PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

सडक नबन्दा काठमाडौंबाट हेटौडा पुगेर प्रदेशसभामा भाग लिन सांसदहरुलाई सकस, यसरी संघीयता चल्छ?



निशा गुरुङ

सडक नबन्दा काठमाडौंबाट हेटौडा पुगेर प्रदेशसभामा भाग लिन सांसदहरुलाई सकस, यसरी संघीयता चल्छ?
फोटोहरु : Surendra Raj Gosai

भदौ २ गते वाग्मती प्रदेशसभाको बैठक सकाएर काठमाडौं फर्किए नेपाल मजदुर किसान पार्टीका प्रदेशसभा सांसद सुरेन्द्र राज गोसाई। प्रदेशसभा बैठक हुँदासम्म डोरमणि पौडेल मुख्यमन्त्री थिए। काठमाडौं पुग्दासम्म प्रदेशमा मुख्यमन्त्री फेरियो। अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीका रुपमा सपथ ग्रहण गर्दै गर्दा गोसाईले सामाजिक संजालमा हेटौडाबाट फर्किँदै गर्दा सडकमा अलपत्र परेका तस्विरहरु सेयर गर्दै प्रश्न गरे ‘हेटौडामा मुख्यमन्त्री परिवर्तन के विगतको असफलताको दण्ड हो?’

गोसाईले यसरी प्रश्न गरेर सर्वसाधरण र सांसदहरुले भोगिरहेको सडक सकसका बारेमा कुरा उठाइरहेका थिए। अर्थात हेटौंडा-काठमाडौं सडक खण्डको दुर्गति।

+++

वाग्मती प्रदेशको राजधानी हेटौडा बनेपछि अधिकांश प्रदेश सांसदहरुका चिन्ता राजधानी आउजाउ गर्न हो। हेटौडा काठमाण्डौका वैकल्पिक छोटो दुरीको हेटौडा—भीमफेदी, कुलेखानी, फाखेल,सिस्नेरी सडक साँघुरो र जोखिमयुक्त छ। काठमाडौंबाट हेटौडा पुग्न धेरैमा ४ घण्टा लाग्ने गर्छ। तर बर्खायाममा सडक अवरुद्ध हुँद हेटौडा पुग्न अझै बढी समय लाग्ने गर्छ। सडकमा पहिरोको जोखिम धेरै छ। जोखिमै मोलेर सांसदलगायत प्रदेशका कर्मचारीहरु आउजाउ गर्छन्। अझ मनसुनको समयमा पहिरो खसिरहने र बाटो कच्ची भएकोले पनि केन्द्रीय राजधानीबाट प्रादेशिक राजधानी पुग्न निकै समय लाग्छ। त्यसैको मारमा परेका छन् सर्वसाधरणदेखि प्रदेशसभा सांसदसम्म।

वाग्मती प्रदेको राजधानी हेटौडामा विमानस्थल छैन। केन्द्रीय राजधानीसँग जोड्ने सडकको अवस्था यस्तो। तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेलको जोडबलमा हेटौडा राजधानी त बन्यो। तर प्रदेशको राजधानीले सांसदलाई नै आकर्षित गर्न सकेन।

२०७६ पुस २७ गते प्रदेश ३ को स्थायी राजधानी हेटौडा घोषणा भएको थियो। वाग्मती प्रदेशको राजधानी हेटौंडा राख्ने पक्षको मतदानमा हेटौंडाको पक्षमा १०५ मत र विपक्षमा ३ मत परेको थियो। सत्तारुढ नेकपासहित मुख्य दलले राजधानी हेटौंडाको पक्षमा मतदान गरेपछि दुई तिहाइभन्दा धेरै मतले हेटौडा राजधानीका रुपमा कायम भएको थियो।

३ नम्बर प्रदेशको स्थायी राजधानी काभ्रेको धुलिखेल कायम गरियोस भन्ने प्रस्तावमा जम्मा ३ मत प्राप्त भएको थियो। साझा पार्टीका रमेश पौडेल, शोभा शाक्य र विराजभक्त श्रेष्ठले धुलिखेलका पक्षमा मतदान गरेका थिए। काभ्रेको विपक्षमा १०१ मत परेको थियो।

तर, यसरी हेटौडालाई नै राजधानी बनाउन मत दिने सांसदहरु नै हेटौडामा बस्दैनन्। हेटौडामा राजधानी भइरहँदा सडकको अवस्थाले काठमाडौंबाट आउने प्रदेश सासंदहरुलाई पनि निकै असहज भएको छ।

मनसुनको समयमा ओहोरदोहोर गर्नुपर्ने सडकको बिजोग, बाटोमा पहिरो पनि त्यत्तिकै जाने सडक अवरुद्ध हुँदा प्रदेशको महत्वपुर्ण बैठकमा समेत सहभागी हुन नपाउनेजस्ता विभिन्न समस्या भएका छन् काठमाडौं, दोलखा, सिन्धुपाल्चोक र काभ्रेका सांसदहरुलाई।

वाग्मती प्रदेशसभाका प्रतिपक्ष दलका नेता एवम् नेकपा माओवादी केन्द्रका नेता शालिकराम जमरकटेलले प्रदेशको राजधानी हेटौडा भईरहँदा सदनमा पटकपटक सडक स्तरोन्नती गर्न कुरा उठाउँदै आईरहेको बताउँछन्। तर पनि आजसम्म केही गर्न नसक्दा सास्ती झेल्नुपरेको बताउँछन्। सडक अवरुद्ध हुँदा बजेट अधिवेशनको समयमा १२ घण्टा जाममा बस्नुपरेको तितो भोगाई रहेको उनले सुनाए।

‘निर्वतमान सरकारले भत्काउन मात्रै जान्नु भो। बन्दै नबन्ने सुरुङमार्ग हात हाल्नु भयो। तर एउटा सडक पनि व्यवस्थित ढंगले बनाउन सकेनन्,’ उनले भने, ‘प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुनु भएको छ, हेरौं उहाँले के गर्नुहुन्छ।’

प्रदेशको स्थायी राजधानी काभ्रेको धुलिखेलकायम गरियोस् भन्ने प्रस्तावमा मतदान गरेका विवेकशील साझा पार्टीका नेता रमेश पौड्यालले हेटौडामा राजधानी भइरहँदा धेरै सांसदहरुले समस्या भोग्नु परेको बताए। उनले सडकसमेत राम्रो बनाउन नसक्दा बर्खाको बेला सडक अवरुद्ध हुने गरेको र त्यस कारण प्रदेशसभाको बैठकमा आउजाउ गर्ने सांसदहरु नै गाह्रो हुने बताए।

वाग्मती प्रदेश सभामा समितिको महत्वपूर्ण बैठकहरु हुँदा बर्खामा बाटोमा पहिरो गएर घन्टौसम्म अवरुद्ध हुने गरेको र सांसदहरु बिच बाटोमा नै फस्ने गरेको उनले सुनाए।

‘सडकको कारणले हामी समयमा पुग्न सक्दैनौ। बर्खाको समयमा हामीलाई हेटौंडाको बाटो आउँदा असुरक्षाको महसुस हुने गर्छ। यो वाग्मती प्रदेशका नागरिकले पनि भोग्दै आएको समस्या हो,’ उनले भने।

काभ्रेको धुलिखेललाई प्रदेशको राजधानी बनाईएको भए बर्खा वा अन्य कुनै पनि समयमा बाटो अवरुद्ध हुने वा पहिरो जाने समस्या नहुने मत राखे उनले।

त्यस्तै नेपाली कांग्रेस संसदीय दलका प्रवक्ता प्रभात तामाङ्ले पनि प्रदेश सभाको बैठकमा बर्खायाममा पहिरो जाँदा बैठक नै ३-४ घण्टासम्म पर सार्नपर्ने बाध्यता आएको बताउँछन्। हेटौडामा राजधानी राख्ने विषयमा दलको आदेश आएपछि काभ्रेमा नभई हेटौंडामा नै मतदान गर्नुपरेको उनले बताए। 

एमालेका नेतृ रमा आले मगरले पनि हेटौडा राजधानी बनाउन नचाहेर पनि पार्टीको निर्देशनमा मतदान गरेको बताइन्। काठमाडौंदेखि हेटौंडा आउने क्रममा बर्खाको समयमा निकै समस्या झेल्नु परेको उनको तितो अनुभव छ।

उद्योग, पर्यटन, वन तथा वातावरण समितिको सभापतिसमेत रहेकी आलेले बैठकको सूचना पाए एक दिनअघि नै हेटौडा आउने गरेको बताइन्। ‘अप्ठेरो छ, बर्खाको समयमा काठमाडौंबाट हेटौंडा जान। तर, जिम्मेवारीमा बसिसकेपछि हामीलाई असहज भयो भनेर पन्छिन पनि भएन,’ उनले भनिन्, 'हामीले सदनमा र दलको बैठकमा सडक स्तरोन्नती गर्न कुरा उठाउँदै आइरहेको छौं।’

यता धादिङ, सिन्धुली, चितवन र मकवानपुरका सासंदहरुलाई भने हेटौडा आउन सहज देखिन्छ।

यद्यपि हेटौडा, सिन्धुली घर भएका अधिकांश सांसदहरुसमेत काठमाडौंमा बस्ने गर्छन्। उनीहरु पनि बैठकका लागि काठमाडौंबाटै ओहोरदोहोर गर्छन्। हाल १०९ जना सांसद रहेको प्रदेशसभामा केन्द्रीय राजधानी हुँदै हेटौडा आउने सासंदहरुको संख्या ८० जनाभन्दा बढी रहेको प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले बताए।

यसरी संघीयता चल्छ?

प्रदेश सभाको बैठक दिनँहु चल्दा भने ओहोरदोहोरमा समस्या आउँछ भन्दै कतिपय सांसदहरुले हेटौडा डेरा लिएर बसेका छन्। नेकपा एमाले सांसद चन्द्र लामा, लक्ष्मण ढकाल र नेकपा माओवादी सांसद रत्न ढकाल हेटौडामा डेरामा बस्छन्।

‘बाटो मा पहिरो जाँदा बाटोमै रोकिनु पर्छ। बिहान २/३ बजेसम्म बाटोमै बिजोग हुने अवस्था आउने भन्ने बेला हुट पनि पाइँदैन। राति अबेर हुँदा होटल नखुल्ने कहिल्यै समयमा बैठक नपुग्ने हुनाले डेरा लिनु परेको छ,’ एमाले सांसद चन्द्र लामा बताउँछन्।

तर सबै जना डेरा लिएर बस्ने अवस्थामा छैनन्। प्रदेशसभा बैठक संचालन हुँदा होटलमा बस्नुपर्ने अवस्था छ। तर, अहिले कोरोना संक्रमणका कारण होटल पाउन पनि सांसदहरुलाई गाह्रो छ।

कांग्रेसबाट प्रदेशसभा सदस्य रहेका निमा लामा  भन्छन्, ‘विकेन्द्रिकरणको अवधारणा राम्रो हो। त्यसैले काठमाडौं वरिपरिभन्दा हेटौडालाई चुनियो। तर तीन वर्ष भइसक्यो। सडककै अवस्था यस्तो छ। पहुँच त राम्रो हुनुपर्‍यो नि। अरु केही नभए पनि सडक संजाल बनाएर भए पनि संघीयताको आभास दिलाउन सक्नु पर्थ्यो।’

लामाले प्रदेश सभाको प्राय बैठकमा सडकको अवस्थाकै विषय उठ्ने गरेको बताउँछन्। अहिले कोरोना संक्रमणका कारण होटल लजहरु बन्द हुँदा बैठकमा पुग्न नै कहाँ बस्ने के खाने भनेर पहिला नै तय गरेर आउनुपर्ने बताए।

‘यहाँ आएर प्रदेशसभामा उत्साहित हुने वातावरण नै छैन। घण्टौंको सडक सकसपछि आइपुगिन्छ। सांसदहरुले कुरा उठाउँछन्। तर यतिका वर्ष भयो। यसले संघीयताको अनुभूति दिएको छैन,’ लामाले भने।

लामा हालको वाग्मती प्रदेशसभा बैठक कक्ष सातै वटा प्रदेशमध्ये सबैभन्दा खराब रहेकोसमेत बताउँछन्। विवेकशील साझा पार्टीका सांसद विराजभक्त श्रेष्ठले सदनमा नै सांसदहरुलाई ओहोरदोहोर गर्दा पछाडि बसेका सांसद उठेर बाटो छोडिदिनुपर्ने भन्दै सभामुखको ध्यानकर्षण गराएका थिए।

यस विषयमा हामीले केही साता अघिमात्रै मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यलाई सोधेका थियौं : यसरी संघीयता चल्छ?

शाक्यको जवाफ यस्तो थियो, ‘चल्दैन। हेटौडा राजधानीका रुपमा टाढै पर्छ। सांसदहरु त्यही बस्न नि त्यहाँ सबै सुविधा विकास भएको छैन। पूर्वाधार विकास गर्न कठिन छ। केही डेरा गर्न बाध्य छन्। अरु धेरैजना काठमाडौं र अन्य जिल्लाबाट आउनेजाने गर्छन्। सर्वसाधरणलाई पनि गाह्रो छ।’

शाक्य काभ्रे सबैका लागि पायक पर्ने भएपनि हेटौडा राजधानी कायम भइसकेको अवस्थामा अब त्यहाँ विकास कसरी गर्ने भन्ने बारेमा सरकारले जोड दिनुपर्ने बताउँछन्।

‘यसअघिको सरकारले के गर्‍यो थाहा छैन। तर अब संघीयता यसरी चल्दैन। सांसदहरु यतै बस्न सक्दैनन्। बाटोको अवस्था यस्तो छ। सदन पनि सानो छ। यसको व्यवस्थापन गर्ने प्रयास गर्छु।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell