PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सीलु तीर्थमा आधारित फिल्म ‘तुयू’ निर्माण हुने



पहिलोपोस्ट

सीलु तीर्थमा आधारित फिल्म ‘तुयू’ निर्माण हुने

श्रीमान् सिलुको तीर्थयात्रामा निस्कने तयारीमा हुन्छन्। तीर्थमा जान साथी खोज्दै गर्दा श्रीमतीले आफू सँगै जाने बताउँछिन्। अर्को साथी खोज्न पर्दैन भन्दै उनी जोडी गए पुण्य हुने भन्छिन्। तर, श्रीमानले सिलुसँगै जाँदा छुट्टिनुपर्ने भन्दै नआउन भन्छन्। श्रीमानले एक्लै छाडेर तीर्थमा हिँडेपछि श्रीमती भने थाहा नदिइ पछिपछि हिँड्छिन्। श्रीमती पछाडि आइरहेको उनलाई कयौं दिनसम्म थाहा हुन्न। सिलु पुग्नै लाग्दा दुवैको जम्काभेट हुन्छ। अनि विछोड पनि। श्रीमानको सन्देह 'सत्य' सावित हुन्छ।

यही सेरोफेरोमा घुमेको छ मल्लकालमा लेखिएको 'सिलु म्ये'। नेपाल भाषामा गोसाइकुण्डलाई सिलु भनिन्छ। म्ये भनेको गीत। नेवार समुदायमा प्रचलित ‘सिलु म्ये’ मै आधारित रहेर फिल्म ‘तुयू’ निर्माण हुने भएको छ।

'सिलु म्ये' पुरुष पात्र र महिला पात्रबिचको संवाद हो। नेवार समुदायमा अहिलेसम्म प्रचलित यो बांख म्ये (गीतिकथा) ले तत्कालिन समाजको परिवेशको चित्रण गर्ने प्रयास गरिएको छ। यही परिवेशलाई पूर्णकाजी ज्यापूले फिल्म मार्फत प्रस्तुत गर्न लागेका हुन्।

च:मति सँकिपा: प्रोडक्सनको निर्माणमा सिलु तीर्थमा आधारित नेपाल भाषाको फिल्म तुयू निर्माण हुन लागेको हो। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फिल्मको शुभ मुहूर्त समेत गरिसकेका छन्। छिट्टै फिल्मको छायाङ्कन सुरु हुने निर्माण पक्षले जनाएको छ।

फिल्ममा रेशमी महर्जन, योगेन महर्जन र राजेन्द्र महर्जनको मुख्य अभिनय रहनेछ। फिल्म चितलाङको गाउँ परिवेशमाआधारित रहनेछ। 

फिल्ममा गीत, कथा र संवाद पूर्णकाजी ज्यापूको रहेको छ। सोहन मानन्धरको छायाङ्कन रहेन फिल्मको पटकथा र सम्पादन पनि सोहनले गर्नेछन्। जुलग डंगोलको संगीत रहेको फिल्मको निर्देशन पूर्णकाजी ज्यापू र अनुज डंगोलले गर्नेछन्।

यो पनि पढ्नुस :  गोसाइकुण्ड तीर्थ जाँदा गाउँदै जाने प्रतिरोधको गीत 'सिलु म्ये'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell