काठमाडौं : पछिल्लो समय अपरिचित वा आफन्तहरुले नै दिएको सामान विदेश लैजाँदा धेरै मानिस विमानस्थलबाटै पक्राउ पर्न थालेका छन्। त्यसैले प्रहरीले कसैको सामान विदेश लैजानु अघि होसियार बन्न सुझाव दिएको छ।
तस्करले यसरी पठाइने सामानभित्र लागु औषध लुकाएको हुनसक्छ। त्यसैले सामान लैजानेलाई केही पनि थाहा नहुने तर प्रहरीको नियन्त्रणमा परेपछि सजायको भागिदार हुनबाट चाहिँ नबच्ने हुनाले सजगता अपनाउन सुझाएको हो।
भदौ २१ गते कतार एयरलाइन्सबाट दोहा जान लागेका म्याग्दीका ३६ वर्षीय श्यामप्रसाद रोका र ३५ वर्षीय वीरबहादुर रोका मगरलाई विमानस्थलबाट प्रहरीले पक्राउ गर्यो। उनीको लगेजबाट ४ सय ३५ ग्राम चरेस बरामद भयो। तर, उनीहरुलाई लगेजभित्र चरेश भएको थाहा नै नभएको प्रहरीलाई बयान दिए। त्यसपछि प्रहरीले लगेज दिनेहरुलाई खोजी गरी पक्राउ गरेको थियो।
'अहिलेसम्म हाम्रो अनुसन्धानमा उनीहरुलाई लजेगमा चरेस भएको देखिएको छैन। अरुले पठाएको सामान लगिएको देखिन्छ,' लागु औषध नियन्त्रण व्यूरोका एसएसपी हृदय थापाले भने।
त्यस्तै, चितवन खैरहनी नगपालिका वडा नम्बर १० घर भएका २९ वर्षीय बुद्धिराज पाठकलाई त्रिभुवन विमानस्थलबाट भदौ ८ गते प्रहरीले पक्राउ गर्यो। उनको लगेजमा १२ वटा बट्टा थिए। बाहिरपट्टि ग्यास्ट्रिक हरण चूर्ण लेखिएको थियो बट्टामा। तर, भित्र गाँजा भएको थाहा पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। उनलाई त्यो समान चितवन खैरहनीका ३६ वर्षीय विष्णु श्रेष्ठले दिएको खुल्यो। सोही दिन प्रहरीले विष्णुलाई नियन्त्रणमा लिएको थियो।
प्रहरीले नियन्त्रणमा लिएका विष्णु र बुद्धिराज ज्वाइँ - जेठान हुन्। त्यसपछि त्यो समान विष्णुलाई पनि साथीले दिएको बताएका थिए। त्यसैको आधारमा प्रहरीले मोरङ सुन्दरहरैचा नगरपालिकाका ३८ वर्षीय कुमार श्रेष्ठलाई नियन्त्रणमा लियो।
'अहिले आफन्तको पनि विश्वास गर्ने अवस्था देखिएन यो घटनाले त्यसैले अरुको सामान लग्दा एकपटक चेक गरेर मात्र लग्ने गर्नुपर्ने देखिन्छ,' एसएसपी थापाले भने।
पछिल्लो समय लागुऔषध तस्करीले वैदेशपक रोजगारीमा जानेहरुलाई प्रयोग गरेर लागु औषध विदेशतिर तस्करी गर्ने गरेको देखिएको हो। सुनको केसमा ठ्याक्नै उल्टो देखिएको छ। वैदेशिक रोजगारीमा गएकाहरुलाई सुन तस्करीहरुले यसरी नै थाहा नै नदिइ सुन पठाउने गरेका थिए। अहिले यो शैली लागु औषधमा देखिएको हो।
उनीहरुले यसरी सामान पठाउँदा विभिन्न प्रलोभनमा पार्ने गरेका छन्। जस्तै टिकट काटिदिने, सपिङ खर्च दिने, होटेलमा बस्ने व्यवस्था मिलाउने लगायतका प्रलोभनमा पार्ने गरेका छन्।
साथीको सामान लिएर विमानस्थलबाट कतारतिरको यात्रा तर गन्तव्य मोडियो हिरासततिर
त्यस्तै, प्रहरीले अपरचित व्यक्तिको सहजै विश्वास नगर्न सुझाव दिएको छ। त्यस्तै, आफन्तलाई प्रयोग गरेर विश्वासमा लिने पनि गर्न सक्छन्, त्यसमा पनि सजग हुनुपर्ने देखिएको छ। कसैले चिनजान नै नगरी विदेश जाने टिकट काटिदिन्छ भने शंका गर्न र लोभमा नपर्ने एसएपी थापाको सुझाव रहेको छ।
प्याकिङ सुटकेश, लगेज, झोलाहरु नलग्दिनुहोला। त्यस्तै होटेल वा सपिङ गराउन खोजे लोभमा नपर्नुहोला। कुनै पार्सल, डकुमेन्ट, आफन्तको सामान इत्यादि भए राम्रोसँग चेक गरेर मात्र लग्नुहोला। नत्र तपाइको पनि हालत माथिका पात्रको झै हुनेछ।
