PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कांग्रेस संस्थापन इतरको भेला : रामचन्द्र पौडेल नै सभापतिको साझा उम्मेद्वार! प्रकाशमान नहुँदा खल्लो



नेत्र तामाङ

कांग्रेस संस्थापन इतरको भेला : रामचन्द्र पौडेल नै सभापतिको साझा उम्मेद्वार! प्रकाशमान नहुँदा खल्लो

काठमाडौं: नेपाली कांग्रेसमा जब भागबण्डाको कुरा आउँछ - संस्थापन पक्ष र संस्थापन इतर गरी भाग लगाउने। यो कांग्रेसको परम्परा जस्तै भइसक्यो। महाधिवेशनमा त झन् यसको रन्को नै बेग्लै छ।

संस्थापन पक्षको नेतृत्व सभापति शेरबहादुर देउवाले गरिरहेका छन्। भने संस्थापनइ तरको नेतृत्व वरिष्ठ नेता रामचन्द्र पौडेल भनिए पनि चिराचिरा गुट छन्। १४औं महाधिवेशनको सम्मुखमा संस्थापन इतरबाट पौडेलसहित चार जनाले सभापतिमा उम्मेद्वारी दाबी गरिरहेका छन्। यसरी दाबी गर्नेमा महामन्त्री डा शशांक कोइराला, प्रकाशमान सिंह र डा. शेखर कोइराला हुन्।

चार गुट चलाउने यो समूहलाई कतिले पौडेल समूह भन्न पनि अप्ठेरो मान्छन्। यो अप्ठेरो सायद पौडेललाई पनि हुँदो हो। त्यसैले त उनी यो महाधिवेशनमा जसरी भए पनि संस्थापन इतरबाट आफू नै साझा उम्मेद्वार बन्ने प्रयासमा छन्।

भदौ १८ बाट कांग्रेसको वडा अधिवेशन शुरु भयो। त्यसअघि नै संस्थापन इतरबाट सभापतिका साझा उम्मेद्वार तय गरिने चर्चा थियो। तर भदौ १७ गते यो समूहले सानेपास्थित पार्टी कार्यालयमा गरेको पत्रकार सम्मेलनमा त्यस्तो देखिएन। पौडेल आफू ह्याप्पी देखिएको उक्त सम्मेलनमा अरु नेताहरुको मुड भने अफ थियो।

यस्तै प्रयास पौडेलले लगातार गरिरहेका छन्।

आफैँ साझा उम्मेद्वार बन्ने प्रयास जारी

शुक्रबार नयाँ बानेश्वरस्थित अनुपम फुडल्यान्डमा पौडेलले यही प्रयासलाई निरन्तरता दिए। दिउँसो ३ बजेतिर शुरु भएको छलफलमा महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्यहरु डा. रामशरण महत, दिलेन्द्र बडु, डा. शेखर कोइराला, अर्जुननरसिंह केसी, गगन थापा, धनराज गुरुङ, चन्द्र भण्डारी, कमला पन्तलगायत सहभागी थिए।

भेलामा महाधिवेशनमा साझा उम्मेद्वार बनाउनेबारे नै छलफल भएको थियो। आइतबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकलाई मध्यनजर गर्दै संस्थापन इतरले भेला आयोजना गरेको थियो। भेलामा मिलेर जानुपर्ने विषयमाथि नै प्राथमिकताका साथ छलफल भएको केन्द्रीय सदस्य चन्द्र भण्डारीले जानकारी दिए।

'यो ग्रुपमा पनि हाम्रो जेनेरेसनको समूह छ। तर एमालेको चकनाचुर देख्दा हामीले के भनेका छौं भने १४ औं महाधिवेशनमा सम्झौता गरेर नै जानुपर्छ,' भण्डारले भने, '१५ औं महाधिवेशनमामात्र हाम्रो नेतृत्व।'

महामन्त्री डा शशांक कोइरालाले पनि सहमतिमा जानुको विकल्प नभएको बताए।

'हाम्रो पक्षमा सभापतिका चार जना उम्मेदवार छन्। एक जनाको मात्र सभापतिको उम्मेद्वार हुनुपर्छ भन्ने कुरा रामचन्द्र दाइले भन्नुभएको छ,' महामन्त्री शशांक कोइरालाले भने, 'केन्द्रीय समितिको बैठकपछि चारै जना बसेर छलफल गर्ने। अनि साझा उम्मेदवार चयन गर्ने सहमति भएको छ।'

उनले आफू पनि मिलाएरै जाने पक्षमा भएको उल्लेख गर्दै नमिले पार्टी देउवालाई बुझाए हुने बताए। 'सहमतिमा नआए शेरबहादुरजीलाई बुझाइदिए भयो,' कोइरालाले भने।

बैठकमा पौडेलले संस्थापन इतरका कृष्णप्रसाद सिटौला पनि मिलेर जाने वातावरण बनाए आफू पछि हट्ने प्रस्ताव राखेको बताइन्छ। यद्यपि सहमति हुन नसके आफैँ अघि बढ्ने प्रस्ताव पौडेलले गरेका छन्। पौडेलले आफू नै सभापतिको उम्मेद्वार हुनुपर्छ भनेर दाबी नगरेको महामन्त्री कोइरालाको भनाई थियो।

'रामचन्द्र दाइले भन्नुभयो तपाईंहरु नै प्रयास गर्नुस् एकताबद्ध हामी जानका लागि। म नै हुनुपर्छ भनेर उहाँले भन्नुभएन,' कोइरालाले भने।

सभापतिका तीन आकंक्षी प्राकशमान, शशांक र शेखरबीच एकता नहुनेमा पौडेल ढुक्क छन्। त्यसमाथि सिटौलालाई मिलाउनु परको कुरा। त्यसैले यही बीचबाट आफू संस्थापन इतर पक्षको साझा उम्मेद्वार बन्ने दाउमा पौडेलले यो विकल्प 'टेस्ट'का लागि प्रस्तुत गरेको बताइन्छ।

भेलामा प्रकाशमानको खोजी

भदौ १७ गते सानेपामा देब्रेतिर महामन्त्री कोइराला र दाहिनेतिर प्रकाशमान सिंह राखेर वरिष्ठ नेता पौडेलले भनेका थिए - ‘पार्टीलाई सुधारेर जनताको भरोसाको केन्द्र बनाउन यो टिम चाहन्छ। हामीले यस अधिवेशनमा विचार मिल्ने साथीहरुसँग एकता गर्ने कुरामा विश्वास गर्छौँ।’

ती मध्ये संस्थापन इतरको भेलामा प्रकाशमान देखिएनन्। त्यसो त बिहानै प्रकाशमानले आजको भेला बहिस्कार गर्ने समाचार बाहिरिएको थियो। गठबन्धनले बनाएको संयन्त्रमा पौडेल संयोजक बनेपछि प्रकाशमान असन्तुष्ट देखिएकाले आजको बैठकमा अनुपस्थित हुने जनाएका थिए। यतिमात्र नभई मन्त्री भागबण्डामा समेत वरिष्ठ नेता पौडेलले प्रकाशमानको कुरा नसुनेको आरोप रहेको छ। जसले गर्दा प्रकाशमान पौडेलसँग बिच्किएको देखिन्छ। यद्यपि बैठकपछि प्रकाशमानको सोधीखोजी भयो। महामन्त्री कोइरालाले प्रकाशमान काठमाडौंबाहिर भएकोले शुक्रबारको भेलामा उपस्थित हुन नसकेको दाबी गरे।

'प्रकाशमानजीसँग अहिलेसम्म विभाजन छैन। सभापति पदका लागि चारै जना उम्मेद्वार छौं। त्यसैमा त हो विभाजित मानसिकता,' उनले भने।

कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले पनि काठमाडौंबाहिर भएकोले उपस्थित नभएको दाबी गरे।

'हामीलाई जानकारी भएको के भने प्रकाशमानजी भ्यालीबाहिर हुनुहुन्छ। अन्यथा नआउने भन्ने कुरा हुन्छ र?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell