PahiloPost

Jul 3, 2024 | २० असार २०८१

कोरोनाका बिरामी बोकेर चर्चित बनेका राई प्रदेश १ को कांग्रेस महामन्त्रीमा निर्वाचित



पहिलोपोस्ट

कोरोनाका बिरामी बोकेर चर्चित बनेका राई प्रदेश १ को कांग्रेस महामन्त्रीमा निर्वाचित

काठमाडौं: गत जेठको दोस्रो सातातिर कोरोनाका बिरामीलाई आफैं बोक्दै अस्पताल लगेर चर्चामा छाएका भुपेन्द्र राई नेपाली कांग्रेस प्रदेश अधिवेशनबाट प्रदेश १ को महामन्त्रीमा निर्वाचित भएका छन्। सोमबार बिहानको मत परिणाम अनुसार दुई महामन्त्रीमध्ये पहिलो मत पाउँदै राई प्रदेश १ कांग्रेसको महामन्त्रीमा निर्वाचित भएका हुन्।

राईले एक मतको अन्तरले जित हात पारे।

अर्का महामन्त्री उमेश थापाले ८२३ मत पाउँदा राईले ८२४ मत पाए। खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष राई संस्थापन पक्षका हुन्।

रत्नराज्य क्याम्पस, प्रदर्शनीमार्गमा २०५६ बाट नेपाल विद्यार्थी संघको इकाई सभापति रहेका राई गत स्थानीय चुनावमा कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्।

रत्नराज्यमै दुई कार्यकाल इकाई सभापति भएका राई चितवनमा भएको नेविसंघको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। इतिहास विषयमा राई २०६३ मा त्रिभुवन विश्वविद्यालका टपर हुन्।

कोरोना कहरमा आफ्नै गाडी लिएर बिरामी बोक्न उत्रिएपछि राई चर्चामा आएका थिए। राई सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा छाए।

संक्रमितलाई बोक्न कोही अघि नसरेपछि आफैं पिपिई लगाएर उत्रेको राईको भनाई थियो। संक्रमित हुने जोखिम उत्तिकै हुन्छ नि, कतिको असजिलो महसुस हुन्छ? त्यतिबेला जवाफमा अध्यक्ष राईले भनेका थिए, 'डर लागेर भो त? कोही अघि नसरेपछि, कर लागेपछि हिँड्नु परेन?'

चुनावमा कांग्रेस जितेपछिमात्र जितको मजा होला

कांग्रेस प्रदेश १ को महामन्त्रीमा निर्वाचित भएपछि सबै साथीभाईलाई समन्वय गरेर अघि बढ्ने राईले बताए।

भने, 'साथीभाईलाई समन्वय गरेर अघि बढ्नुपर्छ। यो जित-हार पहिलो दोस्रोको कुरा कुनै ठूलो होइन।'

आम चुनावमा कांग्रेसलाई जिताएपछिमात्र जितको मजा आउने उनले बताए।

'निर्वाचनमा कांग्रेसलाई जिताएपछिमात्र यो जितको मजा आउँछ। अहिले त सबैलाई समेटेर कांग्रेस जिताउने अभियानमा लाग्नुछ,' महामन्त्री राईले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell