PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

इन्द्रजात्राको लागि य:सिं ल्याउन आज वन यात्रा



पहिलोपोस्ट

इन्द्रजात्राको लागि य:सिं ल्याउन आज वन यात्रा

काठमाडौं : यँया (इन्द्रजात्रा) का लागि य:सिं ल्याउन मानन्धर समुदाय वन यात्रामा निस्किँदैछन्। आज बिहान हनुमानढोकामा पूजा गरी मानन्धर समुदायका अगुवाहरुले वन यात्राको सुरुवात गरेका हुन्।

आज दिउँसो गुरुजुको पल्टनसहित मानन्धर समुदाय भक्तपरको नालामा रहेको यसिंगुँ प्रस्थान  गर्नेछन्। आज राति ७ बजेर २७ मिनेटको शुभ साइतमा वृक्षकर्तन गरिनेछ। स्वस्ती पाठ गर्दै (दुगु) बोकाको बली दिएर य:सिंका लागि छानिएको सल्लाको रुखमा पा बन्चरोले हानिन्छ। त्यसपछि काठमाडौंबाट भक्तपुर पुगेको टोली फर्किनेछ। आज बन्चरोले प्रहार गरिएको रुख भोलिबाट काट्न सुरु हुन्छ।

य:सिंलाई नालाबाट तानेर भदौ २९ गते नगर प्रवेश गराइनेछ। असोज २ गते हनुमानढोकामा य:सिं ठड्याएर इन्द्रध्वजोत्थान गरिनेछ।

यो वर्ष असोज ३ गते इन्द्रजात्रा परेको छ। सो दिन 'क्व:नेया' (तल्लो टोलमा) जीवित देवी कुमार र जीवित देवहरु गणेश र भैरवको रथ यात्रा हुनेछ। रथ यात्रा सम्पन्न भएपश्चात् राति वर्षभरि बितेकाहरूको सम्झनामा रथ यात्रा भएकै बाटो हुँदै 'दागीं' र त्यसपछि 'बहुमत:' ल्याउने परम्परा रहेको छ।

असोज ४ गते भने कुमारी, भैरव र गणेशलाई थ:नेया (माथिल्लो टोलमा रथ यात्रा) गराइन्छ। असोज ८ गते नानिचा यात्रा पछि हनुमानढोका ठड्याइएको य:सिं ढाल्नेर टेकु दोभानमा लगेर सेलाएपछि इन्द्रजात्रा विधिवत् रुपमा सम्पन्न हुनेछ।

गत वर्ष भने कोरोना संक्रमणका कारण इन्द्रजात्रामा रथ यात्रा भएको थिएन। यसपटक भने स्वास्थ्य प्रोटोकल पालना गर्दै इन्द्रजात्रा गरिने बताइएको छ।

हनुमानढोकामा कसले सुरु गर्‍यो य:सिं ठड्याउन?

त्रिभुवन विश्वविद्यालयका इतिहासका पूर्वप्राध्यापक डा त्रिरत्न मानन्धरका अनुसार नेपालमण्डलमा  मल्लकालदेखि नै य:सिं ठड्याउने परम्परा रहेको थियो। उनी विश्वभर शुभकार्य अगाडि लामो काठ ठड्याउने परम्परा रहेको भन्दै सिन्धुघाटी सभ्यतामासमेत काठ ठड्याउने गरिएको बताउँछन्।

काठमाडौंमा येँया:मा पनि य:सिं ठड्याउन मल्लकालमा नै सुरु भएको थियो। तर, त्यससमय अहिलेको जसरी तामझाम गरेर य:सिं ठड्याउने नगरिएको उनले बताए।

'मल्लकालमा सामान्य रुपमा य:सिं ठड्याउने गरिन्थ्यो। अहिलेको जस्तो तामझाम हुँदैन थियो। पछि प्रताप सिंह शाहको समयमा भव्यताका साथ हनुमानढोकामा य:सिं ठड्याउन सुरु भएको हो' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell