PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अन्धविश्वासको जालोमा जेलिनेहरु बन्दै 'हत्यारा'



पहिलोपोस्ट

अन्धविश्वासको जालोमा जेलिनेहरु बन्दै 'हत्यारा'

काठमाडौं : अपराध किन हुन्छ? मानिसले मानिसलाई किन मार्छ? यी दुई कुराको जवाफ घटना र घटना गराउने व्यक्ति समातिएपछि फरकफरक उत्तर भेटिन्छ। तर, सामान्यतया अपराध र हत्याका घटनामा केही 'समान कारण' भेटिन्छन्। आर्थिक लेनदेन, आवेग,  रिसइवी, मदिरा धेरैजसो घटनामा जोडिने गर्छ। धेरै अपराध त आर्थिक पाटोसँगै जोडिएर आउँछ।

अन्धविश्वासका कारण पनि हत्या र अरुखाले अपराधका घटना हुने गर्छन्। बोक्सी, धामी, झाँक्रीजस्ता घटनामा मानिसले विश्वास गर्दा हत्याका घटनाहरु सतहमा आइरहन्छन् बेलाबेलामा।

पासोको प्रलोभनमा हत्या

केही दिनअघि महानगरीय अपराध महाशाखाको टोलीले मकवानपुर घर भएका २३ वर्षीय सविन प्रजा, मोरङ पथरी घर भएका २० वर्षीय सुमन मगर र १८ वर्षीय प्रविना प्रजालाई नियन्त्रणमा लियो हत्याको अभियोगमा। झन्डै एक महिना अघि भएको घटनामा उनीहरूको संलग्नता देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो। र, यो घटना त्यस्तै अन्धविश्वाससँग जोडिएको।

भदौ २५ गते बिहान साढे ६ बजे ललितपुरको सुनाकोठीमा नुवाकोट घर भएकी ४५ वर्षीय कमला आफू बस्ने टहरामा मृत फेला परेकी थिइन्। घाँटी कसेर हत्या गरेको प्रहरी अनुसन्धानमा देखिएको थियो। प्रहरीले एक महिनासम्म अनुसन्धान गर्‍यो। त्यसपछि मात्र कमलाको हत्या उनीहरू तीन जनाले गरेको देखियो।

प्रहरीले उनीहरूलाई पक्राउ गर्दा समेत हत्याको कारण खुलेको थिएन। कमलाले लगाएका सुनका गहना नभएकाले कतै लुटपाट वा चोरीको लागि नै घटना भएको हुनसक्ने प्रहरीको अनुमान मात्र थियो। कमलाको हत्या कुनै लुटपाट, चोरी, रिसिइबी  र अन्य सामान्य कारणमा भएको थिएन। उनको हत्या अन्धविश्वासले नै सृजना गराएको थियो। पक्राउ परेका तीन जनाले मानिस झुन्डिएको डोरी प्राप्त गरे करौडौं रुपैयाँ वा विभिन्न शक्ति प्राप्त हुने गरेको थाहा पाएपछि उनीहरूले हत्या गरेका थिए। मानिस झुन्डिएको डोरी नभेटिएपछि उनीहरूले योजना नै बनाएर कमलाको डोरीले कसेर हत्या गरेका थिए। अनि त्यही डोरी लिएर फरार भएका थिए।

हत्या गरेको भोलिपल्ट जब नुहाई धुवाइ र पूजा गरेर डोरीलाई ऐनामा देखाए त्यसपछि उनीहरूको अन्धविश्वासको डोरी चुँडियो। उनीहरूले यस्तो डोरीमा शक्ति हुने र ऐनामा नदेखिने सुनेका थिए। तर सुनेको जस्तो भएन।

'यस्तो घटना मेरा लागि नौलो हो। डोरीकै लागि अन्धविश्वासमा परेर हत्या गरेको देखियो। घटनामा यस्ता कारणहरू बिरलै भेटिन्छ। यो अन्धविश्वासले सृजना भएको अपराध हो,' महानगरीय अपराध महाशाखाका एसपी कृष्ण पङ्गेनीले भने।

मानव बलिमा युवती

२०७६ साल पुसमा महानगरीय प्रहरी परिसर काठमाडौँले 'बाबा' नाम दिएर कभर्ड अपरेसन गर्‍यो। जुन अपरेसमा प्रहरी सफल पनि भयो। एक युवती बलि दिनबाट जोगिइन्। काठमाडौँबाट एक युवतीलाई मोडल बनाउने भन्दै भारत लगिएको थियो। तर, प्रहरीले भारत नछिर्दै विराटनगरबाट युवतीको उद्धार गर्‍यो भने घटनामा संलग्नलाई नियन्त्रणमा लियो।समातिनेमा नवलपरासी कावासोती घर भएकी २६ वर्षीय कृष्णा तामाङ, सप्तरीका ४१ वर्षीय उमेश शाह, ३५ वर्षीय उमेश माझी, मोरङका ५१ वर्षीय दिलीप पोदार, धादिङकी २४ वर्षीय दिलकुमारी बुढामगर, धादिङकी २६ वर्षीय प्रेममाया तामाङ थिए।

मोडल भनिएकी युवतीले आफूलाई बलि दिने योजना बनाएको पत्ता पाएपछि प्रहरीलाई खबर गरेकी थिइन्। २०७६ पुस ४ गते महानगरीय प्रहरी परिसरमा उजुरी परेपछि प्रहरीको टोली काठमाडौंबाटै परिचालित भएको थियो। तीन दिन मोडल युवतीको निगरानी गर्दै विराटनगर पुगेको थियो प्रहरी। विराटनगर पुगेर मोडलिङको लागि बोलाएका आयोजकको गतिविधिमा शङ्का लागेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको थियो।

प्रहरीको अनुसन्धानमा उनलाई भारतमा बलि दिनको लागि केही रकम दिएर मानिसहरू लगाएको खुलेको थियो। त्यसपछि पनि फाटफुट बलिको नाममा युवतीहरूको हराउने गरेका थिए। यस घटनामा मुख्य कारण अन्धविश्वास नै जोडियो। केही रकम दिएर प्रलोभनमा पारी मानिसलाई बलि दिन तयार गरिएको थियो।

'धेरै जसो घटना आर्थिक, आवेग, रिसिइबीकै कारणले हुने गरेको छ। केही घटनाहरू मात्र अन्य कारणहरूबाट प्रेरित भएर गरेको देखिन्छ,' नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले भने।

श्रृङ्खलावद्ध अपराध

भदौको अन्तिम हप्ता प्रहरीले बोक्सी भन्दै कुटपिट गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको थियो। घटना देशको दुर्गममा होइन, देशकै राजधानी काठमाडौंमा भएको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पीडित महिलाका श्रीमान सहित चार जनालाई नियन्त्रणमा लिएको थियो। जनार्दन पाण्डे, दशनारायण महर्जन, दिपेन्द्र कुमार थिङ र जितेन्द्र महर्जन पक्राउ परेक थिए। उनीहरूले भदौ २० गते स्वयम्भू स्थित एक होटेलमा महिलालाई झारफुक गर्ने भन्दै कुटपिट गरेका थिए। महिलाका श्रीमानले ललितपुरबाट शरीरमा देखिएको समस्या समाधान गर्न भन्दै स्वयम्भूमा दीपेन्द्रकुमार थिङकहाँ पुर्‍याएका थिए। थिङ झारफुक गर्ने व्यक्ति हुन्। उनले महिलाको शरीरमा बोक्सी लागेको र कुटपिट गरेपछि हट्ने बताएपछि कुटपिट गरेका थिए। उनीहरू तीनै जनाले मिलेर कुटपिट गरेको उजुरी प्रहरी कहाँ परेपछि उनीहरूलाई नियन्त्रणमा लिएको थियो। पीडित महिला नै प्रहरी कहाँ उजुरी दिन पुगेकी थिइन्। अहिले यो केस अदालतमा विचाराधीन रहेको छ।

जतिजति समाजमा साक्षरता दर बढ्दै गएको छ, यस्ता अन्धविश्वासबाट हुने अपराध पनि घटेकै छन्। बोक्सी भन्दै बाहिर आएका घटना बढेको देखिन्छ। यस्ता घटना लुकाउन हुन्न भन्ने मनोविज्ञानले काम गरेकाले पनि धेरै केस बाहिरिएको हुनसक्छ। आर्थिक वर्ष २०७७/७८ बोक्सीसम्बन्धी घटनाबाट मानिस पीडित भएको तथ्याङ्कको ग्राफ उकालो लागेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा ७९ प्रतिशतले बढेको छ यस्तो केस। त्यस वर्ष ६१ वटा घटना भएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए।

आर्थिक वर्ष २०७५/७५ मा देशभर ४६ वटा घटना बोक्सीको आरोपमा भएका थिए। आर्थिक वर्ष २०७६/७७ मा ३४ वटामा घटेको थियो।

त्यस्तै, विभिन्न धार्मिक गुरु, रिम्पोछे, पास्चर लगायतले धर्मको नाममा यौन शोषण गरेको घटना समेत बेलाबेलामा सार्वजनिक हुँदै आएको छ। मानिसहरू आफूलाई लागेको रोग वा अन्य कमजोरी हटाउने भन्दै अन्धविश्वासमा परेर यस्ता घटनाको सिकार बनिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell