PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

पश्चिमालाई त्रस्त बनाउनेगरी अफगानिस्तानको सत्ता कब्जा गर्ने तालिवान र तिनको यस्तो छ नेतृत्व



विधुर ढकाल

पश्चिमालाई त्रस्त बनाउनेगरी अफगानिस्तानको सत्ता कब्जा गर्ने तालिवान र तिनको यस्तो छ नेतृत्व
दोहामा भएको अफगान-तालिवान वार्ताका क्रममा तालिवान वार्ता टोलीका सदस्यहरु । फाइल फोटो: अल जजिरा।

काबुलमा अमेरिकी समर्थनमा रहेको सत्ता ढलेसँगै इस्लामिक इमिरेट्स अफ अफगानिस्तानको घोषणाको तयारी भइरहेको छ। अहिले तालिवानको सत्ता इस्लामिक इमिरेट्स अफ अफगानिस्तानको हातमा छ। इस्लामिक रिपव्लिक अफ अफगानिस्तानका राष्ट्रपति असरफ घानी काबुल छाडेर ‘भागे’सँगै काबुल पुरै तालिवान लडाकुको हातमा छ।

सन् १९९६ देखि २००१ सम्म सत्तामा रहेको तालिवानले त्यतिबेला इस्लामिक स्टेट अफ अफगानिस्तानको रुपमा सत्ता सञ्चालन गरेको थियो।

अफगानिस्तानको सत्ता शक्ति र संघर्षको बिचमा विभिन्न नाममा सत्ता सञ्चालन गर्दै आएका छन्। २००४ देखि इस्लामिक रिपव्लिकको रुपमा सत्ता सञ्चालन गरेको अफगानी शक्ति विस्थापित भएसँगै सत्ताको बागडोर तालिवानीको हातमा पुगेको छ।


यो पनि :

भियतनामपछि अफगानिस्तानमा अमेरिकाको पराजय


 

को हुन् तालिवान?

पास्तो भाषामा तालिवान शब्दको अर्थ धार्मिक विद्यार्थी हुन्छ। उनीहरुको उदय १९९० को दशकमा सोभियत युनियनका सैनिकहरु अफगानिस्तानबाट फिर्ता भएसँगै उत्तरी पाकिस्तानबाट सुरु भएको हो। पास्तुन अभियानबाट उदय भएका उनीहरु साउदी अरबबाट सहयोग प्राप्त कट्टरपन्थी सुन्नी इस्लाम समुदायका हुन्।

तालिवानले पास्तुन क्षेत्रमा शान्ति र स्थायित्व स्थापना गर्दै आफ्नो छुट्टै कानुन लागू गर्ने वाचा गरेका थिए। दक्षिण पश्चिम अफगानिस्तानबाट तालिवानले आफ्नो प्रभाव बढाउँदै लगेका हुन्। उनीहरुले सेप्टेम्बर १९९५ मा इरानको सीमावर्ती प्रान्त हेरत कब्जा गरे। त्यसको एक वर्षपछि राजधानी काबुल कब्जा गर्दै बुरहानुद्दिन रबानी नेतृत्वको सरकारलाई अपदस्त गरे। रबानी अफगान मुजाहिद्दिनका संस्थापक हुन्। १९९८ सम्म आइपुग्दा तालिवानले अफगानिस्तानको ९० प्रतिशत भूभाग नियन्त्रणमा लिइसकेको थियो।

आफ्नो नियन्त्रणमा रहेको क्षेत्रमा भ्रष्टाचार विरोधी कार्य गर्दै कानुन बिहीनतालाई कम गर्दै सडक संरचनाहरु बनाउँदै तालिवानहरुले जनताको मन जितेका थिए। तालिवानले इस्लामिक सजायलाई समर्थन गर्दै अफगानिस्तानमा कानुनी रुपमा लागू गर्‍यो। पुरुषलाई दारी राख्न र महिलालाई बुर्खा लगाउन अनिवार्य गर्‍यो।

तालिवानले टेलिभिजन, संगीत सिनेमामा प्रतिबन्ध लगाउँदै १० वर्षभन्दा माथिका बालिकालाई विद्यालय जान रोक लगायो। उनीहरुमाथि गम्भीर मानव अधिकार उल्लंघनको आरोप लाग्दै आएको छ।

उनीहरुले २००१ मा मध्य अफगानिस्तानमा रहेको कुनै समय विश्वकै अग्लो बुद्धको मूर्तिमा विस्फोट गरेका थिए। छैटौं शताब्दीमा निर्माण गरिएको यो मूर्ति २००१ मा विष्फोट गरी क्षति पुर्‍याइएको हो। बिमायन बुद्धका दुई मूर्तिहरु चट्टानी पहाडमा कुँदिएका थिए। जसमध्ये एक ५५ मिटर र अर्को ३७ मिटर अग्लो थियो।

अफगानिस्तानमा तालिवान सत्तामा आएपछि पाकिस्तान सहित साउदी अरब र संयुक्त अरब इमिराट्सले समर्थन गरेका थिए।

अन्तर्राष्ट्रिय रुपमा तालिवानको आलोचना मलाला युसुफजाई माथिको आक्रमणलाई लिएर हुने गर्छ। अक्टोबर २०१२ मा अल पाकिस्तानी तालिवानले उनीमाथि आक्रमण गरेको थियो। त्यसको एक वर्ष पछि पाकिस्तानमा पेसावरको विद्यालयमा नरसंहार भयो। त्यहाँ अमेरिकी सैन्य ड्रोन आक्रमणमा परी पाकिस्तानी तालिवानी समूहका नेता हकिमउल्लाहको मृत्यु भएको थियो।

२००१ को सेप्टेम्बर मा वर्ल्ड ट्रेड सेन्टर न्यूयोर्कमा आक्रमण भएपछि अमेरिकाले तालिवानमाथि ओसामा विन लादेनलाई संरक्षण गरेको आरोप लगाएको थियो।

अक्टोबर ७, २००१ मा अमेरिकी सैन्य गठबन्धनले अफगानिस्तानमा आक्रमण गर्‍यो। डिसेम्बरको पहिलो साता अफगानिस्तानमा तालिवानको सत्ता ढल्यो।

अमेरिकी सेनाको उपस्थितिमा पनि अफगानिस्तानमा पुन: तालिवानको वर्चस्व बढ्दै गयो। सन् २०१२ मा आइपुग्दा तालिवानले काबुलमा लगातार आक्रमण गर्‍यो। जसमध्ये प्रमुख थियो नाटोको बसतियोन बेसमाथिको आक्रमण।

सन् २०१३ मा शान्तिको झिनो आशा पलायो यस मुलुकमा। तालिवानले आफ्नो कार्यालय कतारमा स्थापना गर्ने घोषणा गर्‍यो। सन् २०१५ मा तालिवानका तत्कालीन प्रमुख मुल्लाह उमरको मृत्यु केही समय लुकाइयो। पछि उमरको साथमा रहेर काम गरेका मुल्लाह मनसुरलाई नयाँ प्रमुख बनाइयो। सोही वर्ष तालिवानले कुनडुज शहरमा कब्जा गर्‍यो।

मनसुरको मृत्यु २०१६ को मे मा अमेरिकी सेनाको ड्रोन स्ट्राइकमा परेर भयो। उनको स्थानमा मावलावी हइबातुल्लाह अखुनजाडा प्रमुख बने। उनी हालसम्म समूहको नेतृत्व गरिरहेका छन्।

यी हुन तालिवान संघर्षका प्रमुख व्यक्तिहरु :

हइबातुल्लाह अखुनजाडा:  उनी ‘बफादार नेता’ हुन्। इस्लामिक कानुनका विज्ञ अखुनजाडा तालिवानका सर्वोच्च नेता हुन्। जसको हातमा समूहको राजनीतिक, धार्मिक तथा सैन्य मामिलाको अन्तिम अधिकार रहेको छ।   

उनी तालिवान सरकारका प्रधान न्यायाधीश थिए। उनले अख्तर मनसुरको अमेरिकी ड्रोन आक्रमणमा मृत्यु भए पछि तालिवानको नेतृत्वमा आएका थिए। २०१६ को मेमा अकास्मिक रुपमा वेपत्ता हुनु पूर्व उनी १५ वर्ष दक्षिणपश्चिम पाकिस्तानको कुचलाकमा रहेको एउटा मस्कमा धार्मिक प्रवचन दिएर बसेका थिए।

पाकिस्तानको बलुचिस्तानमा रहेको सो मस्कमा धार्मिक विचार फैलाउँदै बसेका उनी २०१६ तालिवानी प्रमुख मुल्लह अख्तर मनसुरको अमेरिकी ड्रोन आक्रमणमा मृत्यु भएसँगै उनी तालिवानको ‘अमिर’ को रुपमा बढुवा भएका थिए।

जब उनी अमिर बने उनी आफ्नो परिवारसँगै त्यस स्थानबाट छाडेडको अल हज मस्क सञ्चालन गर्ने हफिज अब्दुल मजिदले रोयटर्ससँग भनेका छन्

उनको उमेर ६० वर्षको हाराहारीमा भएको बताइन्छ। तर, एकिन भने छैन। उनले अफगानिस्तानमा तालिवानको सत्ता पतन भएपछिको १५ वर्ष अल हज मस्कमा धार्मिक शिक्षा दिएर विताए। त्यसबिच उनले पाकिस्तानका ग्रामिण इलाकाहरुमा पुगेर लाखौँ युवाहरुलाई इस्लाम शिक्षा दिएका थिए।

अध्ययनशील उनी ६० को उमेर आसपासमा रहेका उनीसँग अध्ययन गर्नेहरुले बताएका छन्। तालिवान प्रमुखको रुपमा बढुवा हुन दुई दिन अगाडि उनले कुचलाक छाडेका थिए। त्यहाँ उनले बिहान ८ बजे देखि १२ बजेसम्म प्रवचन दिन्थे। त्यका लागि उनले मासिक १० हजार तलब दिइन्थ्यो।

‘हामी चिन्तित छौँ किनकि उनी गए। उनी महान शिक्षक थिए र यो मस्कलाई ठूलो सहयोग गरेका छन्,’ २०१६ मा मस्कका सञ्चालक मजिदले भनेका छन्। उनी शेख उल हडित (इस्लामको हडित वर्णमालाका विद्वान) भएको र अमिर भएसँगै मस्क छाडेको उनले बताएका छन्।

उनले २००१ मा अमेरिकाले अफगानिस्तानमा आक्रमण गर्दा आफ्ना परिवारका सदस्यसमेत गुमाएका थिए। २०१४ मा अखुन्ड्जाडाले पाकिस्तानको क्वोटामा तालिवानी नेताको मृत्यु पछि निस्किएको सार्वजनिक र्‍यालीलाई सम्बोधन गरेको उनका एक अनुयायी पाइ खानले रोयटर्सलाई बताए पनि यसलाई पुष्टि गर्न रोयटर्सले नसकेको जनाएको छ।

मुल्लाह मोहम्मद याकुब:  याकुव, तालिवानका संस्थापक मुल्लाह उमरका छोरा हुन्। उनले समूहको सैन्य मामिलाको नेतृत्व गर्दै आएका छन्। उनी हाल अफगानिस्तानमै रहेको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेको अलजजिराले जनाएको छ।

संस्थापक उमरको मृत्युपछि तालिवान समूहमा नेतृत्वको विवाद हुँदा याकुलाई सम्पूर्ण नेतृत्वको प्रस्ताव गएको थियो। युवा उमेरका उनले त्यतिबेला युद्धमोर्चामा आफ्नो अनुभव कम भएको भन्दै अखुनजाडालाई अगाडि सारेका थिए। याकुवको उमेर अहिले ३० वर्षको वरिपरि रहेको बताइन्छ।

सिराजुद्दिन हाकिनी: हाकिनी मुजाहिद्दिनका कमाण्डर जलालुद्दिन हकिनीका छोरा हुन्। सिराजुद्धिनले अहिले हाकिनी नेटवर्क सञ्चालन गर्दै आएका छन्। उनले तालिवानमा युवाहरुलाई संगठित गर्दै तालिवानको आर्थिक तथा सैन्य मामिलालाई पाकिस्तान-अफगानिस्तानको सीमा क्षेत्रबाट सहयोग गरिरहेका छन्।

अफगानिस्तानमा मानव बमको सुरुवात गर्ने हाकिनी भएको बताइन्छ। काबुलको एक होटलमा तत्कालीन राष्ट्रपति हमिद कार्जाइको हत्या प्रयास गरेको, भारतीय दूतावसमा मानव बम विष्फोट गराएको सहितका विभिन्न उच्च पदस्थ व्यक्तिमाथि आक्रमण गर्नमा हाकिनीको हात रहेको बताइन्छ। उनी चालिसको उत्तरार्ध वा पचासको पूर्वार्धको उमेरमा रहेको अनुमान छ।

हाकिनी नेटवर्क अफगानिस्तानमा नाटो विरुद्ध लडिरहेको गुरिल्ला सैन्य समूह हो। यो समूहको अस्थित्व नरहेको तालिवान र हाकिनीका नेताहरुले बताउँदै आएका थिए। तर, पनि हाकिनी नेटवर्क कायम रहेको देखिन्छ। हाकिनी नेटवर्क सन् १९८०को दशकमा अमेरिकी रेगन प्रशासनको समयमा सीआईएको सहयोगमा सञ्चालित सोभियत विरोधी गुरिल्ला समूह हो। सन् २०१२ मा अमेरिकाले हाकिनी नेटवर्कलाई आतंकवादी संगठनको रुपमा सूचीमा राख्यो। 

मुल्लाहा अब्दुल गानी बारादार: अहिले तालिवानको राजनीतिक उपप्रमुखको रुपमा मुल्लाहा अब्दुल गानी बारादार छन्। तालिवानका एक संस्थापक उनी उनी दोहामा तालिवानले खोलेको राजनीतिक कार्यालयका संस्थापक हुन्। उनी तालिवानको वार्ता टोलीका सदस्य हुन्।

सन् २०१० मा पाकिस्तानको कराँचीमा पक्राउ परेका थिए। तालिवानका संस्थापक उमरका विश्वासिला कमाण्डरको रिहाइ २०१८ मा भएको थियो। तालिवानले शान्ति वार्ताको प्रस्ताव गर्दा उनको रिहाइको प्रमुख शर्त राखिएको थियो।

शेर मोहम्मद अब्बास स्तानिकाजाइ: उनी तालिवान सरकारका पूर्व उपमन्त्री हुन्। दशक अघिदेखि उनी दोहामा बस्दै आएका छन्। उनी २०१५ मा तालिवानको दोहास्थित राजनीतिक कार्यालयको प्रमुखको रुपमा रहँदै आएका छन्। उनी अफगान सरकार तालिवान समूहबिचको संवादमा सहभागी भएका थिए।

पछिल्लो पटक तालिवान नेताहरुले विभिन्न देशमा गरेको कुटनीतिक भ्रमणमा पनि उनी सहभागी थिए।

अब्दुल हाकिम हाकिनी: उनी तालिवानको वार्ता टोलीका प्रमुख हुन्। तालिवान प्रमुख अखुनजाडाका सबैभन्दा नजिक र विश्वासिला पात्रा हुन् अब्दुल हाकिम। उनी तालिवानको छायाँ न्यायालयका प्रधान न्यायाधीश हुन्। उनले धार्मिक विज्ञहरुको परिषद्को नेतृत्वसमेत गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell