PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

महेश आचार्य किन लागे गुरुराज घिमिरेलाई हराउन? शेखर कोइरालाले मत नदिनुको कारण के?



नेत्र तामाङ

महेश आचार्य किन लागे गुरुराज घिमिरेलाई हराउन? शेखर कोइरालाले मत नदिनुको कारण के?

काठमाडौं : नेपाली कांग्रेस प्रदेश १ मा संस्थापन इतरका नेताहरुको पकड भएकाले धेरैले गुरुराज घिमिरेले सजिलै प्रदेश सभापतिमा जित निकाल्ने आँकलन गरेका थिए। त्यही भरोसा थियो गुरुराजमा पनि। त्यसैले प्रदेशको नेतृत्व लिन उत्रिए - विराटनगर।

उनको उम्मेदवारीविरुद्ध पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उद्धव थापालाई साथ दिए। थापालाई नेता कृष्णप्रसाद सिटौलाको पनि समर्थन थियो। केन्द्रीय सभापतिका दावेदार रहेका डा शेखर कोइराला, बलबहादुर केसी, महेश आचार्य, सुजाता कोइरालाजस्ता नेताहरुको प्रभाव कायम रहेको क्षेत्र भएकाले पनि संस्थापनइतरका नेता घिमिरेले जित निकाल्न कठिन थिएन। त्यसमाथि पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको साथ पनि थियो। केन्द्रबाट प्रदेशको नेतृत्व गर्न जानुका पछाडि यिनै कारण थिए उनका लागि।

आइतवार साँझ मतगणना सुरुभएसँगै अग्रता हासिल गरे घिमिरेले। लगातार अग्रता कायम गरेपछि उनले जित निकाल्नेमा धेरै ढुक्क थिए। तर, जब मध्यराति १६३४ मत गनिसकियो – एक/दुई मतले घिमिरे पछि पर्न सुरु भयो। मत गनिसक्दा गुरुराज दुई मतले पछि परे। अनि निर्वाचन समितिले घोषणा गर्‍यो – प्रदेश १ को सभापतिमा उद्धव थापा निर्वाचित।

पुन मतगणनाको मागमा घिमिरे

आफ्नो मतमा गढबढी भएको देखेपछि घिमिरेले पुन: मतगणनाको माग गरेका छन्। सोमवार बिहानै कांग्रेस प्रदेश निर्वाचन समितिका प्रमुख भरत थापालाई घिमिरेले पुनः गणनाका लागि आवेदन दिएका छन्।

सभापतिका प्रत्यासी उद्धव थापाले ८ सय ४४ मतले जित निकाल्दैगर्दा घिमिरेले ८ सय ४२ मत प्राप्त गरेका थिए। पुन: मतगणनाका लागि निवेदन दिएका गुरुराजलाई हामीले सोध्यौ - के मा शंका लाग्यो त तपाईँलाई?

जवाफमा उनले भने, 'शुरुदेखि नै मेरो लिडिङ थियो। पछि नेकनेक भयो। जब मतगणना सकिन लाग्यो। त्यतिबेला भिड पनि बढेको थियो। त्यही बेला गढबढ भयो भन्ने लागेको छ। त्यसैले पुन: मतगणनाका लागि निवेदन दिएको हुँ।'

घिमिरेको हार देउवा विरोधी खेमाकै तजविजी

घिमिरेको हारमा प्रदेश १ मा हेभीवेट नेताका रुपमा हेरिएका संस्थापन इतरकै नेताहरुको दोष रहेको आरोप लागेको छ। शेखर कोइराला, सुजाता कोइराला, महेश आचार्य र बलबहादुर केसी जसमाथि संस्थापन इतरले विश्वास गरेका थिए – उनीहरुले नै गुरुराजलाई मत दिएनन् भन्ने खुलासा भएको छ।

हामीले घिमिरेलाई सोध्यौं - तपाईँलाई उहाँहरुले किन मत दिनु भएन जानकारी होला नि?

जवाफमा घिमिरेले भने, '५०/५१ जना मतदाताले मत हाल्नुभएन। जसमा महत्वपूर्ण मान्छेहरुको नाम बाहिर आएको हो। तर, मैले अहिले किन टिप्पणी गर्ने?'

पुन: मतगणनाको नतिजा आएपछिमात्र आफूले थप प्रतिक्रिया दिने उनले बताए।

देउवामाथि आक्रोश : ओलीको निरंकुशतासँग तुलना

आफू प्रदेशमा आएर निर्वाचनमा हार्दा खासै दु:ख नलागेको पनि घिमिरेले सुनाए। उनले भने, 'पहिलोपटक प्रदेशको निर्वाचन अभ्यासमा आएँ। उम्मेद्वार बनेर इतिहास रचियो। म उत्साहित छु।'

हार्दैगर्दा गुरुराजले पार्टी सभापति एवं प्रधानमन्त्री देउवामाथि भने आक्रोश पोखेका छन्। सत्ताको शक्ति लगाएर पार्टीको आन्तरिक लोकतन्त्रमा नांगो हस्तक्षेप गरेर देउवाले इतिहास रचेको उनको आरोप थियो।

'सत्ताको नांगो नाच देखाए। यस्तो चरम रुप मैले अहिलेसम्म देखेकै थिइनँ,' घिमिरेले भने, 'निरंकुश केपी ओलीविरुद्ध लडेर बनाएको आफ्नै प्रधानमन्त्रीले हस्तक्षेप गरे। उनको मतियारको त कुरै नगरौं।'

देउवाले भन्दा पनि आफ्नै समूहले घात गरेको देखिन्छ नि त? हाम्रो प्रश्न थियो।

जवाफमा घिमिरेले भने, 'ती गुटका कुरा तपशीलका हुन्। तर, हाम्रो बलमा सत्तामा पुगेकाले हामीमाथि नै जाइलाग्ने काम गरे। यो भन्दा निकृष्ट काम कतै हुँदैन। यस्तो हामीले वडा तहमा झेल्यौं। अब केन्द्रीय तहमा झेल्दैछौं।'

किन हालेनन् शेखर, महेश र सुजाताले मत?

केन्द्रीय सभापतिका दाबेदार डा शेखर र उपसभापतिमा उम्मेद्वारी दिएका महेश आचार्यले घिमिरेलाई मत नदिएको खुलेको छ। त्यसैगरी बलबहादुर केसी र सुजाता कोइरालाले पनि घिमिरेलाई मत दिएनन्। शेखर केन्द्रीय निर्वाचन समितिसँग छलफल गर्दा 'कन्भिन्स्' हुन नसकेपछि मत हाल्न नगएको उनको सचिवालयले जनाएको छ।

मतदान नगर्नु नै उपयुक्त ठानेँ, गल्ती भए क्षमाप्रार्थी छु : शेखर कोइराला

'तल्लो तहको अधिवेशन प्रक्रियामा भाग नलिएकाले निर्वाचन समितिसँग कुरा राख्नुभयो। यो छलफलमा उहाँ निर्वाचन आयोगसँग कन्भिन्स हुनुभएन। त्यसैले मत नहाल्नुभएको हो,' डा शेखरका सहयोगी दिनेश थपलियाले भने। घिमिरेलाई साथ रहँदा रहँदै पनि उनी मतदान प्रकृयामा सहभागी नहुँदा त्यसको असर परिणाममा देखियो।

महेशको पुरानै इवी !

प्रदेश १ को अधिवेशनमा मतदान शुरु हुनेवित्तिकै महेश आचार्य अधिवेशनस्थलबाट बाहिरिएका थिए। महेश र गुरुको पुरानो रिसाईबीका कारण निर्वाचनको परिणाम यस्तो भएको मोरङका एक नेताले दाबी गरे।

'गत निर्वाचनमा गुरुराजले मोरङ ४ को प्रदेश सभा सदस्यमा उम्मेद्वारी दिने चाहना राखेका थिए। त्यसमा महेश आचार्य बाधक बने,' ती नेताले भने, 'त्यसैको प्रतिशोध गुरुराजले चुनावमा साँधे। उनले चाहना राखेको प्रदेश क्षेत्रका विश्वनाथ रिजाल पनि पराजित भए। महेश आचार्य पनि पराजित भए।'

आचार्यमात्र नभई उनका मान्छेले समेत घिमिरेलाई मत नदिएको ती नेताको दाबी छ।

'चुनावमा व्यहोरेको हारको प्रतिशोध महेशले आचार्यले साँधेका हुन्,' ती नेताले दाबी गरे। यसबारे बुझ्न पहिलोपोस्टले सम्पर्क गर्दा आचार्य सम्पर्कमा आउन चाहेनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell