PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

दर्शक नआएपछि हलबाट हटाइयो 'डाँडाको वरपीपल', शोभितको दाबी : विवादले होइन, अझै महिनौंसम्म दर्शक आउँदैनन्



पहिलोपोस्ट

दर्शक नआएपछि हलबाट हटाइयो 'डाँडाको वरपीपल', शोभितको दाबी : विवादले होइन, अझै महिनौंसम्म दर्शक आउँदैनन्

काठमाडौं : शोभित बस्नेतको निर्देशन रहेको फिल्म 'डाँडाको वरपीपल' असोज २६ गते देशभर रिलिज भएको थियो। दशैँको छेकोमा रिलिज भएको यो फिल्म कोरोना कहरपछिको निषेधाज्ञापछि रिलिज भएको पहिलो नेपाली फिल्म हो।

लामो समयसम्म ठप्प रहेको मनोरञ्जन क्षेत्रलाई कसरी ब्युताउँने भन्ने विषयमा छलफल भइरहँदा मल्टिस्टार फिल्म 'डाँडाको वरपीपल' रिलिज भएको थियो। फिल्मले हलमा दर्शकहरुलाई तान्ने अपेक्षा राखिएको थियो। फिल्ममा कलाकारहरु शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल लगायत सलोन बस्नेत र रुवीना थापाको अभिनय रहेको छ। तर, नाम चलेका कलाकार अटाएको यो फिल्म हेर्न सिनेमाहलमा भने दर्शक पुगेनन्।

फिल्म रिलिज भएको एकसाता बितिसक्दा समेत यो फिल्मको व्यापार भने 'शून्य' बराबर रहेको छ।

'डाँडाको वरपीपल' हेर्ने दर्शकहरु नआएको क्युएफएक्सका सीईओ रोशन अडिगाले बताए।

'यो फिल्ममा दर्शकहरु खासै आएनन्। एउटा शो मा चार/पाँच जना मात्रै दर्शक आए। जसकारण छाँया, लाबिम र सिभिलबाट यो फिल्म हटिसकेको छ। अब भक्तपुरको हलमा मात्र बाँकी छ। यसको औसत व्यपार समेत हुन सकेन।'

जेम्स बोन्डको हलिउड फिल्म ‘नो टाइम टू डाइ’  हेर्न भने दर्शक आएको उनले जानकारी दिए। फिल्ममा औसत् ३० देखि ३५ प्रतिशत अकुपेन्शीमा दर्शक आइरहेको उनी बताउँछन्। अहिले नेपाली फिल्महरु रिलिज गर्ने 'सेड्युल' नरहेको पनि उनले बताए।

त्यसैगरि क्युब सिनेमाका सञ्चालक सुमित मैनाली नेपाली फिल्म हेर्न दर्शक नै नआएको सुनाउँछन्। भन्छन् 'दर्शक नआएर सिट नै खाली छन्। सुरुमा एक दुई जना आए पनि अहिले दर्शक शून्य नै छ। हलिउडमा पनि दर्शक न्युन नै छन्।'

किन आएनन् दर्शक ?

'डाँडाको वरपीपल' फिल्मको प्रचारप्रसारकै क्रममा महानायक विवाद उठेको थियो। जसकारण पनि दर्शकहरु रिसाएर फिल्म हेर्न नआएको भन्ने अनुमान गरिएको छ। सामाजिक संजालमा फिल्म बहिष्कारको अभियान नै चलेको थियो।

तर, यस फिल्मका निर्देशक शोभित बस्नेत भने महानायक विवादले फिल्ममा असर नगरेको बताउँछन्।  उनले आफ्नो फिल्म मात्र नभएर अझै सात/ आठ महिना अन्य फिल्महरु हेर्ने पनि दर्शक नआउने दाबी गरे।

'महानायक विवादले फिल्ममा कुनै असर परेको छैन। राजेशजी को पनि कति धेरै म्युजिक भिडियोहरु आउँछन्। ती सबै गीतहरु हिट हुनुपर्थ्यो तर युट्युव टेन्डिङको ५० मा समेत आउँदैन। त्यस्तो कुराले असर गर्ने भएको भए राजेश हमालको जुन फिल्म पनि सुपरहिट हुने थियो' उनले भने।

शोभितले आफूले यो फिल्म हलको लागि नभएर ओटीटी प्याल्टफर्मको लागि निर्माण दाबी गरे। हाल ठप्प रहेको हललाई चलायमान बनाउन फिल्म रिलिज गरेको र तिहारपछि फिल्मलाई ओटीटी प्याल्टफर्ममा रिलिज गर्ने उनले बताए।

भन्छन् 'यो फिल्म मैले हलको लागि बनाएको होइन। ओटीटीको लागि बनाएको हो। हलमा जति दर्शक आए त्यो निर्मातालाई फाइदाको नै कुरा हो। किनभने निर्माताहरुलाई चलचित्र विकास बोर्डले सहयोग गरेको छ। बुढासुब्बा डिजिटल कम्पनि पनि सन्तुष्ट छ। उहाँहरुले मलाई अर्को फिल्ममा समेत साइन गराइसक्नु भएको छ। जसको छायाङ्कन तिहारपछि हुनेछ। फिल्मलाई असर परेको भए मलाई अर्को फिल्ममा साइन गर्थेन होला।'  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell