PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

प्रधानमन्त्री निवासमा कुकुरको दरबन्दी तर छैन खटाइएको : 'ब्लड हाउन्ड'को अनुसन्धान प्रभावकारी



पहिलोपोस्ट

प्रधानमन्त्री निवासमा कुकुरको दरबन्दी तर छैन खटाइएको : 'ब्लड हाउन्ड'को अनुसन्धान प्रभावकारी

काठमाडौं : प्रहरीको अनुसन्धानमा पछिल्लो समय तालिम प्राप्त कुकुर सहयोगी बन्दै आएको छ। कुकुरले दिएको 'क्लु'का अनुसार प्रहरीका अनुसन्धान टुंगोमा पुगेका धेरै घटनाहरु छन्। अनुसन्धानमा मात्र होइन अन्य पक्षहरुमा पनि प्रहरीको तालिम प्राप्त कुकुरको प्रयोग हुँदै आएको छ।

भिआइपीको सुरक्षादेखि नाकामा हुने विस्फोटक र लागूऔषध सम्बन्धी घटनाको ट्र्याक गर्नसमेत प्रहरीको तालिम प्राप्त कुकुर प्रयोग भइरहेको छ। तर सुरक्षाको हिसाबले संवेदनशिल मानिएको प्रधानमन्त्री कार्यालय बालुवाटरमा भने प्रहरीको तालिम प्राप्त कुकुर खटाइएको छैन। प्रधानमन्त्री निवासमा तालिम प्राप्त कुकुरको दरबन्दी त छ तर प्रयोग भने गरिएको छैन।

केन्द्रीय कुकुर तालिम केन्द्र महाजगंजबाट नै तालिम प्राप्त कुकुरलाई बालुवाटारमा प्रयोग गरिन्छ। प्रधानमन्त्रीको कुनै पनि कार्यक्रममा कुकुरको आवश्यक भएको खाण्डमा केन्द्रबाट नै कुकुर परिचालन गर्ने आएको केन्द्रका प्रवक्ता डिएसपी तालिम केन्द्रका डिएसपी डाक्टर रामचन्द्र सत्याल बताउँछन्।

'बालुवाटरलगायत भिआइपीको सुरक्षामा यहाँबाट नै अहिले कुकुर खटाइएको छ। बालुवाटारमा कुकुर राख्ने विषयमा पहल भइरहेको छ,' डिएसपी सत्यालले भने।

प्रत्येक प्रदेश प्रहरी कार्यालय, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, केन्द्रीय कुकुर तालिम केन्द्रमा नेपाल प्रहरीको तालिम प्राप्त कुकुरहरु रहेका छन्। पछिल्लो समय वीरगञ्ज नाकामा समेत अनुसन्धानको लागि प्रहरीको कुकुर पठाइएको छ।

नेपाल प्रहरीसँग विभिन्न जातका ८७  वटा तालिमप्राप्त कुकुर रहेको डिएसपी सत्यालले बनाए। सबैभन्दा बढी २८ वटा जर्मन सेफर्ड छन्। यो जातका कुकुर लागू औषध, हातहतियार, विस्फोटक पदार्थ, सुरक्षा गस्ती लगायत सबै विधामा उपयोग हुन्छन्।

केन्द्रीय तालिम केन्द्रमा मात्र ४७ वटा कुकुर छन्। ती कुकुरको तालिम तथा रेखदेखका लागि करिब ६० जना प्रहरी खटिएका छन्।

प्रत्येक कुकुरको लागि एक-एक जना ह्यान्डलर हुन्छन्। कुकुरले आफ्नो ह्यान्डलरको आदेश र सङ्केत पनि त्यही ह्यान्डलरले मात्र बुझ्ने गर्छ। ह्यान्डलर बिदामा भए कुकुर अरुसँग तालिम गर्न त्यति रुचाउँदैन।

'ब्लड हाउन्ड'को अनुसन्धान प्रभावकारी

घटना भएपछि जति सक्दो तालिम प्राप्त कुकुर परिचालन भयो त्यति नै कुकुरको अनुसन्धान प्रभावकारी हुन्छ। सामान्यतया कुकुरले २४ घण्टा पुरानो घटनामा अनुसन्धान ट्र्याक गर्न सक्दैन। नेपालको भौगोलिक अवस्थाको कारणले पनि कतिपय ठाउँमा तत्कालै कुकुर परिचालन गर्न सकिदैन। संखुवासभामा ६ जनाको ज्यान लिने गरी भएको घटनामा पनि कुकुर करिब १० घण्टापछि पुगेको थियो।

कुकुर पुगेपछि तत्कालनै अनुसन्धानमा प्रयोग गर्न मिल्दैन। त्यहाँको वातावरण र ट्राभल गर्दा कुकुर थाकेको हुनाले पनि अनुसन्धानमा असर पर्ने गरेको छ।

'लामो दुरीमा यात्रा गराएर अनुसन्धानमा कुकुर खटाउँदा धेरै कुरा विचार गर्नुपर्छ। कुकुर मानिस जस्तै थाकेको हुन्छ। काममा मन नदिन सक्छ,' डिएसपी सत्यालले भने। यता कुकुर घटनास्थल पुग्न समय लाग्ने र घटना २४ घण्टा पुरानो भए अनुसन्धान नहुने हुँदा कतिपय केसहरुमा कुकुर अनुसन्धानबाट बाहिरिन्छ।

तर नेपाल प्रहरीसँग दिनसम्मको घटनामा अनुसन्धान गर्ने 'ब्लड हाउन्ड' जातको कुकुरसमेत छ। यो कुकुरले ९६ घण्टा पुरानो अनुसन्धानसमेत गर्न सक्छ। अमेरिकाबाट ७ लाख रुपैयाँमा किनेर ल्याएका जोजो र जोली नामका दुईवटा कुकुर छन्। उनीहरुलाई ९ महिनासम्म तालिम दिएर प्रयोग गर्न थालिसकेको छ।

कुकुरमा सुँघ्ने क्षमता मानिसको भन्दा ५० गुणा बढी हुन्छ। कुकुरको सुँघ्ने क्षमता भएको सेलको सङ्ख्या २५० मिलियन हुन्छ। जबकि मानिसको भने ५ मिलियनमात्र हुन्छ। अन्य कुकुरको तुलनामा ब्लड हाउन्डमा करिब ३५० मिलियन सुँघ्ने क्षमता हुन्छ।

तर दुई वटामात्र यस्ता प्रजातिका कुकुर हुँदा कहिलेकाही अप्रयाप्त भइरहेको हुन्छ। त्यसैले अहिले नेपाल प्रहरीले यही जातको अन्य कुकुरसमेत ल्याउन पहल गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell