PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

तीनवर्ष अघि जसले विष्णु माझीको अनुहार देखे र खिचे फोटो …



सविन ढकाल

तीनवर्ष अघि जसले विष्णु माझीको अनुहार देखे र खिचे फोटो …

'बहिनी तपाईँको फेस देखाउनुहोस् त।'

स्याङ्जाका प्रहरी प्रमुख राजकुमार लम्सालले आग्रह गरे।

तीन वर्ष अघिको सन्दर्भ हो यो। पुसमाघको कठ्याङ्ग्रिँदो जाडो। बाक्लो र शरीर ढाक्ने लुगा सबैले लगाउँछन् नै। तर, उनको लुगा अरुभन्दा फरक थियो। झन्डैझन्डै मुस्लिम महिलाको जस्तै। बुर्काले नै ढाकिएको त होइन तर त्यसभन्दा फरक देखिनेखालको पनि थिएन।

प्रहरीको निक्कै आग्रह र दबावपछि उनी अनुहार देखाउन बाध्य भइन्। तर, अनुहार देखाउने स्थितिसम्म पुग्न कठिन थियो किनकि उनी त्यसका लागि सहजै तयार भएकी थिइनन्। उनका श्रीमानलाई पनि श्रीमतीको मुहार देखाउने विषय प्रितकर थिएन। उनीहरु राजी थिएनन् प्रहरी र प्रशासन एउटै अडानमा थियो – अनुहार देखाउनुस्।

कुनै अपराध र उजुरीले परिस्थिति यस्तो बनाएको थिएन। तर, प्रहरीले उनको अनुहार हेर्ने चाहन्थ्यो। त्यसको कारण थियो - कुनै चोटपटक या दाग त छैन? अथवा अरु कुनै सङ्केत?  

'अनुहारमा कुनै चोट पटक थिएन। दाँत चाहिँ अलिक नमिलेको जस्तो थियो,' झन्डै तीन वर्षअघिको त्यो घटनालाई सम्झिँदै राजकुमार लम्सालले भने।

उनले आफ्नो मुहार देखाइन्। ढाकिएको कपडाभित्रको अनुहार अरु कसैको थिएन, थियो त नेपाली लोक गायन क्षेत्रमा स्थापित 'सेक्रेट सुपरस्टार' अर्थात् विष्णु माझीको।

+++

लोक गायिका विष्णु माझीलाई १० वर्षदेखि धेरैले देखेका छैनन्, सुन्न चाहिँ सुनिरहेका छन्। सुनिरहेको मानिसको अनुहार नदेखिँदा चासो बढ्नु स्वभाविक हो। उनका फ्यानहरुले त छाडौं, उनलाई तिनीहरुले पनि देख्न पाउँदैन थिए जसले उनको गीत रेकर्डिङ गरिरहेका हुन्थे। यसको अर्थ हो, उनी कुनै सार्वजनिक कार्यक्रममा देखिन्न थिइन्। सांगीतिक क्षेत्रका मानिसहरुसँग उनको मोबाइलको नम्बर छैन। त्यही आधारमा अड्कलबाजी हुने गर्छ - उनी मोबाइल बोक्दिनन्। सोसल मिडियामा उनको उपस्थिति देखिन्न। त्यसैका आधारमा उनी सामाजिक सञ्जालमा जोडिएकी छैनन् भनिन्छ। स्थायी रुपमा लामो समय एउटै थलोमा पनि बस्दिनन् उनी भनिन्छ। साथीभाइ, इष्टमित्रसँग पनि उनको हिमचिम छैन। यी सबै असामान्य लाग्ने परिस्थितिहरुले उब्जाएको छ शंका। त्यही शंकाकै आधारमा मानिसहरु खोजिरहेका छन् उनको सकल स्वरुप।

उनी देखिन्नन्, त्यसैले त चर्चामा रहन्छिन्। अहिले उनको गीत 'चरी जेलै'मा मानिसहरुको मुखमुखमा झुन्डिएको छ। सँगै उनीमाथिका टीकाटिप्पणीले पनि लगातार बजार गर्माएको छ। उनको नदेखिएको व्यक्तित्व र जीवनशैलीले उनका बारेमा धेरैखाले चर्चा परिचर्चा जन्माइरहेको छ। सबैभन्दा टड्कारो प्रश्न हो - के विष्णु माझी बन्धक जीवन त गुजारिरहेकी होइनन्? आखिर किन 'सेक्रेट' जीवनबाट बाहिरिएकी छैनन् उनी?

गीत हिट भएसँगै किन खोज्यो प्रहरीले विष्णु माझीलाई?

चरी जेलैमा… को म्युजिक भिडियोमा सुरुमै लेखिएको छ – यस कथाका पात्रहरु सबै काल्पनिक हुन्। कसैको जीवनसँग मेल खान गएमा संयोगमात्र हुनेछ...। उनको गीत जसै चल्यो मानिसहरुले त्यो संयोगलाई यथार्थकै रुपमा बुझे र परिभाषित गर्न थाले। त्यसपछि फेरि उनी बन्धक पारिएको वा त्यस्तै केही कारणले बेपत्ता बनाइएको भन्दै प्रश्न उठ्यो।

गएको साता प्रहरी उनको खोजीमा हिँड्नुको कारण यही थियो। राष्ट्रिय मानवअधिकार आयोगको चासोमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाको निर्देशनपछि प्रहरी उनको सम्पर्क खोज्दै माइतीघर स्याङ्जाको चाँपाकोटसम्म पुग्यो। तर, त्यहाँ उनी भेटिइनन् मात्र होइन, उनीबारे कुनै सुचनासमेत मिलेन। करिब तीन वर्षअघि पनि यसैगरी गीत चर्चामा आउँदा उनको जीवनमाथि प्रश्न खडा भएको थियो। तर, प्रशासनले उनको खोजी गरेको थियो। त्यही क्रममा प्रहरीले गायिका माझीलाई भेटेर सोधेको थियो – सबै ठीक छ नि?

+++

आखिर तीन वर्षअघि जिल्ला प्रशासन कार्यालयले किन गरेको थियो त उनको खोजी?

अहिलेजस्तै त्यतिखेर पनि विभिन्न सञ्चार माध्यममा गायिका विष्णु माझी बेपत्ता र बन्धक पारिएको खबरले सनसनी मच्चाएको थियो। त्यसपछि प्रशासन बाध्य भएको थियो माझीको खोजी गर्न। गायिका माझीको माइतीघर स्याङ्जाको चापाकोट भएकाले माइतीघरका दाजुसँग सम्पर्क गरेको थियो। तर, माइतीसँग उनी लामो समयदेखि सम्पर्कबिहीन रहिछिन्। त्यसपछि प्रहरी उनका श्रीमान् सुन्दरमणि अधिकारसँग पुग्यो। कास्कीको लेखनाथमा घर भएका अधिकारीसँग माझीको अवस्था बुझ्न प्रहरीले सम्पर्क गरेको थियो।

'सुरुमा त नाइँ नाइँ भन्दै उहाँको श्रीमान् तर्किन खोज्नु भएको थियो। अनि मैले उहाँको बारेमा प्रश्न उठेकाले तपाईँ नआए हामी बाध्य भएर तपाइलाई पक्राउ गर्न सक्छौँ भनेँ,' तत्कालीन स्याङ्जाका जिल्ला प्रहरी प्रमुख लम्सालले सुनाए। त्यतिखेर उनले फोनमा अधिकारीलाई भनेका थिए, 'म आउनुभन्दा तपाईँ नै आउनु राम्रो हो।'

सम्पर्कमा नजाने हो भने प्रहरीले पक्राउ गर्ने बुझेपछि सुन्दरमणि श्रीमती विष्णु माझीलाई लिएर जिल्ला प्रहरी कार्यालय स्याङ्जा पुगे। उनी पोखरबाट ट्याक्सी लिएर त्यहाँ पुगेका थिए। हुलिया भने उनको पहिले झै थियो। अनुहार ढपक्क ढाकिएको थियो त्यहाँ पुग्दा। त्यसपछि लम्सालले उनीहरुलाई लिएर जिल्ला प्रशासन कार्यालय गए।

त्यहाँ प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला, राष्ट्रिय अनुसन्धानका कर्मचारी र प्रहरीमात्र थिए। त्यसपछि माझीलाई सोधियो - बाहिर हल्ला भएजस्तो तपाईँलाई बन्धक बनाएको हो? त्यतिखेर माझीलाई बन्धक बनाइएको चर्चा सबैभन्दा धेरै थियो।

'उहाँले ''होइन'' भन्नुभयो। धेरै पढेलेख नभएको र केही नबुझेको भएर पनि सार्वजनिक कार्यक्रममा र विदेशमा समेत नजाने गरेको बताएकी थिइन्,' त्यतिखेर जिल्ला प्रशासनमा उनीसँग सोधपुछ गरेका लम्सालले सुनाए।

लोक गायिका माझी त्यतिखेर पनि एकदमै चर्चामा थिइन्। उनको माग अधिक थियो। देशभित्र हुने कन्सर्ट होस् या विदेशमा हुने सांगीतिक कार्यक्रम, खोजी विष्णु माझीकै थियो। तर, उनी कहीँ कतै पनि सहभागी हुन्नथिइन्। गायन क्षेत्रमा समर्पितहरु आफ्नो फ्यानको नजिक हुने कुरामा टाढा कसरी हुनसक्छन?  

त्यतिखेरको भेटमा किन यस्तो गरेको भनेर प्रश्न समेत गरेका थिए लम्सालले। यस्तो उनको प्रश्नको जवाफ चाहिँ उनका श्रीमान अधिकारले दिएका थिए त्यतिखेर।

'मलाई सँगै लैजाँदैनन्। उनले राम्रोसँग बुझेकी देखिकी छैनन्। त्यसैले पनि हाम्रो सहमतिमा नै उनी बाहिर गइनन् भनेको थियो,' उनका श्रीमानले देखिएको अभिव्यक्तिलाई उद्धृत गर्दै पूर्व प्रहरी लम्सालले सुनाए।

प्रहरीले जोडबल गरेर उनको अनुहार हेर्‍यो। कुनै चोट पटकको निशान थिएन। अनि माझी आफैँले स्वेछिक रूपमा यस्तो जीवन बिताएको जवाफ पनि दिएकी थिइन्। यति भएपछि प्रशासनको बाटो त्यही रोकियो। जिल्ला प्रशासन कार्यालयमा त्यस दिन विष्णु माझीको माइतीतिरको परिवारसमेत उपस्थित भएका थिए। लामो समयपछि उनीहरूले छोरीलाई भेटेको सुनाएका थिए। भवन बाहिर केही सञ्चारकर्मी समेत थिए, उनीहरुको प्रतिक्रिया लिन। तर, उनीहरूले मिडियाबाट पन्छिएरै हिँडे। जुन ट्याक्सीमा आएका थिए त्यसैमा फर्किए।

+++

'हाम्रो केही उद्देश्य छ त्यो पूरा भए पछिमात्र मिडिया वा सार्वजनिक कार्यक्रममा आउने भनेर उनका श्रीमानले जवाफ दिएका थिए। तर कस्तो उद्देश्य के भन्ने चाहिँ भनेनन्,' लम्सालले सुनाए।

त्यसो त विष्णु माझीलाई नजिकबाट चिन्नेहरू उनको यस्तो 'सेक्रेट' जीवन आफ्नै मर्जीमा चलिरहेको बताउँछन्।

स्याङ्जामा त्यतिखेरका प्रमुख जिल्ला अधिकारी थिए कोशहरि निरौला। उनलाई पनि विष्णु माझीको जीवनशैली देख्दा अच्चम लागेको रहेछ त्यतिखेर। मोबाइल नबोक्नु, अन्य मानिससँग सम्पर्कमा नआउनु र श्रीमान्बाहेक अन्यसँग हिँड्दै नहिँड्नुले अचम्मित थिए सीडीओ निरौला।

'उहाँसँग हामीले एउटा फोटोसमेत खिच्यौं। फोटो सार्वजनिक नगर्ने शर्तमा खिचेको त्यो फोटो अहिले पनि हामीसँग छ,' निरौलाले सुनाए, 'उहाँले पर्सलन इन्ट्रेस्टमा नै यस्तो जीवन बिताएको बताउनु भएको थियो। तर धेरै कुरा बुझ्न मिलेन। उहाँको श्रीमान पनि सँगै हुनुहुन्थ्यो।'

बलिउडमा आमिर खानको फिल्म सेक्रेट सुपरस्टार होस् या अमेरिकी डीजे मार्समेलो, दुवैले पहिचान लुकाएका कथा धेरैले देखेका छन्। बाध्यता र रहरमा नदेखिनु एउटा सन्दर्भ होला। तर विष्णु माझीसामु के छ जसले उनलाई देखिन 'डर' लाग्छ? प्रतीक्षा अब लम्सालले भने झै उनीहरुको उद्देश्यसँग गाँसिएको छ। त्यो सेक्रेट उद्देश्य के हुनसक्ला? उनीहरुले आफूलाई सार्वजनिक नगरुन्जेल तपाईँ पनि अनुमान गरेरै बस्नुस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell