PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

एमाले र कांग्रेसको आग्रहमा प्रदेश १ को बैठक स्थगित, माओवादी केन्द्रको असहमति



अनन्तराज न्यौपाने

एमाले र कांग्रेसको आग्रहमा प्रदेश १ को बैठक स्थगित, माओवादी केन्द्रको असहमति

काठमाडौं : प्रदेश नम्बर १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित गरिएको छ।

आजको बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यतालिका थियो। तर, सत्तारुढ नेकपा एमाले र प्रतिपक्ष दल नेपाली कांग्रेसले बैठक सार्न माग गर्दै सभामुख प्रदीप कुमार भण्डारीलाई निवेदन दिएपछि आजको बैठक स्थगित गरिएको हो।

सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले आफ्नो दलको अधिवेशन चलिरहेकोले सबै प्रदेशसभा सदस्यहरु उपस्थित हुन नसक्ने भन्दै बैठक स्थगित गर्न निवेदन दिएका थिए। यस्तै, नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा पूर्वमा भ्रमणका क्रममा आउन लागेकाले आजको बैठक स्थगित गर्न उनले निवेदन दिएका थिए।

सभामुखले दुवैको निवेदनलाई आधार बनाएर कात्तिक १५ गतेका लागि बैठक बोलाएको प्रदेशसभा सचिवालयले जनाएको छ।

यता, विपक्षी दल नेकपा माओवादी केन्द्रले भने सभामुखले बैठक सारेकोमा असहमति जनाएको छ। माओवादी केन्द्रका इन्द्र बहादुर आङबोले सभामुख सत्तारुढ दलको इशारामा चलेको भन्दै विरोध जनाएका छन्। उनले आजै विश्वासको मतको प्रक्रिया छिनोफानो हुनुपर्ने माग समेत राखेका छन्।

'पटकपटक यसरी बैठक सारेर प्रणाली ध्वस्त बनाउने प्रयास भयो। विश्वासको मतको फैसला आजै गर्नुपर्छ' उनले भने।

सभामुखले भने एमालेसँगै माओवादी केन्द्र सहभागी गठबन्धनमा रहेको नेपाली कांग्रेसको निवेदनकै आजको बैठक स्थगित गरेका हुन्। देउवाको भ्रमणलाई देखाएर आजको बैठक स्थगित गर्न भनिए पनि प्रदेशभित्र कांग्रेसमा सत्ता समीकरणबारे मतभेद बढ्दै जाँदा बैठक स्थगितका लागि कार्कीले निवेदन दिएको नेताहरुले बताएका छन्।

नेकपा एमाले विभाजन भएपछि भीम आचार्यले संवैधानिक व्यवस्था अनुसार प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन्। केन्द्रमा सत्तारुढ गठबन्धनले प्रदेश १ मा नेकपा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति गरिसकेका छन्। एकीकृत समाजवादीबाट राजेन्द्र राई मुख्यमन्त्रीका दाबेदार हुन्।

तर, प्रदेशमा सरकार गठनको सवालमा कांग्रेसभित्र मन्त्रालयको विषयलाई लिएर चरम असन्तुष्टि रहेको र केही सांसद्ले फ्लोर क्रस समेत गर्न सक्ने अवस्था रहेकाले बैठक स्थगित गर्न माग गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell