PahiloPost

May 21, 2022 | ७ जेठ २०७९

काठमाडौंको भन्दा जेठो भक्तपुरको रानीपोखरी पुनर्निर्माणको काम अन्तिम चरणमा



पहिलोपोस्ट

काठमाडौंको भन्दा जेठो भक्तपुरको रानीपोखरी पुनर्निर्माणको काम अन्तिम चरणमा
तस्विर : भक्तपुर नगरपालिका

भक्तपुर : रानीपोखरी भन्ने बित्तिकै धेरैले काठमाडौँकै रानीपोखरी सम्झन्छन्। तर, यो कथा काठमाडौँको नभइ भक्तपुरको रानीपोखरीको कथा हो।

भक्तपुरको रानीपोखरी पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ। काठमाडौंको रानीपोखरी पुनर्निर्माण हुँदै गर्दा भक्तपुरमा पनि रानीपोखरी निर्माण कार्यले गति लिइरहेको थियो। धेरै समय ओझेलमा परेको यो रानीपोखरी छिट्टै सर्वसाधरणका लागि खुल्ला गर्ने रणनीति भक्तपुर नगरपालिकाको छ।

भक्तपुरको सल्लाघारीमा रहेको सैनिक आवासीय महाविद्यालय अन्तर्गत विज्ञान तथा व्यवस्थापन संकाय रहेको भवनको बाटो हुँदै रानीपोखरी पुग्न सकिन्छ।

बि.सं. २०४० सालपछि भक्तपुरको रानीपोखरीमा नागरिकहरुलाई प्रवेश गर्न दिइएको थिएन। यसअघि सबैका लागि खुल्ला रहेको रानीपोखरी क्षेत्रको करिब ३२ रोपनी क्षेत्रफल तत्कालीन शाही सरकारले सैन्य तालिम केन्द्रको विकास गर्न अधिग्रहण गर्‍यो। जनताको जमिनमा सेनाको नियन्त्रणमा पुग्यो। त्यहाँ वीरेन्द्र सैनिक आवासीय महाविद्यालय (हाल सैनिक आवासीय महाविद्याल) बनाइयो, खेल मैदान बन्यो, नयाँ घर ठडिए। त्यसपछि स्थानीय स्वतन्त्र रुपमा रानीपोखरी क्षेत्रमा जानबाट बञ्चित भए।

तर, सेनाले आफ्नो सुरक्षाको कारण देखाउँदै नियन्त्रणमा राखेको रानीपोखरीमा भक्तपुरवासीहरुलाई जानुपर्ने बाध्यता थियो। किनभने त्यहाँ उनीहरुका दिगु द्य: (कुलदेवता) रहेको छ।

त्यसैले वर्षको दुई दिन दिगु पुजा गर्न स्थानीयहरुलाई सेनाले छुट दिने गरेको थियो। अरु समय जान सेनाको स्वीकृति चाहिन्थ्यो। आफ्नै कुल देवता कहाँ जान पनि सेनाको अनुमति लिनुपर्ने भन्दै स्थानीय आक्रोशित थिए। त्यसैले उनीहरु सेनाले नियन्त्रणमा राखेको रानीपोखरी खुल्ला गर्नुपर्ने माग गरिरहेका थिए।

जनताको मागको कदर गर्दै दुई वर्षअघि भक्तपुर नगरपालिकाको प्रयासमा सेनाले रानीपोखरीलाई आफ्नो नियन्त्रणबाट मुक्त गर्दै जनताका लागि खुल्ला गर्न सहमत भएको थियो

भक्तपुर नगरपालिका र नेपाली सेनाबीच धेरै चरणमा भएको छलफलबाट भक्तपुरको ऐतिहासिक र सांस्कृतिक महत्वको रानीपोखरी पुन: सर्वसाधारणका लागि खुल्ला भएको हो। राजतन्त्र छँदा नै नेपाल मजदूर किसान पार्टी र स्थानीयले रानीपोखरी र अतिक्रमित जग्गा खुलाउन आवाज उठाएका थिए। तर, त्यो सफल हुन सकेको थिएन।

राजतन्त्रको समाप्ति र गणतन्त्रको स्थापनापछि भएको स्थानीय तहको निर्वाचनमा नेमकिपाको ऐतिहासिक विजयसँगै नगरपालिका प्रमुख सुनिल प्रजापति लगायतले सेनासँग वार्ता गरी रानीपोखरी पुन: खुल्ला गराउने प्रयास गरेका हुन्।

कोरोना भाइरस संक्रमणका कारण भक्तपुरको रानीपोखरी पुनर्निर्माणको काम केही ढिला भएको हो। भक्तपुर नगरपालिकाको प्रयासमा रानीपोखरी पुनर्निर्माणको क्रममा हाल पर्खाल लगाउने काम सकिएको छ। पोखरीको काम पनि सकिएको छ। पोखरीभन्दा माथिल्लो भागमा रहेको हिँड्ने पेटीमा अहिले आप्पा बिछ्याउने लगायत काम भइरहेको छ। पोखरी पुनर्निर्माणको काम भने अहिले अन्तिम चरणमा पुगेको छ। पहिला प्रवेशद्वार रहेको पोखरीको दक्षिणतर्फ नै नयाँ कलात्मक प्रवेशद्वार बनाई सर्वसाधारणको लागि खुल्ला गर्ने योजना छ। मन्दिरलाई मल्लकालीन शैलिमा नै फर्काउने लक्ष्य नगरपालिकाले लिएको छ।

नगरपालिकाले केही महिना अघि पोखरीको बिचमा नागको प्रतिमा प्रतिस्थापन समेथ गरिसकेको छ।

काठमाडौँको भन्दा जेठो रानीपोखरी

शाही कालमा सेनाको नियन्त्रणमा पुगेको भक्तपुरको रानीपोखरी काठमाडौँको रानीपोखरीभन्दा जेठो पोखरी हो। भक्तपुरका राजा जगज्योति मल्लले विक्रम संवत् १६८७ मा आफ्नी रानी राजलक्ष्मीको सम्झनामा रानीपोखरी निर्माण गरेको गरेका थिए।

काठमाडौँको रानीपोखरी भने त्यसको ४० वर्षपछि वि.सं १७२७ मा प्रताप मल्लले बनाउन लगाएका थिए। प्रताप मल्लले आफ्ना छोरा चक्रवतेन्द्रको मृत्युपछि आफ्नी रानीको मन बुझाउन बनाएका थिए।

संस्कृतिविद् पुरुषोतमलोचन श्रेष्ठका अनुसार प्रताप मल्लले भक्तपुर आक्रमण गर्दा यहाँका पोखरी भत्काएका थिए। भक्तपुरको रानीपोखरीमा क्षति पुर्‍याउने उनी नै थिए। उनैले भक्तपुरमा रहेको भाजुपुखुको नक्कल गर्दै काठमाडौँमा रानीपोखरी बनाएका थिए। भक्तपुरभन्दा पछि बनेकोले काठमाडौँका स्थानीय यहाँको रानीपोखरीलाई 'न्हू पुखु' भन्ने गर्छन्। पछि प्रताप मल्लले बिगारिदिएको रानीपोखरीलाई जीतामित्र मल्ले १७३५ सालमा पुनर्निर्माण गरेका थिए।

प्रताप मल्लकै समयमा भक्तपुरमा रहेको भाजुपुखुसमेत क्षति पुर्‍याइएको थियो। सो पोखरी काठमाडौंको रानी पोखरीभन्दा ५०० वर्ष पुरानो रहेको श्रेष्ठ बताउँछन्।

संस्कृतिविद् श्रेष्ठका अनुसार ललितपुर र काठमाडौँको हरिसिद्धि र नरदेवी नाच १२ वर्षमा भक्तपुर ल्याउने चलन थियो। उनीहरु आउँदा रानीपोखरी रहेको सत्तलमा बस्ने र आपचारिक सूचनापछि शहरभित्र प्रवेश गर्ने गर्थे। सेनाले पोखरी अतिक्रमण गरेपछि भने सो सत्तल प्रयोगविहीन बन्यो र नाच गर्न आउने देवगणहरु त्यहाँ बस्ने चलन समेत लोप भयो। बिस्का: अघि काठमाडौंको हनुमानढोका राजदरबारबाट राज खड्ग ल्याएर त्यही सत्तलका राखेर विधिवत भक्तपुर दरबार भित्राउने चलन थियो। सत्तल मासिएसँग यस्ता कयौँ संस्कारहरु लोप हुँदै गएका थिए। अहिले भने पोखरीसँगै उक्त सत्तल पनि पुनर्निर्माण हुँदैछ।

रानीपोखरी निर्माण सम्पन्न भएपछि वर्षदेखि स्थानीयले पोखरीभित्र प्रवेश गर्न र कूल देवताको पूजा गर्न सेनाको अनुमति लिनुपर्ने छैन। काठमाडौंको भन्दा पुरानो भक्तपुरको यो रानीपोखरी आन्तरिक र बाह्य पर्यटकका लागि नयाँ गन्तव्य बन्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell