PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

‘द मिस्ट्री अफ ए डार्क क्राउन’ : त्यहाँ होइन, यहाँ छन् दाउद!



पहिलोपोस्ट

‘द मिस्ट्री अफ ए डार्क क्राउन’ : त्यहाँ होइन, यहाँ छन् दाउद!

  • लिलाराज खतिवडा -

२०७२ साउन २३ गते पहिलोपोस्टमा ‘मुम्बई अण्डरवर्ल्ड डन’ दाउद इब्राहिमको एउटा रहस्यमय कथा लेखेर आइन्दा डन खोज्न नजाने निर्णय लिँदै कथालाई अन्त्य गरेको थिएँ।

तर, कथाहरू अन्त्य हुन मान्दा रहेनछन्। कथाहरू हमेशा शुरु हुन खोज्छन्। अनि सकिने नामै लिँदैनन्। चाखलाग्दो कुरा, बरु एउटा कथा–विष्फोट हुँदा हजारौं - लाखौं अरु कथाहरू उब्जिँदा रहेछन्। परमाणु नष्ट नभएजस्तै कथाहरू पनि नष्ट हुनै मान्दा रहेनछन्। बरु कथाहरूले अमिट छाप छाडिदिँदा रहेछन् मानिसका मनमष्तिस्कका अनन्त राजमार्गमा।

अस्तित्व ‘आइग्लास’ ठ्याक्कै मिलाएर हेर्दा जिन्दगीका कथाहरू अजर, अमर र अविनाशी लाग्छन्। त्यस्तो शुक्ष्म दर्शन गर्दा मृत्युका कथाहरू पनि यहाँ अजर, अमर र अविनाशी लाग्न थाल्छन्। प्रकारान्तरमा मृत्यु र जिन्दगीलाई मात्रै नभएर अस्तित्वका सारा आयामलाई कथाहरूले शाश्वत तुल्याइदिन्छन्। भन्न मन लाग्छ, कथाको महिमा साँच्चै नै विराट, विशाल र विहंगम छ।

हेर्ने हो, आज्माएर?

हुन त जिन्दगीमा मान्छेले सोचेजस्तो प्रायः हुँदैन। यहाँ प्रायः नसोचेको भइदिन्छ। यहाँ सम्भव मात्रै सफलिभूत हुने गर्दैन। अक्सर यहाँ असम्भव नै सफलिभूत हुने गर्दछ। तर, यसको हेक्का राख्ने कसले? त्यसैले यहाँ हमेशा कथाले जे सोच्यो त्यही मात्रै आइलाग्छ। भनिन्छ नि, कथाले मागेको खण्डमा जे पनि घटित हुनसक्छ।

कथाले नमागे?

बात खत्तम!

डनलाई खोज्ने मामिलामा पनि त्यस्तै हुनपुग्यो। घटनाहरू मेरा हिसाबले घटिरहेका थिएनन्। डनको तलाशमा मैले बारबार मात खाइरहेको थिएँ। तर पनि म ढिट भइदिन्थेँ। अनि बक्ररेखा झैँ बग्ने नयाँ यात्राहरूमा गोता लगाइदिन्थेँ। पैसा र सुरक्षाको पर्वाहविनै ओह्रालो!

एउटा भनाइ सुनेको थिएँ, सागरमा भरिसक्य डुबुल्की नलगाउनु। लगाइहाले मोती नटिपी नफर्किनु रे। पहिलो भागमा आफ्नो जन्मस्थानबाट एउटा मिशन शुरु भएर अमृतसर पुगेपछि लेखकलाई नै चकित तुल्याउँदै कथा टुंगिएको थियो। टुंगिएको? खासमा मिशन त त्यहाँ शुरु पो भएको रहेछ। त्यसपछि विश्वभरीका सारा नदीहरूमा अथाह पानी बगिसकेको छ। समयको तेजधारमा नजाने कतिकति भीमकाय चट्टानहरू टुक्रिएर धूलिसात भइसकेका छन्।

अभिनेता बन्ने प्यासले सर्वप्रथम यस लेखकलाई त्यस् अनकण्टार मुम्बई शहरमा पुर्‍याएको थियो। मुम्बई दुनियाँकै एउटा ‘टफ’ शहर। ‘रफ’ पनि। त्यहाँका ‘खौफ’ पनि भयानक। कस्तो भने, मुम्बई एकसाथ प्रख्यात र कुख्यात पनि। मुम्बईमा संघर्ष गर्नेहरूमा त्यो दुईवटा मध्ये एक हुने मौका प्रसस्तै। तर, टिकाऊ कुनै पनि लाग्थेनन्। त्यहाँ प्रख्यात पलभरमै कुख्यात र कुख्यात पलभरमै प्रख्यात हुन सक्थ्यो।

यस लेखकले मुम्बई शहरमा गर्न भ्याएको अथाह संघर्षले कलम र चेतना तिखार्न मद्दत गर्‍यो। अत्यधिक धाउन थालेपछि मुम्बई शहर र यसका कैयौँ पात्रहरू लेखकको सपनामा आउन थालेका थिए। कति सपनाले अल्मल्याउँथे। कतिले अघि बढ्ने बाटो पहिल्याउन मद्दत गर्थे। अनि उज्यालो र अँध्यारोको पर्वाहै नगरी खोज्न थालिन्थ्यो त्यहाँ, कथाहरू। जासुसी। थ्रिलर। हिंशा हत्याका अनेक रहस्यमय कथाहरू।

मुम्बई जस्तो शहरमा अरु के कथा खोज्नु? खैर, प्रेमकथा त जुनसुकै ‘जानरा’मा पनि फिट हुन सक्छ।

तथापि, मेरो टाउकोमा कथाको माग नितान्त भिन्न र क्लिष्टसमेत थियो। कथाले मागेन र म बलिउडको पर्दामा आउन सकिँन। तर, कथाले मेरा कानमा मुम्बई शहरका अँध्यारा गल्लीहरूमा छुपेका केही राज खुसुक्क बताइदियो। कथाले मलाई त्यहाँ ‘नूर ए खूदा’सँग साक्षात्कार गराइदियो। कथाले मलाई त्यहाँ ‘अमीरी’ र ‘मुफलीसी’को भेद खुट्याउन मद्दत गर्‍यो। मुम्बई शहरको ‘आगोश’मा मैले भोक र भोजन बिचको बाक्लो अन्तर पनि मनग्ये भोगेँ।

मैले ठानेँ, पर्दामा नउदाएर के भयो र? मुम्बई शहरले मलाई जुनसुकै बेला पर्दामा उदाउन सक्ने बनाइदियो।

थप केही राज खोल्नै पर्दा शुरुमा मुम्बई प्रति मेरो आकर्षण बलिउड भए तापनि त्यो विशाल समुद्रको किनारमा बारबार भोकभोकै भट्किएपछि कलम आफसेआफ तानियो, मुम्बई अन्डरवल्र्डतर्फ। त्यसो त म भोकभोकै भट्किन नै मुम्बई पुग्ने गर्थेँ। हरेक पटकको मेरो मुम्बई यात्रा पटक्कै सहज हुन्थेन। तर, मैले पटकपटक ‘सर्भाइभ’ गरेँ। यो मलाई डनकै आशिर्वाद हो कि परमात्माको?

हाहा... अहिलेसम्म खुट्याउन सकेको छैन! तर अझै पनि डन अर्थात् त्यो रहस्यमय ‘मास्टरमाइन्ड’ भेष बदलुवा म जस्तो महत्वाकांक्षा भड्किएको लेखकको खोजको प्रमुख पात्र भएर ‘जेहन’मा अड्किरहेको थियो। अज्ञात गुफामा अजिँगर झैँ ऊ कस्तो शित निद्रा सुत्दो हो?

जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै तत्पश्चात यसले त्यस अति रङ्गिन मुम्बई शहरमा अनेकौँ रहस्यमय मान्छेहरू भेट्दै गयो। भेट्दै नै गयो। त्यहाँ कहिले म ‘हिमाली सूर्या’ नामको काल्पनिक ‘तडीपार’ जस्तो हुन्थेँ। कहिले ‘अपोलो जे डेविड’ नामको यहुदी शरणार्थी जस्तो लागिदिन्थेँ। अनि कहिले केवल ‘राज’ भएर बरालिन्थेँ! कैयौँ पटक त ‘अनाम’ भएर मुम्बई शहरको रहस्यमय घना गर्तमा झनझन्

भासिँदै जान्थेँ, म।

तर, त्यतिबेला हतियारसमेत नबोक्ने म छोकरी, दारु र जुवातासबाट हमेशा टाढै रहन्थेँ। चाहिएका बेला दिमागको ढक्कन खोल्न वा बन्द गर्न मेरा लागि ‘साकिनाका’को चरेस नै काफी थियो।

मुम्बईमा प्रायः मैले आफ्नो वास्तविक पहिचान लुकाएँ र अनेक ‘एलियास’मा हिँड्ने प्रयास गरेँ। आखिर, डन खोज्न हिँडेको ‘शख्स’ले पनि त सोही अनुसार ‘एडवेन्चर’ लिनुपर्‍यो नि। परेन?

यात्रामा कहिले मजा आयो। कहिले नमजा। हलुवामा बालुवा वा बालुवामा हलुवा – यात्रामा बराबर। यात्रा हो, आराम कहाँ? त्यसैले जे आयो, ठहरै भएर पनि पचाइयो। नपचाए छादियो वा छेरियो। कुटाइ खाइयो। कुटियो पनि। अरुका बंगारा झारियो। आफ्ना करंग भाँचियो। यसै मेसोमा आफूभित्रको आत्मिक शक्तिसँग हठात् साक्षात्कार गर्ने मौका पनि पाइयो। स्वाद चाखियो र चखाइयो पनि।

‘डी कम्पनी’ले चलाएको भनिएको गोरेगाउँको एउटा विशाल सुपरमार्केटमा वाचमेन भएर केही महिना काम पनि गरेँ। पछि मलाई सुपरभाइजरले शंका गर्‍यो। म खुलेआम उसलाई कुटेर मुम्बई शहरको बाक्लो भीडमा मिसिएको थिएँ। त्यसपछि मैले टिटवालाको एउटा पुनर्स्थापना केन्द्रमा स्वयंसेवक भएर केही महिना ‘क्रिमिनल’ र ‘ड्रग एडिक्ट’लाई ध्यान योग सिकाएँ। डन हमेशा ‘एक स्टेप’ अगाडि हुन्छन् भने जस्तै यो पुर्नस्थापना केन्द्र ‘डी कम्पनी’को ‘अनिल राप्टे’ उर्फ ‘शाह जहाँ खाँ’ले चलाउँथ्यो। केन्द्रमा रहँदा मसँग घनिष्ट भएका डोंग्रीमा जन्मिएका ‘टेंगा फिरदौश’ले मलाई डनका बारेमा जति जानकारी कसैले दिन सकेनन्। ‘टेंगा फिरदौश’ले मलाई डोंग्री मात्रै नघुमाएर मेरो अनुरोधमा त्यहाँ एक महिनासम्म चुपचाप बस्ने प्रबन्ध पनि मिलाइदिए। त्यहाँ म एउटा ‘कन्स्ट्रक्सन साइट’मा मजदुरहरूसँग बस्थेँ। मा कस्सम, ती मजदुरहरूसँग एक महिना बस्दा जिन्दगीमा सबैभन्दा बढी मजा आएको थियो। मजदुर समूहको सरलता, प्रेम र भोजन अन्त खोज्दा पाइए त मर्नु!

अर्कातिर मलाई हमेशा अग्लो कद र अनुमान गर्न नसकिने आफ्नो ‘अटिट्यूड’ले निकै सतायो। अग्लो हुनुको खराबी कस्तो भने भीडभाडमा परैबाट पहिचानमा आउने संभावना बढी। तर, पछिपछि मैले चाहिएको बेला आफ्नो उचाइ अलिक कम देखाउने तरिका पनि सिकेको थिएँ। अनि म कहिले अग्लो त कहिले अलिक होचो भएर पनि भिडभाडमा पेश हुन्थेँ।

अर्कातिर यात्राहरूमा ‘अन्प्रेडिक्टेबल’ हिँड्नुको छुट्टै मजा हुनेहुँदा मेरा यात्राहरू हमेशा 'विन्दाश’ रहन्थे। अनि आवश्यक्तानुसार गम्भीर पनि। अथवा जिन्दगीकै महायात्रामा यस्तो खाले सुविधा धेरै कमलाई उपलब्ध होला भन्छु, म। किनभने, स्वस्फूर्त वा ‘स्पोन्टेनियस’ जिन्दगी बाँच्नुको मजा ढाँचा वा मर्यादामा हिँड्नेहरूलाई के थाहा?

डन खोज्दा कैयौँ रमाइला वा नरमाइला घटनाहरू सामुन्ने आउँदै गए। नियतवश वा अनियतवश कथाको प्लट परिवर्तन भइ नै रह्यो। जस्तो,

कपाल समेट्न वा टाउको दुखेर फेटा बाँध्दा मान्छेहरूले मलाई शिख वा ‘पन्जाबी’ देखे। जुँगा काट्दा मुस्लिम वा कुनै आतंककारी वा ‘पठान’ देखे। जुँगा ‘पुतली’ गर्दा मान्छेहरूले मलाई अग्लो हिटलर देखे वा अग्ले चार्ली च्याप्लिन भनेर मजाक उडाए। ‘क्लिनसेभ’ गर्दा मान्छेहरूले मलाई ‘चक्लेटी हिरो’ पनि भनिदिए भने जुँगा मात्रै राख्दा उनीहरूले मलाई ‘बहादुर’ वा राउडी राठोरसमेत भने। लामो कपाल जुरो बाँधेर आँखामा ‘सूरमा’ लगाउँदा त कतिले मलाई ‘किन्नर’ पनि भन्न भ्याए। अनि झुस्स दाह्री र जिंग्रीङ्ग कपाल देख्दा कतिले मलाई ‘पागल’ पनि भनिपठाए!

यहाँ बस् एक ‘लुक चेन्ज’ गर्दा जात, धर्म, पेशा सब बदलिँदो रहेछ। कति सजिलो, हगि?

यता टिनएजदेखि नै मलाई कपाल र दाह्री पाल्ने शौख। तर, अनेक कारणहरूले मलाई अलिक लामो पार्नासाथ आफ्नो कपाल र दाह्री सफाचट तुल्याउन बाध्य पार्थ्यो। मेरो चेहरा उपर अनेक मान्छेका अनेक अनुमान र प्रश्नहरूको अनावश्यक आक्रमणले मलाई असर गर्थ्यो। मुर्मुरिँदै सैलुन छिर्थेँ। अनि सफाचट!

त्यसपछि टप्किन्थे, थप रमाइला किस्साहरू। र, फुर्दै गरेका कथाका प्लटहरूमा अनायासै मिसिन पुग्थेँ, म। एकपटक कस्तो हुन पुग्यो भने, मुम्बईमा लोकल रेलयात्रा गर्दा, सडकमा बरालिँदा र कफीसपमा जाँदा मान्छेहरूले मलाई घुर्न छाडेनन्। लामो कपाल र लामै दाह्री तथा अग्लो सिकुटे कद देखेर मान्छेहरूले निकै पटक मलाई ‘आतंककारी’ समेत ठाने! नागपुर पुलिस समेत झुक्कियो। उसले मलाई पाकिस्तानी नागरिक भएको आरोप लगाएर केही दिन हिरासतमा लियो र धुँइपत्ताल अनुसन्धान गर्‍यो। तर, उसले कसैगरी ममाथि उसका आरोपहरू पुष्टि गर्न सकेन।

भारतमा कैयौँ सन्त, दार्शनिक, लेखक तथा कलाकारहरूको पहिचान उनीहरूको लामो कपाल र दाह्री पनि हो। साथै बलिउड र साउथ फिल्म इन्डस्ट्रीको ‘मेजर कम्पोनेन्ट’ नै हो, ‘स्टबल फेस’। त्यस्तो मुलुकमा मलाई दाह्री कपाल पालेर हिँड्दा विविध समस्या झेल्नुपर्‍यो। लाग्यो, कुनैबेलाको स्वर्ण भारत त आजकल बालुवाको महल जस्तो पो हुन पुगेछ। भारतमा नक्कली जिन्दगीको पल्ला भारी भइसकेको रहेछ।

अहिले त भारत उराठलाग्दो भइसकेछ!

कतिसम्म भने, चेम्बुरको टाटा युनिभर्सिटीमा पीएचडी गर्ने काठमाडौं कीर्तिपुर रैथाने घर भएको एउटा उडिया नेपाली भाइको निम्तो मान्न जाँदा मलाई त्यहाँका सुरक्षा दस्ताले शिरदेखि पाउसम्म नियालेर हेर्दै गेटमै रोके। निम्तो गर्ने भाइ गेटमै आएर, नेपालको लेखक दाजु हो भनेर मेरो पुस्तक देखाउँदा पनि उनीहरूले मलाई भित्र छिर्न दिएनन्।

अनि हामीले बाहिरै उत्सव मनाएका थियौँ। त्यहाँ अध्ययन गर्ने ठिटीहरूले समेत युनिभर्सिटी पछाडि सडकमा उभिएर ‘रिज्ला’मा फ्वाङ्फ्वाङ् गाँजा तानेको देखेर म निकै छक्क परेको थिएँ।

उनीहरूसँग छुटेर समय नगुमाइ म सिधै एउटा सैलुनमा छिरें। सैलुन त्यति भिड थिएन।

हजामले सोध्यो, ‘क्या चाहिए?’

मैले ठाडै भनें, ‘तेरा खोपडी!’

मैले मुम्बईको ‘टपोरी’ भाषा सिकेको थिएँ। मेरो ठाडो जवाफले ऊ अलिक डरायो।

मैले माहौल शान्त गर्दै भने, ‘दुकानदार को ग्राहक से कभी पुछना नहीं चाहिए कि क्या चाहिए। वह खूद बताएगा उसे क्या चाहिए! उतना धीरज और समझ नहीं है तो फिर हजामत काहे का?’

‘गल्ती हो गइ, साहेब। मुझे माफ करदो!’ अलिक डराएर हजामले भन्यो र आफ्नो औकातमा आयो।

खाली कुर्सीमा बस्दै मैले भनें, ‘टकला कर् मेरिको। और सुन् – क्लिन सेभ भी करने का!’

हजामले अलिक अन्कनाउँदै भन्यो, ‘इतने अच्छे बाल और दाढी मत काटो, साहेब। आप को बहुत जँच रहा है!’

मैले उसलाई प्रेमपूर्वक भनें, ‘काटे हुवे बाल फोगट में दे दुंगा। अभी टाइम का वाट मत लगा। काम चालू कर!’

त्यसपछि मात्रै उसले फटाफट मेरो कपाल काटेको थियो।

आफ्नै मुलुकमा पनि लामो कपाल काट्न जाँदा हजाम अन्कनाएको छ। अनि मेरो ‘ड्र्यागन डायलग’ खाएपछि त काम फटाफट!

यस्ता अण्टशण्ट घटना त कति घटे लेखेर साध्यै छैन। तर, डन खोज्न अज्ञात र खतरनाक इलाकाहरूमा बरालिनुमा जति जोखिमभरा मजा छ त्यसभन्दा पनि बढी त अनुसन्धान भ्याएर डनमाथि कलम चलाउनुमा अतिरेक छ। जस्तो कि अहिले भर्खर!

भनिन्छ नि, यदि पंगा लिनु नै छ भने बाघसँग लिनू। स्यालसँग के पंगा लिनू?

अनि हुन पनि कस्तो भयो भने, पाँच वर्षअघि ‘दाउद इब्राहिमको तलाश’ भन्ने कथा प्रकाशित गरेको केही समयपछि मेरा वरिपरि अनौठा मानिसहरू मडराउन थालेका थिए।

यदि म डनलाई खोज्छु भने, डनले पनि त मलाई खोज्दा हुन्! नखोज्लान् त?

नखोजे उनी ‘डन’ कहाँ?

अनि म एउटा ‘स्किजोइड लेखक’ कहाँ?

मेरो डर पहिलो कथा लेख्दै गायब भइसकेको थियो। शंकास्पद मानिसहरूसँग भेटघाट, लामो यात्रा र कामका कुराहरू गर्न म खप्पिस भइसकेको थिएँ। त्यसैले जसले जता बोलाए पनि गइदिन्थेँ। उनीहरूलाई भब्य प्रश्न सोध्थेँ। अनि उनीहरूका आश्चर्यजनक प्रश्नका जवाफ पनि दिन्थेँ। वा उनीहरूसँग सामान्य भलाकुसारी गरेपछि चिया कफी पिएर फर्किन्थेँ।

हुँदाहुँदै एक दिन एउटा निकै रहस्यमय सन्देश टप्कियो। सन्देशमा लेखिएको थियो, ‘अगर डन से मील्ना है तो केरेला आ जाओ। डन इधर छे महिने के लीए आएले हैँ।’

सन्देश पढेर मेरा आँखा फराकिला भए। आँखा अगाडि डनको रहस्यमय चेहरा नाच्न थाल्यो। म एउटा सुदूर भविष्यको झिल्काले सल्किन पुगेँ। अनि आफ्नो ओछ्यानमा हुर्हुरी बल्न थालेँ।

आँखा बन्द गरेँ र भावातीत भइरहेँ। लगातार स्वासप्रस्वासमा ध्यान गरेपछि मन चकमन्न भयो। आफ्नो तर्फबाट म कुनै विचार उमालिरहेको थिइँन। सुदूरको कुनै अज्ञात विचार तरंगलाई मष्तिस्कको कानले सुन्ने प्रयास गर्न थालेँ, म।

नभन्दै त्यहाँ मैले केही स्पष्ट आवाज सुनेँ। रेडियोको टावर टिपेजस्तै भयो। उठेर नुहाएँ। एक असिम ताजगीले मलाई अँगालोमा हाल्यो। अनि मैले फेरि एक पटक घर छाडेँ।

अर्को प्रहरमा म जोगबनीबाट कटिहार जाने रेलमा चढिसकेको थिएँ। तेस्रो मध्यरात सकुशल मुम्बई! समुद्री नुनिलो पानीको न्यानो सुगन्धले रोमाञ्चता बढाइदियो। घरबाट हिँडेको पाँचौ दिन बिहान म केरेला पुगिसकेको थिएँ।

प्राप्त ठेगाना अनुसार एउटा रोमन क्याथोलिक चर्चमा पुगेँ।

रिसेप्सनमा सोधेँ, ‘फादर जोन?’

अचानक...!

कसैले पछाडिबाट मेरो काँधमा हात राख्यो। फरक्क पछाडि फर्किएर हेरेँ। एक जना कालो वर्णका पादरी पावरवाला चस्माभित्रबाट मलाई नै झाँकिरहेका थिए।

उनले हल्का मुस्कानसाथ भने, ‘आइ एम फादर जोन!’

मैले नरम आवाजमा भनेँ, ‘गुड मर्निङ् फादर!’

मेरा आँखाहरूमा गढेर हेर्दै सेता लुगा र सेतै जुत्ता लगाएका मझौलो कदका पादरीले भारी आवाजमा सोधे, ‘गुड मर्निङ्! क्या चाहते हो?’

मैले सहजभावमा जवाफ दिएँ, ‘एक जर्नलिस्ट होने के नाते, मेरा मकशद सृफ आप से एक इन्टरभ्यू लेना है।’

तत्क्षण पादरीको फोन बज्यो,

दुनियाँ में लोगों ने दिल अपने फिर थामे

आया हुँ लेकर मैं फिर कितने हंगामे

जरा देखो कौन आ गया है

जमाने पे जो छा गया है

जमी किस पे है सब निगाहें

खुली किसकी खातिर ये बाहेँ

ऐसा दिलदार आया है कौन

मुझको पहचान लो मै हुँ डन ...

रिंगटोन सुनेर मेरो दिमाग खराब भयो। यो त कुनै हिन्दी सिनेमाको गीत जस्तो छ। वरपर केही रहस्यमय मान्छेहरू मडराउन थालेपछि मेरा आँखा खुले।

झसंग!

यस्तो लाग्यो, लामो निद्रा सुतेर उठेको थिएँ, म। कस्तो चहकिलो र यथार्थपरक सपना? फादर जोनको भेषमा डनको चेहरा मेरो मानसपटलमा झन्झनाइरहेको थियो। एक ‘रोमन क्याथोलिक फादर’को रुपमा इस्लाम रगतका डन? अनि उनको मोबाइलमा बजेको रहस्यमय र सुमधूर रिङटोन?

सपनामा सुनेको गीत मनमा पुनः बज्न थाल्यो,

मैं जिन्दगी की

बाजी लगाके

मौत से खेलता हुँ जूवा

ना मुझ को गम है

ना मुझ को पर्वाह

कौन मेरा दुश्मन हुवा ...

बहुत ही खतरनाक हुँ मैँ

हरेक पल में चालाक हुँ मैं ...

दुनियाँ फिर जितने आया कौन

मुझ को पहचान लो मैं हुँ डन !

पानीले मेरो तिर्खा मरिरहेको थिएन। के पिउने?

मेरो खोज जारी थियो।

यो खास् सपना आएपछि म घरमा बस्नै सकिँन। मनमा जतिबेला पनि सपनामा टप्किएको त्यो पादरीको चेहरा नाचिरहन थाल्यो। अनि मनमा गुञ्जिरहन्थ्यो, उसको फोनमा बजेको त्यही रहस्यमय ‘रिमिक्स रिंगटोन’, मैं हुँ डन...!

घरमा बस्न औडाहा हुन थालेपछि हल्का सामान प्याक गरेर फेरि एउटा नयाँ यात्रा तय गरेँ। अनि अबेर नगरी दक्षिणी सीमाना पार गरेँ। हेर्दाहेर्दै म केरेला। अनि सन्देशमा बताइएको ठेगाना अनुसारको रोमन क्याथोलिक चर्चमा बाइबल पढेको र प्रार्थना गरेको अभिनय गर्दै एक महिनासम्म बसेँ। त्यहाँको खानाले म बिरक्तिसकेको थिएँ। तर, फादर जोनको त्यहाँ अत्तोपत्तो थिएन।

त्यहाँ मलाई भनियो, ‘यहाँ कहिल्यै कुनै फादर जोन आएनन्!’

फेरि एक पटक बात खत्तम?

तर, होइन!

बात त त्यहाँ शुरु भइरहेको थियो। मलाई जसले त्यो सब बताइरहेका थिए, उनी नै फादर जोन लागिरहेका थिए। काटिकुटी उस्तै।

किनभने, चश्माभित्रबाट मलाई चियाइरहेका उनका शक्तिशाली आँखा ...। अनि सपनामा पनि मलाई त्यसरी नै दृष्टिपात गर्ने उनका चुम्बकीय आँखा ...!

आँखा झुठ बोल्दैनन्। चाहे सपनामा होस् वा बिपनामा।

स्वीकारेँ त मैले, ‘डन हर किसी से चन्द कदम आगे ही होते हैँ!’

उनले मलाई एउटा बाइबल उपहार दिएका थिए। जुन मसँग अझै सुरक्षित छ।

यसप्रकार, भारतका विभिन्न शहर जानु र बरालिनु मेरो आदत बन्दै गयो। अक्सर म मुम्बई नै बढी गएँ। त्यो कालो र सेतो दुवै ऊर्जाले घना शहर मेरो खोजको राजधानी नै हो भन्दा अतिशयोक्ति हुँदैन। खल्तीमा पैसा छ कि छैन थाहा हुन्थेन। तर, म मुम्बई पुगिसकेको हुन्थेँ। मुम्बई शहरले त्यसो त टिनएजदेखि नै मलाई तानेको थियो। फिल्मको प्यासन बोकेको जो कोहीलाई पनि त्यस जादुनगरीले तान्ने नै भयो। भनिन्छ, मुम्बई सपनाको शहर हो। सपना देख्ने, देखाउने अनि सपना किनबेच हुने रहस्यमय शहर। रहस्यमय यसकारण पनि कि मुम्बईको स्थापनाकालदेखि अहिलेसम्म यो शक्तिशाली शहर स्थानीयको भन्दा पनि बाहिरियाहरूकै दवदवामा छ। कुनै पनि शहरमा बाहिरियाहरूको पकड मजबूत हुनासाथ त्यहाँ अनेक कुत्सित चालहरू उम्लिन्छन्। चालहरू बुनिन्छन्। चालहरू खुस्काइन्छन्। अनि चालहरू पुनः पुनः बुनिन्छन्। कति चाल त गाँठा नै पर्छन्। अनि गाँठामाथि गाँठा थपिएपछि यथार्थ टीठलाग्दो पाराले आख्यानमा तव्दिल हुनपुग्छ।

मुम्बई शहरको रहस्यको समुद्र यति गहिरो छ कि त्यसले यदाकदा अत्याधिक माफिया जन्माएको मेक्सिकोलाई पनि माथ खुवाउँछ। बलिउडका अलावा मुम्बईको घना रहस्य ‘डी कम्पनी’मा गएर टक्क अडिन्छ। कुनै घटना सोही बिन्दुबाट शुरु हुन्छन्। अनि कति घटना त्यतै समाप्त पनि हुन्छन्। हमेशाका लागि वा पलभरका लागि। सब समान। किनभने, मुम्बईमा थोपा फैलिएर सागर बन्छ। अनि पलभरमा सागर सुकेर थोपा। भनेँ त, मुम्बईको जिन्दगीका कथाहरू यति चाखलाग्दा र चमत्कारिक छन् कि त्यहाँका गल्लीहरू घुम्दा चेतनामा औधि कुतिकुति लाग्छ। अनि सपनामा कथा। विपनामा कथा। जताततै कथा। जुनसुकै बेला कथा। थामेर नसकिने गरी बग्रेल्ती कथा!

तर, यो कथा चाँहि नितान्त भिन्नै र जोखिमले भरिएको। अनि यो कहिल्यै नसकिने रहस्यमय र भयानक। एउटा सनकी रिपोर्टरको अभिप्सा, कि दुनियाँको सबैभन्दा खतरनाक शख्स खोज्ने काम; याने डन खोज्ने काम, के सानोतिनो मजाक हो र? लेखकले कुनै ‘टोलेगुण्डा’ नभएर दुनियाँकै एकमात्र जिवित ‘डन’ खोजिरहेको हो – दाउद इब्राहिम! उनी भारतको प्रमुख टाउको दुखाइ भए तापनि हजारौँ व्यक्ति र परिवारकै मसिहा। तर, विडम्बना के छ भने, हामीकहाँ कुनै पनि अनुसन्धान भ्याएर फर्किँदासम्म रिपोर्टर भूतपूर्व भइसकेको हुन्छ!

वास्तवमा दाउद इब्राहिम बिना मुम्बई अधुरो छ। अथवा यसलाई यसरी लेखौँ, यदि डनलाई मुम्बईको कालो रजतपटबाट निकालिदिने हो भने मुम्बईको शहरको सारा ‘थ्रिल’ नै गायव हुन्छ। डनविना मुम्बई अधूरो। सुनसान। साँच्चै नै डनविना सारा मुम्बई अँध्यारो! बलिउडका कैयौँ फिल्म डन वरिपरि घुमेर बनाइएका छन्। भारत लगायत अन्य केही मुलुकको ‘मस्ट वान्टेड लिस्ट’मा छन्, ‘मुम्बई अन्डरवर्ल्ड’का ‘बेताज बादशाह’ दाउद इब्राहिम! टाउको निकै ठूलो छ उनको। कदले अलिक होचा लाग्छन्। तर, दिमागले उनी निकै शातिर कहलिएका।

उनी कहाँ छन्?

यो लगायत अरु धेरै प्रश्नहरू कैयौँ खुफिया एजेन्सीको टाउको दुखाइको विषय हो। तर, आज म उनका बारे दुनियाँमा कसैले गर्न नसकेको खुलासा गर्न गइरहेको छु।

कतिले यसलाई केवल एक आख्यान भन्लान्। कतिले यथार्थ भनेर पढ्लान्।

वा कसैले भन्लान्, वाह्!

अनि कसैले यसलाई वाहियात पनि भन्न सक्छन्। तर, ती सब कुराको यस लेखकलाई पर्वाह भए पो?

त्यसैले डन खोज्नतर्फ एकाग्र हुनु नै हाललाई वान्छनीय ठहर्छ।

एकातिर भारतको दावा छ कि डन पाकिस्तानमा गुँड हालेर बसेका छन्। उता पाकिस्तानले यो कुरा स्वीकारे पो? मेरो चाहिँ दावा के छ भने, डन नेपालमा छन्। तर, यसलाई यसो भन्नु पर्ने हुन्छ, डन नेपालमा पनि छन्। किनभने, डनका अनेक रुप छन्। एक ठाउँमा मात्रै छन् भन्नु उनलाई कम आँक्नु वा चिन्न नसक्नु नै हो। भारतको खुफिया एजेन्सीले डनसँग प्रविधिको चरम प्रयोगका कारण मात खाइरहेको हो। भेष बदल्नु, नयाँ पहिचान बनाउनु र अति नै प्रतिभाशाली रहेर आफ्नो दवदवा कायम राख्न सक्नु डनका खुबी हुन्। तसर्थ, उनी अनेक भेष बदलेर विश्व घुम्छन्। अनेक ठाउँमा अनेक पहिचान नै डनका खासियत हुन्। उनले ठाउँठाउँमा ‘डुप्लिकेट’ पनि राखेका छन्। हाल उनी ‘डी कम्पनी’को भावी ‘लिगेसी’ विनिर्माण गर्न चरम मौनतामा बिराजमान छन्। र, एक दिन अचानक त्यो मौनता तोडिनेछ। अनि यसको लागि लामो कुर्नुपर्ने छैन।

यस्ता चमत्कारिक रुपमा गुमनाम डनको खोजी गर्नु र उनीमाथि कथा लेख्नु कति मुस्किल काम होला? के तपाईं अनुमान लगाउन सक्नुहुन्छ? उनका बारेमा फेला परेको एक तथ्यले उनकै बारेको अर्को तथ्यलाई काट्छ। वास्तवमै डन अति ‘कम्प्लेक्स्ड’, ‘प्याराडक्सिकल’ र ‘पावरफुल’ लाग्छन्। सन् १९९३ को दर्दनाक ‘मुम्बई बम ब्लास्ट’मा आरोपित भएपछि दुबई भागे भनिएका डन धेरै कारणहरू लाई मध्यनजर राख्दै खासमा रातारात नेपाल आएका थिए। पक्राउ पर्दा फाँसीको सजाय हुनसक्ने अवस्थामा रहेका डनलाई त्यतिबेला दुबई पलायन हुनुभन्दा नेपाल घुस्नु अति सहज थियो।

झापाको धुलावारीमा निकै अघिदेखि ‘मुम्बई अन्डरवर्ल्ड’को तस्करी धन्दा सक्रिय थियो। हङ्कङ, थाइल्याल्ड र सिंगापुर जस्ता मुलुकबाट आयातित सामान, लागू औषध, सुन र हातहतियारसमेत भारत तस्करी गर्ने त्यहाँको कुख्यातिमा ‘मुम्बई अन्डरवर्ल्ड’को पहुँच सिधै त्यतिबेलाको शक्तिकेन्द्र दरबारसँग थियो। स्व. रानीसँग डनका कैयौँ ‘कफी सेसन’ भएका थिए। स्व. राजा र पूर्व अधिराजकुमारहरूसँग पनि डनको न्यानो सम्बन्धलाई जानकारहरू नकार्न सक्दैनन्। हुँदाहुँदै पूर्व युवराजको समेत डनसँग सम्बन्ध रहेका समाचारहरू प्रकाशित भएका थिए। तर, यस्ता खबरहरूलाई मिडियाले खासै पुष्टि गर्न भने सकेनन्। घटनाहरू यति बिघ्न रहस्यमय र माथिल्लो स्तरका छन् कि ऐरेगैरेको पहुँच त्यहाँ लगभग असम्भव! धुलावारीका व्यापारी शशी खतिवडा, पूर्व मन्त्री मिर्जा दिलशाद बेग, व्यवसायी जमिम शाह लगायत केही रहस्यमय हत्याकाण्डमा ‘मुम्बई अन्डरवर्ल्ड’ आरोपित छ। तर, यस्ता ‘असासिनेसन’का फाइलहरू अनिर्णित नै कतै ‘डम्प’ भएका हुन्छन्। अब यी नितान्त पुराना कुरा भइसके।

उता भारतीय खुफिया एजेन्सीको अप्ठ्यारो के छ भने, डनले कस्मेटिक सर्जरी गरिसकेका छन् र उनी आवश्यक्ता अनुसार तेह्र वटासम्म ‘एलियास’ अर्थात फरक फरक रुपमा संसार विचरण गर्ने गर्छन्। यस हिसाबमा प्राप्त सूचनाहरूलाई गुणन गर्दा डन कतिपय ‘एलियास’ त भारत र नेपालमा नै ‘मेण्टेन’ गर्ने गर्छन्।

माथि वर्णन गरे झैँ कतै उनी ‘क्रिश्चियनका फादर’ छन् त कतै मुश्लिमका मौलाना वा हिन्दु साधु। कतै उनी पुलिस अफिसर छन् त कतै व्यापारी। पाँच फिट चार इञ्च उचाइका यी ‘पोलिम्याथ माफिया किंग’ कतै नेता छन् त कतै अभिनेता। कतै संगीतकार त कतै चित्रकार। बुझ्नु भएन? डनका किस्साहरू यस्तैयस्तै हुन्छन्। उनी अँध्यारो दुनियाँका एक खतरनाक ‘म्यास्ट्रो’ नै हुन्। निश्चय नै डनलाई पाकिस्तान बसेर भारतसँग खेल खेल्न अलिक ‘मधूरो’ नै हुन्छ जति नेपालमा बसेर भारतसँग उधूम मच्चाउँदा उनलाई ‘चहकिलो’ हुने गर्छ। फेरि, डन भनेको देश दुनियाँलाई चक्मा दिएर हिँड्ने ‘शख्स’! इशान देखाएर नैरोत्य हान्ने उनीहरूको आदत जो हुने गर्छ।

नत्र डन कहाँ?

त्यसो त पाकिस्तानसँग जरुर डनको गुप्त साँठगाँठ छ। अनि उता अनेक मुलुकका अनेक गैह्रकानूनी धन्दामा ‘डी कम्पनी’को बर्चस्व छ। ‘बोकोहराम’सँग यसको गहिरो सम्बन्ध छ। यसको काम गर्ने तौरतरिका अहिले बिल्कुलै फेरिएको छ। ऊ अहिले प्रविधिमा अति चुस्त भएको छ। ऊ कहाँ के गरिरहेको छ भनेर कसैले सुँघ्न समेत सक्दैनन्। उता पाकिस्तानी खुफिया एजेन्सी आइएसआईलाई पनि डनले लगानी गरेका छन्। लश्कर ए तोइवामा पनि उनको कुश्त लगानी छ। तर, उनको मुख्य न्यानो गुँड भने नेपालमा छ। त्यसो त डनका न्याना गुँडहरू दुनियाँमा जताततै होलान्। भन्छ नि ‘हेडक्वार्टर’, ‘मुम्बई अन्डरवर्ल्डको हेडक्वार्टर’, त्यो भने नेपालमै छ।

गोप्य कुरा त जनमानसमा कतिसम्म छुपाइएको छ भने, माओवादी जनयुद्धको कतिपय लगानीको स्रोतमा ‘लश्कर ए तोइबा’ पनि जोडिन्छ। त्यसै जनयुद्धका बेला आइएसआइ र लश्करका कैयौँ गुरिल्ला नेपाल घुसेर यहाँका नतोन्नत पहाडका पठारहरूमा ‘केमोफ्लेज्ड’ भएका थिए। अहिले त उनीहरूले अत्याधिक बच्चाहरू पनि कोरलिसके होलान्। यो संगठनको नाम दरवार हत्याकाण्ड २००१ सँग पनि जोडिन्छ। फेरि अर्कातर्फ माओवादीहरूलाई भारतीय खुफिया एजेन्सी ‘र’को समेत पैसा खाएको आरोप लाग्ने गरेको छ। यस अर्थमा माओवादीहरू नै बाठा रहेछन् कि उनीहरू भारत र पाकिस्तान जस्ता कट्टर दुश्मनी भएका मुलुकहरूसँग छुट्टाछुट्टै या एकसाथ हात मिलाउन सफल मानिए। उनीहरूको खेल खेल्ने तरिकालाई ‘दाद’ दिनैपर्छ।

भारतसँग चरम दुश्मनी मोल्ने पाकिस्तानले मौका पर्दा भारत हान्ने दाऊमा नेपाली भूमिलाई दुरुपयोग गरेका समाचारहरू बजारमा राम्रोसँग ‘डाइजेस्ट’ नहुँदै बासी हुन पुगेको वर्तमान अवस्थामा भारतीय खुफिया एजेन्सी ‘र’ले पनि नेपालमा आफ्नो चलखेल बढाइसकेको छ। यहाँका नदीनाला र बाँधहरूमा उसले नियन्त्रण जमाइसकेको छ। उसका हाकिमको पटकपटकको रहस्यमय नेपाल भ्रमण र बहालवाला प्रधानमन्त्री लगायत अन्य उच्चपदस्थ व्यक्तिहरू सँगको तारन्तार भेटघाटले भयंकर तरंग पनि ल्याएकै हो। भूमिका जसरी बाँधे पनि माथि लेखिएका कतिपय कुराहरूको अनुसन्धान काठमाडौं वा नयाँ दिल्लीमा सम्भव नभएर पनि यस लेखकलाई कैयौँ पटक मुम्बई पुग्नु परेको थियो। किनभने, जे अन्त भेटिँदैन, त्यो अक्सर फेला पर्ने गर्दछ, मुम्बई शहरमा।

जसले जता दाबी गरे पनि डन भने डोंग्रीमा नै छन्। पहिले उनी कि काठमाडौं हुन्थे कि डोंग्री। तर, दरबार हत्याकाण्डपछि बिरलै काठमाडौं आए। उनीसँग कैयौँ नेपाली युवकहरू पनि काम गर्छन्। जसमध्ये डब्बु थापा उर्फ ‘दानियल सिं’ उनका दाहिने हात मानिन्छन्। स्वस्थ हुँदा डन सामान्य वा असामान्य भेषमा रेलमै यात्रा गर्थे। त्यो पनि ‘सेकेण्ड क्लास’मा। तर, अहिले खराब स्वास्थ्यका कारण केही वर्षदेखि जन्मस्थानमै प्राण त्याग्ने स्वेच्छामा उनी विशेष खुफिया सुरक्षा संयन्त्र रचेर डोंग्रीमा नै बसिरहेका छन्। सूत्र बताउँछ, ‘वास्तविक दाउद डोंग्रीमा बस्छन् र अरु स्थानमा आवश्यक्ता अनुसार उनका डुप्लिकेटहरू विचरण गर्छन्।’

हुन पनि त्यही भएर उनी डन भए। आफ्नो घर छाडेर भाग्या’ भए उनी डन कहाँ? भगौडा कहिँ डन हुन्छ? त्यसैले डन डोंग्रीमै हुनु र भारतीय खुफियाले उनलाई दबोच्न नसक्नुका पछाडि उनको अथाह अँध्यारो शक्ति, उनका लागि ज्यान दिन तयार हजारौँ भक्त, चुस्त प्रविधि र अकूत सम्पत्ति नै हुन्।

तर, अब त उनी बुढा भएनन् र?

भए।

त्यसैले उनी आफ्नो उत्तराधिकारीलाई अत्यावश्यक तालिम दिन ब्यस्त छन्। ताकि भविष्यमा उसले उनको ‘डार्क क्राउन’ ठीकसँग सम्हालोस्। तसर्थ डोंग्रीबाहेक उनी अन्त कहीँ हुनै सक्दैनन्। भए उनको अथाह ‘अण्डरवर्ल्ड’ शक्तिमाथि नै शंका गर्नुपर्ने हुन्छ। त्यसैले यदि उनी पक्का डन भए आफ्नो जन्मस्थान डोंग्रीमा नै अजिँगर सुताइ सुतिरहेका छन्। हजारौँ भक्तहरूले घेरिएर डोंग्रीमा नै बिराजमान छन्। दुबई, पाकिस्तान वा अन्य स्थानमा उनको अथाह कारोबार र लगानी छ। अनि नेपाल चाहिँ संगठन चलाउने उनको प्रमुख राजधानी!

नेपालमा जति ‘आपराधिक सहजता र संरक्षण’ विश्वमा अन्त कहाँ?

(यो कथा लिलाराज खतिवडाको प्रकाशोन्मुख कथा संग्रह नयाँ शाषकबाट लिइएको हो।)

डिस्क्लेमर : ‘डन २ : द मिस्ट्री अफ ए डार्क क्राउन’ पहिलोपोस्टमा प्रकाशित कथा ‘दाउद इब्राहिमको तलाश’को सिक्वेल हो। यस कथाका पात्र तथा घटनाहरू काल्पनिक हुन्। यथार्थको झल्को दिन यस कथामा साहित्य उडानको भरपूर फाइदा लिइएको छ। साथै केही पात्र, स्थान तथा घटनालाई जस्ताको त्यस्तै वा नाटकीय ढंगले प्रस्तुत गरिएको छ। पढ्नुहोस् पहिलो भाग : 

दाउद इब्राहिमको तलाश

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell