चितवन : भारतको उत्तर प्रदेशमा पटक पटक मुख्यमन्त्री बनेकी नेतृ मायावती प्रभुदासको पार्टी हो बहुजन समाज पार्टी। उनको पार्टीको चुनाव चिन्ह हो - हात्ती।
दलित आन्दोलनमा चर्चामा आएसँगै पटकपटक मुख्यमन्त्री बनेकी मायावती यति चर्चामा छाइन् कि उनलाई कार्यकर्ताले 'बेहेनजी'को नामले पुकार्न थाले। उनको जन्मदिनलाई उत्सवका रुपमै मनाउन थालियो उत्तर प्रदेशमा।
यतिमात्रमा सीमित भएनन् कार्यकर्ता। उनको देवत्वरकणमा लागे।
त्यसपछि मायावतीको सालिक ठडिए।
मायावती आफै चाहिं आफ्नो पार्टीको चुनाव चिन्ह हात्तीको ब्रान्डिङमा लागिन्।

फोटो : बीबीसी।
लखनउ, नोएडा र दिल्ली गरी झन्डै १७० वटा हात्तीको विशाल मूर्ति बनाउन लागएकी थिइन्।
मायावतीले ती मूर्ति र पार्क बनाउन सन् २००८ देखि २०१० सम्म २० अर्ब भारु निकासा गरेकी थिइन्। चुनावलाई प्रभावित पार्ने गरी मायावतीको पार्टीले हात्तीको मूर्ति बनाएपछि त्यहाँको निर्वाचन आयोगले मूर्ति नै छोप्न निर्देशन दियो।
सरकारी ढुकुटीबाट खर्च गरिएको रकम पछि भारतको सर्वोच्च अदालतले सरकारी ढुकुटीमै फिर्ता गर्न आदेश दियो।
मायावतीको झल्को दिने गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले गैंडाको ब्रान्डिङ थालेका छन्। आफ्नो डमी फोटो प्रदर्शन गर्दा चर्को आलोचना खेप्न परेपछि ओली अहिले गैंडा ब्रान्डिङमा लागेका देखिन्छ।
बिहीवार चितवनस्थित नारायणगढमा उद्घाटन सत्रका लागि तयार गरिएको स्टेज नजिकै एकाएक मायावतीको हात्ती झैं ठडियो गैंडाको मूर्ति। मूर्ति ठडिनसाथ कार्यकर्ता सेल्फी र फोटोका लागि ओइरिए। अहिले महाधिवेशनस्थलमा यही गैंडा नजिक पुग्न कार्यकर्ताको लश्कर देखिन्छ।
यसो त एमालेले १० औं महाधिवेशनको लोगो नै गैंडाको हातमा कम्युनिस्ट झन्डा राखेर बनाएको छ। महाधिवेशन उद्घाटन गरिने स्टेजको दयाबाया एमाले झन्डा उचालेर उभिएको गैंडा देख्न सकिन्छ।
त्यसकै नजिकै नारायणी तिरपट्टि गैंडाको मूर्ति राखिएको छ। उक्त मूर्ति राख्न बिहीवार साँझ आधा घण्टा लागेको थियो।
मायावतीलाई झैं ओलीलाई पनि पुकार्छन् कार्यकर्ता।
मायावतीलाई बेहेनजी भनेर पुकार्दा ओलीलाई 'ओलीबा'बाट पुकारिन्छ।
महाधिवेनस्थलमा ओलीको सालिक पनि राखिएको छ। जुन सायद शुक्रवार अनावरण हुनेछ।
एमाले महाधिवेशन स्टेज नजिकै रातो कपडाले बेरेको सालिक कसको?
मायावतीले झैं ओलीले पनि कतै आफ्नो प्रतिमा र गैंडा ब्रान्डिङमा ध्यान दिन थालेका त हैनन्? नारायणी तिरमा आइपुगेका केही मानिसहरु भने प्रश्न गर्दै थिए।.jpg)
.jpg)
