काठमाडौंं : इलाममा एक श्रीमानले आफ्नै छोरी र श्रीमतीको हत्या गरेका छन्।
सोमवार राति देउमाई नगरपालिका वडा नम्बर ५ का पूर्णचन्द्र तामाङले श्रीमती सीता र १६ वर्षीया छोरी शिक्षा तामाङको हत्या गरेको प्रहरीले दावी गरेको छ। प्रहरीका अनुसार अन्धविश्वासको सिकार बन्दा सीता र शिक्षाले अकालमा ज्यान गुमाउनु परेको हो। आफ्नै श्रीमान् र बाबुले जोखना हेर्ने भन्दै झारफुक गर्ने क्रममा दुई जनाको ज्यान लिएका थिए।
प्रहरीको प्रारम्भीक अनुसन्धानमा पूर्णचन्द्रले टोकेर, थिचेर हत्या गरिएको देखिएको छ।
'शरीरमा टोकेको जस्तो निशान देखिन्छ। घटनास्थलमा अरू केही त्यस्तो हतियार अहिलेसम्म भेटिएको छैन। थप अनुसन्धान गरी नै रहेका छौँ,' जिल्ला प्रहरी कार्यालय इलामका एसपी महेन्द्र श्रेष्ठले भने।
पूर्णचन्द्रले दशैंदेखि आफूलाई 'देउता उत्रिए'को भन्दै झारफुक गर्न थालेको प्रहरीको अनुसन्धानमा खुलेको छ। सोमवार राति उनले पहिले श्रीमातीलाई उपचार गर्ने भन्दै पूजा कोठाभित्र लगेर हत्या गरेको देखिएको छ। उनले पूजा कोठामा अरूलाई छिर्न समेत रोक लगाएका थिए।
'४/ ५ दिनदेखि पूजा कोठामा नै बसेको देखिन्छ। हिजो राति पनि अरूलाई छिर्न नदिएर पहिले श्रीमतीलाई कोठामा लगेर हत्या गरेको देखिएको छ,' एसपी श्रेष्ठले भने।
३४ वर्षीय पूर्णचन्द्रले त्यसपछि छोरीलाई झारफुक भन्दै कोठामा लगेका थिए। त्यसपछि छोरीको पनि हत्या गरेको खुलेको छ। एक जनाले पालैपालो हत्या गर्दा किन प्रतिकार भएन? वा नजिकैका छिमेकीले पत्तो पाएनन्।
'घरीघरी श्रीमती पनि बेहोस् जस्तो हुने गरेको उनले बयानमा भनेका छन्। एकएक जनालाई कोठामा लगेको कारण पनि प्रतिकार गर्ने अवस्था नबनेको जस्तो देखिन्छ। तर, थप अनुसन्धान जारी नै छ,' एसपी श्रेष्ठले भने।
तामाङको घरमा उनका बाबुआमा र दुई दिदी बहिनी पनि बस्दै आएका थिए। घटना भएको रात उनीहरू पनि घरमा नै रहेको खुलेको छ। प्रहरीले घटनाको अनुसन्धानको क्रममा उनीहरूलाई पनि नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। हत्या भएपछि मङ्गलवार बिहान थाहा पाएपछि प्रहरी घटनास्थल पुगेको थियो।
घटनापछि फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हफ। अन्धविश्वास र झाँरफूकको भन्दै मानिसको हत्या भएका घटना धेरै छन्। भदौ २५ गते बिहान साढे ६ बजे ललितपुरको सुनाकोठीमा नुवाकोट घर भएकी ४५ वर्षीय कमला तामाङको पनि हत्या भएको थियो।
उक्त हत्या अभियोगमा मकवानपुर घर भएका २३ वर्षीय सविन प्रजा, मोरङ पथरी घर भएका २० वर्षीय सुमन मगर र १८ वर्षीय प्रविना प्रजालाई नियन्त्रणमा लिएको थियो। उनीहरूले मानिस झुन्डिएको पासोमा शक्ति हुने र करौडौंमा बिक्ने भएको भन्दै डोरीको लागि कमलाको हत्या गरेका थिए।