PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

फूलमाला लगाएर फर्किएका पूर्व प्रधानमन्त्री ओली पनि परे जाममा : साघुरो ठाउँमा पार्टी कार्यालय बनाउनुको असर



प्रकाश भण्डारी

फूलमाला लगाएर फर्किएका पूर्व प्रधानमन्त्री ओली पनि परे जाममा : साघुरो ठाउँमा पार्टी कार्यालय बनाउनुको असर

काठमाडौं : नेकपा (एमाले)को पार्टी कार्यालय थापाथलीमा भिडभाड थियो। १०औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको पदबहाली हुने तय भएपछि फूलमाला बोकेर नेता कार्यकर्ता पार्टी कार्यालयमा पुगेका थिए, शुक्रवार दिउँसो।

तय भए अनुसार नै अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतका पदाधिकारीले पदभार ग्रहण गरे। १ बजे सुरु भएको कार्यक्रम एकघण्टा भन्दा बढी अवधि चल्यो। पालैपालो फूलमाला लगाएर कार्यकर्ताले शुभकामना दिए नवनिर्वाचित पदाधिकारीलाई। भित्र नेता कार्यकर्ताको भिड हुँदा उनीहरु चढेर आएको गाडीको बाक्लो पार्किङ थियो कार्यालयको प्राङ्गण र सडक किनारमा। केही सवारी साधन कार्यालयमा पार्किङ गरिएको भए पनि धेरैजसो सडक किनारमै राखियो।

जब ओली नै जाममा परे

कार्यकर्ता र नेताको बाक्लो उपस्थिति भएकाले कार्यक्रम सकिएपछि निस्कनेको पनि भिडभाड थियो। अध्यक्ष ओली पनि निस्किए। पार्टी कार्यालयको गेट अगाडि रोकिएको उनको गाडी २ बजेर १५ मिनेटमा सडकमा निस्कियो। तर, अघि बढ्न भने सकेन। थापाथली, माइतीघर, पार्टी कार्यालय र एउटा घरमा जाने सडकको चोक पार्टी कार्यालयभन्दा अलिकति अगाडि पश्चिमतिर छ। ओलीको गाडी चोकमा पुगेपछि भने जाममा फस्यो। ट्राफिक प्रहरी, सशस्त्र प्रहरी र कार्यकर्ताले ओलीको गाडीलाई निकाल्न खोजे पनि सम्भव भएन।

ओलीको गाडी ५ मिनेट अर्थात् २ बजेर २० मिनेटमा मात्रै त्यहाँबाट माइतीघरतर्फ जान सफल रह्यो।

ओली निस्केपछि झन् अस्तव्यस्त

जसोतसो ओलीलाई निकालेका ट्राफिक प्रहरीले त्यसपछि झनै कठिनाइ बेहोर्नुपर्‍यो। त्यसपछि नेताहरुको गाडी निस्कने क्रममा थिए। तीनतिरबाट आएका गाडीहरु चोकमा अड्किएकाले ती सवारी साधनलाई व्यवस्थापन गर्न झनै चुनौति देखियो। निकै बेरपछिमात्रै सडकमा पर्खिरहेका गाडीहरु गन्तव्यतर्फ लागेका थिए। ओलीको गाडीलाई निकाल्न थापाथली र माइतीघरतिर रोकिएका सवारी आउन थालेपछि अरु नेताहरुका गाडी निकाल्न झनै सकस भयो ट्राफिक प्रहरीलाई। 

किन भयो जाम?

सामान्यतया ट्राफिक प्रहरीले भीआपीको गाडीलाई जाममा पर्न दिँदैनन्। जाममा नपर्ने गरी नै ट्राफिक व्यवस्थापन गरिएको हुन्छ। तर, एमालेको पार्टी कार्यालय बाहिर भने ट्राफिक प्रहरी र सुरक्षाकर्मीको पनि केही चलेन। किनभने साघुँरो ठाउँमा एमालेको पार्टी कार्यालय छ। एउटा गाडी छिर्ने बाहेक सडक फराकिलो छैन। ओली पार्टी कार्यालयमा छिरे लगत्तै ट्राफिकहरुले व्यवस्थापन गर्न सुरु गरेका थिए। तर, उनीहरुको प्रयास सफल हुन सकेन।

कार्यालय भित्र पार्किङका लागि फराकिलो ठाउँ नभएकाले एमालेका नेताहरुका गाडी सडकमै पार्किङ गर्नुपर्ने बाध्यता छ। सडकमा नेताका गाडी पार्किङ भएपछि कार्यालय बाहिरको ट्राफिक व्यवस्था पनि सधैँ अस्तव्यस्त हुन्छ। शुक्रवार त्यो अस्तव्यस्तताको सकसमा ओली आफैँ परे।

व्यवसायी तथा एमाले नेता मोतीलाल दुगडका आफन्तको घरमा छ एमालेको पार्टी कार्यालय। दुगड ओली प्रधानमन्त्री हुँदा उनको आर्थिक सल्लाहकार थिए। उक्त घरका लागि वार्षिक भाडा कति पर्छ एमालेले सार्वजनिक गरेको छैन।

४ रोपनी क्षेत्रफलमा बनेको साढे दुई तले पार्टी कार्यालयमा १६ वटा कोठा छन्। कम्पाउण्डमा २५ वटा गाडी पार्किङ गर्न मिल्ने दुगडले कार्यालय शुभारम्भका बेला पहिलोपोस्टसँग बताएका थिए। तर, शुक्रवार उनको दाबी गरेजस्तो पर्याप्त पार्किङको व्यवस्था देखिएन।

किन सरेन पार्टी कार्याल?

एमालेको स्थायी पार्टी कार्यालय बल्खुमा बन्दै छ। भूकम्पका बेला क्षति पुगेको एमालेको पार्टी कार्यालय त्यसपछि भत्काएर नयाँ बनाउन थालिएको छ। त्यतिबेलासम्मका लागि भनेर एमालेले सुरुमा धुम्बाराहीमा पार्टी कार्यालय बनाएको थियो। पछि बाटो बिस्तारलाई कारण देखाएर एमालेको पार्टी कार्यालय गत वैशाख १ गते थापाथलीमा सरेको थियो। त्यहाँबाट पनि पार्टी कार्यालय सर्ने एमालेले बताइसकेको छ।

ललितपुरको च्यासलमा रहेको तुल्सीलाल प्रतिष्ठानलाई नै पार्टी कार्यालय बनाउने भन्दै प्रक्रिया अघि बढाउने भनिएको भए पनि हालसम्म पार्टी कार्यालय सरेको छैन। एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले पार्टी कार्यालय सर्न अझै समय लाग्ने बताए।

'हामी तत्काल सरिहाल्दैनौँ। केही समय लाग्छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell