PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

१३ औं सागको हिसाबमा नअटाएको प्रसारणसम्बन्धी ८ करोडको सम्झौतामा महालेखाको प्रश्न



मुकुन्द घिमिरे

१३ औं सागको हिसाबमा नअटाएको प्रसारणसम्बन्धी ८ करोडको सम्झौतामा महालेखाको प्रश्न

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा टेलिभिजन प्रसारण अधिकार लगायतका विषयलाई लिएर राष्ट्रिय खेलकुद परिषद् तथा नेपाल ओलम्पिक कमिटीमाथि महालेखा परीक्षकको प्रतिवेदनले प्रश्न उठाएको छ।

'नेपाल ओलम्पिक कमिटी र भारतीय एक कम्पनीबिच तेह्रौँ दक्षिण एसियाली खेलकुदका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण, भिडियो र फोटोको प्रसारण अधिकार सहभागी सात राष्ट्रका १५ टेलिभिजन च्यालनमार्फत् गर्न ८ करोड रुपैयाँको सम्झौता भएको देखिन्छ,' महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ, 'त्यस्तै खेलकुद परिषद र दक्षिण एसियाली ओलम्पिक कमिटीबिच पनि सम्झौता भएको छ। कम्पनीले सम्झौता विपरीत ब्रोडकास्टको समेत काम गरेको छ।'

प्रतिवेदनमा एउटा विदेशी कम्पनीसँग विज्ञापनबाट ५० प्रतिशत राखेपलाई प्राप्त हुन आउने गरी सम्झौता गरिएको भए पनि रकम नदेखिएको उल्लेख गरिएको छ।

प्रतिवेदनमा भनिएको छ - 'अत विज्ञापनबाट प्राप्त आम्दानी यकिन गरी उक्त कम्पनीबाट असुल गर्नुपर्दछ।'

सागको हिसाबकिताबमा पनि ८ करोड गायब

साग सम्पन्न भएको एक वर्षपछि गत मंसिरमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले हिसाबकिताब सार्वजनिक गरेका थिए। उनले सरकारबाट प्राप्त रकमदेखि टिकटबाट उठेको रकम र विज्ञापनबाट उठेको रकमको विवरण दिँदै त्यो रकम खर्च भएको स्थानबारे समेत प्रष्ट पारेका थिए। तर, त्यसमा नअटाएको विषय थियो प्रसारण सम्बन्धी सम्झौताबाट प्राप्त गरेको ८ करोड रुपैयाँ।

पहिलेदेखि १२ औं सागसम्म टेलिभिजन प्रसारण अधिकार कसैलाई दिइएको थिएन। तर, नेपालमा हुने १३ औं सागबाट टेलिभिजन प्रसारण अधिकार सम्बन्धी सम्झौता भारतीय कम्पनीलाई दिइएपछि त्यतिबेला बहसको विषय बनेको थियो।

नेपाल ओलम्पिक कमिटी (एनओसी)ले भारतको टेलिभिजन कम्पनी एनके मिडिया भेन्चर प्रालिसँग प्रसारण अधिकार सम्बन्धी सम्झौता गरेपछि नेपाली मिडियालाई बाइपास गरेको भन्दै विरोध भएको थियो।

सम्झौता अनुसार उक्त कम्पनीले एनओसीलाई ८ करोड रुपैयाँ प्रदान गर्ने बताइएको थियो। त्यसबापत् एनकेले मिडियाले सम्पूर्ण खेलको प्रत्यक्ष प्रसारण गर्ने र ल्याउने विज्ञापनको ५० प्रतिशत एनओसीले पाउने सम्झौता थियो।

एनके मिडियाले नेपाली दर्शकका लागि नेपाल टेलिभिजनमार्फत् सबै खेलको प्रत्यक्ष प्रसारण गर्ने र यसका लागि एनके मिडियाले नेपाल टेलिभिजनसँग सहकार्य गर्ने सम्झौतामा थियो।

सागको खर्चमा कसरी अटाएन ८ करोड?

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले सार्वजनिक गरेको विवरणमा प्रसारण सम्झौताबाट प्राप्त हुन आउने ८ करोडबारे उल्लेख छैन।

उनले यसबारे संक्षिप्त जवाफ दिँदै सम्झौता अनुसार चेक पाए पनि त्यसमा पैसा नभएको बताएका थिए।

'सम्झौता भएको थियो। सम्झौता अनुसार हामीलाई चेक दिइएको थियो। तर त्यसमा पैसा रहेनछ,' सिलवालले त्यतिखेर भनेका थिए। उनले पछिल्लो समय नेपाल र भारतबिच दुईतर्फी हवाइ उडान खुलेपछि उक्त पैसा आउने बताएका थिए। नत्र कानुनी बाटोबाट अघि बढ्ने उनको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell