काठमाडौं : आज लक्ष्मी पूजा। साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ।
तिहारको लागि हाल नेपालमा हरेक वर्ष ठूलो संख्यामा लक्ष्मीको तस्विर आयात गर्ने गरिएको छ। नेपाली बजारमा पाइने प्रिन्टेड र टल्कने लक्ष्मीका चित्रहरु प्राय भारतको चेन्नई र बनारसमा छापिन्छन्। त्यस्ता चित्रहरुमा छापिएको स्थान र कम्पनीको नाम पनि हुन्छ। लक्ष्मीको तस्विरको आकार, डिजाइन हेरेर मूल्य निर्धारण हुन्छ। एउटा फोटोको मूल्य १० रुपैंयादेखि १५० सम्म पर्छ। फ्रेमसहितको तस्विर भने ५० देखि ४०० भन्दा बढी मूल्यमा पाइन्छ।
लक्ष्मीको तस्विर तयार गर्नका लागि चाहिने काठको फ्रेम नेपालमै बन्छ तर सिसा भने चीनबाट आयात गरिन्छ। चीनबाट ल्याइने सिसा भारतको भन्दा सस्तो हुने भएकाले बजारमा त्यसको धेरै खपत हुन्छ।
बजारमा अहिले डिजिटल लक्ष्मी पनि देख्न सकिन्छ। धेरै जसो डिजिटल लक्ष्मी भारतबाट आयात गरिएको हुन्छ। अहिले चीनबाट पनि त्यस्ता सामाग्रीहरु आयात गरिन्छ। ३०० देखि १००० भन्दा बढी मूल्य पर्ने डिजिटल लक्ष्मी बजारमा पाइन्छ।
बजारमा अहिले भारत र चीनबाट ल्याइएको लक्ष्मीको तस्विरसँगै बजारमा देख्न सकिन्छ हातले बनाइएको नेपाली लक्ष्मीको तस्विर।
नेपालमा १६ लक्ष्मी पुज्ने प्रचलन छ। नेवार समुदाय बाहुल्यस्थानमा नेपाल संवतको अन्तिम महिना कौलागाको अन्तिम दिन अर्थात् लक्ष्मी पूजामा भने धनलक्ष्मीको पूजा गर्ने प्रचलन रहेको छ।
धनलक्ष्मीको चित्र हातैले तयार गरिन्छ। पु (चित्रकार) हरुले थासा(काठको ब्लक)मा छापेर हातैले लक्ष्मीको चित्रमा रंग भर्ने गर्छन्। तर, हाल भारतबाट आयातित लक्ष्मीका चित्रहरुका कारण धनलक्ष्मीको चित्र ओझेलमा परेको छ।
सम्बन्धित समाचार : 'धनलक्ष्मी'को चित्र रङ्ग्याउन नथाकेकी चेतकुमारीको चिन्ता : पुर्ख्यौली पेशा नासिने नै भयो
भारतबाट आयातित लक्ष्मीको चित्र वैष्णव सम्प्रदायसँग मिल्ने संस्कृतिविदहरु बताउँछन्। लक्ष्मी पूजामा भारतमा विष्णुकी अर्धाङ्गिनीका रुपमा लक्ष्मीको आराधना गरिन्छ। काठमाडौंमा भने नेवार समुदायले लक्ष्मी पूजाको दिनमा विष्णुकी श्रीमती लक्ष्मी नभई धनलक्ष्मीलाई पूजा गर्ने गर्छन्। भारतमा बनेका लक्ष्मीका चित्रहरुमा गणेश, सरस्वती इत्यादि देउताका चित्रहरु पनि हुन्छन्, तर नेपालमा हातैले बनाइने चित्रहरुमा त्यस्तो हुँदैन।
हातले कोरिने गरिएको धनलक्ष्मीको चित्रमा दूतका रुपमा कुवेर र सेतो ख्याक हुनैपर्छ। ख्याकले धनी महाराजहरु कहाँ गएर तर्साएर पैसा उठाएर लक्ष्मीलाई दिने गर्छ भने कुबेरले धन संचय गर्ने कथन छ। यस्तै, ख्याक देखेपछि चोरहरु डराउने र धन चोरी हुने सम्भावना पनि कम हुने जनविश्वास छ।
त्यस्तै, धनलक्ष्मीको बाहनका रुपमा कछुवा हुन्छ। धेरै जसो चित्रमा लाटोकोसेरोलाई लक्ष्मीको बाहनका रुपमा प्रस्तुत गरिएको हुन्छ। तर धनलक्ष्मीको बाहनका रुपमा कछुवालाई पुजिँदै आएको छ। कछुवा ढिलो हिँड्ने भएकाले त्यसमा सवार धनलक्ष्मीले जथाभावी धन खर्च गर्दिनन्। कछुवाले धन संचय गर्न सिकाउने विश्वास छ।
नेपालमा बन्ने लक्ष्मीको हातमा ज्वला न्हाय्कं (प्रकाश छर्ने ऐना) र सिन्ह: मू (सिन्दुर राख्ने बट्टा) हुन्छ। ज्वला न्हायकं पित्तल वा चाँदीबाट बनाइएको हुन्छ। यसको बीचको भाग ऐनाजस्तो चम्किलो गरी बनाइएको हुन्छ। नेवार समुदायमा छोरीको विवाह गर्दा यो नभई हुँदैन। ज्वला न्हायकं बिना नेपाली लक्ष्मी बन्दैन। यसको मुनितिर बत्ति बाल्ने ठाउँ हुन्छ। तेल राखेर बत्ति बाले पछि त्यसको प्रकाश माथि रहेको ऐनामा प्रतिबिम्बित हुन्छ। त्यसले कोठा उज्यालो हुन्छ। धन सम्पतिको सुरक्षा हुने कथन छ।
धनलक्ष्मीले धन संचय गर्न प्रेरणा दिनेमा आजकाल मानिसहरु हातले पैसा फालिरहेको लक्ष्मी, विभिन्न आकृतिमा बसेको लक्ष्मी, डिजिटल लक्ष्मीतर्फ आकर्षित भइरहेका छन्। भक्तपुर, पाटन र काठमाडौंको केही स्थानमा मात्रै चित्रकारहरुले अहिले हातैले थासाबाट धन लक्ष्मीको चित्र बनाउने गरिरहेका छन्। बजारको अभावमा धनलक्ष्मीको चित्र कोर्ने पेशा संकटमा छ।