PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

श्रीमती छेवैमा मारिँदा बौद्धमानले थाहै पाएनन् : ६ जनाको हत्या भएपछि घटनास्थलमा जे देखियो...



सविन ढकाल

श्रीमती छेवैमा मारिँदा बौद्धमानले थाहै पाएनन् : ६ जनाको हत्या भएपछि घटनास्थलमा जे देखियो...
फोटोः प्रतिकात्मक

काठमाडौं : बिहान ७ बजेतिर भवदीप कार्की छिमेकी तेजबहादुर कार्कीको घरमा पुगे। उनी पुग्दा तेजबहादुरका ८९ वर्षीय बुबा बौद्धमान निदाइरहेका थिए। उनकी श्रीमती नजिकै लडिरहेकी थिइन्, उनको मृत्यु भइसकेको रहेछ।

बौद्धमानलाई उठाएपछि घरका अरु सदस्यको सोधीखोजी भयो। तर, कोही भेटिएनन्। नजिकै घरबाट अर्का एक जना के भयो भन्दै कुद्दै आए। आउँदा तिनले बाटोको खोल्सामा दुई जनाको शव देखे। त्यसपछि हल्लाखल्ला भयो गाउँलेहरु जम्मा हुन थाले।

'बुढो बुबामात्र हुनुहन्थ्यो। त्यसछि आमालाई उठाउन खोज्दा परिवारका अरुको खोजी भयो। तर, कोही पनि बोलेनन्। पछि त शव भेटिन थाले,' भवदीपले सुनाए।

घटना आज बिहान संखुवासभाको मादी नगरपालिका वडा नम्बर १ को हो, जहाँ एकै परिवारका ६ जना सदस्य मृत अवस्थामा भेटिए। घटनाको परिस्थितजन्य अवस्थाले उनीहरुको हत्या भएकोमा शंका छैन। दुई नाबालकसमेत मारिएका छन्। उनीहरुको शव घरभन्दा माथि भेटिएको थियो।

'सायद उनीहरु भाग्दै थिए होलान्। नाबालकको शव घरमाथि भेटियो। उनीहरुको शव घोप्टो परेको थियो,' भवदीपले सुनाए।

गाउँमा ६ जनाको हत्या भएपछि वातावरण आतंकित थियो। त्यहीबाट वडा अध्यक्ष खेमनाथ कटुवाललाई फोन गरेर जानकारी गराए। कटुवालले प्रहरीलाई खबर गरे र उनीहरूसँगै लागे घटनास्थल।

'बाटो हिँड्नेले दुई जनाको शव देखेपछि बिहान मलाई खबर भयो। नसोचेको घटना भएको थियो। त्यसपछि मैले प्रहरीलाई खबर गरेँ र प्रहरीलाई लिएर सँगै यहाँ आएँ,' कटुवालले भने, 'मेरो घरबाट यहाँसम्म आइपुग्न डेढ घन्टा लाग्छ।' कटुवालसँगै तीन जाना प्रहरी घटनास्थल पुगेका थिए।

मादी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष भक्तबहादुर कार्की पनि घटनास्थल पुगेका थिए। 'म पुग्दा शवहरु घोप्टो अवस्थामा थियो। दुई महिलाको लास एकै ठाउँमा देखेको हुँ,' उनले भने। उनका अनुसार ६ जनामध्ये एक जनाको पेट र टाउकोमा धारिलो हतियारले हानेको संकेत देखिएको छ भने बाँकीको ढुंगाले हानेर हत्या गरेकोजस्तो देखिन्छ।

प्रहरीसँगै घटनास्थल पुगेका सोही वडाका अध्यक्ष कटुवालका अनुसार पेट र टाउकोमा धारिलो हतियार प्रहार भएका व्यक्ति तेजबहादुर हुन्।

'यहाँ आइपुग्दा ८९ वर्षीका बौद्धमान कार्की घरभित्रै हुनुहुँदो रहेछ। घरभित्रै उहाँकी श्रीमतीको चाहिँ हत्या भएको थियो। हत्या भइरहँदा उहाँले केही थाहा पाउनु भएको रहेनछ,' कटुवालले भने, 'घरभित्रै श्रीमती मारिएको भए पनि बौद्धमान कार्कीले थाहा पाउनु भएनछ। कान कम सुन्नुहुन्छ उहाँ। बेलुका ६ बजे खाना खाएर सुतेको थिएँ, त्यसपछि केही थाहा छैन भन्नुभयो।'

घरमा रहेका ७ जनामध्ये एकजना मात्र जिवित रहे अहिले। चार पुस्ताको एकै चिहान बनेको छ यो ठाउँ। 'घर बाहिर बाटो र मकै बारीमा ५ जनाको लास भेटियो। घटना हेर्दा योजना बनाएरै हत्या भएको जस्तो लाग्छ,' वडा अध्यक्ष कटुवालले भने, 'मकैबारी फाँडिएको छ। लखेटीलेखटी मारेको जस्तो देखिन्छ। चुरा पनि फुटेको भेटियो ठाउँठाउँमा। मारेर भाग्दा हुनुपर्छ बारीमा मकैका बोट लछारिएको देखिन्छ।'

यति धेरै जनाको हत्या लखेटी लखेटी भएको हो भने कसरी छिमेकले थाहा पाएनन् त? प्रत्यक्षदर्शीहरुका अनुसार जुन घरभित्र र बाहिर हत्या भयो उक्त ठाउँ थोरै एकलास छ, नजिकै खोल्सा सहितको। यति ठूलो घटना हुँदा पनि किन थाहा पाएनन् त कसैले?

'लखेटीलखेटी मारेको हो भनेर ठोकुवा गरौं भने गाउँलेले थाहा पाउनुपर्ने। पक्कै चिच्याएका थिए होलान्। नत्र नाबालकहरुलाई समेत नछोड्नेगरी हत्या गर्ने भन्ने सानो कुरा होइन,' कटुवालले भने, 'धेरै एकलास पनि होइन, ठाउँ। पाँच/सात मिनेटको दुरीमा अरु घरहरु पनि छ।'

छिमेकहरु आफैँ अलमलमा छन् कसरी घटना भयो भन्नेमा। कार्की परिवारका दुई सदस्य विदेशमा छन्। विदेशमा हुने एकजनाकी श्रीमती यहीँ थिइन्, उनको पनि हत्या भएको छ।

६ जनाको मृत्यु भएको घटनास्थलमा दिउँसो १:३० बजेसम्म ३ जना प्रहरीले कभर गरिरहेका छन्। जिल्ला प्रहरी कार्यालयबाट कुकुर, फरेन्सिक टोली घटनास्थलतिर हिँडिसेकको छ। केही घन्टामा नै उनीहरु त्यहाँ पुग्नेछन्। त्यसपछिमात्र सुरु हुनेछ - यति डरलाग्दो हत्याको अनुसन्धान।

सम्बन्धित समाचार

संखुवासभामा डरलाग्दो घटना : एकै ठाउँमा ६ जना मृत भेटिएको प्रहरीको दावी, धारिलो हतियार प्रहार भएको प्रारम्भिक अनुमान 

कार्की परिवारका ६ जनाको विभत्स हत्या : दुई नाबालक र तिनका बृद्ध हजुरआमा पनि मारिइन्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell