!['फिरौतीको केस'मा सजाय भुक्तान गरेर जेलमुक्त भए पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका भाइ, थियो अपराधिक समूहसँग कनेक्सन](https://pahilopost.com/assets/upload/contentthumb/85240846_497046554558042_3777562812168011776_n1.png)
काठमाडौं : पूर्व गृहमन्त्री रामबहादुर थापा (बादल)का भाइ नरेश थापा थुनामुक्त भएका छन्। अदालले तोकेको कैद सजाय भुक्तान गरेर आज बिहान उनी कारागारबाट बाहिरिएका हुन्।
२०७६ माघ २७ गते उच्च अदालत पाटनले उनलाई १ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो। डिल्लीबजार कारागरमा रहेका उनी कैद सजाय पूरा भुक्तान गरेर छुटेका हुन्।
'आज बिहान साढे ७ बजेतिर कैद भुक्तान गरेर जानु भएको हो,' डिल्लीबजार कारागारका जेलर बसन्त पुरीले भने।
२०७६ भदौमा थापालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको थियो। निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्यामा मुछिएका गुन्डा नाइके समिरमान बस्नेतसँग मिलेमतो गरेर फिरौती असुली गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो। थापालाई पक्राउ गर्दा उनका दाजु चाहिँ गृहमन्त्री थिए।
जेलमा रहेका गुन्डा नाइकेसँग गृह मन्त्रीका भाइको कनेक्सन : फिरौती र धम्कीको धन्दा
२०७५ असोज १ गते हत्यासम्बन्धी मुद्दामा जेलमा रहेका गुन्डा नाइके समीरमान बस्नेतसँगको मिलेमतोमा फिरौती असुली गरेको अभियोगमा उनलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छोड्ने आदेश दिएको थियो। तर, उच्च अदालतका न्यायधीश नहकुल सुवेदी र श्रीमनकुमार गौतमको इजलासले थापालाई थुनामा पठाउने निर्णय सुनाएको हो। जिल्ला अदालत काठमाडौंले थापालाई आपराधिक लाभ र संगठित अपराध मुद्दामा एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
२०७४ असोज २३ गते बानेश्वरमा अध्यक्ष गौचनलाई गोली हानिएको थियो। हत्याको अभियोगमा तीन महिनापछि मुख्य योजनाकार भनिएका समीरमान पक्राउ परेका थिए। ब्युरोले गरेको अनुसन्धानमा गृहमन्त्रीका साइला भाइ नरेशको विभिन्न कोणबाट समीरमानसँग सम्पर्क भएको देखिएको थियो।