PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कालीगण्डकी बचाउन कविहरुलाई आह्वान, 'कलममार्फत शासकलाई झक्झकाउनुपर्ने बेला भयो'



कालीगण्डकी बचाउन कविहरुलाई आह्वान, 'कलममार्फत शासकलाई झक्झकाउनुपर्ने बेला भयो'

काठमाडौं : कालीगण्डकी बचाऔं अभियानले 'नदी सप्तक' कविता शृङ्खलाका लागि आह्वान गरेको छ। अभियानले नदी संरक्षणमा बल पुग्ने भावका कविताको लागि स्रष्टाहरूलाई आह्वान गरेको हो।

पर्यावरणीय सन्तुलन नै खलबलिने गरी नदीको तीव्र दोहन भइरहेको बेला सरकारले नदीको पानी नै अर्कोतिर मोड्ने परियोजना अघि सारेको छ। सरकारको उक्त परियोजनाको वातावरण संरक्षणमा लागेका अभियन्ताहरुले सुरुदेखि नै विरोध गर्दै आएका छन्। कालीगण्डकी नदीको अवैध दोहन भएको र नदी सभ्यता नै नामेट पार्न खोजिएकोमा महिनौंदेखि विरोध भइरहेको छ।

अभियानले विरोध कार्यक्रमलाई बल पुग्ने गरी 'नदी सप्तक' कविता शृङ्खला आयोजना गरेको जनाएको छ। कालीगण्डकी बचाऔं अभियानका मुख्य अभियन्ता आरके अदीप्त गिरीले हालसम्म पाँच दर्जन बढी कविहरूले यस अभियानको लागि कविता पठाइसकेको बताइन्। उनका अनुसार प्राप्त कविताहरूलाई संकलन गरेर 'नदी सप्तक' नामक कवितासंग्रह तयार पार्ने लक्ष्य राखिएको छ।

अभियानले एक विज्ञप्ती जारी गर्दै भनेको छ, 'कालिगण्डकीको मर्म, आस्था र सभ्यतालाई जोगाउन, प्राकृतिक प्रणाली रक्षा गर्न र नदीलाई आफ्नै बाटोमा बग्न दिन अब कवि/लेखकले आफ्नो कलममार्फत शासकलाई झक्झकाउनुपर्ने बेला आएको छ।'

सम्बन्धित समाचार : कालीगण्डकी-तिनाउ डाइभर्सन : किन विरोध गर्दैछन् स्थानीय?

दुई प्रदेशबीच तुस निम्त्याएको कालीगण्डकी डाइभर्सन विवाद के हो?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell