PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

१५ वर्ष लगाएर तयार भएको एउटा पौभा र त्यसको सिर्जनासँग जोडिएको कथा



सहयोग रञ्जित

१५ वर्ष लगाएर तयार भएको एउटा पौभा र त्यसको सिर्जनासँग जोडिएको कथा

सुतिको कपडाले बनेको सेतो क्यानभास। करिब १५ वर्ष अगाडि यही क्यान्भासमा सुरु भयो कलमबाट रेखाङ्कन। बनाउनु थियो ठूलो आकृतिको महारक्त गणपति। १२ वटा हातले सिद्ध भएको गणेशको बृहत पौभा। सम्यक आजिविका पौभाको मूल मन्त्र।

बाल्यकालदेखि नै गणेशसँगै अन्य देवीदेवताको आकृति कोर्दै हुर्किएका लोक चित्रकारका लागि यस्तोखाले पौभा बनाउनु चुनौतिपूर्ण नै थियो। किनभने उनले पौभा कसैलाई समर्पित गर्न बनाएका थिए।

नेपाल र तिब्बतलाई जोड्ने कलाकारको सन्दर्भ आउँदा धेरैले अरनिकोको नाम लिने गर्छन्। तर, के अरनिको बाहेक अरु कलाकारहरुले नेपाल र तिब्बतलाई जोडेकै थिएनन् त? यसबारेमा धेरै अध्ययन नै नभएको बताउँछन् लोक। त्यसैले उनले निधो गरे १५ औं शताब्दीतिर तिब्बतमा नेपाली मौलिक कलाको विकास गर्ने जीवरामको पहिचानलाई जिवन्त बनाउने अभियान, महारक्त गणपतिको पौभा बनाएर।

 ‘यो पौभा अरु पौभाभन्दा युनिक छ। यो पौभाको शैली १२ औं शताब्दीको हो। १५ औं शताब्दीमा जीवरामले महारक्त गणपति बनाउनु भएको रहेछ। यसबारेमा धेरैलाई थाहा छैन। त्यसैले यो पौभा मैले उहाँलाई समर्पित गरेको छु,’ लोकले भने।

पन्ध्रौं औं शताब्दीमा जीवरामले बनाएका पौभालाई बुझ्दै लोकले आफ्नो गणेश बनाउने शिल्पलाई थप निखार्ने प्रयास गरे। नेपालकै पौभा उस्ताद कहलाउने लोकले महारक्त गणपतिलाई आफ्नो ‘टच’ दिए, जुन पूरा हुन लाग्यो पूरै १५ वर्ष।

सन् २००८ मा कोर्न सुरु गरेका थिए यो पौभा उनले। पौभामा गणेशलाई आकृति दिने काम त गर्दै गए। खनिजका रंग, इन्डिगो वनस्पति लगायत प्राचीन कालमा प्रयोग हुँदै आएकाहरु रंगहरु भर्दै भए। सबै समय एउटै पौभालाई दिन नि सकिँदैन थियो। महारक्त गणपतिसँगै अन्य पौभाहरुलाई पनि समय दिनु उनको दैनिकी थियो।

समय बित्दै गयो। महारक्त गणपतिको आकृतिले पनि रुप लिँदै गयो। कहिले उनी १२ वटा हातमा गणेशको हातमा तरबार राख्थे, अर्को बेला धनुष पक्राउथे। कहिले गणेशमा हरेउको माला बनाउथे त कहिले पौभाको अन्य डिजाइनमै व्यस्त हुन्थे।

‘यसरी समय गएको पत्तै भएन। स्वीजरल्यान्डबाट आएजना विद्यार्थी आएर मलाई सम्झाए यो पौभा बनाउन सुरु गरेको त १२ वर्ष पुगेको रहेछ भनेर,’ २०१९ मा विद्यार्थीले आफूलाई भेट्न आएको प्रसंग सुनाउँदै लोकले भने।

त्यसपछि पनि लोक महारक्त गणपति बनाउन समय दिँदै गए। सन् २०२० मा कोरोनाका कारण लकडाउन भयो। लोक फर्सदिला भए। पूरै समय महारक्त गणपति बनाउनमा लगाउन थाले र सके पनि। अन्तत: १५ वर्ष पछि जीवरामलाई समर्पित गर्न उनको पौभा तयार भयो।

ठमेल स्थित म्युजियम अफ नेपाली आर्ट (मोना) मा एक महिनादेखि लोक चित्रकारको त्यही पौभा प्रदर्शनीमा रहेको थियो। आज मोनामा उनको पौभा प्रदर्शन सकिएको छ। अब महारक्त गणपति मोनाबाट फर्किनेछन् पाटन। जहाँ लोकले चित्रहरुसँग हुर्किन सिके। पौभा बनाउन जाने र बनाउन सिकाए।

+++

पूं – नेवार समुदायमा चित्रकारलाई पूं भनेर सम्बोधन गरिन्छ। अर्थात पूण्यको काम गर्नेहरु। नेवार समुदायमा हुने विभिन्न धार्मिक पर्वहरुमा पूंहरुको विशेष महत्व हुन्छ। उनीहरुले बनाएको चित्र नभइ हुन्न।

भक्तपुरमा मूल घर, काठमाडौंमा जन्मिएका र पाटनलाई कर्मथलो बनाएका लोक जतिखेर १२ वर्षका थिए तबदेखि नै उनी पनि पुण्यको काममा लागिपरे। त्यसपछि पनि उनले चित्र नकोरेका होइनन्। तर, १२ वर्षको उमेर देखि आफूले बुझेर यो क्षेत्रमा लागेको उनी सुनाउँछन्। उनले पनि बिबाह हुने घरमा ढोकामा देवदेवीको चित्र बनाउने देखि जंकूमा चाहिने चित्रहरु पनि बनाए। हातैले लक्ष्मी र नागको चित्र बकोर जुन अहिले लोप हुने अवस्था छ।

सम्बन्धित समाचार :'धनलक्ष्मी'को चित्र रङ्ग्याउन नथाकेकी चेतकुमारीको चिन्ता : पुर्ख्यौली पेशा नासिने नै भयो

 ‘पूं सम्प्रदायको चित्र बनाउने जिम्मेवारी भयो। हाम्रो काम नै धार्मिक संस्कारहरुमा सहभागी हुने हो। जनै खटिरा, जंकू, बिबाह, ब्रतवन्ध लगायतका धार्मिक काममा जानुपर्थ्यो। म नि गएँ। काम आउँथ्यो। त्यसैमा लाग्दै गयो,' लोकले भने, 'तत्कालीन समाजमा चित्रकारको काम राज्य र नागरिकको लागि चित्र बनाउने उसको काम हो। त्यो बेलाको अनुभव नै फरक छ। चित्रकला भन्दा धार्मिक संस्कारको काम बढी हुन्थ्यो। क्रिएटिभिटी भन्दा पनि नियममा बसेर काम गर्नुपर्थ्यो। शुभकार्यको लागि चित्र बनाएर कर्तव्य पूरा गर्नुपर्थ्यो।’

त्यही बेलाको नियमले लोकलाई पौभा बनाउन वर्षौंको साधना गर्न साहस मिलेको छ। महारक्त गणपति बनाउन १५ वर्ष लगाए झै १२ वर्ष लगाएर उनले १०८ लोकेश्वरको चित्र बनाए। उनको ती लोकेश्वरको चित्रहरुको ओरिजिनल प्रिन्ट हाल जापानमा छन्।

उनी अहिलेको पुस्तामा पनि नियममा बाध्ने सिप आवश्यक रहेको बताउँछन्। आफूले बनाउन लागेको चित्रको बारेमा शास्त्रीय ज्ञान आवश्यक हुने उनको तर्क छ।

‘सुरुमा सिद्ध हुनुपर्छ। कलाको सिकाइ र शिल्प ज्ञानका साथै शास्त्रीय ज्ञान पनि हुनुपर्छ। गणेशले कुन हातमा के र किन समाएको छ त्यो थाहा हुनपर्छ। गलत बनाउन भएन। नियम हुन्छ। आर्टमा फ्रिडम हुन्छ तर नियम त बुझ्नै पर्छ। नियम पालना गर्दैमा स्वतन्त्रता हराउँछ भन्ने होइन,’ पौभा निर्माणबारे बुझ्नुपर्ने भन्दै उनले सुनाए।

अहिले समय बदलिएको छ। पूंहरु पुर्खौली पेशामा त छन्। तर, समयले यही पेशामा मात्रै टिक्न गाह्रो छ। हातैले कोरेका चित्र प्रयोग हुनुपर्ने पर्वमा विदेशबाट प्रिन्टेड चित्रहरु आयातित हुन थालेका छन्। जसले चित्रकारहरुको पेशा संकटमा पारेकै छ। त्यसमाथि पौभा बनाउन वा चित्र बनाउन धैर्यता चाहिन्छ। जुन अहिलेको आधुनिक समाजमा गौण विषय हो।

‘प्रविधिको विकास भएसँगै यी कुराहरुमा परिवर्तन आउँछन्। हातले बनाएको लक्ष्मीको चित्र अलि फुस्रो हुन्छ। भारतबाट आउने लक्ष्मी र नागको चित्र टिलिक्क टल्किन्छ। मान्छेको आँखा त्यसैमा जान्छ। धार्मिक काममा हामीले बनाएको चित्र नबिके यो पेशा चल्दैन,’ लोक चित्रकारले सुनाए, ’एउटै चित्र बनाउन धेरै समय लाग्छ। तर अहिले एउटै चित्रमा धेरै वर्ष लगाए खाने के लाउने के भन्ने अवस्था आउन सक्छ। त्यसैले बिचमै काम छाड्नुपर्ने धेरैको बाध्यता छ।’

अहिले भने लोक आशावादी सुनिन्छन्। नेपालीहरुले पनि नेपालीहरुकै कला चिन्न थालेको उनले महसुस गरेका छन्। युवाहरु पनि यसतर्फ आकर्षित भएको उनको बुझाइ छ।

‘चित्रकारको मात्र जिम्मेवारी होइन। चित्रकारिता बचाउने हो भने चित्रकला पेशाको सम्मान गर्नुपर्छ। अहिले चित्रकला भन्ने बित्तिकै चित्रकारहरुको मात्रै कुरा आउँछ भन्ने होइन,' उनले भने, 'धेरै चित्रकार, आर्टिस्टहरु छन्। तर उनीहरुको कामलाई कसले हेर्ने? म त्यो आर्ट बुझ्दिन म हेर्न जान्न भन्नेहरु छन्। किन्नै पर्छ भन्ने छैन। गएर बुझिदिए पनि आर्टिस्टलाई हौसला मिल्छ।'

उनी नेपालमा पौभाको भविष्यलाई आशावादी हुनुपर्ने मत राख्छन्। नयाँ पुस्तालाई सिकाउँदै उनीहरुकै साथमा पौभाको विकास गर्नुपर्ने बताउछन्। तर, पनि चाहँदाचाहँदै जिविका चलाउन चित्रकला छोड्नुपर्ने अवस्था अझै रहेको यथार्थ पनि बुझेका छन्। ‘नेपाली कलालाई विदेशीले बचाएको होइन, हामीले नै हो। अब सक्ने नेपालीले युवा नेपाली कलाकारको आर्ट किनिदिनुपर्छ। आर्थिक स्थायित्व बिना नयाँ जेनेरेसनलाई यो विरासत हस्तान्तरण गर्न गाह्रै छ,’ उनले सुझाए।

मोना जस्तो प्ल्याटफर्मले पुराना तथा नयाँ कलाकारहरुलाई मौका दिएकोमा उनी खुशी छन्। निजी क्षेत्रबाट संचालित परम्परागत कला प्रदर्शनको यसरी संग्रहालय बन्नु कलाकारकै लागि ठूलै गौरव भएको उनको बुझाई छ। किनभने जति जनाले मोनामा उनको पौभा हेरे हरेकले केही न केही नयाँ कुरा उनलाई सोधे। कसैले रंगबारे बुझ्न चाहे। कसैले गणेशको आकृतिबारे। सबैले केही न केही सिकेर फर्किए।

आज उनले १५ वर्ष लगाएर बनाएको पौभा मोनाबाट फिर्ता हुँदै गर्दा उनमा बाँकी रहेका पौभा र अन्य चित्रहरु सिध्याउन सकिन्छ कि सकिँदैन भन्ने खुल्दुली छ। आफू जीवनको उत्तरार्धमा पुगिसकेको बताउने लोक सुरु गरेका ८० देखि ९० वटा चित्रहरु पूरा गर्न बाँकी रहेको बताउँछन्।

‘सुरु गरिराखेको पेन्टिङ ८०/९० वटा छ। कुनै कुनै त वर्षौं भयो सुरु गरेको। पूरा नभएको धेरै छन्। कति गर्न सकिन्छ थाहा छैन। कुनै कुनै मन परे पनि काम छोड्नुपर्ने हुन्छ जिविकाका लागि। अब म मेरो जीवनको उत्तरार्धमा आइसकेँ। अब गर्न सक्दिनँ होला। सक्ने पूरा गर्छु, अरुलाई सिकाउँछु,’ कुरा टुङ्ग्याउँदै गर्दा उनले सुनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell