PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

हुम्ला कांग्रेसमा चर्कियो विवाद : देउवा पक्षबाट मोहनविक्रम सभापति बनेको भोलिपल्टै पौडेल पक्षको समानान्तर कमिटी घोषणा



पी बी खड्का

हुम्ला कांग्रेसमा चर्कियो विवाद :  देउवा पक्षबाट मोहनविक्रम सभापति बनेको भोलिपल्टै पौडेल पक्षको समानान्तर कमिटी घोषणा
जिल्ला अधिवेशनबाट मोहनविक्रम सिंह सभापतिमा सर्वसम्मत चयन भएपछि। उनी देउवा निकट नेता हुन्।

सुर्खेत : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुम्लामा भएको सातौँ अधिवेशन विवादीत बनेको छ। संस्थापन पक्षले जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयन गरेको घोषणा गरेसँगै संस्थापन इतर पक्षले समेत समानान्तर समिति घोषणा गरेको छ।

सभापति शेरबहादुर देउवा पक्षले एकलौटी रुपमा अघि बढेको भन्दै अधिवेशनमा सहभागि नबनेको बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले समानान्तर समिति घोषणा गरेको हो।

विवाद नटुगिंदै अधिवेशन गरेर कार्यसमितिको छिनोफानो लगाएको देउवा पक्षको विरुद्धमा पौडेल पक्षले समानान्तर समिति बनाएसँगै नेपाली कांग्रेस हुम्ला विभाजनको दिशामा लागेको छ।

आफ्ना केही असहमति राख्दा राख्दैँ निर्वाचन अधिकृतको मिलेमतोमा देउवा पक्ष एकलौटी ढंगले अगाडी बढेको आरोप पौडेल पक्षको छ।

रामबहादुर भण्डारीको सभापतित्वमा समानान्तर समिति घोषणा गरेको हो। उपसभापतिमा पेमा तामाङ र तिलक शाही, सचिव चन्दा फडेरा र लोकेन्द्र बहादुर लामा, सहसचिवमा राजप्रसाद जैसीलाई चयन गरिएको छ भने, अन्य सदस्यहरु समेत चयन गरिसकेको छ।

यस्तै, प्रदेशसभा क्षेत्र ‘क’ र ‘ख’ मा समेत छुट्टाछुट्टै समिति घोषणा गरेका छन्। प्रदेशसभा ‘क’ मा संस्थापन पक्षले मानदेव शाहीको नेतृत्वमा समिति घोषणा गर्यो भने, संस्थापन इतर पक्षले लोकेन्द्र भण्डारीको नेतृत्वमा समिति घोषणा गरेका हुन्।

त्यस्तै प्रदेशसभा क्षेत्र ‘ख’ पनि संस्थापन पक्षबाट दशी लामाको नेतृत्वमा र संस्थापन इतर पक्षबाट धनजि भण्डारीको नेतृत्वमा समिति घोषणा गरेको हो।

संस्थापन इतर पक्षका सभापति भण्डारीका अनुसार शक्तिको दुरुपयोग गरेर तानाशाही प्रवृत्तिबाट अधिवेशन गरेको बताए। त्यसको मूल्याकंन आगामी चुनावमा भोग्नुपर्ने उनको चेतावनी छ।

‘केही व्यक्तिले शक्तिको दुरुपयोग गरेर तानाशाही प्रवृत्तिमा अधिवेशन गरियो,’ उनले भने, ‘त्यसको मूल्यांकन आगामी चुनावमा हुन्छ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले आफु निकटका व्यक्तिलाई पद बाँडेको आरोप छ। असन्तुष्ट पक्षका अनुसार नेता शाहीले छोरा भरत शाहीलाई प्रदेश ‘ख’को उपसभापति बनाएका छन् भने, भाइबुहारी मधु शाहीलाई महाधिवेशन प्रतिनिधि बनाएका छन्। मधु शिक्षिकसमेत हुन् ।

नेता शाहीले आफ्नो स्वकीय सचिव राजबहादुर रोकाया र चन्द रावललाई महाधिवेशन प्रतिनिधि बनाएको आरोप छ। जसले गर्दा कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा देउवा पक्षको बर्चश्व देखिएको छ। महाधिवेशनमा गरेको शक्तिको दुरुपयोगको मुल्यांकन आगामी चुनावमा नेता शाहीले भोग्नुपर्ने असन्तुष्ट पक्षको भनाई छ।

देउवा पक्षले मोहनविक्रम सिंहको सभापतित्वमा २४ सदस्यीय कार्य समिति चयन गरेको घोषणा गरेको छ। त्यस्तै, अधिवेशनले २५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु समेत चयन गरेको छ।

निर्वाचन अधिकृत दुर्गाप्रसाद सापकोटाका अनुसार निर्वाचन कार्यतालिका अनुसार अधिवेशनको टुंगो लगाएको बताए। तोकिएको कार्यतालिका अनुसार प्रतिद्वन्द्वी नहुदाँ उम्मेदवारी दिएकाहरु सर्वसम्मत चयन भएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell