PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दुई पटक ‘१७ साल’ ल्याएका ओलीको बार्दली बर्बराहट!



नेत्र तामाङ

दुई पटक ‘१७ साल’ ल्याएका ओलीको बार्दली बर्बराहट!
फाइल फोटो

२०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित संसद् भंग गरेर ‘कु ’ गरेका थिए। त्यहीबेला प्रजातन्त्रको घाँटी निमोठियो र जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला जेल पुगे। प्रजातन्त्रको अन्त्य गरेर सुरु भएको निर्दलीय पञ्चायती व्यवस्था अन्त्य गर्न झन्डै ३० वर्ष लाग्यो। २०४६ सालको नागरिकको बलिदानीबाट बहुदलीय व्यवस्था पुनर्स्थापना भयो।

अन्यथा नभए यही '१७ साल' हुनुपर्छ, आइतबार पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सम्झेको मिति। एमाले हुँदैन थियो भने १७ साल अस्तिनै आइसक्थ्यो - कर्णाली प्रदेश सम्पर्क कमिटीको देउसी-भैलो कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले ठोकुवा गरे। एक पटकमात्रै होइन पटक पटक दोहोर्‍याउँदै। औँला ठड्याउँदै, मस्किँदै मस्किँदै।

'हामी हुँदैन थियौँ भने म साथीहरुलाई दाजुभाइ दिदीबहिनीहरूलाई भन्न चाहन्छु। हामी हुँदैन थियौँ भने एमाले हुँदैन थियो भने १७ साल अस्तिनै आइसक्थ्यो। अस्ति नै आइसक्थ्यो,' अध्यक्ष ओलीको दाबी थियो, 'तर यहाँ एमाले छ। त्यसकारण १७ साल आउन सक्दैन। ७ सालपछि १७ साल आइहाल्यो नि। आउँथ्यो यहाँ पनि।'

अब धेरै होइन १० महिना पछाडि फर्कौँ। जतिबेला ओली सत्तामा थिए - आफ्नो सत्ता जोगाउन र मनलाग्दी गर्न नपाउने भएपछि ५ पुस २०७७ मा ओलीले जननिर्वाचित संसद् भंग गरिदिए। अनि २०७८ वैशाख १७ र वैशाख २७ गते दुई चरणमा हुनेगरी प्रतिनिधि सभाको निर्वाचन पनि घोषणा गरे।

जनताले झन्डै दुई तिहाइको मत दिएर पाँच वर्षे म्यान्डेड दिएका थिए। तर साढे दुई वर्ष नबित्दै संसद्को घाँटी निमोठेर ओलीले त्यही बेला १७ साल ल्याएका थिए। संयोग भनौँ, १७ साल १ गतेको कदम थियो। ओलीले पुन ५ मा जननिर्वाचित प्रतिनिधि सभा विघटन गरेर घटना पुनरावृत्ति गरे। संसद् बाहिरका आसेपासे भेला गरेर राजकीय कार्य अघि बढाए।

सत्तामै साथ दिएका सारथी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल यो घटनाको विरोधमा सडकमा उत्रिए। देश कोभिड-१९ को महामारीको चपेटामा थियो। तर ओलीविरुद्ध सडक प्रदर्शन भयो।

विरोधीको प्रदर्शन क्रेज घटाउन ओली पनि ब्याटलमा उत्रिए। नारायणहिटीको आँगन कब्जा गरेर ओलीले माघ २३ गते डमीसहित देखिए। तानाशाही प्रवृत्तिका ओलीको डमी फोटो त्यसबेला खुबै चर्चित बन्यो। यतिमात्रै हैन - आइ लभ यु केपी बा- ले पनि बजार ततायो। झन्डै र्‍याप ब्याटल शैलीमा ओली र विपक्षी सडकमा 'अन्टसन्ट' घोचपेचमा उत्रियो। आफ्नो बचाउमा ओलीले कुनै अस्त्र प्रयोग गर्न बाँकी राखेनन्।

प्रधानमन्त्री रहँदा प्रगति गरेको विवरण फेहरिस्त सुनाए पनि उनी मुलुकका लागि एक असफल पात्र बने। आफू चिनिन उनले कुनै उल्लेख्य काम गर्न सकेनन्। भलै १७ साल घटाएका राजा महेन्द्रमा झैं उनमा पनि खोक्रो राष्ट्रवादको जलप भने टिलिक्क टल्किएको थियो नै। पात्र फरक, प्रवृत्ति उस्तै।

तर, समर्थन र विरोधमा प्रदर्शन जारी रहँदा सर्वोच्च अदालतले ओलीको कदम गलत सिद्ध गरिदियो। ०१७ साल पुनरावृत्ति गर्ने ओलीको कदममा पूर्णविराम लाग्यो।

पटक-पटक मन्त्रिपरिषद् पुनर्गठन, मनपरी नियुक्ति र भजन मण्डलीलाई संस्थाकरणमा जति उनी सक्रिय रहे, त्यतिनै चरम विवादित संस्था र व्यक्तिको निहीत स्वार्थका लागि नीतिगत भ्रष्टाचारमा। सांसद अपहरणको आरोप लाग्यो। कोरोना भाइरसविरुद्ध खोप ल्याउँदा कमिसन प्रकरणसम्म ओली जोडिइरहे।

थाल्दै नथालिएका विकासमा उद्घाटन गर्न भ्याएका उनी सबैभन्दा बढी घर झगडामै अल्झिए। पार्टीको गृह कलहलाई मिलाउन नसकेका उनले सिर्फ 'राजनीतिक स्टन्ट' गरे।

ओलीका निरंकुश कदम पार्टीको आन्तरिक विवादसँगै थप अघि बढे। पहिलोपटकको विघटन अदालतले बदर गरे पनि दोस्रोपटक पुनः प्रतिनिधिसभा भंग गरे। जेठ ७ गते मध्यरातमा ओलीले सभा विघटन गरे। र दोस्रोपटक १७ साल ल्याए। जसले गर्दा प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेससमेत ओलीको कदमविरुद्ध सडकमा उत्रियो। पहिलो विघटनमा अदालतको आदेश पर्खेर बसेको कांग्रेस सभापति शेरबहादुर देउवा दोस्रो विघटनमा भने विरोधमा उत्रिए। प्रधानमन्त्रीको अफरले देउवा लतारिँदै आन्दोलनमा पुगे।

एमालेकै सांसदहरुको समर्थनमा विपक्षी गठबन्धन बनाएर कांग्रेस सभापति देउवा १० जेठमा १४६ सांसदले हस्ताक्षर र सशरीर सर्वोच्च अदालतमा उपस्थित भए -प्रतिनिधि सभा विघटन बदर गरी र आफूलाई प्रधानमन्त्री बनाउन परमादेश माग गर्दै। नभन्दै सर्वोच्चबाट २८ असार २०७८ मा प्रतिनिधि सभा पुनर्स्थापना भयो र परमादेश जारी भयो - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फैसला भएको दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न भनेर।

अचाक्ली राजनीतिक स्टन्टबाट ओलीलाई देशले प्रधानमन्त्री पदमा स्वीकार्न नसकिने पात्रमा रुपान्तरण गरिदियो। अनि सबैभन्दा शक्तिशाली सरकारको नेतृत्व गरेर सबैभन्दा निरीह तरिकाले च्यूत भए।

ओली जसरी उचाइमा चुलिए, त्यसैगरी तल झरे। उनलाई यसरी गिराउन योगदान तिनीहरुकै छ जसले उनका हरेक गलत हर्कतलाई लिएर वाहवाहीमात्र गरे। जसले तालीमात्र बजाए। तिनैलाई देखेर ओलीमा आफैँ सर्वेसर्वा भएको भ्रमले डेरा जमाइरह्यो।

अराजक ओलीको अतिवाद बालुवाटारबाट बालकोट पुग्दासम्मै देखियो। आफ्नो निवासको बार्दलीबाट ओलीले आफ्ना सारथि माधव नेपालमाथि एमालेमा कुनै ठाउँ नदिने अभिव्यक्ति पस्के।

यिनै ओली अझै पनि भन्दैछन् - तर यहाँ एमाले छ। त्यसकारण १७ साल आउन सक्दैन। ७ सालपछि १७ साल आइहाल्यो नि। आउँथ्यो यहाँ पनि।

शक्ति सम्हाल्न नसक्दा, उन्मादमा आँखा नदेख्दा जनताले दिएको बहुमतको कदर गर्न नसक्दा ओली पदच्युत भएको दुनियाँसामु छर्लङ्ग छ। आफूले ल्याउन खोजेको १७ साल ल्याउन नसकेपछि अहिले कार्यकर्तामाझ के-के कोकोहोला गर्ने होला भनी सोच्दा आएको बालुवाटारबाट बार्दली पुग्दाको बर्बराहट नै हो भन्दा अतिशयोक्ति नहोला!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell