PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

रुख चिह्नमा बहुमत ल्याउन आफूले सभापतिमा उम्मेदवारी दिएको निधिको भनाइ, 'कसैलाई पराजित गर्न होइन'  



नेत्र तामाङ

रुख चिह्नमा बहुमत ल्याउन आफूले सभापतिमा उम्मेदवारी दिएको निधिको भनाइ, 'कसैलाई पराजित गर्न होइन'  

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि विमलेन्द्र निधिले सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। थापागाउँस्थित बानेश्वर ब्याङ्क्वेटमा सम्पर्क कार्यालयको शुभारम्भ गर्दै निधिले उम्मेदवारीको औपचरिक घोषणा गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति निधिले आउने चुनावमा नेपाली काँग्रेसको रुख छापमा बहुमत ल्याउन उम्मेदवारी दिएको बताए। उनले आफ्नो उम्मेदवारी कसैलाई पराजित गर्न नभएको समेत बताए।

'कसैलाई पराजित गराउन उम्मेदवारी दिएको होइन। जनतालाई एकै साथ जोड्न हो,' उनले भने,' रुख छाप नेपालको राष्ट्रियता जगेर्ना गर्ने छाप हो। यही कुरा फैलाउन मैले काँग्रेसको सभापतिमा उम्मेदवारी दिन तयारी गरेको  हो।'

निधिले काँग्रेसलाई वैचारिक रुपमा प्रष्टता दिन र संविधानको अपन्वताका लागि पनि आफूले उम्मेदवारी दिएको बताए।

सम्बोधनका क्रममा निधिले बीपी कोइरालालाई समेत सम्झे। उनले बीपीले दिएको अवसरले नै आफूले यो क्षमता पाएको भन्दै उनीप्रति विषेश सम्मान रहेको समेत बताए।

निधिले क्रियाशील सदस्यता विवादमा जिल्ला सभापतिहरुले गरिरहेको अनसन प्रति समर्थन समेत जनाए।

'जिल्ला सभापतिहरूको माग ठीक हो। सबैले थाह पाउनुपर्छ क्रियाशील सदस्यताको सूची' उनले भने।

धार्मिक पूजा गर्दै सम्पर्क कार्यालय उद्घाटन गर्न पुगेका निधिले युवालाई कांग्रेसमा स्थान दिन आफूले उम्मेदवारी दिन लागेको समेत बताए।

निधिले आउँदो महाधिवेशनलाई लक्षित गर्दै बानेश्वरमा सम्पर्क कार्यालय खोलेका हुन्। महाधिवेशनसम्मकै लागि बुक गरिएको ब्याङ्क्वेटमा सातै प्रदेशका लागि फरकफरक सम्पर्क कक्ष स्थापना गरिएको छ। निधिका लागि छुट्टै सचिवालय कार्यालय समेत निर्माण गरिएको छ।

महाधिवेशन लक्षित गर्दै ५०० जना अट्ने बैठक कक्षको समेत व्यवस्था गरिएको छ।

सम्बन्धित समाचार : विमलेन्द्र निधिले खोले बानेश्वरमा सम्पर्क कार्यालय, महाधिवेशन सम्मका लागि पुरै ब्याङ्क्वेट भाडामा

निधिले आज ब्याङ्क्वेटबाट आफ्नो सम्पर्क कार्यालयको शुभारम्भ गरेका छन्। निधि त्यहाँ पुग्दा कार्यकर्ताहरुले नाराबाजी गरेका थिए। 'विमलेन्द्र निधि जिन्दावाद, पार्टी सभापति विमलेन्द्र निधि जिन्दावाद' नारा बिच निधिले सम्पर्क कार्यालयको शुभारम्भ गरेका हुन्।

सरकारले हाल पार्टी प्यालेस, ब्याङ्क्वेटहरु संचालन गर्न अनुमति दिएको छैन। साथै, संक्रमणको जोखिम अझै रहेकोले भिडभाड नगर्न समेत आग्रह गरेको बेला निधिले ब्याङ्क्वेटमा नै सम्पर्क कार्यालय खोलेर भिडभाडबिच उद्घाटन गरेका हुन्। निधिले भोलिबाट सबै भेटघाट ब्याङ्क्वेटबाट गर्ने बताइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell