PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

अनौठो उजुरीका घटनाहरु जसले प्रहरीलाई नै अल्मल्याउँछ : मृत्यु, हत्या या दुरुत्साहन!



सविन ढकाल

अनौठो उजुरीका घटनाहरु जसले प्रहरीलाई नै अल्मल्याउँछ : मृत्यु, हत्या या दुरुत्साहन!

दुई साताअघिको घटना हो। एक पुरुष आफूलाई आत्महत्या गर्न प्रेरित गरेको भन्दै उजुरी लिएर पुगे प्रहरीकहाँ। उजुरीको एक पक्ष उनी आफैँ थिए। अर्को पक्ष उनका आफन्त। अर्थात् आफ्नै साढु दाइले आफूलाई आत्महत्याका लागि प्रेरित गरेको भन्दै प्रहरीसम्म पुगे उनी।

प्रहरीले सबै घटनाक्रम बुझ्यो। ठाडो उजुरीसमेत दिन लगायो। अरु उजुरीभन्दा यस घटना केही नौलो थियो। किनकि 'मलाई आत्महत्याका लागि प्रेरित गर्‍यो' भन्दै आफैँ नै दुरुत्साहनको उजुरी लिएर पुगेका थिए ती युवक। घटना नौलो यसकारण थियो कि सामान्यतया कसैले आत्महत्या गरेपछि उसका आफन्त र नजिकका मानिस आत्महत्या दुरुत्साहनको उजुरी लिएर प्रहरीकहाँ पुग्ने गर्छन्। तर, उनी आफैँ दुईचोटि विष सेवन गर्न र मर्न उक्साएको भन्दै प्रहरीकहाँ पुगेका थिए।

उनले विष खाएको र त्यसपछि अस्पतालमा भर्ना भएर उपचार गरेको कागजपत्र समेत लिएर पुगेका थिए, प्रहरीकहाँ। किटानी जाहेरी थियो उनको।

आखिर किन दुरुत्साहनको मुद्दा लिएर आफैँ पुगे त?

उजुरी दिन पुगेका ती व्यक्ति पेशाले पेटी ठेकेदार। काभ्रेपलाञ्चोकको पाँचखालमा बाटो बनाउन एक करोडको ठेक्का पाएका रहेछन् उनले। ठेक्का दिने मुल ठेकेदार कम्पनी चाहिँ उनको साढु दाइको रहेछ। उनले ठेक्का अनुसार नै काम गरे। तर, जब सडकको काम पूरा भयो '४७ लाखको काममात्र भएको' भन्दै बाँकी पैसा दिन साढु दाइले इन्कार गरेछन्। बाँकी पैसा नपाएको झोकमा उनी आत्महत्या गर्ने सोचमा पुगेका रहेछन्।

'त्यसपछि दुवै पक्षलाई बोलाएर हामीले मिलापत्र गराएका थियौँ। यो लेनदेन जस्तो देखिएकाले निर्माण व्यवसायी महासंघमा पठाएका थियौं,' घटना हेरिरहेका एक प्रहरी अधिकृतले भने।

प्रहरीका लागि केस आफैँमा नौलो थियो। मानिसले आत्महत्या गरेपछि अरूले उजुरी दिँदा अनुसन्धान अगाडि बढाउँदै आएको प्रहरीका लागि यस केसमा 'आत्महत्याको दुरुत्साहन' भन्ने शब्दको परिभाषा प्रष्ट भएन। आत्महत्या गर्ने प्रयासमात्र गरेको अथवा प्रयास गर्नपर्ने अवस्थामा पुगेको विषय पनि 'दुरुत्साहन' भित्रै पर्ने हो या होइन? अलमलियो प्रहरी।

+++

२०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता ऐनको दफा १८५ मा आत्महत्या गर्न कसैले कसैलाई दुरुत्साहन गरे कारबाही हुने व्यवस्था गरेको थियो। आत्महत्या गर्न दुरुत्साहित गरेको प्रमाणित भए ऐनको दफा १८५ अनुसार अधिकतम पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुने व्यवस्था छ।

तर, आत्महत्या दुरुत्साहनमा मानिसहरु पक्राउ पर्न थालेपछि अहिले अनुसन्धानकर्ता र अभियोजनकर्ता नै अलमलमा पर्ने घटनाहरु धेरै छन्। प्रमाण के हो भन्ने स्पष्ट नहुँदा दुवै पक्षहरू यस्ता घटनामा 'गोलचक्कर'मा पर्दै आएका छन्। अहिलेसम्म प्रहरीले यस्ता घटनामा आत्महत्या गर्ने मानिसले लेखेका सुसाइट नोट, मोबाइलमा भएका म्यासेज भन्दा अन्य कुरालाई प्रमाणको रूपमा पेस गर्न सकेको छैन।

'यो शुद्ध नयाँ केस हो। यसमा केही अलमल नै छ। सर्वोच्चबाट स्पष्ट नहुँदासम्म अलमलमै रहने गरेको छ,' सरकारी वकिल कार्यालय काठमाडौँका सह न्यायाधीवक्ता गङ्गाप्रसाद पौडेलले भने।

आत्महत्या दुरुत्साहनको सबैभन्दा हाइ प्रोफाइल केस हो - शालिकराम पुडासैनीको मृत्यु। चर्चित संचारकर्मी रवि लामिछाने यस प्रकरणमा पक्राउ परेका थिए। चितवनमा पुडासैनीको 'आत्महत्या'पछि प्रहरीले रविलाई पक्रेर चितवन नै पुर्‍याएको थियो।

रविलाई पक्राउ गर्नका लागि प्रहरीसँग एउटा भिडियो बलियो आधार थियो। २०७६ साउन २० गते राति नारायणढस्थित पोखरा बसपार्कमा रहेको होटेल कंगारुको २०२ नम्बर कोठामा संचारकर्मी शालिग्राम पुडासैनी मृत अवस्थामा फेला परेका थिए।

घटनास्थलबाट प्रहरीले पुडासैनीको साथबाट भिडियो भेट्यो। त्यसमा उनले रुँदै भनेका थिए, 'रवि दाइ, मलाई मर्न बाध्य बनाएकोमा तपाईँहरूलाई पाप लाग्छ। केहीकेही दीन दुःखीको उद्धार पनि गर्नुभयो, तर अरूको प्रगति देख्न सक्नुभएन। दुनियाँलाई थर्काउनुभयो, ढिलो चाँडो दुनियाँले तपाईँको असली रूप देख्नेछ। मसँग प्रमाण छ, आज नभए पनि भोलि तपाईँको पापको घडा भरिन्छ।'

मोबाइलमा रेकर्ड भएको त्यही भिडियोको अभिव्यक्तिलाई आधार बनाएको थियो प्रहरीले। अदालतमा यही भिडियो प्रमाणका रूपमा पेस भयो। अन्य प्रमाण प्रहरीले जुटाउन सकेन। त्यसैले, माघ ६ गते जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले उनलाई निर्दोष ठहर्‍यायो।

+++

वरिष्ठ अधिवक्ता लब मैनाली दुरुत्साहनको केसमा अधिकांश घटनामा गलत प्रयोग भइरहेको दाबी गर्छन्। आत्महत्या गर्न दुरुत्साहन गर्ने भनिएको मानिसको मनसाय दुरुत्साह नगर्ने भएको तर केही सामान्य विवाद र अन्य कारणले कारबाहीको भागिदार हुनुपरिरहेको उनको तर्क छ।

'अधिकांश केसमा गलत प्रयोग भइरहेको छ। कानुनको सही पालना गर्नुपर्‍यो। अनुसन्धान गर्दा प्रमाण भएरमात्र गर्नुपर्‍यो। कसैको प्रेसरको भरमा वा किन टाउको दुखाउने भन्दै सहज तरिकाले अनुसन्धान गर्दा धेरै निर्दोषहरुले सजायको भागिदार हुन परिरहेको छ,' वरिष्ठ अधिवक्ता मैनालीले भने।

पछिल्लो समय प्रहरीकहाँ आत्महत्या दुरुत्साहनका उजुरी आउनेक्रम पनि बढेको छ। वर्षभरी ६ सय मानिसको हत्या हुन्छ। त्यस्तै, दुरुत्साहबाट हत्या भएको भन्दै उजुरी पर्नेको सङ्ख्या १ सय ५० रहेको छ। आर्थिक वर्ष २०७७/७८ मा १ सय ५० वटा दुरुत्साहका उजुरी प्रहरी कहाँ परेका थिए।

प्रेमीले विवाह गर्न नमान्दा वा प्रेमीकाले विवाह गर्न नमान्दा समेत दुरुत्साह भएको भन्दै प्रहरीले पक्राउ गरेका घटनाहरु छन्।

+++

चितवनको राप्ती नगरपालिका ३ की सुजिता भण्डारी गत असार २० गते मृत अवस्थामा फेला परिन्। अनुसन्धानका क्रममा उनका दाइ पर्नेसँगको प्रेम सम्बन्ध र बिहे गर्न नमानेपछि आत्महत्या गरेको खुल्यो। अहिले यो घटना अदालतमा नै विचाराधीन रहेको छ। दुरुत्साहनको केसमा उनका आफन्त उर्फ प्रेमी सुकदेव भण्डारी थुनामै छन्।

प्रेमजस्तै आर्थिक कारोबारका केसहरुले पनि प्रहरीलाई 'गोलचक्कर'मा पारिरहेको हुन्छ आजकल। दिएको ऋण र त्यसको ब्याज फिर्ता मागेपछि कुनै ऋणीले आत्महत्या गर्‍यो भने ऋण दिने व्यक्तिलाई नै दोषी भन्दै दुरुत्साहनको उजुरी पर्ने गरेको छ। त्यस्तो प्रकृतिको अनुसन्धान कसरी गर्ने भन्ने समस्या प्रहरीमा मात्र होइन, अभियोजनकर्तामा पनि देखिएको छ।

'ऋण उठाउँदा, प्रेम सम्बन्धमा हुँदा लगायतका विभिन्न प्रकृतिमा दुरुत्साहका केसहरू आएका छन्,' सरकारी वकिल कार्यालय काठमाडौँका सह न्यायाधीवक्ता पौडेलले भने।

+++

अहिले धेरैजसो चाहिँ दुरुत्साहनका केस चाहिँ परिवारभित्र दाइजोका कारण हुने हिंसात्मक गतिविधि तथा अन्य पारिवारिक विवादले ल्याउने गरेको छ। यसको पछिल्लो उदाहरण चितवनकी सविता भण्डारी प्रकरणलाई लिन सकिन्छ। भरतपुर महानगरपालिका वडा नम्बर १९ स्थित बखान चोक नजिकै साढे दुई तले घरभित्र २८ वर्षीय सविता भण्डारी धिताल झुन्डिएकी अवस्थामा फेला परिन्। सविताको माइती पक्षले घटना आत्महत्या नभई परिवारले नै मारेको भन्दै उनका श्रीमान्, ससुराविरुद्ध किटानी जाहेरी दिए। गत वैशाख १२ गते मृतकका बुवा रामचन्द्र भण्डारीले प्रहरीकहाँ जाहेरी दिएका थिए। उजुरीपछि चितवनका योगेन्द्रकुमार धिताल र रमेशकुमार धिताललाई प्रहरीले पक्राउ गर्‍यो।

घरमा गरिएको व्यवहारलाई लिएर उनले माइतीमा गरेको कुरकानी, केही भिडियो र अन्य आधारलाई टेकेर आत्महत्या दुरुत्साहनमा प्रहरीले अनुसन्धान गर्‍यो। सरकारी वकिलमार्फत् अदालतमा मुद्दा लगियो। जिल्ला अदालत चितवनले मुद्दा सुनुवाई गर्दै केही दिनअघि सविताका श्रीमान् र ससुरालाई धरौटीमा रिहा गरेको छ। रिहा हुन उनीहरूले १ लाख रुपैयाँ धरौटी बुझाए। मुद्दाको अन्तिम टुंगो लागिसकेको छैन।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मा पनि यस्तै घटना भयो। २७ वर्षीया सीता भण्डारी पौड्याल भदौ २० मा घरभित्रै मृत अवस्थामा फेला परिन् । अहिले माइती पक्षले चितवनको केसमा जस्तै परिवारले नै हत्या गरेको आरोप लगाएका छन्। प्रहरीले यस केसमा पनि दुरुत्साहनकै मुद्दालाई अगाडि बढाएको छ।

मृत्यु या हत्याका घटनामा दाइजो, घरेलु हिंसा, कुटपिट देखिए पनि प्रहरीले सोझै 'दुरुत्साहन'मा केस अगाडि बढाउने गरेको छ अहिले।

वरिष्ठ अधिवक्ता सुनिल पोखरेले कानुन गलत नभएर अनुसन्धान गर्ने पद्धति र कुन कानुनमा टेक्ने भन्ने विषयमा प्रष्टता नहुँदा यस्तोखाले समस्या देखिएको बताउँछन्।

'उसले आरोप के लगायो? आत्महत्या दुरुत्साहन गर्न के परिस्थिति सृजना गर्‍यो? भन्ने प्रमाणित गर्नुपर्ने हुन्छ। तर, यहाँ मर्नुअघि लेखिएका नोट, कसैसँग गरिएको कुराकानी बनाएर मानिस समात्ने चलन बढेको छ,' वरिष्ठ अधिवक्ता पोखरेलले भने।

+++

एक वर्षअघिको घटना हो। स्याङ्जाको पुतलीबजारमा एक किशोरीले झुन्डिएर आत्महत्या गरिन्। उनीको एक युवकसँग विवाह हुने निश्चित भएको थियो। तर, बिहेमा दाइजो चाहिने भन्दै केटाले ती युवतीलाई फोन तथा म्यासेजमा डिमान्ड राखे। केटाका बुवाले दाइजो माग्न छोरालाई उक्साएका रहेछन्। केटीको परिवार केटाले मागेको जति दाइजो दिने हैसियतमा थिएन। बिहे नहुने भयो भन्ने बुझेपछि केटीले झुन्डिएर आत्महत्या गरिन्।

प्रहरीले त्यसपछि केटा र उसको बुवालाई समातेर आत्महत्या दुरुत्साहनमा अनुसन्धान गर्‍यो।

'म्यासेजमा र अन्य तरिकाले सुनका गहना लगायत दाइजो मागेको देखियो। त्यसरी आत्महत्या गर्न दुरुत्साहन गर्न प्रेरित गरेकाले आत्महत्या दुरुत्साहनमा नियन्त्रणमा लिएका हौँ,' जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख एसएसपी होबिन्द्र बेगोटीले भने।

दाइजो माग्नु र लिनु पनि अपराध भएको कानुनले व्याख्या गरेको छ। यस्तो गरेको खण्डमा कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ।

तर, दाइजो र घरेलु हिंसामा सहजै कानुन आकर्षण हुने गरे पनि पछिल्लो समय यस्ता केसहरु पनि 'दुरुत्साहन' कै बास्केटमा राखेर केस चलाइएको हुन्छ।

'यसका लागि अन्य कानुनको व्यवस्था हुँदाहुँदै पनि दुरुत्साहन कै मुद्दा चलाइरहेको छ। यो चाहिँ गलत हो,' वरिष्ठ अधिवक्ता पोखरेलले भने।

कुनै समय प्रहरीले 'ज्यान मार्ने उद्योग'मा गरेका अनुसन्धान सबैभन्दा धेरै असफल हुन्थ्य। प्रहरीलाई कुनै ज्यान लिने खोजेको हो वा होइन भन्ने प्रस्ट प्रमाण जुटाउन कठिन हुन्थ्यो। अहिले, यस्तै धेरै असफल हुने केसमा आत्महत्या दुरुत्साहन हुन लागेको सरकारी वकिल कार्यालयका कर्मचारीहरू बताउँछन्। सामान्य झगडा, ऋण तिर्न नसक्दा, प्रेमी प्रेमिका बिच कुरा नमिल्दा आत्महत्याका घटना हुने गरेका छन्। त्यसैलाई दुरुत्साहनमा व्याख्या गर्दिँदा पुष्टि गर्ने आधार र प्रमाण चाहिँ फितलो। कतिपय केसमा त पीडक भनिएका पक्षले आत्महत्याका लागि उक्साएको आधार भेटिन्न तर पनि कानुनको फन्दामा परिरहने अवस्था आएको छ।

केही साताअघि नेपाल प्रहरीका डीआइजी उत्तमराज सुवेदीले एक टेलिभिजनमा आफ्नो प्रेमीले बर्थ डे भुलेको र केक समेत नकाटेकाले आत्महत्याको प्रयास गरेको प्रसङ्ग सुनाएका थिए। जुन सामाजिक सञ्जालमा निकै चर्चित पनि भयो। आत्महत्याबाट ती युवतीलाई बचाउन नसकेको भए बर्थ डे भुल्ने युवकलाई प्रहरीले आत्महत्याको दुरुत्साहन गरेको भन्दै समात्थ्यो र मुद्दा अगाडि बढ्थ्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell