PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

बिहानै खुसी देउवा भक्तपुर पुगेर किन एकाएक झोक्किए दुर्लभसँग?



नेत्र तामाङ

बिहानै खुसी देउवा भक्तपुर पुगेर किन एकाएक झोक्किए दुर्लभसँग?

काठमाडौं : प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज पार्टीको वडा अधिवेशन शुरु हुने भएपछि बिहानै खुसी सुनिएका थिए। बिहानै भिडियो सन्देश जारी गर्दै देउवाले भनेका थिए, 'आज म निकै खुसी छु ८ लाखभन्दा बढी नेपाली कांग्रेसका क्रियाशील सदस्यहरु आजबाट १४ औं महाधिवेशनको प्रक्रियामा सहभागी हुनुभएको छ। मैले ती सबैको जोशजाँगर र सहयोगको अनुभुति गरिरहेको छु।'

बिहानै खुसी सुनिएका देउवा दिउँसो भने झोक्किएका छन्। देउवा झोक्किएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

उक्त भिडियोमा देउवा भक्तपुरका कांग्रेस सभापति दुर्लभ थापासँग झोक्किएको देखिएको छ।

देउवाको पहिलो वाक्य सुनिन्छ, ‘झुट बोल्ने तपाईँ! सबै न्युजमा जान्छ भोलि यहाँ!’

देउवा आक्रोशित देखेपछि थापाले भनेका छन्, ‘तपाईं चुनाव लडेपनि हराउने भनिरा’छ त महेश बस्नेतले। तपाईंलाई यहाँ चुनाव लड्न चुनौती दिएका छन्।'

त्यसपछि झनै रिसाएका देउवाले मास्क लगाएर केही बोल्छन्। त्यो प्रष्ट सुनिँदैन।

लगत्तै थापाले भनेका छन् : लड्नु हुन्न भने त मैले।

त्यसपछि देउवाले सोध्छन्, 'को लड्दैछ? वाहियात।' त्यसपछि हातले इशारा गर्दै देउवाले थापालाई भनेका छन्, 'तिमी त खत्तम मान्छे रहेछ।'

उद्घोषणले उद्घोषण जारी राख्छन्। देउवा र दुर्लभको बीचमा रहेका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानालाई मन्तव्यका लागि बोलाउँछन्। उनको नाम सुनिँदैन।  

'कस्तो कुरा गर्छ यार,' यहीबीचमा देउवाले यस्तो कुरा भाषणमा गर्नै नहुने सुझाए, 'चुनाव लड्न चुनौती दिए भनेर भाषण गर्दै हिड्ने तपाई?'

खास के भएको थियो त?

आज कांग्रेसको ४० बढी जिल्लामा वडा अधिवेशन तय भएको थियो। यही क्रममा सभापति देउवाले राजधानीको नजिकको जिल्ला छाने अधिवेशन उद्घाटनका लागि। क्रियाशील सूची सार्वजनिक भइसकेको जिल्ला थियो भक्तपुर। त्यसो त भक्तपुरका हालका कांग्रेस जिल्ला सभापति थापा पनि देउवा समूहकै हुन्।

विवादका बीच हुन लागेको कांग्रेस अधिवेशन उद्घाटनमा देउवालाई पुग्न सबैभन्दा सजिलो र नजिकको जिल्ला बन्यो भक्तपुर। साढे १० बजेका लागि सुर्यविनायक वडा ५ को कटुञ्जेमा तय गरिएको कार्यक्रममा पुगे देउवा। उनलाई नेवारी बाजागाजासहित स्वागतसमेत गरिएको थियो।

आफ्नो मन्तव्य सकाएपछि आसनतिर जाँदै गर्दा देउवा दुर्लभसँग एकाएक झोक्किएको भिडियो भाइरल भएपछि हामीले थापालाई सोध्यौ : खास के भएको थियो?

आफूले देउवालाई आफ्नो क्षेत्रमा चुनाव लड्न महेश बस्नेनले चुनौति दिएको प्रसंग उल्लेख गरेपछि सभापति झोक्किएको थापाले बताए।

'त्यो भिडियो भाइरल भएछ। खासमा अस्ति शेरबहादुर दाइ यहाँ चुनाव लडे जमानत जफत हुन्छ भनेर महेश बस्नेत बास्य थियो नि। मैले हाम्रो नेताको अपमान गर्न भएन भन्ने हिसाबले बोलेको थिएँ,' भक्तपुरका सभापति थापाले भने, 'उहाँलाई पनि त्यो कुरा थाह रहेछ। कहाँ म यहाँ चुनाव लड्छु भनेर गाली गर्नुभयो।'

त्यसपछि भने देउवाले बस्नेतलाई दुर्लभ थापालाई हराएर देखाउन चुनौति दिएको उनले बताए।

'अनि उहाँले महेश बस्नेतलाई मसँग हैन दुर्लभसँग लड भनेर भन्नुभयो,' हाँस्दै थापाले भने।

सभापति देउवाले कार्यक्रमको सम्बोधनको क्रममा भनेका छन्, ‘यहाँ महेश बस्नेतजीले मलाई चुनाव जित्ने भन्छन्। पहिले दुर्लभ थापालाई हराएर देखाउनुस्, त्यसपछि मसँग लड्न आउनुहोला।’ यो कुराले आफूलाई निकै खुसी लागेको थापाले बताए।

सम्बोधनकै क्रममा देउवा भरसक सबै साथीहरुले.. भन्दै  गर्दा अड्किएपछि थापाले 'सर्वसम्मत' भनेर सम्झाउँदा पनि देउवा झोक्किएका देखिन्छन्।

शुरुमा थापासँग बिच्केका देउवाले भने, 'बोल्नुपर्छ भन्या। म नि बोलिहाल्छु नि।' यति भनेपछि देउवाले थपे, 'सर्वसम्मत किसिमले काम गर्नुहोला। वडादेखि नै महाधिवेशन गर्नुहोला। हाम्रो पार्टीलाई एकताबद्ध बनाउनुहोला।'

कार्यक्रमपछि केही सुझाव दिनुभयो कि सभापतिले?

जवाफमा भक्तपुरका सभापति थापाले भने, 'त्यस्तो केही भन्नुभएन। बरु शेरबहादुर दाइले माया गरेर भक्तपुर आउनुभयो। भक्तपुरलाई माया गर्नुभयो। यही नै हाम्रो लागि खुसीको कुरा हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell