PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

कक्षा अनलाइनमै सीमित, शुल्क भने प्रयोगात्मकको पनि : विवादले इन्जिनियरिङ संकायको परीक्षा नै अन्यौलमा



रासस

कक्षा अनलाइनमै सीमित, शुल्क भने प्रयोगात्मकको पनि : विवादले इन्जिनियरिङ संकायको परीक्षा नै अन्यौलमा

काठमाडौं : इन्जिनियरिङ कलेजहरुले अनलाइन कक्षा संचालन भएको बेलामा पनि खेलकूदलगायतका अतिरिक्त क्रियाकलापको शुल्क माग गरेपछि उत्पन्न विवादका कारण परीक्षा अन्यौलमा परेको छ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएका १० निजी कलेजमा विद्यार्थीले अनलाइन कक्षा पढिरहँदा प्रशासनले खेलकूद, भ्रमण, प्रयोगशाला, पुस्तकालयलगायत शीर्षकमा शुल्क लिइरहेका छन्। परीक्षाभन्दा पहिले शुल्क सबै तिर्नुपर्ने भए पनि विद्यार्थीले आफूहरु सहभागी नभएका क्रियाकलापमा शुल्क लिन नहुने भन्दै त्यसको विरोध गर्दै आएका छन्। कलेजमा धर्ना दिइरहेका विद्यार्थीले यी माग सम्बोधन नहुँदासम्म परीक्षा संचालन गर्न नहुने बताउँदै आएका छन्। स्नातक तहको सबै वर्षको परीक्षा अर्को महिनाको पहिलो साता गर्ने तयारी रहेको छ।

चालू आर्थिक वर्षमा पनि गत वर्ष भौतिक कक्षा हुँदा जसरी नै शुल्क लिन खोजिएको अखिल नेपाल स्वतन्त्र विद्यार्थी संगठन (अनेरास्ववियू) का सचिवालय सदस्य इन्द्र पौडेलले बताए। उनका अनुसार कलेजमा कोभिड १९ का कारण अतिरिक्त क्रियाकलाप नभए पनि त्यसको शुल्क लिइरहेका छन्। कलेजले औसतमा एक सेमेस्टरको एक लाखसम्म लिने गरेको उनले बताए।

'कुनै एउटा शीर्षकको शुल्कमा छुटभन्दा पनि समग्रमा नै विद्यार्थीलाई राहत हुने गरी छुट हुनुपर्छ' उनले भने।

कोभिड १९ का कारण अभिभावकको आम्दानी कम भएकाले पनि विद्यार्थीसँग बढी शुल्क लिन नहुने पौडेलले बताए।

विद्यार्थीसँग बढी शुल्क लिए पनि अनलाइन कक्षा हुँदा कुनै पनि प्रयोगात्मक कक्षा भएको छैन। इन्जिनियरिङ विषय भए पनि प्रयोगात्मक नहुँदा विद्यार्थीले केही सिक्न नसक्ने पौडेलले बताए।

'अहिले इन्जिनियरिङका विद्यार्थी अरु संकायमा पढे जस्तो भएको छ' उनले भने।

शुल्क विवाद चाँडो समाधान नभएमा स्नातक तहका सबै वर्षको परीक्षालाई असर गर्ने नेपाल विद्यार्थी संघका नेता भुवन भट्टले बताए। कुनै पनि प्रयोगात्मक कक्षा नहुँदा एकातिर विद्यार्थीले सिक्न सकेका छैनन् भने कलेजले प्रयोगात्मक क्रियालापहरुको शुल्क लिइरहेका छन्। कलेजले आधा शुल्क घटाउनुपर्ने उनको माग छ।

'अनलाइन कक्षा हुँदा कलेजको पनि लगानी कम भएकाले विद्यार्थीसँग पनि कम शुल्क लिनुपर्छ' उनले भने।

शुल्क छुट गर्नुपर्ने माग गर्दै विद्यार्थीले कुनै कलेजमा धर्ना गरिरहेका छन् भने कतै तालाबन्दी गरेका छन्। कुनै कलेजमा सबै विद्यार्थी संगठनले संयुक्त रुपमा त कतै फरक फरक संगठनले फरक कार्यक्रम गरिरहेका छन्। विद्यार्थीले आआफ्नो कलेज र संस्थानको कार्यालयमा आन्दोलन गरिरहेका हुन्।

सम्बन्धित समाचार : माइतीघरमा विद्यार्थीको नारा : 'लुट्न सके लुट कलेज, इन्जिनियरिङमै हो छुट'

विद्यार्थीले केही साता पहिलेदेखि आन्दोलन गरिरहँदा पटकपटक इन्जिनियरिङ अध्ययन संस्थानलाई समन्वयका लागि अनुरोध गरिरहेको छन्। विद्यार्थीले संस्थानले समन्वयमा चासो नदिएको आरोप लगाएका छन् भने संस्थानले कलेजसँग वार्ता भइरहेकाले समाधान निस्कने अपेक्षा गरेको जनाएको छ। संस्थानले फारम भर्ने मिति आजसम्मका लागि तोकेको छ। विद्यार्थीले ११ गतेसम्म अतिरिक्त शुल्क तिरेर फारम भर्न पाउनेछन्।

संस्थानले निजी कलेजलाई शुल्क घटाउन भनेको र कलेज पनि त्यसमा सहमत भएको संस्थानका डिन शशिधरराम जोशीले बताए। कलेजले चाँडो विवाद समाधान गरेर समयमा नै परीक्षा हुने वातावरण बनाउनुपर्ने उनीहरुको माग छ।

भने,'केही विद्यार्थीको आन्दोलनका कारण १९ हजारलाई असर पुग्न दिनुहुँदैन।'

त्रिभुवन विश्वविद्यालयका पाँच आंगिक कलेजमा शुल्क समस्या नभए पनि निजी कलेज खुलेदेखि नै शुल्कमा समस्या देखिन थालेको हो। वि सं २०५० मा विश्वद्यिालयले निजी कलेजलाई सम्बन्धन दिन थालेको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केही वर्ष पहिले ती कलेजहरुले अधिकतम कतिसम्म शुल्क लिन पाउँछन् भनी मापदण्ड बनाएको थियो। सरकारले निर्धारण गरेको मापदण्डभन्दा बढी शुल्क लिँदाबाहेक संस्थानले हस्तक्षेप गर्न नमिल्ने डिन जोशीले बताए।

'शिक्षा मन्त्रालयले तोकेको आधारमा शुल्क लिँदा हामीले केही गर्न मिल्दैन,'उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell