PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

उद्घाटन रोकेर ४३१ नम्बरको घरमा ४५ मिनेट किन बिताए ओलीले?



नेत्र तामाङ

उद्घाटन रोकेर ४३१ नम्बरको घरमा ४५ मिनेट किन बिताए ओलीले?
तस्विरः सहन प्रधान

चितवन: आज नेकपा (एमाले) को १०औँ महाधिवेशनको उद्घाटन सत्र। अध्यक्ष केपी शर्मा ओली नारायणी तीरमा बनेको महाधिवेशन मञ्चमा १२ बजे उक्लने कार्यतालिका थियो।

तर ओली १२ बजे त्यहाँ पुगेनन्। महाधिवेशनका लागि ओली साढे १२ मा नारायणगढ पुगेका थिए। उनी केहीबेर मेनरोडमै अल्मलिए।

महाधिवेशनस्थल पस्ने मुख्य गेट नजिकै रहेको मेनरोडको एक घरमा उनी साढे १२ बजे सुटुक्क उक्ले। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली घरमा पसेपछि एकाएक भीड जम्मा भयो। ती एमालेका कार्यकर्ता तथा ओलीका शुभेच्छुक थिए। ओली निस्केको भिडियो बनाउन उनीहरु क्यामरादेखि मोबाइल तयारी अवस्थामा राख्दै थिए।

भीड बढ्दै गयो तर ओली निस्किएनन्। त्यसपछि बाटो अवरुद्ध नै भयो। वरपरका मानिस छतमा निस्केर हेर्न थाले।

केहीबेरमा ओली पसेको घरको ढोका उघ्रियो। सबै चनाखो बने। मोबाइल क्यामेरा तेर्स्याए। तर उनीहरु त ओली नभई महासचिव ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु रिमालहरु पो रहेछन्। मोबाइल क्यामेरा तेर्साएकाहरु एकछिन हिस्स परे।

त्यसको झन्डै आधा घण्टापछि सवा एक बजेतिर ओली एकाएक पहिलो तल्लाको बार्दलीमा देखिए। उनी देखिएपछि कार्यकर्ता खुसीले उफ्रिन थाले। केपी ‌ओली जिन्दावाद उनीहरुले नारा उराले। ओलीले पनि त्यहीबाट आफ्नै शैलीमा हाइ-हेल्लो गरे।

चितवन पुगेर पनि केपी ओलीको बार्दलीबाट हाइ-हेल्लो

नारा लगाएको केही बेरमा उक्त घरको ढोका खुल्यो। अध्यक्ष ओली निस्किए। गाडी चढ्दाचढ्दै ओलीले चारैतिर कार्यकर्तालाई हाइहेल्लो गरे। अनि महाधिवेशन उद्घाटन मञ्चतिर लागे।

किन बिताए ४५ मिनेट?

नारायणगढको मेनरोडमा रहेको साधारण घरमा ओली किन ४५ मिनेट बसे? 'सिँगारपटार होला,' केहीले अनुमान गरे। तर निस्कने बेला उनी पहिले जस्तो देखिएका थिए- उस्तै थिए। यतिमात्र हैन पोशाक पनि परिवर्तन भएको थिएन।

बाहिर निस्कँदा प्राय होटल रिसोर्टमा बिताउने ओलीले नारायणगढको मेन रोडमा रहेको साधारण घरमा किन ४५ मिनेट बिताए? यसबारे हामीले प्रश्न गर्‍यौँ।

'अध्यक्षज्यूले बुवालाई भेट्नुभएको हो। अरु खासै केही होइन,' उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका सहन प्रधानले पहिलोपोस्टसँग भने।

सहनका बुवा केएल भुषण प्रधान ८६ वर्ष पुगेका छन्। उनै केएल भुषणलाई भेट्न ओली उक्त घरमा पुगेका थिए।

यो भेट कुनै पूर्वतयारी बिना भएकोले खास कुनै विषयमा छलफल नभएको सहनले बताए। चितवन उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षसमेत रहेका सहनले भने, 'कुनै पूर्वतयारी थिएन। उहाँ चितवन आइपुग्नु हुँदा कहिलेकाहीँ बुवालाई भेट्न आउनु हुन्छ।'

४५ मिनेटमा के के भयो?

एमाले अध्यक्ष ओलीलाई आफ्नो परिवारले बुके फूल अर्पण गरेको सहनले बताए। ४५ मिनेटको बसाईंमा ओलीले तातोपानीमात्र पिएको उनको भनाई थियो।

'खानमा केही खानुभएन। तातोपानीमात्र पिउनुभयो,' सहनले भने। 

यसअघि ०७४ सालमा पनि यही घरमा ओलीले केएल भुषणलाई भेटेका थिए।

को हुन् केएल भुषण?

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्षले विषेश महत्वका साथ भेटेका केएल भुषण को हुन् त? यसबारे पनि हामीले सहनसँग सोध्यौँ। केएल भुषण व्यवसायी भएको र अध्यक्ष ओलीको शुभेच्छुक भएको उनको भनाई थियो। 'बुवा व्यवसायी हुनुहुन्छ र एमालेको शुभेच्छुक हुनुहुन्छ,' सहनले भने।

त्यतिमात्र त पक्कै हैन होला, केही राजनीतिक योगदान हुनुपर्छ? थप प्रश्नपछि सहनले भने, 'बुवालाई ०५१ सालमा एमालेबाट सांसद् उठ्नका लागि प्रस्ताव आएको थियो। तर हजुरबुवाले व्यवसायीमै ध्यान दिनुपर्छ भनेर हो कि उम्मेद्वारी नदिन भन्नुभएछ। त्यसपछि बुवाले उक्त प्रस्ताव अस्वीकार गर्नुभएछ।'

मनमोहन अधिकारीले फोनै गरेर एमालेबाट सांसदमा उम्मेद्वारी दिँदासमेत त्याग गरेका व्यक्ति भएकाले ओलीले सदिच्छा राखेको हुनसक्ने उनको भनाई थियो। त्यसो त केएल भुषणलाई २०५४ सालको स्थानीय चुनावमा भरतपुरबाट मेयरको उम्मेद्वार बन्नसमेत प्रस्ताव आएको उनले बताए। दुबै समयमा उनले सहजै चुनाव जित्न सक्ने अवस्थामा पनि उम्मेद्वारी नदिएको सहनको भनाई थियो। निर्वाचन नजिकिएकाले पनि यो भेट भएको हुनसक्ने उनको भनाई थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell