बस्ने अपराधीलाई पक्राउ गर्न प्रहरीलाई कानुनी झमेल पहिलेदेखि नै रहँदै आएको हो। यसपाला झमेलमा ढुङ्गानाको केस थियो।

यसरी अपराधीलाई डिपोर्ट गर्न नमिल्ने भएपछि प्रहरी नै सम्बन्धित मुलुकमा पुगेर केस ह्यान्डल गर्नुपर्ने हुन्छ। केही यस्तैखाले अपराधमा संलग्न भएका व्यक्तिलाई सम्बन्धित देशले डिपोर्ट गरेर पठाउनेसमेत गर्छ। तर, केदार ढुङ्गानको केसमा यस्तो भएन। पोर्चुगल प्रहरीले आफैँ लिन आउन भनेर नेपाल प्रहरीलाई बोलायो।

'पोर्चुगलमा भएको थाहा पाएपछि प्रक्रिया मिलाएर हामीले नै दुई प्रहरीहरूलाई पठाएका हौँ,' नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले भने।

+++

डीएसपी निशान्त र सई रज्जिस फ्र्याङफर्ट ट्रान्जिट बनाएर ११ तारिकमा पोर्चुगल ल्यान्ड भए। उनीहरु पुगे पनि पोर्चुगल प्रहरीले प्रकृया मिलाउन थप दुई दिन लगायो। उनीहरु पोर्चुगल पुग्नासाथ तत्काल ढुङ्गानालाई हस्तान्तरण गरेनन्। दुई दिन उनीहरुले कुरेपछि १३ तारिकमा त्यहाँको प्रहरीले ढुङ्गाना नेपाल प्रहरीलाई हस्तान्तरण गरेका थिए।

उनको जिम्मा १३ तारिकमा विमानस्थलमा नै पोर्चुगल प्रहरीले नेपाल प्रहरीका दुई अफिसरलाई लगाए। त्यसपछि उनीहरू टर्कीको इस्तानबुल आए, ट्रन्जिट त्यही थियो। छोटो समयमा भिसा लगाएर सबैखाले प्रक्रिया पूरा गरेर खोजीको सूचीमा रहेको अपराधी ल्याउनु कम चुनौतीको काम भने थिएन। तर, राज्यले नै मिसन बनाएपछि त्यसमा आएका प्राविधिक कठिनाई सुल्ट्याउन दुई प्रहरी अधिकृतका लागि ठूलो विषय भने थिएन।

इस्तानबुलबाट उनीहरू काठमाडौंको लागि उडे। शनिवार बिहान ११ बजे केदार ढुङ्गानासहित उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड भए।

+++

करोडौं ठगीको मुद्दा। ठगिनेहरु उत्तिकै। त्यसैले पीडितलाई न्याय दिलाउनु राज्यको जिम्मेवारी। अपराधलाई निरुत्साह र अपराधीलाई कारबाहीको भागिदार बनाउनु प्रहरीको कर्तव्य। तर, यस्तोखाले मिसनको खर्च चाहिँ चर्कै हुने। अपराधी खोज्नका लागि हुने खर्चका अलावा पक्राउ गर्न अलग्गै खर्च हुने गर्छ। ढुङ्गाना प्रकरणमा भने त्यसभन्दा बाहिरको खर्च थपियो – युरोप पुगेर समातेर यहाँसम्म ल्याउने।

'हाम्रो प्रहरी अफिसरको मात्र होइन, कहिले काहीँ त अभियुक्तको समेत टिकट गरेर ल्याउनुपर्ने हुन्छ। यसरी अभियुक्त ल्याउँदा केही खर्च हुन्छ,' लामो समय इन्टरपोल शाखामा प्रमुखको रूपमा काम गरेकी एसएसपी किरण बज्राचार्यले भनिन्।

पोर्चुगलबाट केदार ढुङ्गानालाई नेपाल ल्याउन प्रहरीले लाखौं रुपैयाँ खर्चिएको छ। गृह मन्त्रालयको स्वीकृतिअनुसार प्रहरीले विदेशमा रहेका अभियुक्तलाई नेपाल ल्याउन प्रक्रिया थाल्छ। इन्टरपोलमार्फत् यसरी अभियुक्त झिकाउँदा कुनै देशले सिधै डिपोर्ट गर्छन् भने केही देशले नेपालका प्रहरीलाई नै लिन बोलाउँछन्। यसरी लिन बोलाउँदा प्रहरीले आफ्नो बजेटबाट खर्च बेहोर्नुपर्छ।

केदार ढुङ्गानालाई पक्राउ गर्न दुई प्रहरी पोर्चुगल जाँदा आउँदामात्रै १२ लाख रुपैयाँभन्दा बढी खर्च भएको नेपाल प्रहरीको लेखा शाखा स्रोतले जानकारी दियो। भिसा, हवाई टिकट, सम्बन्धित देशमा बस्दा होटेल र खाना खर्चले स्वभाविक रुपमा महँगो पर्न जान्छ मिसन।

'कहिले काहीँ अर्जेन्ट टिकट गर्नुपर्छ। त्यो महँगो भइहाल्छ। अनि सम्बन्धित मुलुक पुगेपछि अभियुक्त हस्तान्तरण गर्ने प्रकृया मुलुकैपिच्छे फरक हुन्छ। त्यसले पनि समय लम्बिने गर्छ। लम्बिएको समयमा होटेलको बसाई आदिले खर्च बढ्ने गर्छ,' इन्टरपोल शाखामा कार्यरत एक प्रहरी अधिकृतले सुनाए।

‌+++

नेपाल प्रहरी विदेश पुगेर अपराधीलाई समातेर ल्याएको यो नौलो या पहिलो घटना भने होइन। पछिल्लो पटक २०७७ चैत ३१ गते प्रहरीले यस्तै मिसन पूरा गरेको थियो – करिब ४ लाख रुपैयाँ खर्च गरेर। त्यतिखेर, यसैगरी दुई प्रहरी अधिकृतलाई दुबई पठाइएको थियो। दुबईमै बसेर नेपालमा हत्या गराएको अभियोगमा काजीमान पुरी यसैगरी नेपाल ल्याइएका थिए।   

नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा पुरीलाई ल्याएको हो। २०७६ चैत २९ गते तेह्रथुमको आठराई गाउँपालिकामा २८ वर्षीय बिन्दा पुरीको शव भेटिएको थियो। काजीमानले विदेशमा नै बसेर आफ्ना भाइहरूको सहयोगमा आफ्नै श्रीमतीको हत्या गराएको खुलेपछि प्रहरी दुबई पुगेर ल्याएको थियो।

विदेशमै रहेर पत्‍नीको हत्या योजना : एक वर्षपछि इन्टरपोलले दुबईमा समात्यो

आर्थिक वर्ष २०७७/७८ मा रेड कर्नर नोटिस जारी भएका तीन जनालाई विदेशबाट नेपाल ल्याइएको छ। जसमा ढुङ्गाना र पुरीबाहेक हरिकृष्ण खड्का रहेका छन्। उनी पनि दुबईबाट ल्याइएका थिए, ३३ किलो सुन प्रकरणमा।

यसरी प्रहरी नै पठाएर विदेशबाट अभियुक्त ल्याउन लाग्ने खर्चका लागि नेपाल प्रहरीले आफ्नो बजेट व्यवस्था गरेको हुन्छ।

'सम्बन्धित देशसम्म पुग्न, बस्न र खानको लागि खर्च हुने गर्छ,' नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले भने, 'यसको व्यवस्थापन प्रहरीले नै आफ्नो बजेटमा गरेको हुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell