फ्रेन्च लिग वान अन्तर्गत गएराति तय मार्सेली र लियोनबीचको खेल रद्ध भएको छ। खेल सुरुभएको ५ औं मिनेटमा मार्सेलीका खेलाडी डिमिट्री पायेटमाथि बोतल प्रहार भएको थियो।
पार्क ओलम्पिक लियोनाइस स्टेडियममा खेल सुरु हुनेबित्तिक्कै दर्शकदीर्घाबाट पायेटमाथि प्रहार भएपछि रेफ्री रुड्डी बुक्वेटले मार्सेलीका खेलाडीलाई ड्रेसिङ रुम पठाएका थिए। तर, त्यसपछि उनीहरु फर्किएनन्। र, दुई घण्टापछि खेल रद्ध भयो। स्टेडियममा ५५ हजार दर्शकको उपस्थिति थियो।
फ्रेन्च फुटबलमा पेयटमाथि आक्रमण भएको यो दोस्रो पटक हो। यसअघि मार्सेलीको नाइससँगको खेलका क्रममा पनि तनाबको स्थिति बनेको थियो। त्यतिबेला खेलमा नाइस एक गोलले अघि रहेको अवस्थामा डिमिट्री पेयट कर्नर लिन जाँदै गर्दा उनलाई घरेलु समर्थकले पानीको बोतल प्रहार गरेका थिए। लगातार प्रहार भएपछि उनले पनि त्यो बोतल टिपेर समर्थकहरुतर्फ फ्याँके। त्यसपछि आक्रामक बनेका समर्थकहरु झगडा गर्न मैदानसम्मै उत्रिएका थिए।
सम्बन्धित समाचार : मार्सेलीका खेलाडीलाई दर्शकले आक्रमण गरेपछि खेल रोकियो, झगडा गर्न मैदानमै उत्रिएका थिए दर्शक