PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मेलम्ची बगर बनेको दुई महिनापछिको दृश्य यस्तो : हेलम्बु र पाँचपोखरी थाङ्पालसँग कहिले जोडिन्छ सडक सञ्जाल?

मेलम्ची बगर बनेको दुई महिनापछिको दृश्य यस्तो : हेलम्बु र पाँचपोखरी थाङ्पालसँग कहिले जोडिन्छ सडक सञ्जाल?

पहिलोपोस्ट /पहिलोपोस्ट


  • फूलमान तामाङ -

मेलम्ची : गएको असार १ गते मेलम्ची नदीमा आएको बाढीले बगरमा परिणत भएको थियो सिन्धुपाल्चोकको मेलम्चीको ठूलो हिस्सा। बाढीले क्षतिग्रस्त पारेको दुई महिना नाघिसकेको छ। तर, बगरमा घर भएका स्थानीयलाई बास व्यवस्थापन कसरी गराउने भन्ने सरकारको कुनै योजना छैन।

हेलम्बु गाउँपालिकाको भेमाथाङबाट आएको लेदोसहितको बाढीले डुबेका घरका तल्ला र सटर खाली गराएर पुरानै लयमा फर्काउन स्थानीय सरकार, स्थानीयबासी भने दिनहुँ खटेका छन्। शनिवार पनि चर्को गर्मीका बिच स्थानीयहरु आफ्नो घरमा पसेको लेदो सोहोर्दै गरेको भेटिए। स्काभेटर, डोजर खोलालाई बजारमा पस्न नदिन वाल लगाउनेदेखि सम्याउने काममा खटिएको देखिए।

सडक सञ्जाल जोडिने टुंगो छैन

मेलम्ची बाढीले हेलम्बु गाउँपलिकासँगको सडक यातायात बिच्छेद गरिदिएको छ। पाँचपोखरी थाङ्पालधाप गाउँपालिका र इन्द्रावती गाउँपालिका जोडिने पक्की मोटर पुल पनि असार १ को बाढीले बगायो। यसको विकल्पमा तत्काल पक्की पुल निर्माण गर्ने सम्भावना नदेखेपछि सरकारले ती स्थानमा यान्त्रिक पुल निर्माण गर्ने निर्णय गरेको छ। साउन २६ गते विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची क्षेत्रमा यस्ता ४ वटा पुल निर्माणका लागि निर्देशन दिए पनि कुनै यसको कुनै तयारी यो क्षेत्रमा देखिँदैन। मेलम्ची क्षेत्रमा यान्त्रिक पुल हाल्न सर्भे नै नभएको स्थानीय टासी लामाले बताए।

दोस्रोपटक असार १७ गते आएको बाढीमा परी चनौटेमा रातो पुल बगाएको थियो। उक्त क्षेत्रमा भने सर्भे भइसकेको उनले बताए।

उता दुवाचौर पुग्ने झोलुङ्गे पुल भने धेरै अग्लो स्थानमा भएकोले जोगिएको छ। यही पुलबाट अहिले दुबाचौरलगायत हेलम्बुका केही भेग र पाँचपोखरी गाउँपालिकाका मानिसहरु आउजाउ गर्छन्। यही दुई झोलुङ्गे पुल खाद्यान्न तथा अन्य बस्तुहरु ल्याउने लाने गर्दै थिए।

इन्द्रावतीबाट पाँचपोखरी गाउँपालिकामा बाइक राइडर सेवा

अहिले इन्द्रावती गाउँपालिकाको केन्द्र नवलपुरबाट आमा ह्योल्मो यातायातको बस रामपुरबेसीसम्म संचालनमा आएको छ। रामपुरमा रहेको झुलुङ्गे पुल हुँदै इन्द्रावती खोला तरेर मेलम्ची र राजधानी आउजाउ गर्न थालेका छन्।

त्यही झुलुङ्गे पुलबाट मोटरबाइकसमेत ओहोरदोहोर गरिरहेको दृश्य देखियो। नगरपालिकाले सूचना टाँसेर बाइक निषेध गरेको जनाउ दिएको छ। तर सूचना पालना गर्ने कसले? बरु कसैले यही पुलबाट आफ्नो बाइक लान चाहेमा तारिदिनेले एक हजार रुपैयाँ असुल गर्ने रहेछ।

इन्द्रावतीबाट पाँचपोखरी गाउँपालिका क्षेत्रका स्थानीय ओहोरदोहोरका लागि केही बाइक राइडरले सेवा प्रदान गरिरहेका छन्। यद्यपि यो सेवा महँगो भएको स्थानीय बताउँछन्।



ट्रेन्डिङ पोस्ट

Ncell