PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

नेपालका ‘सिंह सरदार’ : राज्यबाट पहिचान खोज्दै शिखहरु



सहयोग रञ्जित

नेपालका ‘सिंह सरदार’ : राज्यबाट पहिचान खोज्दै शिखहरु

ज्ञानी गुरु बखस सिंहले जन्मेदेखि आफ्नो कपाल, दारी काटेका छैनन्। गुरु नानकको उपदेश अनुसार उनी कपालको स्याहार गर्छन्। टाउकोमा पगडी बाँध्छन्। हातमा कढा र शरीरमा क्रिपान बोक्छन्। काठमाडौंमा जन्मेर यहाँका गल्लीगल्ली घुमेका उनलाई भविष्यमा नेपालमा शिख समुदायको पहिचानले सताउने गर्छ।

‘हामी नेपाली हौं। यही जन्मेका। पगडी बाँधेर हिँडेको हामीलाई पंजाबी पंजाबी भन्छन्। यो सुन्दा नरमाइलो लाग्छ,’ बखस सिंहले भने।

साधारणतय: बाटोमा पगडी लगाएर हिँडेको मानिस देख्दा धेरैजसो त्यो व्यक्ति भारतबाट आएको अनुमान लगाउँछन्। त्यसपछि त्यो व्यक्तिलाई हेर्ने दृष्टिकोण केही हदसम्म नकरात्मक नै हुन जान्छ। बाटोदेखि सरकारी अड्डा समेत नेपालमा जन्मेका शिखहरु पगडी बाँधेका कारण नै अपमानित हुनुपर्ने अवस्था छ। सरकारले मात्रै होइन समाजले समेत उनीहरुलाई नेपाली कै दर्जा दिन सकेको छैन। समाजको चेत नभएकै कारण नै होला सायद यो समुदाय बाँकी समुदाय भन्दा अलग्गिँदै गएको छ।

आफू नेपाली नै हो भनेर उनीहरुले मुखले भनिरहँदा कागजले त्यसो भन्दैन। किनभने काठमाडौं उपत्यकामा केही सयको संख्यामा रहेका शिखहरुमध्ये धेरैमा १०-१५ जनाको मात्रै नेपाली नागरिकता छ। बाँकी सबै सरकारी नजरमा अनागरिक।

नेपालभर ८-९ हजार शिख छन्। काठमाडौं उपत्यकामा करिब २०० जना मात्रै। नेपालजंग क्षेत्रमा शिखहरुको चार वटा गाउँ छ। उनीहरु २०० वर्ष अगाडि आएर बसेको इतिहास पनि।

बखस सिंहका अनुसार काठमाडौंमा रहेका करिब २०० शिखहरुमध्ये नागरिकता पाउनेको संख्या निकै कम छ। त्यसैले थोरै संख्यामा रहेको यो समुदाय राज्य र समाजबाट उपेक्षित बन्दै गएको छ।

‘पगडी लगाएर नागरिकताका लिन गयो भने कार्यालयमा अपमानित गर्छन्। पंजाबी पंजाबी भन्छन्। नेपालमा बस्ने नेपाली हो। पंजाबमा बस्ने पंजाबी हो। यो बुझ्नु पर्छ। मेरो भारतमा केही छैन। म यही जन्मेको। मेरो भारतसँग केही लिनुदिनु छैन। मेरो देश त यही हो। नागरिकता नहुँदा हाम्रो बच्चाहरुले काम गर्न पाइरहेका छैन। हामी कहाँ जाने?,’ उनले प्रश्न गरे।

शिख समुदायका जोसँग नागरिकता छ तिनका परिवारका सदस्यलाई समेत नागरिकता दिन प्रशासनले आनाकानी गर्ने गरेको बताउँछन् उनी। त्यसलै नागरिकता नभएकै कारणबाट अहिले नेपाली शिख समुदायले सरकारी रुपमा पाउनुपर्ने केही सेवासुविधा पाएका छैनन्। काम गर्न नागरिकता, तलब पाउन प्यान नम्बर चाहिन्छ। विद्यालय कलेजमा समेत पढ्नका लागि बालबालिकाहरुलाई गाह्रो छ। अत: त्यसैले कुनै समय काठमाडौंमा केही हजारको संख्यामा रहेको यो समुदाय अहिले खुम्चिँदै २०० को हाराहरीमा पुगेको छ।

बखस सिंह भन्छन्, ‘शिख भनेको शिष्य – गुरु नानकको चेला हो। अरु केही होइन। हामी गुरु चेलाको परम्परालाई निरन्तरता दिँदै आइरहेका छौँ। अरु धर्ममा गुरु शिष्य परम्परा लोप हुँदै गएको छ। संसारभरका शिखहरुले गुरु नानकले जे भन्नुभयो त्यसरी नै जीवनयापन गर्दै आएका छौँ।’

तस्विरमा गुरु नानक जयन्ती : 'किरत करो, नाम जपो, वंड छको': गुरुद्वारामा गुरुनानक जयन्तीको दृश्य

+++

गुरु नानक सत्संग समितिका प्रमुख सेवकदार प्रितम सिंह नागरिकता नहुँदा व्यवसाय गर्न गाह्रो भएको बताउँछन्।

‘नागरिकताको समस्या पहिलादेखि नै हो। यहाँ धेरैजसो गाडीको व्यवसाय गर्छन्। गाडी महँगो छ। त्यो लिन हामीले अरुको सहायता लिनुपर्छ। मारवाडी समुदायको साथीहरुको नामबाट गाडी ल्याएर काम गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘हामीले हाम्रो सम्पत्ति अरुको नाममा कति दिन राख्ने? त्यसैले सरकारले यहाँका शिख समुदायको पहिचानको रक्षा गर्न कदम चाल्नुपर्छ।’

नेपालमा गाडीको युग सुरु भएको बखत पहिलोपटक तीनवटा ट्रक लिएर काठमाडौं ओर्लिएका प्रितम अहिले ८४ वर्षका भए। त्यसयता उनले कहिल्यै पछाडि फर्केर हेरेनन्। तर, अहिले काठमाडौंमा जति शिखहरु छन् तीमध्ये धेरैजनाको जन्म नेपालमा भए पनि सरकारले नागरिकता नबनाइदिँदा उनीहरु विदेशिन बाध्य बनेकोमा दु:खी छन्।

‘यही जन्मेकालाई त सरकारले नागरिकता दिनुपर्छ। जसको नागरिकता थियो उसको मृत्यु भइसक्यो। उसको छोराछोरीले नागरिकता पाएको छैन। यहाँ ५०-६० वर्षदेखि बसिरहेका शिखहरु समेत छन्। बाहिर देशमा उनीहरुको केही छैन। सरकारले समय तोकिदिनुपर्‍यो। देशको लागि राम्रो गरेको, राम्रो व्यवहार भएको कोही शिख वर्षौंदेखि यही बसेका छन् भने मापदण्ड बनाएर नागरिकता दिनु पर्‍यो। तर, यहाँ त्यस्तो कुनै व्यवस्था छैन,’ उनले भने।

‘किरत करो नाम जपो वंड छको’

‘किरत करो, नाम जपो, वंड छको’ (कर्म गर, ईश्वरको नाम जप, बाडेर खाऊ) यही उपदेश लिएर गुरु नानक देवजी विसं १५७६ मा नेपाल आएका थिए। करिब ११ महिना नेपालमा बसेका गुरु नानकले धेरै समय काठमाडौंमा बिताए। थापाथलीको प्राचिन कालमोचन उदासी अखडामा बसेको मानिन्छ।

५०० वर्ष अगाडि नेपाल आएका शिख धर्मका संस्थापक गुरु नानक देवजीले ध्यान गरेका स्थानहरुलाई विश्वभरका शिख धर्मवालम्बीहरुले पवित्र स्थलका रुपमा पूज्दै आएका छन्। काठमाडौंमा मात्रै गुरु नानकले ध्यान गरेका चार स्थानमा मठहरु बनाइएका छन्। गुरु नानक मठ, नयाँबजार, ज्ञानेश्वर गुरु नानक मठ, गुरु नानक मठ, शोभाभगवती र पशुपतिमा भष्मेश्वर गुरु नानक मठ हुन्।

गुरु नानक नेपाल आउँदा काठमाडौमा मल्ल शासन थियो। धेरै स्थानमा सिद्ध जोगीहरुको राज थियो। तन्त्र विद्या जान्नेहरुको हालीमुहाली। नरबलि दिने चलन थियो। गुरु नानकले सिद्ध जोगीहरुलाई आश्वास्त बनाउँदै नरबलि रोकेको कथन छ। यस्तै, पानीको समस्या हुँदा आफ्नो मिहिनेतले पानी निकालेर सेवा गरेको इतिहास छ।

गुरु नानकको महिमाका कारण तत्कालीन मल्ल राजाहरु खुशी भएर उनको नाममा १६ सय रोपनी जग्गा दान गरेका थिए। त्यहाँ गुरु नानक मठ स्थापना गरियो। तर, कालान्तरमा ती जग्गा अतिक्रमणमा परे। सरकारी स्तरबाट नै ऐतिहासिक स्थलको संरक्षणमा कमी भयो।

अहिले गुरु नानकका शिष्यहरु आफ्नो गुरु बसेर ध्यान गरेर स्थानहरु मास्न हुन्न भनेर त्यसको संरक्षणमा लागेका छन्। त्यसैले गुरुको कृति भएका स्थानको संरक्षणका लागि अदालत मुद्दा लडिरहेका छन्। चिनेजानेका नेताहरुलाई आग्रह गरिररहेका छन्। तर, निर्वाचनमा ‘भोट’को राजनीतिमा अल्झिने नेताहरुलाई सानो संख्यामा रहेको शिख समुदायप्रति कुनै चासो नराखेको उनीहरुको मत छ।

काठमाडौंमा मात्रै १६ सय रोपनी जग्गा रहेको अहिले करिब ५० रोपनी मात्रै बाँकी रहेको बताउँछन् बखस सिंह। बाँकी रहेको जग्गा पनि गुठी अन्तर्गत छ। त्यहाँ स्थानीय साधुको हालिमुहाली छ। शिख समुदायलाई त्यहाँ पूजा गर्ने बाहेक केही अधिकार छैन।

थोरै कम गिन्तीमा रहेको यो समुदायको कुनै नेता छैन, कुनै अगुवा छैन। आम नेपाल जनता जस्तै भए पनि सरकारी सुविधाबाट बञ्चित छन् उनीहरु।

‘पगडी’ कुनै देशको होइन

शिखहरुको पहिचान भनेकै पगडी हो। पगडीले उनीहरु आफ्नो टाउको ढाक्छन्। यसको मुख्य कारण भन्नु नै टाउको रक्षा हो। सरदार युद्धका लागि जहिलै तयार हुनुपर्ने भएकाले गुरु नानकका शिष्यहरुले आफ्नो शिरको रक्षाका लागि पगडी लगाउँथे। हातमा कडी र शरीरमा क्रिपान लगाइरहनु पर्थ्‍यो। जुन अहिले पनि कायम नै छ।

संसारभर पगडी लगाएको मानिस देख्ने बित्तिकै उनीहरु ‘सिंह सरदार’ कहलाइन्छन्। तर, नेपालमा भने त्यही पगडी सरकारका लागि कुनै बेला ‘ठूलो इस्यु’ बन्यो।

सरकारले केही वर्ष अगाडि मेसिन रिडएबल पासपोर्ट सुरु गर्‍यो। शिख समुदायका एक व्यक्तिले पार्सपोर्टका लागि आवेदन फर्म भरे। तर, सरकारी निकायले उनको आवेदन स्वीकार गरेन। कारण थियो पगडी।

बखस सिंह भन्छन्, ‘पंचायतकालमा नागरिकताका लागि कान देखिने गरी फोटो राख्ने नियम थियो। त्यो बेला पनि भारतबाट आएको भनेर सिफारिस दिँदैन थियो। अहिले एमआरपीमा समेत पगडी चल्दैन भनेर पठाइयो। त्यसका लागि ६ महिनासम्म मुद्दा लड्नु पर्‍यो।’

अन्तत: लामो संघर्ष पछि मुद्दा जितेर उनीहरुले पगडीमा एमआरपी पासपोर्ट बन्यो।

गरु नानक सत्संग समिति, कुपण्डोलमा पंजाबी भाषामा गुरुमुखी लिपीमा लेखिएको शिखहरुको पवित्र गन्थ्र ‘गुरु ग्रन्थ साहिब’ देखाउँदै बखसससिंहले भने, ‘यो पगडी कुनै देशको होइन। हामी गुरु नानकले लेख्नु भएको किताबको पूजा गर्छौं। त्यसमा जगतको नै भलो होस् भनेर लेखिएको छ। शिखहरुले आफूले नून पानी खाएको देशलाई कहिल्यै नोक्सानी गर्दैनौं। हामी देशको र जनताको भलोका लागि सेवा गर्छन्। हामी जहाँ जान्छौं त्यो ठाउँलाई आफ्नै मानेर माया गर्छौं।’

गुरु नानक जयन्तीको अवसरमा २६ कात्तिक २०७६ गते प्रकाशित सामाग्री पुन: प्रकाशन गरिएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell