पोखरा : गण्डकी प्रदेश साक्षर प्रदेश घोषणा भएको छ। आइतवार प्रधानमन्त्री शेरबहादुर देउवाले पोखराको सभागृहमा आयोजित कार्यक्रममा गण्डकीलाई साक्षर प्रदेश घोषणा गरेका हुन्। सातवटा प्रदेशमध्ये गण्डकी साक्षर घोषणा हुनेमा दोस्रो प्रदेश हो। यसअघि वाग्मती साक्षर प्रदेश घोषणा भइसकेको छ।
सभागृह हलको कार्यक्रम अगावै प्रधानमन्त्री देउवाले साक्षर गण्डकी प्रदेश स्तम्भ अनावरण गरेका थिए। पोखरा महानगरपालिका–९ नयाँबजारस्थित क्षेत्रीय सङ्ग्रहालय परिसरमा गण्डकी प्रदेशको शिक्षा,संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयद्रारा निर्मित स्तम्भ बिहान अनावरण गरिएको हो।
शिक्षा तथा मानव विकास केन्द्रको तथ्याङ्क अनुसार प्रदेशमा साक्षरताको दर ९६.५७ रहेको छ। प्रदेशमा नवलपुर सबैभन्दा बढी ९८ प्रतिशत साक्षर भएको जिल्ला हो। यस्तै तथ्यांक अनुसार सबैभन्दा कम लमजुङमा ९५.५ प्रतिशतमात्रै साक्षर नागरिक छन्।
सबैभन्दा पहिला साक्षरता घोषणा भएको जिल्ला मुस्ताङमा ९६.३५ प्रतिशत नागरिक साक्षर छन्। मुस्ताङ साक्षर जिल्ला २०७१ असार ३१ गते घोषणा भएको थियो। यस्तै, स्याङ्जामा ९६.१६, तनहुँमा ९६.४, कास्कीमा ९६ प्रतिशत, बाग्लुङमा ९६.५७ प्रतिशत, मनाङमा ९६.९, गोरखामा ९७.२, म्याग्दीमा ९६.२७ र पर्वतमा ९६.९३ प्रतिशत नागरिक साक्षर छन्।
सम्बन्धित समाचार : गण्डकीको प्रशंसा गर्दा चिप्लिए प्रधानमन्त्री देउवा, 'लक्ष्मीप्रसाद देवकोटा र मोतीराम भट्ट गण्डकी प्रदेशमै जन्मेका हुन्'
३० भदौमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सबै जिल्ला साक्षर घोषणा भइसकेकाले साक्षर गण्डकी अवधारणापत्र स्वीकृत गरी साक्षर प्रदेश घोषणा गर्ने निर्णय गरेको थियो।
राष्ट्रिय जनगणना २०६८ को तथ्यांक अनुसार प्रदेशको औसत कूल साक्षरता दर ७४.८ प्रतिशत थियो। जसमा पुरुष ८३.५ प्रतिशत र महिला साक्षरता ६७.७ प्रतिशत साक्षर थिए। साक्षर घोषणाका लागि लक्षित समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर हुनुपर्ने प्रावधान छ। १२ वटा मापदण्ड पूरा गरेका स्थानीय निकायका ९५ प्रतिशत जनसंख्याले साक्षरता कोर्स पूरा गरिसकेपछी पालिका साक्षर घोषण हुन्छ। अन्त्यमा जिल्ला साक्षर घोषण हुन्छ। सो बमोजिम प्रदेशका ११ वटै जिल्ला यसअघि नै साक्षर जिल्ला घोषणा भइसकेका थिए। प्रदेश सरकारले पनि अघिल्लो नीति तथा कार्यक्रममा दुई वर्षभित्र साक्षर प्रदेश घोषणा गर्ने बताएको थियो।
साक्षरताका १२ वटा मापदण्ड के ?
* वर्ण अक्षर लेखपढ
* मूल्यसूचि र बिल पढ्ने
* परिवारको सदस्यहरुको परिचयपत्र विवरण लेखपढ गर्ने
*मोबाइल र क्यालकुलेटर प्रयोग
*०-९ सम्मका अंक र अक्षर लेख्न
* ०-१०९ सम्मका अंक गणना
*लेनदेनको हिसान राख्न
* चित्र, पोष्टर, साइनबोर्ड र ट्राफिक संकेत बुझ्न
* सामाजिक कार्यमा सहभागीता दर्शाउन
* घडि हेरेर समय बताउन
* भित्तेपात्रो हेरेर तिथिमिती बताउन
*बैंक भौचर भरी चेक साट्न
प्रदेशका ११ जिल्ला कहिले साक्षर घोषणा भए ?
मुस्ताङ : २०७१ असार ३१
स्याङ्जा : २०७१ भाद्र २३
तनहुँ : २०७२ असार २८
कास्की : २०७२ असार ३०
नवलपुर : २०७२ असार ३१
लम्जुङ : २०७२ असार ३१
बागलुङ : २०७३ असार ३
मनाङ : २०७४ असार २२
गोरखा : २०७४ भदौ ९
म्याग्दी : २०७४ माघ ८
पर्वत: २०७४ माघ १८
