PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सुन, हुन्डी र स्रोत नखुलेको रकमको गजबको कनेक्सन : भरिया समातिन्छन्, मालिक मुक्त



सविन ढकाल

सुन, हुन्डी र स्रोत नखुलेको रकमको गजबको कनेक्सन : भरिया समातिन्छन्, मालिक मुक्त

काठमाडौं : शुक्रवार दिउँसो नागढुङ्गास्थित महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले ग१ख ६६४५ नम्बरको माइक्रो बसलाई रोकेर चेक गर्‍यो। चितवनबाट काठमाडौं आएको हाइसको सिट नम्बर ८ र ९ रहेका २६ सागर माली र १९ कृष्ण अढाडे प्रहरीको शङ्काको घेरामा परे। भारतको महाराष्ट्र घर भएका उनीहरूको साथमा रहेको कालो झोला प्रहरीले जाँच गर्न थाल्यो।

सागरका साथबाट ४५ लाख र कृष्णका साथबाट ५० लाख रुपैयाँ प्रहरीले भेट्टायो। त्यसपछि उनीहरूले यसरी रकम ल्याउनुको कारण र त्यसको स्रोत खोज्यो। उनीहरूले पैसाको स्रोत देखाउन सकेनन्। उनीहरु यति धेरै नगद लिएर यात्रा गर्दा प्रहरीको अनुसन्धानमा पर्नु स्वभाविक थियो। स्रोत खुलाउन नसकेपछि उनीहरुले बोकेको रकम 'अवैध' शीर्षकभित्र पर्‍यो र उनीहरु पक्राउ परे।

प्रहरीले दुवै जनालाई नियन्त्रणमा लियो। यति धेरै रकम बोकेर उनीहरूले के प्रयोजनका लागि नेपाल आएका थिए? त्यो रकम उनीहरूको हो वा अरू कसैको भरिया बनेर ओसार्दै थिए? सुल्झिनसकेका प्रश्नको उत्तर प्रहरीले खोजी गरिरहेको छ। प्रहरीमात्र होइन, अब यसको अनुसन्धान सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गर्ने छ। स्रोत नखुलेको रकम फेला परेमा प्रहरीले थप अनुसन्धानका लागि विभागलाई बुझाउनुपर्छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले यी दुई युवक काठमाडौं छिरेको देखाए पनि उनीहरु कुन नाका भएर नेपाल प्रवेश गरेका हुन् पुष्टि हुन सकेको छैन। प्रहरीको प्रारम्भिक अनुसन्धानले संकेत गरेको छ - उनीहरूसँग बरामद गरेको रकम उनीहरूको होइन, अरु कसैको हो।

'यो रकम उनीहरूको होइन। उनीहरू भरियामात्र हुन्। केही मानिसको नाम लिएका छन्,' महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले भने।

स्रोत नखुलेका रकमसहित मानिसहरु समातिनु नेपाल प्रहरीका लागि नौलो होइन। तर, जसलाई प्रहरीले रकमसहित पक्रेको हुन्छ अधिकांश घटनामा उनीहरु बरामद गरिएको पैसाको धनी हुँदैनन्। अरूको नै पैसा  बोकेर नेपाल छिरिरहेका हुन्छन् समातिनेहरु। प्रहरी र राजश्व अनुसन्धान विभागले अनुसन्धान गरे पनि यस्त अधिकांश घटनामा पैसाको 'धनी' सम्म प्रहरी कमैमात्र पुगेको छ। तर, यसरी समातिएको रकमको कनेक्सन सुन किन्न अथवा हुन्डीको हुने गरेको देखिएको छ। त्यसैले यस घटनालाई पनि प्रहरीले त्यही कोणबाट हेरिरहेको छ।

'यो रकम कि त सुन खरीद गर्ने वा हुन्डी कारोबारका लागि प्रयोग गर्न ल्याएको हो भन्ने देखिन्छ। तर, कसको कसरी भन्ने कुरा खोजी रहेका छौँ,' एसएसपी सिंहले भने।

सुन तस्करीमा अवैध धनको कनेक्सन

२०७७ पुस २० गते ३० वर्षीय अमितकुमार गुप्ता यसरी नै प्रहरीको फन्दामा परे जसरी नागढुङ्गामा दुई जना समातिए। भारतको गोरखपुर घण्टाघर भएका गुप्तालाई बिहान ४ बजेर २७ मिनेटमा काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर २ स्थित नागढुङ्गा चेक प्वाइन्टमै समातेको थियो।

गुप्ता चढेको प्रदेश ३-०१-०२३ च २२५९ नम्बरको सिल्भर कलरको गाडीभित्र रकम फेला परेको थियो। उनी कपिलवस्तुबाट कारमा काठमाडौं आउँदै गरेका थिए। प्रहरीसँग विशेष सूचना थियो जसमा उनले स्रोत नखुलेको रकम ल्याउँदै गरेको जानकारी आएको थियो। त्यही अनुरूप प्रहरीले सुरक्षाकर्मी खटाएको थियो।

सुरुमा कारभित्र चेक गर्दा केही फेला परेको थिएन। पछि कारको डिकीमा स्पेयर टायरमुनि लुकाइएको रकम फेला पारेको हो। कारभित्र रहेका तीन वटा कालो रङका झोलामा १ करोड ४७ लाख रुपैयाँ भेटिएको थियो। सबै नोट १ हजारका। कुनै नयाँ त कुनै पुराना नोटका बन्डल। गुप्ताको शरीर खानतलासी गर्दा थप ८६ हजार रुपैयाँ भेटियो।

प्रहरीले कार चालकलाई समेत नियन्त्रणमा लिएको थियो त्यस घटनामा। कपिलवस्तु बाँणगँगा नगरपालिका ४ बस्ने २२ वर्षीय संगम थारु उनका चालक। प्रहरीले बरामद गरेको कार भने भाडामा लिएको खुलेको थियो। प्रहरीले थप अनुसन्धानको लागि रकम सहित दुई जनालाई सम्पत्ति शुद्धिकरण विभाग बुझायो। विभागले अनुसन्धान गर्दा उनीहरू नेपालमा सुन किन्न रकम लिएर आएको खुल्यो। विभागले विशेष अदालतमा २ करोड ९२ लाख माग दाबीसहित मुद्दा दायर गर्‍यो उनीहरुविरुद्ध।

दुई महिनापछि विभागले गरेको अनुसन्धानमा सो रकम भारतीय नागरिक अमित कुमार गुप्ता भन्ने अंकित कुमार अग्रवालले अवैध सुन खरिद गर्न ल्याएको खुल्यो। अग्रवालले सचिन टेवडेवाल भन्ने सचिन कुमार अग्रवालबाट प्राप्त गरी नुर महोमद भन्ने नुरुद्धीन अन्सारीलाई दिई सुन लिन रकम ल्याएका थिए।

'यसरी नेपालमा आउने स्रोत नखुलेको अधिकांश रकम हुन्डी वा सुनकै हुने गरेको देखिन्छ। पछिल्लो यो घटना पनि सुनसँग नै जोडिएको देखिएको थियो,' सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका प्रवक्ता सुशीलप्रसाद आचार्यले भने।

नेपाल प्रहरीले मात्र आर्थिक वर्ष २०७७/७८ मा अवैध अर्थात् स्रोत नखुलेको ७ करोड १ लाख ३५ हजार ९ सय ४४ रुपैयाँ बरामद गरेको थियो। यो अघिल्लो वर्षको तुलनामा झन्डै ७ सय ६ प्रतिशतले बढेको हो। प्रहरीको पछिल्लो तथ्याङ्क हेर्ने हो भने प्रत्येक वर्ष अवैध मुद्रा बरामद गर्ने दर बढेको छ। प्रहरीले समातिएको मुद्राको आधारमा नै नेपालभित्र सुन र हुन्डीको कारोबारी बढेको देखिन्छ। त्यसो त प्रहरी र विभागले नदेखेका घटना कति होलान्?

सुन किन्न नेपालबाटै रकम जान्छ

असोज ५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमानस्थलमा खटिएको प्रहरीले गोरखा नगरपालिका वडा नम्बर २ घर भएका ४२ वर्षीय सिताराम विकलाई नियन्त्रणमा लियो। उनी नेपाल एयरलाइन्सको उडान नम्बर आरए २२९ बाट दुबई जान लागेका थिए।

भिजिट भिसामा हिँडेका उनी दुबई पुग्न नपाउँदै समातिए। कारण थियो उनको साथमा भएको नगद। उनको पाइन्टको अगाडि पट्टिको गोजीबाट प्रहरीले १३ हजार डलर फेला पारेको थियो। नेपालीहरूले विदेशमा जाँदा ५ हजार डलरभन्दा बढी बोक्न पाउँदैनन्। नेपाल राष्ट्र बैंकले तोकेको सिलिङ यतिमात्र हो। यतिमात्र होइन लैजाने विदेशी मुद्रा राहदानी छाप लगाएर तोकिएकै हुनुपर्छ। अर्थात् कुन बैङ्कबाट साटेको हो त्यो समेत खुल्नुपर्छ। तर, उनको हकमा त्यसो भएको थिए। १ सय दरको १ सय ३० वटा नोट भेटिएको थियो उनको गोजीमा।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनी सुन तस्करहरूको योजनाअनुसार विदेशी नोट लिएर जाने र फर्किँदा दुबईबाट सुन ल्याउने रणनीतिसहित निस्केका थिए। तर, उनले यसलाई स्वीकार गरेका छैनन्। सुन तस्करीमा पछिल्लो समय वैदेशिक रोजगारीमा जाने या गएका युवाहरूलाई प्रयोग गर्ने प्रवृत्ति बढेको प्रहरीको अनुसन्धानले देखाएको छ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख लक्ष्मी निरौला वैदेशिक रोजगारीमा गएका युवाहरूलाई प्रयोग गरेर जनही ५० ग्रामसम्म सुन ल्याउने गर्छन्। त्यसमा कति उनीहरुले आफ्नै लागि ल्याएका हुन् र कति तस्करलाई सघाएका भन्ने पहिचान गर्न सकिन्न। बेला बेलामा प्रहरीले विमानस्थल बाहिर सुन लेनदेन गरिरहँदा केहीलाई समात्ने पनि गरेको छ। शंका लागेको व्यक्तिमाथि भन्सार र प्रहरीले मिलेर निगरानी बढाउन सक्छन्। तर, ५० ग्राम सुन ल्याउँदा सोझै समात्ने आधार भने छैन। 

सुन तस्करीको यस्तो नेटवर्कमा आवद्ध भएकाहरुले डलर लिएर नेपालबाट विदेश जाने र भारतीय नोट सीमा साटेर काठमाडौं सुन ल्याउने गरेको देखिएको छ। नेपाल भित्रबाट आउने भारतीय नोटलाई नेपालीमा साट्ने गरेको देखिन्छ। १ करोड ४७ लाख रुपैयाँ अमितकुमार गुप्ताले पनि यसरी नै सटही गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ। त्यस्तै, सम्पत्ति शुद्धिकरण विभागको अनुसन्धानले पनि सुन किन्न सीमामा नोट सटही भएको देखाएको छ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अपराधजन्य कार्यबाट प्राप्त सम्पत्ति तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीमा अनुसन्धान गर्नेगर्छ। विभागसँग यस्तै स्रोत नखुलेका १ हजार ३ सय केस छन् जसमध्ये २ सय २० वटा उजुरीको अनुसन्धान जारी छ।

साथै यस्तो केसमा प्रत्येक वर्ष उजुरी गर्ने सङ्ख्या पनि थपिँदै गएको छ। अदालतमा पुगेपछि त्यसको विगो माग दाबी पनि उत्तिकै बढेको देखिएको छ। आर्थिक वर्ष २०७३/७४ मा विभागले ३८ वटा मुद्दा दायर गरेको थियो। जसमा १ अर्ब १२ करोड ४१ लाख ४३ हजार ८ सय २० रुपैयाँ माग दाबी गरिएको थियो। त्यस्तै, आर्थिक वर्ष २०७४/७५ अनुसन्धान सकाएर मुद्दा दर्ता गर्ने सङ्ख्यामा कमी आयो। ४ वटा मुद्दामात्र अदालतमा पुगे। ५८ करोड २ लाख २३ हजार ८ सय ११ रुपैयाँ माग दाबी गरिएको थियो ती मुद्दामा। २०७५/७६ मा ५१ करोड ५८ लाख ६२ हजार ५ सय ९३ रुपैयाँ माग दाबीसहित ९ वटा मुद्दा अदालतमा पुगे। २०७६/७७ मा ३ अरब ६३ करोड २७ लाख ७३ हजार ३ सय ७३ रुपैयाँको माग दाबीसहित १० वटा मुद्दा दायर भएको विभागका प्रवक्ता सुशीलप्रसाद आचार्यले बताए।

चालु आर्थिक वर्षको तीन महिनामा ५ वटा मुद्दा अदालत पुगिसकेका छन्। जसमा २३ करोड ७० लाख रुपैयाँ माग दाबी गरिएको छ। 'स्रोत नखुलेका रकम भेटिएका धेरै जसो केसहरू सुन र हुन्डीसँग जोडिएको देखिन्छ,' प्रवक्ता आचार्यले भने।

प्रहरी तथा विभागले गरेको अनुसन्धानले स्रोत नखुलेको रकमको कनेक्सन हुन्डी र सुनसँग रहेको देखाउँछ। तर, भरियामात्र समातिने र समातिएको रकमको 'धनी' नसमातिनुले यो कारोबारको जालो कति बलियो छ भन्ने अन्दाज गर्न सकिन्छ। बरामद हुने रकम त 'टीप अफ आइसबर्ग'मात्र हो, सुन, हुन्डी र स्रोत नखुल्ने रकमको कारोबारको आकार कति ठूलो छ यसै भन्न सकिन्न।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell