
काठमाडौं : पाँच वर्षअघि डिल्लीप्रसाद भट्टराई कुबेतमा थिए। कमाई राम्रै थियो। भएको कमाइलाई बचत र व्याजमा परिणत गर्ने सोच बनाए उनले। श्रीमतीमार्फत् उनले राम्रो व्याज दिने वित्तीय संस्था खोजेका थिए। त्यतिखेर अन्य बैंकहरुले १० प्रतिशत व्याज दिइरहेका थिए।
त्यही समयमा सोल्टीमोडस्थित सिभिल क्रेडिट एण्ड सहकारीले भने १२ प्रतिशत व्याज दिने भयो। दुई प्रतिशत व्याजको लोभमा उनले ३३ लाख रुपैयाँ सहकारीको फिक्स डिपोजिटमा राखे। व्याज आइरहेको थियो। उता कमाइ पनि राम्रो नै थियो। त्यसपछि डिल्लीप्रसादले ५० लाख रुपैयाँ जम्मा गरे यही सहकारीमा।
विदेशबाट फर्किएपछि उनी बिरामी भए। बचत गरेको पैसाको आवश्यकता पर्यो। नौ महिनाअघि उनी जम्मा गरेको पैसा झिक्न सोल्टीमोडस्थित सिभिल सहकारी पुगे। तर, उनले त्यहाँ जे थाहा पाए, त्यसको कल्पना समेत गर्न सकिन्न थियो। अचम्म! उनले सुने - सहकारीमा पैसा छैन। आफैंले राखेको पैसा पनि झिक्न नमिल्ने? प्रश्नको उत्तर मिलिरहेको थिएन।
सहकारीले गरेको लगानीको पैसा नउठेसम्म बचत गरेको रकम नपाउने जवाफ कर्मचारीले दिए जुन उनको अपेक्षाका ठीक विपरीत थियो। डिल्लीप्रसाद छाँगाबाट झरे झैं भए।
'आफ्नो रकम लिन जाँदा पनि छैन भन्ने हुन्छ र? नौ महिना भयो रकम लिन खोजेको। अहिलेसम्म पाइएको छैन,' उनले भने।
सहकारीका पूर्व अध्यक्ष तथा संचालन थिए इच्छाराज तामाङ। तामाङ सिभिल ग्रुपका अध्यक्षसमेत हुन्। सिभिल गुप्रको मातहतमा २० भन्दा धेरै कम्पनीहरु रहेका छन्।
बैङ्किङ कारोबारमा आफ्ना निक्षेपकर्तालाई ठगेको आरोप लागेपछि नेकपा एमालेबाट संविधानसभामा सभासद समेत बनेका तामाङलाई हिजोमात्रै प्रहरीले पक्राउ गरेको छ। उनीमाथि अनुसन्धान जारी छ। तामाङलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
उनीमात्र होइन, ठगी आरोपमा अन्य १२ जना पनि पक्राउ परेका छन्। यसरी पक्राउ पर्नेहरूमा सञ्चालक समितिका अध्यक्ष केशवलाल श्रेष्ठ, सहजकर्ता प्रबन्धक भगवानबहादुर सिंह, जुनियर असिस्टेन्ट मेनेजर मायोनानी महर्जन, जुनियर असिस्टेन्ट मेनेजर एलिना तुलाधर, जुनियर अधिकृत शंकरप्रसाद पाठक छन्।
त्यस्तै, असिस्टेन्ट संगित श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन, जुनियर सहायक प्रबन्धक बुद्धराज तामाङ, जुनियर सहायक प्रबन्धक कौस्तुभ केतन ढुंगाना, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजय विक्रम शाह र पूर्व लेखा समिति सदस्य हरिहर लामिछाने पनि पक्राउ परेका हुन्।
सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ इच्छाराजका आफन्त हुन्। उनी नातामा मामा ससुरा पर्छन् तामाङको।
इच्छाराजले २०५७ सालमा सिभिल क्रेडिट एन्ड सहकारी संस्था खोलेका थिए। उनी नै सहकारीको अध्यक्ष समेत भए। त्यतिखेर उनी ऋण उपसमितिका प्रमुख पनि थिए।
उनले २०६७ सालमा भने केशवलाललाई अध्यक्ष बनाएका थिए। ऋण उपसमितिमा इच्छाराजको ठाउँमा केशवलाल नै आएका थिए। अहिले पनि केशवलाल नै सहकारीको अध्यक्ष हुन्। सहकारीभित्र जे भयो त्यसमा यिनै दुई जनाको मिलोमतो रहेको प्रहरीको दावी छ।
सोल्टीमोडमा रहेको सिभिल सहकारीको नाममा निक्षेपकर्तालाई ठगी गरेको उजुरी परेपछि प्रहरीले सोमवार साँझ उनीहरूलाई नियन्त्रणमा लिएको हो। उजुरीको लामो समयपछि प्रहरीले अनुसन्धान गरेर सोमवारमात्रै नियन्त्रणमा लिएको केन्द्रीय अनुसन्धान ब्युरोका डीआइजी धीरजप्रताप सिंहले जानकारी दिए।
'हामीले अनुसन्धान गरेको केही समय भयो। त्यसपछि केही प्रमाण पुर्याएर नियन्त्रणमा लिएका हौँ,' डीआइजी सिंहले भने।
सिभिल ग्रुप नेपालमा चलेको व्यापारिक घराना बनिसकेको थियो। व्यवसायिक विस्तारमा तीब्र रफ्तारमा रहेको यो घरानाका मुलि अर्थात् इच्छाराजले सिभिल होम, सिभिल स्टेट र सिभिल अपार्टमेन्टका नाममा सहकारीबाट धितो नै नराखी ८ अर्ब रुपैयाँ भन्दा बढी ऋण लिएको देखिएको छ। वित्तीय अनुशासनका हिसाबमा उनको ऋण लिने शैली पूर्णत गैर कानुनी हो।
उनले चार पटक गरेर सहकारीबाट आफूले लगानी गरेका तीन कम्पनीको नाममा ऋण लिएका थिए। २०७५/७८ को अडिट रिपोर्ट अनुसार ८ अर्ब ९७ करोड रुपैयाँ भन्दा बढी रकम ऋण लिएको देखिन्छ।
पहिलो पटक ४ अर्ब ७२ करोड, दोस्रो पटक १ अर्ब ३० करोड, तेस्रो पटक १ अर्ब ५ करोड र चौथो पटक १ अर्ब ९५ करोड रुपैयाँ ऋण लिएको देखिएको छ। सिभिल सहकारीबाट ९० प्रतिशत लोन सिभिल होम्स, अपार्टमेन्ट लगायतका लागि कम्पनीका नाममा ऋण लिएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।
सीआइबीमा असोज ५ गतेदेखि इच्छाराज तामाङविरुद्ध उजुरी पर्न थालेको थियो। सोमवारसम्म ७५ जनाभन्दा धेरैले सिभिल सहकारीबाट ठगिएको उजुरी दिएको डीआइजी सिंहले जानकारी दिए। उनलाई पक्राउ गरेसँगै आफू पनि पीडित भएको भन्दै आउनेको संख्या लगातार थपिँदो छ। मङ्गलवारमात्रै डिल्लीप्रसाद जस्तै थप ६० जना आफू ठगिएको भन्दै प्रहरीको सम्पर्कमा पुगेका छन्।
हिजोसम्म परेको उजुरीमा ४६ करोड रुपैयाँभन्दा बढी ठगी भएको आरोप लागेको छ तामाङ र उनको समूहमाथि। आज ६० जना थपिइसकेका छन् र बाँकी आउनेक्रम पनि जारी नै छ। त्यसैले ठगिने मानिसको संख्या र ठगिएको रकम दावीको संख्या लगातार बढ्ने देखिन्छ।
यसरी ठगिनेहरूमा एक लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्मको उजुरी प्रहरीकहाँ परेको छ। तीमध्ये एकै परिवारका श्रीमान्, श्रीमती, छोराछोरी समेत ठगिएको उजुरी परेको प्रहरीले जनाएको छ। उजुरीकर्ताहरूको सङ्ख्या कति बढ्छ, प्रहरीले पनि अनुमान गर्न सकेको छैन।
सिभिल सहकारीमा हाल ३ हजार भन्दा धेरै निक्षेपकर्ता रहेकोमा अहिले २२ सय बढी निक्षेपकर्ता सक्रिय रहेको देखिएको छ। तीमध्ये अधिकांश ठगिएका छन्। सहकारीले विभिन्न खाले चिठ्ठाको प्रलोभन देखाउँदै रकम संकलन गरेको थियो उनीहरुसँग। त्यही प्रलोभन यतिखेर रकम जम्मा गर्नेका लागि फस्ने आधार बनेको छ। प्रहरीको अनुसन्धानमा पनि उपहार र चिठ्ठाको प्रलोभनलाई सहकारीले 'पासो' बनाएको देखिएको छ।
'अरू बैंकमा १० प्रतिशत व्याज दिन्थ्यो। त्यहाँ १२ प्रतिशत दिने भनेपछि होला भनेर मैले पनि पाँच वर्षअघि पैसा राखेको थिएँ। तर, पछि पैसा निकाल्न जाँदा छैन भन्ने जवाफ आयो,' सहकारीबाट पीडित बनेका डिल्लीराजले भने।
उनले श्रीमती र आफ्नो नाममा गरेर ८३ लाख रुपैयाँ सिभिल सहकारीमा जम्मा गरेको पहिलोपोस्टलाई जानकारी दिए।
पक्राउ परेका पूर्व अध्यक्ष तामाङ भने यसअघि पनि सम्पत्ति शुद्धिकरण विभागबाट पटकपटक छानबिनमा परिसकेका व्यक्ति हुन्। तामाङलाई तत्कालीन नेकपा एमाले संविधानसभा सदस्य बनाएको थियो। राजनीतिक दलको आडमा नै तामाङले आफ्नो व्यवसायिक विरासतलाई बलियो बनाउँदै ल्याएका थिए।