काठमाडौं : आज महानवमी। हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको घुइँचो लागेको छ। लामो लाइन बसेर उनीहरु मन्दिर दर्शनमा जाँदैछन्। दशैंको महानवमीका दिन मात्र सर्वसाधरणका लागि यो मन्दिर खुला गरिन्छ। देशकै इष्टदेवीका रुपमा रहेकी तलेजु भवानीको दर्शनका लागि उपत्यका वरपरबाट थुप्रै दर्शनार्थी हनुमानढोका पुग्ने गर्छन्।
तलेजु मन्दिरमा वर्षको ३६५ दिन नै नित्य पूजा हुन्छ। तलेजु भवानीको पूजाको लागि मात्रै बिहान ८ जना पूजारी खटिएका हुन्छन्। सबैको आ- आफ्नै भूमिका रहन्छ भने एक जनाको अनुपस्थितिमा पनि तलेजु भवानीको पूजा पूरा हुँदैन।
तलेजुमा एक वर्षमा कयौं पूजाहरु हुन्छ। एउटा पर्वको पूजाका लागि कम्तीमा नेवार समुदायबाट १६ जातका मानिसहरु सहभागी हुने गरेको बताउँछन् तलेजुका मुख्य पूजारी उद्धव कर्माचार्य।
गत वर्ष कोरोना जोखिम बढी भएकाले महानवमीका दिन मन्दिर बन्द गरिएको थियो। यस वर्ष भने स्वास्थ्य मापदण्ड अपनाउँदै दर्शन गराउने व्यवस्था गरिएको छ।
तलेजु भवानीलाई फूलपातीको दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको थियो। तलेजु भवानीलाई मूलचोकमै राखेर महाअष्टमीको राति कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित पूजा आराधना गरिएको थियो। विजयादशमीसम्म तलेजु भवानीलाई यहीँ राखेर पूजा आराधना गरिन्छ। विजयादशमीका दिन बिहान शुभ साइतमा भवानीलाई मूल मन्दिर फर्काइन्छ।
कहाँ कहाँ छिन् तलेजु?
मल्ल राजाहरूको इष्टदेवीका रुपमा रहेको तलेजु भवानीलाई कर्नाटवंशी राजा हरिहरसिंह देवले उपत्यकामा ल्याएको इतिहासमा उल्लेख छ। भारतीय मुसलमान शासकले हरिहरसिंहको राज्य सिम्रौनगढमा आक्रमण गरेपछि आक्रमणबाट बच्न उनी देवीसहित पनौती हुँदै भक्तपुर आएका थिए। तत्कालीन भक्तपुरका राजाले तलेजुलाई भक्तपुरमै स्थानपना गरिनुपर्ने भन्दै अडान लिएका थिए। तर, काठमाडौंका मल्ल राजाहरुले त्यो कुरा मानेनन्। यसै विषयलाई लिएर काठमाडौं र भक्तपुरबीच युद्ध समेत भएको थियो।
'यसबाट नै तलेजु भवानीको शक्तिका बारेमा थाहा पाउन। आफै उत्पत्ती भएकी देवी तलेजुलाई स्थापना गर्न मल्ल राजाहरुबीच युद्ध नै भयो। पछि उनलाई हनुमानढोकाको मूल चोकमा विधिवत् रुपमा ल्याएर स्थापना गरिएको थियो,' तलेजुका मूल पुजारी उद्धव कर्माचार्यले भने।
हनुमानढोकाका साथै काठमाडौं उपत्यका र नेवार बाहुल्य क्षेत्रमा इष्ट देवी तलेजु विराजमान छिन्। कीर्तिपुर, फर्पिङ, साँखु, ठिमी, चापागाउँ, नुवाकोट, दोलखा, बनेपा, पनौतीलगायत ठाउँमा पनि तलेजु भवानीको पूजा आराधना गरिन्छ।
यो पनि पढ्नुस : प्रताप मल्लले तलेजु भवानीलाई चढाएको गहना सिकागोको संग्राहलयमा : कहिले हरायो इष्टदेवीको गहना?
कहिले बन्यो मन्दिर ?
कर्माचार्यका अनुसार अहिलेको तलेजु भवानीको मन्दिर ४० वर्ष लगाएर बनाइएको हो। पहिला ६ वर्ष लगाएर निर्माण भएको मूल चोकमा तलेजुलाई विराजमान गराएर पछि मन्दिरमा प्रतिस्थापना गरिएको थियो।
उनका अनुसार तलेजु भवानीको मन्दिरको निर्माण महिन्द्र मल्लको समयमा सुरु भएको थियो। महिन्द्र मल्लले मन्दिरको जग राखेको मन्दिरको निर्माणको काम प्रताप मल्लको समयमा सकिएको थियो।
राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने क्रममा कुदृष्टिले हेरेपछि तलेजु भवानी मन्दिरबाट हराएको कथन छ। राजाले क्षमा माग्दै धेरै रोइकराइ गरेपछि तलेजुले वर्षको एक पटक महानवमीको दिन मात्र आउँछु भन्ने वचन दिएको किम्वदन्ती रहेको छ। त्यसैले महानवमीका दिन सर्वसाधरणका लागि समेत तलेजु भवानीको मन्दिर खुल्ला गर्ने परम्परा रहँदै आएको छ।
तर, गत वर्ष कोरोना संक्रमणका कारण मल्लकालपछि पहिलोपटक महानवमीका दिन तलेजु भवानीको मन्दिर सर्वसाधरणका लागि खुल्ला गरिएको थिएन।
महिन्द्र मल्लको निधन हुँदा दशैं नै रोकिएको र इष्ट देवीको दर्शन गर्न समेत रोकिएको कथन रहेको बताउँछन् कर्माचार्य। त्यसयता गत वर्षमात्रै मन्दिर प्रवेशमा रोक लगाइएको उनी बताउँछन्।
‘महिन्द्र मल्ल बित्दा दशैं नै परेकोले दशैं नै रोकिएको थियो भन्ने छ। त्यो बेला जनतापनि कम नै थिए। पूजा र दर्शन गर्न सर्वसाधरणलाई समेत रोकिएको थियो भन्ने छ। हामीकहाँ टिपोट गरिएको अनुसार र मलाई जानकारी भए अनुसार मल्लकालपछि यसरी देवी दर्शन गर्न रोकिएको थाहा छैन।’ कर्माचार्यले भने।