PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

उसले आज फेरि कसैसँग लफडा गर्‍यो कि!



उसले आज फेरि कसैसँग लफडा गर्‍यो कि!

  • भूमिका कुमारी विष्ट -

सधै गाउँगाउँ डुल्ने ऊ दुई दिनदेखि देखिएको थिएन। गाउँतिर डुल्दा उसलाइ देखी नसहनेहरु पनि आज ऊ कहाँ गयो होला भनेर कुरा गरिरहेका थिए। गाउँलेहरुको मस्तिकमा यो प्रश्न उब्जिनुले पनि संकेत गर्छ ऊ कति डुल्थ्यो। मैले उसलाई प्रायजसो गाउँको चियापसल नजिकको चोकमा देख्थेँ तर दुई दिनदेखि ऊ हराएको मैले चाल पाएकी थिइनँ। बिहानको ९ बजे कामले बजारतर्फ जाँदै गर्दा चोकमा मानिसको भिड देखियो। टक्क अडिएँ म।

सायद उसले आज फेरि कसैसँग लफडा गर्‍यो। त्यस्तै सोचेर सोधेको त ऊ बेहोस अवस्थामा घरमै फेला परेको पो रहेछ। उसको मुखबाट फिँज निस्किरहेको थियो। उसले बान्ता गरेर त्यसैमाथि पसारिएकाले दुर्गन्धसित थियो। बसिसक्नु थिएन। गाउँलेले प्रहरीको सहयोगमा उसलाई अस्पताल पुर्‍याएपछि उसको ज्यान बाच्यो। दुई रात चिसोमा अलपत्र सुतेकाले उसलाई निमोनिया भएको रहेछ। अस्पतालमा एक साताको उपचारपछि उसलाई ठूलीआमाको घरमा पुर्‍याइएको थियो। जहाँ ऊ बस्न चाहदैन्थ्यो, सायद्।

आशिष यो गाँउको एउटा अभागी बच्चा। ऊ काखमै हुँदा आमाले आत्महत्या गरिन्। जँड्याहा बावुको कचकचले दिक्क भएकी उसकी आमाले आत्महत्या गरेकी थिइन्। गरिवी  र अभाव भए पनि आमा हुन्जेल आशिषले कहिल्यै दु:खको महसुस गर्न परेन। तर, आमाले संसार छोडेर गएपछि भने उसका दुर्दिन शुरु भयो। आशिष जन्मँदा नै बौद्धिक अपाङ्ग। उसका एक दाजु र दिदी पनि छन्। कान्छो छोरा अपाङ्ग जन्मिएको भन्दै उसका बुवाले आफ्नै श्रीमतीलाई हेला र दुर्व्यवहार गर्न थाले। हिंसा त पहिलादेखि नै उसकी आमाले सहँदै आएकी थिइन्। सामान्य ज्याला मजदुरी गरेर गुजारा गर्ने परिवारमा अपाङ्ग बच्चा जन्माएर भार पारेको भन्दै रक्सी खाएर श्रीमती कुट्थे। आशिष अपाङ्ग भएर जन्मिनुमा आफ्नोमात्र दोष होइन भन्ने पनि कुरा नबुझेकी उसकी आमाले हिंसा सहन नसकेपछि पासो लगाएर जीवन त्याग्न सजिलो मानिन्। आमा बित्नुअघि नै आशिषको जेठो दाइ आमाबाको झगडाबाट दिक्क भएर घर छोडेर हिँडेको थियो। आशिषकी आमा बितेको केही समयमा उसका बा पनि बिरामी भएर बिते। बा आमा दुवैको मृत्युमा पनि आशिषको दाजु गाउँ फर्केनन्। उनी अहिले पनि कहाँ छन् कसैलाई थाहा छैन। आमा बा दुवै बितेपछि आशिषको सहारा उनको दिदीमात्र थिइन्।

आशिषकी दिदीले, छिमेकी र आफन्तको सहयोग मागी भाइलाइ हेर्थिन्। तर, पापी संसारमा सबै एकैखाले हुँदैनन्। सहयोगको बहानामा उनीसँग फाइदा उठाउन खोज्नेहरु पनि थिए। दुई तीन पटक त उनले आफूलाइ जोगाएको सबैले बुझेका पनि थिए। उनी कुनै पनि बेला बलात्कार वा यौनजन्य हिंसाको शिकार हुने जोखिममा थिइन्। यही कुरालाई ध्यानमा राखी गाँउका केही अग्रजहरुले उनलाई एउटा संस्थामा सीपमूलक तालिममा पठाउने निर्णय गरे। सुदूर पश्चिमको गाँउबाट चितवन गएर तालिम लिनुपर्ने भएपछि उसकी दिदीले जाने आँट गरिनन्। तर, सबैले आशिष छोरा मान्छे हो जसरी पनि खान्छ, तिमीले सिप सिकेर राम्रो काम गर्न सके भाइको पनि रेखदेख गर्न सक्छौ भनेर सम्झाए। आशिषलाइ ठूलीआमाको घरमा राख्नेमा ढुक्क भएपछि मात्र उसकी दिदी तालिममा गएकी थिइन्।

दिदी तालिममा गएपछि आशिष आफ्नो झुप्रोबाट ठूलीआमाको घरमा बस्न थाल्यो। तर, उसलाइ आफू के गर्दैछु भन्ने होस् नै हुँदैन्थ्यो। सरसफाई, लुगाफाटो त परैको कुरा, उसलाई समयमा खाने पनि होस् हुँदैन थियो। ऊ बिहानै घरबाट निस्केर गाँउ डुल्थ्यो। शुरुशुरुमा त उसकी ठूलीआमाको घरका मान्छे उसलाई खोज्दै आउँथे। तर, बिस्तारै उनीहरुले झर्को माने वा लाज, आशिषलाई खोज्नै छाडे। अभिभावकहरुले मतलब नगरेपछि आशिष कतिपय रात त सडकमै सुतेको पनि भेटियो। बिस्तारै गाउँलेहरु उसलाई पागल भन्न थाले। साना केटाकेटी ऊ आउँदा डराएर भाग्थे। ऊ पनि जानेर हो वा नजानेर, जिस्किन खोज्थ्यो, तर्साउन खोज्थ्यो। तर, उसले कसैलाई पनि कहिल्यै केही हानी गरेको थिएन। उसको अवगुण भनेकै कसैको हातमा खानेकुरा देख्यो मागिहाल्ने। चोकको चिया पसल त्यसैले उसको गन्तव्य हुन्थ्यो। त्यहाँ अरु पनि केही पसल थिए। ऊ दिनभरी ती पसलमा आउनेहरुसँग माग्न खोज्थ्यो। तर, उसलाई सबैले तिरस्कार गर्थे।

आशिष ठूलीआमाको घरमा बस्न नखोज्नुको पनि कारण थियो सायद्। उसको भाउजुलाई आशिषको फोहरीपन मन पर्दैन थियो। उनी आशिषलाई छीछी र दुरदुर गर्थिन्। एकपटक पैसा चोरेको भन्दै उनैले आशिषलाई निकै कुटेकी पनि सुनियो। त्यस घटनापछि आशिष ठूलीआमाको घर जानै डराउँछ। ठूलीआमाको घर नगएपछि ऊ दिनभर गाँउ डुल्थ्यो। साँझ परेपछि उही आफ्नो झुप्रोमा गएर सुत्थ्यो।

बिहानै उठेर ऊ गाउँ चहार्न हिँड्थ्यो। अल्लारे ठिटाहरुको रमाइलो गर्ने साधन बनेको थियो ऊ। उसको स्वास्थ्य र बौद्धिक अपाङ्गताको कुरा थाह पाए पनि उनीहरु उसलाई चुरोट तान्न सिकाएर रमाइलो मान्थे। उसलाई यौनाङ्ग चलाएर गिज्याउँथे। यी सबै कुराको संवेदनशीलता नबुझेको आशिष उनीहरुले सिकाए झैं गर्थ्यो। अरुको अगाडि त्यस्तै गर्दा कतिपटक त पिटाइ पनि खाएको थियो। यसरी नै रमाइलो गर्ने नाममा गाउँका अल्लारे केटाहरुले उसलाइ रक्सी खुवाएका थिए। अत्याधिक रक्सी खाएपछि ऊ उठ्न नसक्ने भएर आफ्नो झुप्रोमा दुइदिन थुनिएको रहेछ। तर, उसको खोजी गर्ने कोही भएनन्। अनि ऊ बिमारी भएको थियो। अस्पतालको एक हप्ते बसाइपछि उसलाई ठूलीआमाकै घर पुर्‍याइयो। तर, आशिष त्यहाँ बसेन। ऊ फेरि पहिला जस्तै गाँउ डुल्न थाल्यो। चोकको पसलमा गएर अरुले खाएको कुरा माग्न थाल्यो। अरु कुराको ध्यान नभए पनि उसले आफ्नो झुप्रो चाहिँ छ। उसको झुप्रो नजिक एउटा सानो पुल छ। अचेल ऊ त्यही पुलमा बसेर निकै बेर आफ्नो झुप्रोलाइ हेर्छ। उसले के सोच्छ भन्ने कुराले मलाई निकै कौतुहल बनाएको छ। उसले आफ्नो झुप्रो घरलाई एकोहोरो हेरेको देख्दा उसको बौद्धिक विकासमा केही सुधार हुन लागेको पो हो कि भनेर आशा पनि लाग्छ। तर, उसको अरु बानीब्यहोरा त पहिलेजस्तै छ। उसको जीवनमा अब के होला त?

लेखकबाट थप

मालाले कसरी पढ्ने होला?
माया फेरि बलात्कृत भइन्
जसले बालविवाह गर्नुहुदैन भनेर पढेकी थिइन् तर कक्षा ८ मा पढ्दापढ्दै…
खोलाले बगाएको बिमलाका सपना



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell