PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

देउवा विरुद्ध मोर्चाबन्दी सभामा रामचन्द्र देखिए ह्याप्पी, कोइराला दाजुभाइको ‘मुड अफ’



नेत्र तामाङ

देउवा विरुद्ध मोर्चाबन्दी सभामा रामचन्द्र देखिए ह्याप्पी, कोइराला दाजुभाइको ‘मुड अफ’

काठमाडौं : नेपाली कांग्रेसको वडा अधिवेशन भोलिबाट हुँदैछ। यसैको पूर्व सन्ध्यामा संस्थापन इतरका नेताहरुले 'हामी एक हौं' भन्ने सन्देश दिन सानेपास्थित पार्टी मुख्यालयमा बिहीवार पत्रकार सम्मेलन आयोजना गरे।

वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा रहेको संस्थाप नइतरले वडा अधिवेशन अघि नै सभापतिका साझा उम्मेद्वार तय गर्ने जनाएको थियो। पत्रकार सम्मेलनमा साझा उम्मेद्वार घोषणा हुने हो कि भन्दै मिडियाको भिड सानेपामा साढे एक बजे नै जमिसकेको थियो। कार्यक्रम तय गरिएको थियो दुई बजे।

पार्टी सभापति शेरबहादुर देउवा अहिले सत्तामा छन्। प्रधानमन्त्री हाँकेयता उनी पार्टी कार्यालयमा पसेका छैनन्। पसुन् पनि कसरी, भोलि अधिवेशन शुरु हुँदैछ - तै पनि पार्टी कार्यालयमा अनशनकारीले अड‍्ड जमाएर बसेकै छन्।

दुई बजे नै कार्यक्रम हुने छाँट देखिएन। शुरुमा सभापतिमा दाबेदारी प्रस्तुत गरिरहेको सुजाता कोइराला सबैभन्दा पहिले आइपुगिन्।

नेपाल दलित संघका नेताकार्यकर्ता ढोकैमा बसेका थिए। उनीहरुको मागमा  विद्रोही स्वर देखिएपछि संस्थापन इतरका नेताहरु त धमाधम पुगेर समर्थन जनाउने भइहाल्यो। त्यसै गरे संस्थापन इतरका नेताहरुले।

तीन बजे बल्ल कार्यक्रम शुरु

दुई बजे शुरु हुने कार्यक्रमका लागि वरिष्ठ नेता पौडेल तोकिएको समयमै आइपुगे। प्रकाशमान सिंह, महामन्त्री डा शशांक कोइराला, अर्जुननरसिंह केसी, बलबहादुर केसी निर्धारित समयमै आइपुगे र उनीहरु आफ्नो कार्यकक्षतिर पसे। प्राय पत्रकार सम्मेलन भइरहने दोस्रो तल्लाको देब्रेतिरको हलमै नेताहरुका लागि कुर्सी व्यवस्थापन गरिएको थियो। 

पत्रकार सम्मेलन नहुँदै त्यहाँ सुरुसुरु पुगे महामन्त्री कोइराला। केहीबेर बसेपछि उनी पनि कार्यकक्षतिर लागे। साढे दुई बज्दा पनि कार्यक्रम शुरु हुने छाँट देखिएको थिएन। नेताहरु थप नेताको पर्खाईमा थिए। सभापतिका आकंक्षी डा शेखर कोइराला अझै आइपुगेका थिएनन्। कतिपयले उनको पर्खाई महत्वपूर्ण माने।

यद्यपि, शेखर २ बजेर ४० मिनेटमा पौडेलको कार्यकक्षमा देखिए। त्यसपछि भने एक जना नेता आइपुगे पत्रकार सम्मेलनको लागि तयार गरिएको हलमा। उनले केहीबेरमै नेताहरु आइपुग्ने जानकारी दिए। साथमा एउटा सूचना पनि भने - गगन थापा र रामशरण महत आउँदै हुनुहुन्छ। उहाँहरु आउनुभएपछि शुरु भइहाल्छ।

नभन्दै ३ बज्दा कार्यक्रमस्थलमा गगन थापा पनि देखिए - जसले एक्लै महामन्त्रीमा उम्मेद्वारी घोषणा गरिसकेका थिए। उनको उपस्थितिपछि ह्यप्पी मुडमा देखिए कांग्रेस वरिष्ठ नेता पौडेल। देब्रेतिर थिए महामन्त्री कोइराला, दाहिनेतिर प्रकाशमान सिंह, प्रकाशमानसँगै शेखर। त्यसपछि त्यहाँ व्यवस्था गरिएको माइक समाउँदै उनी बोल्न थाले।

ह्याप्पी मुडमा रामचन्द्र

संस्थापन इतर पक्षमा यसपटक सभापतिमा धेरैले आकंक्षा गरेका छन्। ती नेताहरुलाई मिलाउन हम्मे छ पौडेललाई। किनभने आफै एकपटक कांग्रेसको बागडोर समात्ने ठूलो अभिलाषा पौडेलमा देखिन्छ। १३ औं महाधिवेशनमा कृष्णप्रसाद सिटौलाले देउवालाई साथ दिएपछि पराजित बनेका पौडेल यसपटक जसरी पनि कांग्रेसको नेतृत्व हत्याउने दाउमा देखिन्छन्। त्यसैले देउवाविरुद्ध मोर्चाबन्दी कस्न उनी कहिल‍े महाराजगञ्ज धाउँछन् त कहिले चाक्सीबारी। 

महामन्त्री शशांकले आफूबाहेक देउवालाई कसैले हराउन नसक्ने दाबी गरिरहेका छन् भने यता शेखरले कुनै पनि हातलमा सभापतिको दाबेदारी नछाड्ने अडान राखेका छन्। उपसभापति भइसकेका प्रकाशमानको दाबी उही छ। 

यी तीन भाइलाई साथमा राखेर पौडेलले धेरैपटक चिया बिस्कुट खाइसकेका छन्। यसपछि वडा अधिवेशनको मुखमा सभापतिको साझा उम्मेद्वार उभ्याउन नसकेपनि एकै ठाउँमा छौं भन्ने सन्देश दिन भने पौडेल सफल भएका छन्। सायद यही सफलता मिलेर होला सभापतिका आकंक्षीहरुलाई दयाबाया राखेर बोल्दा ह्याप्पी मुडमा देखिएका थिए पौडेल।

‘पार्टीलाई सुधारेर जनताको भरोसाको केन्द्र बनाउन यो टिम चाहन्छ,’ सम्बोधन गर्ने क्रममा पौडेलले भने, ‘हामीले यस अधिवेशनमा विचार मिल्ने साथीहरुसँग एकता गर्ने कुरामा विश्वास गर्छौ।’ 

प्राय अफ मुडमा देखिने पौडेलले खुसीसाथ एकताको कुरा गर्दा कोइराला दाजुभाइको मुड भने अफ देखिन्थ्यो। कोइराला दाजुभाइसँगै प्रकाशमान पनि थिए। तर प्रकाशमानमा खासै असन्तुष्टिको छनक देखिँदैन थियो। 

यसपछि भने सम्मेलन टुंग्याए पौडेलले

आफ्नो सम्बोधन सकाएपछि पौडेलले पत्रकारसँग प्रश्नका लागि फ्लोर ओपन गरे। शुरुमै सभापतिमा किन सहमति जुट्न सकेन भन्ने प्रश्न तेर्सियो  : पौडेलले अझै समय भएकाले साझा सहमतिमै उम्मेद्वारी घोषणा हुने तर्क गरे।

यसको अर्थ सहमति जुटेमा तपाई पनि सभापतिको उम्मेद्वारबाट पछाडि हट्न तयार हो?

प्रश्न सुन्नेवित्तिकै पौडेल हतासिए। चारैतिर हेर्दै उनले भने - यसमा त सबै जना तयार हुनुपर्‍यो नि।

भनेपछि सभापतिमै कुरा मिल्न बाँकी हो?

प्रश्न खस्न नपाउँदै पौडेलले माइक राखे अनि भने, ‘ल पत्रकार साथीहरु यति नै गरौं।’

गगन कसको उम्मेद्वार?

संस्थापन इतर समूहको पत्रकार सम्मेलनमा महामन्त्रीको उम्मेदवारी दिइसकेका गगनको उपस्थितिलाई महत्वका साथ हेरियो। उनी आउनसाथ धेरैले के अब गगन पनि पौडेल समूहमा आउँछन् भन्ने आँकलन गरे। तर १३ औं महाधिवेशनमा उनको सभापति बनेका कृष्णप्रसाद सिटौला भने कार्यक्रममा उपस्थित भएनन्।

सिटौला नदेखिनु र गगन देखिनुलाई पनि धेरैले महत्वका साथ हेरे। कार्यक्रममा गगनले आफ्नो भनाई राखेनन्। कार्यक्रमको अन्त्यमा गगनको उम्मेद्वारीलाई यो टिमले के गर्छ भनी प्रश्न सोधिएको थियो। यसमा नेताहरुले महाधिवेशन आउन धेरै बाँकी रहेकोले गगनलाई कसको सेटको उम्मेद्वार भनेर प्रश्न सोध्ने कुरै नआउने भनेर टारे। प्रश्नको जवाफ दिन वरिष्ठ नेता पौडेल पनि अघि बढेनन्। गगनले पनि चाहेनन्।

सम्बन्धित समाचारहरु

अहिलेसम्म कांग्रेस सभापतिमा तीन जनाको टक्कर, दाबेदार सबै नेविसंघ हाँकेकाहरु

कांग्रेस महाधिवेशन गर्माउने गरी विमलेन्द्र निधिको सम्पर्क कार्यालय खुल्दाका १० दृश्य

कांग्रेस सभापतिमा कल्याण गुरुङको उम्मेदवारी, यस्ता छन् उनका प्रतिवद्धता

अधिवेशन अगावै मनाङमा कांग्रेसले टुङ्ग्यायो नेतृत्व, सभापतिमा शङ्कर गुरुङ चयन

फेरि देउवालाई नै नेतृत्व सुम्पे काँग्रेस इतिहासको पानामा सीमित हुन्छ : बलबहादुर केसी

काँग्रेसमा लिगेसीका तीन पिल्लर : सभापतिको रेसमा कहाँ छ यिनको स्थान?

पार्टीको हालत लथालिंग बनाएको देउवाले नै हो, असफल भइसकेकालाई ल्याए राम्रो हुँदैन : प्रकाशमान सिंह

महाधिवेशनपछि गुट उपगुट हट्नुपर्थ्यो, त्यो हटेन : विमलेन्द्र निधि (अन्तर्वार्ता)

पार्टी देउवाको कब्जामा छ, एक्लाएक्लै गए सकिन्छौं : रामचन्द्र पौडेल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell