PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

एमसीसीविरुद्ध झरीमा रुझ्दै जंगिए विप्लव : नेपालको अदालत छैन? के नेपालका प्रहरी र सेना जनतालाई दमन गर्न हो?



पहिलोपोस्ट

एमसीसीविरुद्ध झरीमा रुझ्दै जंगिए विप्लव : नेपालको अदालत छैन? के नेपालका प्रहरी र सेना जनतालाई दमन गर्न हो?

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कमर्पोरेशन (एमसीसी)ले देश विकास हुन्छ भन्नु मुर्खता भएको बताएका छन्। खुल्लामञ्चमा एमसीसीविरुद्ध विरोधसभामा उनले पैसाले मात्रै विकास नहुने भन्दै सत्तारुढ दलहरुको आलोचना गरेका हुन्।

'आफ्नो देशलाई बनाउनका लागि अरु देशका नागरिकहरुले पनि त्याग गरेका छन्। पैसाबाट विकास हुन्छ भन्ने दलाल हुन्,' उनले भने।

विप्लवले नेपालकै अदालत तथा सुरक्षा निकायहरु सक्षम रहेको भन्दै विदेशीको सहयोग नचाहिने बताए। सम्बोधनका क्रममा झरीमा रुझ्दै उनले प्रश्न गरे,' नेपालको अदालत के हो ? नेपाल प्रहरी र सेना जनतालाई दमन गर्न मात्रै हो ?'

आफूले सुरु गरेको एकीकृत जनक्रान्ति बन्दुकको बलमा भन्दा पनि जनताको मायाका कारण सफल भएको उनको दाबी थियो।

नेपालमा एमसीसीको पक्षमा बहस गर्नेहरु दलाल भएको उनको आरोप थियो।

'पैसाको कुरा गर्नुहुन्छ। एमसीसीको भजन गाउँदै हिँडेका छन्। एमसीसीको कुरा बुझेको छैन भन्दै हिँडेका छन्,'उनले भने,' मान्छेलाई भाँड्ने प्रयास भइरहेको छ तर जनताले कुरा बुझेका छन्।'

सम्बन्धित समाचार : खुल्लामञ्चमा एमसीसीविरुद्ध सभा : विप्लवसहित नेता मञ्चमा, कार्यकर्ता हिलोमा

उनले एनसेलले तिर्नुपर्ने करका बारेमा आफ्नो पार्टीले आवाज उठाउँदा अहिलेका संसदीय दलहरुले नबोलेको बताए। उनले नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले एनसेलले गरेको कर छलीबारे मौन रहेको भन्दै आक्रोश व्यक्त गरे। उनले एमसीसीले दिने आर्थिक साहायता भन्दा कर छली बढी भएको दाबी समेत गरे।

विप्लवले एमसीसी नेपालले स्वीकार गरे आफ्नो पार्टीले सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन्। 'केही दलालहरुको स्वार्थमा एमसीसी नेपाली जनताको टाउकोमा थुपार्न खोजियो भने यो झिल्को आगोमा परिणत हुन्छ,' उनले भने।

उनले कुनै पनि हालतमा नेपाली जनतामाथि एमसीसी थुपार्न नदिने उद्घोष समेत गरे। 

'आजै देखि साम्राज्यवादीको घेराबन्दी तोड्न लड्नु पर्छ। पार्टीभन्दा माथि देशलाई राखेर लड्नुपर्छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell